रामप्रसाद पन्थीकेपी बाका कुरा
हाम्रा केपी बाका बारेमा ठेलीका ठेली ग्रन्थ तयार हुन सक्छन् । तपाईंले ठान्नुभयाे हाेला खड्गप्रसाद ओली बा । मेरा अर्थात् हाम्रा गाउँका कृष्णप्रसाद बा । छाेटकरीमा केपी बा । गाउँलेहरूले पनि केपी बा नै भन्छन् ।

रामप्रसाद पन्थी :
कुनै समय समाजमा “बुढा मरे भाषा सरे” भन्ने उखान प्रचलनमा थियाे । अहिले “बुढा मरे भाषा पनि मरे” भन्नुपर्ने भएकाे छ । बुढापाका मरेसँगै उनीहरूसँग भएकाे ज्ञान पनि मर्दै गएकाे छ । भाषा, साहित्य, सभ्यता, संस्कार र संस्कृति सबै मरिरहेकाे छ ।
त्यसैगरी अर्काे उखानले भन्छ “बुढी मरी काल पल्कियाे ।” म त भन्छु ; बुढी मरेकाेमा किन चिन्ता ? उमेर पुगेपछि सबै बुढाबुढी मर्दछन् । चित्रगुप्तकाे खातामा भएकाे ब्यालेन्स सिद्धिएपछि जाेकाेहीकाे डिपाेट भइहाल्छ । काल पल्किएपछि बुढी मात्रै मर्दिन सबै मर्दछन् । कालकाे चक्रमा सबै पर्दछन् । यसर्थ बुढी मरेकाेमा हाेइन काल पल्किएकाेमा चिन्ता मान्नु पर्ने हुन्छ ।
बुढापाकाले त्यसै भनेका हाेइनन् , “आगाे ताप्नु मुढाकाे कुरा सुन्नु बुढाकाे ।” तर आज बुढाकाे कुरा कसले सुनिदिने ? कुरा सुन्ने भुरा नै साथमा छैनन् । देश नै वृद्धाश्रम बनिसकेको छ । साथमा भएकालाई पनि सुन्ने फुर्सद कहाँ छ र ? सुनिहाले पनि पत्यार लाग्दैन । ए. आई. काे जमानामा बुढाका कुरा पत्याउने सबालै रहेन ।
उहिले हलाे जाेत्दा बाले भन्नुहुन्थ्यो, “बाबू ! बारी बिग्रियाे कुनाकानी मान्छे बिग्रियाे जानीजानी ।” मैले कुराकाे भेउ नपाएको ठानेपछि बाले स्पष्ट पारिदिनुहुन्थ्याे “बारी जाेत्दा कुनाकानी समेत छाेड्नु हुँदैन । फालीले फेला पारेन भने काेदालीले भए पनि छेउकुना मिलाउनु पर्छ । यसाे गरिएन भने खेती गर्ने ठाउँ खुम्चिदै जान्छ । ठाउँ खुम्चिएपछि अन्न खुम्चिन्छ । अन्न खुम्चिएपछि भाेकै परिन्छ । भाेकै मरिन्छ ।”
गाेरूले गराे जाेत्ने समय अहिले करिब करिब सकियाे भन्दा हुन्छ । गाेरूले जाेत्ने ठाउँ गाडीले जाेत्न थालेर हाेला गाउँकाे पशु समाज आन्दोलनमा उत्रिएको बुझेकाे छु मैले । गाेरूमाथि भएकाे अन्यायकाे साटाे फेर्न बँदेलले खेतबारी जाेतेकाे देखेकाे छु । बाँदरले अन्न बाेकेकाे देखेकाे छु ।
सहर त सहर भइहाल्यो । सहरले सम्मा पाटामा घर राेप्छ । उर्वर खेतलाई उद्योगले छाेप्छ । गमलामा धान खाेज्छ । प्लास्टिकमा रेडिमेट फुड जाेख्छ । मेडिकलबाट मेडिसिन बाेक्छ । सामाजिक सञ्जालमा दर्शन पाेख्छ । मध्यरातमा बर्बराउदै एक्लै खाेक्छ । छट्पटाउदै जिब्रो टाेक्छ ।
म सानैदेखि अलिक फरक स्वभावकाे मान्छे थिएँ । मलाई आफ्नै उमेरका दाैतरीभन्दा बुढापाका मान्छे मन पर्थे । मैले बाकाे साथ कहिल्यै छाेडिन । बाले सुनाउने गाउँखाने कथा , कथा , चुट्किला , गीत , गजल र उखानटुक्का मलाई विशेष मन पर्दथे । मन पर्छन् ।
अरूले हाम्रा बाका कुरालाई हावा गफ भनेकाे सुनेकाे छु मैले । बालाई गफाडी बुढा र उखाने भनेर उडाएकाे पनि सुनेकाे छु । जसले जेसुकै भनून् । बाका अगाडि परेपछि आरती गरेकाे ,लम्पसार परेकाे र गाेडा मलेकाे देखेकाे छु ।
