शम्भु गजुरेलश्वान महोत्सवको सपना
बिहान उठ्दा – हिजोका झगडालु नेताहरू एउटै सिनोमा दाँत धसाएर, साझा ओछ्यानमा, साझा श्रीमतीसँग कार्तिक मनाइरहेका रहेछन्। एकअर्काको कपडा साटेर लगाएका, एकअर्काको गुणगान गर्दै नयाँ भजन गाइरहेका।

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’ :
मध्यनिद्राको अवचेतन अवस्थामा मेरो मस्तिष्क स्वप्न लोकको यात्रामा निस्केको रहेछ। अनेकौं बिरान बस्ती, अनकन्टार पहाड, निर्जन जंगल, आकाशीय अठ्खेली, सामुद्रिक गोताखोरी गर्दै स्मृतिका तरङ्गहरू नेपाल देशको भ्रमणमा ओर्लिए।
पशुपतिको शिव-बन्दना, बौद्धनाथको बुद्ध-स्मरण, स्वयम्भूको दृढताको छायाँमा उभिएको कङ्क्रीटको जंगल — मलले जल सोसेर ढल बनेकी बागमती, थिचिएको पोखरी, मिचिएको गौचरन, अनि पुरिएको मनोहरा देखेर मन रोयो कि हाँस्यो, थाहा भएन।
सुन्दरीजलको जललाई ढ्वाङमा हालेर पानीपोखरी र रानीपोखरीको टोकरीमा लगेर हराइदिएको पाइयो। हराएको सोह्रखुट्टे र लुछिएको कमलपोखरी नियाल्न आतुर थिए नेत्र, तर देखिएन। नारायणधाराको आलयमा चमेराहरू हराएछन्, शायद रुख बेचिए होलान्।
तुवाँलोले बेरेको वायुमण्डल र कोलाहलमय वातावरणमा भौतारिँदा भौतारिँदै, भोकले सुक्दो आँतले “पानी! पानी!” भनेर चिच्याउँदा पनि सुन्ने कोही थिएन। त्यसैले छायाँ खोज्दै भद्रकालीको पेटीमा टुसुक्क बसेर पसिना पुछ्दै थिएँ। पूर्वतर्फको हलचलले ध्यान तान्यो।
अलिक तल, पर्खालले घेरेको शेरदरबारको पटाङ्गिनीमा कुकुरहरू कल्याङमल्याङ गर्दै थिए। लाग्यो – के शेर पराजित भइसके? कौतूहल मनले शरीरलाई उतै घिच्यायो।
हरियो चौरको कुनामा एउटा भव्य मञ्च तयार थियो। रंगीन ध्वजा-पताकाले सजिएको मञ्चमा अनेक चिन्ह – हसिया, बन्चरो, वाण, सूर्य, तारा – अंकित थिए। चौरभरि भुस्याहा जातका सागिने कुकुरहरूको बगाल थियो। चिप्रा भरिएका आँखाहरू, खुइलिएका पुच्छरहरू, कटिएका कानहरू, दाम्रीएका पेटहरू… तर सबै एउटै मुद्रामा – अग्रपाद जोडेर शरणागत शैलीमा, र्याल चुहाउँदै, आशालु आँखाले हेर्दै।
केही समयमै बुझें — आज ‘समग्र कुकुर जातिको राष्ट्रिय सम्मेलन’ हुँदै रहेछ। कार्यक्रममा विलम्ब थियो, कारण – भौगोलिक जटिलता रे!
गर्मीको कारण होला, म झप्किदै थिएँ। अचानक “जिन्दावाद!” को नाराले झस्कायो। मञ्चतर्फ हेर्दा – विविध हाइब्रिड कुकुरहरूको भीड। सबै नेपालमै जन्मेका, तर शुक्रकीट वा डिम्ब विदेशी – जर्मन, बेलायती, रसियन, चिनियाँ, अमेरिकी, भारतीय, तिब्बती नश्लहरू मिलेर बनेका वर्णशंकर: भुँडे, तिघ्रे, झ्यापुल्ले, घनटाउके, लम्तडी…
एक सुरिलो स्वरका साथ एउटा कुकुर उठ्यो:
“आदरणीय कुकुर महासयहरू, आज हामीले हाम्रो समस्याको समाधान र उज्वल भविष्यको संकल्प लिनुपर्ने दिन हो। तपाईँहरूका अगाडि महान नेतागण आउनु भएको छ – अब उहाँहरूलाई सुन्ने बेला भएको छ।”
पहिले बोल्न उठ्यो – अमेरिकामा पढेको, बेलायती टपरी चाटेको बुलडग:
“म महान प्रजातान्त्रिक देशको जुठो पूरो खाएको छु। म तपाईंलाई जर्मन शेफर्डहरूबाट हड्डी कसरी खोस्ने भन्ने सिखाउँछु। मेरा मालिकहरूको आशीर्वादले तपाईंको समृद्धि सम्भव छ। बाँकी जातिलाई बन्देज गर्नुपर्छ, किनकि ती विदेशी हुन्। मलाई पछ्याउनुहोस्!”
भौं-भौं! तालीस्वरूपी गुञ्जन।
अब पालो थियो जर्मन शेफर्डको।
“हामी रसियन, चिनियाँ, जर्मन मूलका कुकुरहरू, अमेरिकन र भारतीय कुकुरको दादागिरीबाट पीडित छौं। विदेशी आततायी र वंशाणुगत ‘सानो बनेका’ नेपाली कुकुरहरूलाई हटाउनु पर्नेछ। क्रान्ति अब आवश्यक छ – केवल हामी तपाईंको उन्नतिको संवाहक हौं!”
फेरि भौं-भौं!
अब उभियो – चलाख कुकुर, जसले सबै देशको हाड चाखेको थियो, सबैलाई पत्नी बनाएको थियो। ऊ भुक्यो:
“महासय ! म सबैको पुच्छर काट्नेछु, पेट चिथोर्नेछु, सबैलाई बाँध्नेछु ! तपाईँहरूका लागि ‘सजिलो’ वातावरण बनाउने छु – मलाई साथ दिनुहोस् !”
सभा विसर्जन भयो। लुते कुकुरहरू अँध्यारोमा कुइकुइ गर्दै घर लागे – जहाँ केही थिएन।
खुला दिशामुक्त गाउँ थियो, भोकै सुत्नुपर्यो।
बिहान उठ्दा – हिजोका झगडालु नेताहरू एउटै सिनोमा दाँत धसाएर, साझा ओछ्यानमा, साझा श्रीमतीसँग कार्तिक मनाइरहेका रहेछन्। एकअर्काको कपडा साटेर लगाएका, एकअर्काको गुणगान गर्दै नयाँ भजन गाइरहेका।
त्यही भौं-भौं को आवाजले म खाटबाट लडेँ।
शिर ठोकियो — “ऐया !” भन्दै उठें।
टुटिल्को उठेको टाउको सुम्सुम्याउँदै ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