कतिले बा बिरामी हुँदा मरून् भनेर मनकामना माइलाई भाकल गरेछन् । कतिले भैरवलाई कालाे बाेकाे चढाएछन् । कतिले पाथीकाे राेट चढाएछन् । कतिले ज्याेतिषकाेमा बाकाे कुण्डली हेरिदिनु पर्याे भनेर बाक्लाे नाेट चढाएछन् । जसले जेजे चढाए पनि बालाई केही फरक नपरेपछि बिचराहरू आफै लतक्क गलेकाे कुरा विशेष सुत्रबाट थाहा लागेकाे छ ।
के सर्टिफिकेटले मात्रै पढाइकाे मापन हुन्छ ? कसले भन्न सक्छ ; वाल्मीकि वा वेदव्यासले कति पढेका थिए ? सुकरात, प्लेटाे , हाेमरकाे शिक्षा कति थियाे ? बुद्धकाे बुद्धि कुन विश्वविद्यालयले परीक्षण गर्याे ? म त भन्छु , कसैकाे बाैद्धिकतामा प्रश्न उठाउने छुट कसैलाई छैन ।
संसारमा भाग्यमानी काेही छ भने त्याे केबल मै मात्र हाे भन्ने लाग्छ । किनभने बाकाे माया र छत्रछायामा रहन पाउनु सामान्य कुरा हाेइन । मेरा लागि मेरा बा जिउँदो इतिहास हाे । यसमा कुनै सन्देह छैन ।
बुद्धलाई बुद्धू ठान्नेहरू पछि उनैका अनन्य शिष्य भएका थिए । एक युगमा एक दिन एकपटक आउँछ भनेझैं एकदिन बालाई युगपुरूष भन्ने दिन अवश्य आउँछ ।
बेसार पानीले काेराेनाकाे दाेहाेलाे काढ्ने उपाय हाम्रै बाले बताउनु भएकाे थियाे । महामारीले हाहाकार बनाइरहेकाे बेला हाम्रा बाकाे आविष्कार देखेर विश्व नै चकित भएकाे उदाहरण हाम्रै सामु छ ।
अरू काे कसकाे पछि लाग्छ थाह छैन । बा ! म तपाईंको साथमा छु । तपाईंका हर कुराकाे समर्थन गर्छु । हर कुरामा विश्वास गर्छु । बा ! म बुझ्दछु तपाईंका भावना र मर्म । तपाईंले देखेका सपनाका कुरा । पानी जहाज र चुच्चे रेलका कुरा । सिलिन्डरका डल्ला नबाेक्ने प्रतिवद्धता । प्याट्ट विजुली बालेर फ्याट्ट भात पाक्ने कुरा । धन्न तपाईंको सपना लागेनन् र ठीक भयाे । पानी जहाज ल्याएकाे भए खडेरीले हाम्रा गाउँका समुद्र सुक्दा रहेछन् । हिमताल फुटेर जहाज डुब्दा रहेछन् । चुच्चे रेलका कारण कतिका घरबार मासिन्थे । पिर थेग्न नसक्नेहरू कति लिकमा टासिन्थे । विजुलीमा भात पकाउदा पकाउदै अघाेषित रूपमा हुने लाेडसेडिङले घरघरमा जाेइपाेइकाे झगडा हुन्थ्यो । सपना भनेकाे सपना हाे विपना हुन सक्दैन । हुनु पनि हुँदैन । जे भएकाे छ ठीक भएकाे छ ।
बा ! तपाईंजस्तो प्रगतिशील काेही हुनै सक्दैन । तपाईंले प्राप्त गरेकाे उचाइ कसैले छुनै सक्दैन । तपाईंको सिद्धान्तले एकातिर हिन्दू धर्म छँदै छैन भन्याे । अर्कोतर्फ अयाेध्या ठाेरीमा हाे भनेर ठाेकुवा गर्याे । पशुपतिलाई सुनकाे जलहरि लगाउनु तपाईंको धार्मिक उदेश्य थिएन । त्यहाँ राजनीतिक उदेश्य थियाे । आर्थिक समृद्धिकाे विषय थियाे । यस घटनामा तपाईंलाई कसैले धार्मिक ठाने । कसैले अर्थतन्त्रको मसिहा माने । एउटा मट्याङ्ग्राले दुई सिकार । याे हाे नि राजनीति ! तपाईंको राजनीतिले जनताले आजसम्म थाहा नपाएको कुरा थाहा पाए । शिवजीले पनि चामलिङ हुने माैका पाए ।
बा ! तपाईंले मरीच ठूलाे रूखमा फल्छ भन्दा धेरैले हाँसाेमा उडाइदिए । गाउँघरमा लहरामा फल्ने काला गेडीलाई मरीच मान्नेहरू भ्रममा रहेछन् । मरीचका ठूलाठूला सक्कली बुटा नदेखेका भुइँफुट्टाका के कुरा गर्नू !
बहुमुखी प्रतिभाका धनी मेरा बा ! तपाईंकाे विलक्षण प्रतिभाकाे बयान गरिसाध्ये छैन । खेलकुदका क्षेत्रमा भएकाे तपाईंको ज्ञान , विज्ञान र मनाेविज्ञान कसलाई के थाहा ? क्रिकेटकाे जगतमा वाइ पि एल भन्ने कुरा धेरैले तपाईंकै मुखबाट बल्ल सुन्न पाए । भलिबल खेलमा नानीहरूले गाेलपाेष्टमा गाेल गरेकाे कुरामा सारा गाउँ गदगद थियाे । तर विराेधीले फुटबल भनेर कमेन्ट गरेरै छाेडे । बा ! त्यति जाबाे कुरा पनि जनतालाई थाहा रहेनछ हाम्रा गाउँमा । राम्रोसँग बुझाइदिनु पर्छ कि क्या हाे ; लात्तीले हान्नेलाई भलिबल र मुड्कीले हान्नेलाई फुटबल भन्छन् भनेर !
बा ! तपाईंको जवानीप्रति डाहा गर्नेहरूले बुढाे भयाे भन्दा रहेछन् । बाका पनि बा हजुरबा जिउँदै भएपछि तपाईं कसरी बुढाे ? सत्तरीमै मान्छे बुढाे हुन्छ ? हाँसेकाे , काँसेकाे , सुतेकाे , उठेकाे , खाएकाे , गाएको , लाएको सबै किसिमका गतिविधिमा खर्च भएकाे समयकाे पचास प्रतिशत ह्रास कट्टी गर्दा निस्किने उमेर पैंतीस । बल्ल घरजम गर्ने बेला हुँदैछ । बाकाे तीन सन्तानकाे नीतिले बालाई अपुताे भन्नेहरूकाे कस्ताे दसा हुने हाे कुन्नि ?
बा ! तपाईं ढुक्क हुनुहाेस् । केही नहुँदासम्म केही हुँदैन । मनाेज गजुरेल भाइले यस्तै भन्छन् । चारचार वटा मृगौलाले तपाईंलाई स्ट्राेङ बनाएकै छन् । तपाईं बिनाकाे गाउँ र कुनै पार्टीको नाउँ सम्भव छैन । बा ! मैले बुझेकाे छु । जल्नेहरू जल्दै राख्छन् । बिस्तारै गल्दै राख्छन् । केही बिकल्प नभएपछि तपाईंकै पाउमा शिर राख्छन् ।
मैले मेरै बाका बारेमा अलिकति कुरा गरेकाे हूँ । मेरा अर्थात् हाम्रा केपी बाका कुरा । हाम्रा केपी बाका बारेमा ठेलीका ठेली ग्रन्थ तयार हुन सक्छन् । तपाईंले ठान्नुभयाे हाेला खड्गप्रसाद ओली बा । मेरा अर्थात् हाम्रा गाउँका कृष्णप्रसाद बा । छाेटकरीमा केपी बा । गाउँलेहरूले पनि केपी बा नै भन्छन् । उमेरमा मै जेठाे छु । नाताले मात्रै छाेराे । देख्लास् बाउकाे बिहे भनेझैं मैले केपी बाकाे बिहे देख्ने भएकाे छु । बाका तीन सन्तान खेलाउने रहर जागृत भएकाे छ ।
धेरैका नाम मिल्न जाँदा गाउँमा धेरैपटक अलमल परेकाे अवस्था छ । ताली खानेले गाली खाएकाे र गाली खानेले ताली खाएका घटनाकाे साक्षी मै छु । तसर्थ यहाँ लेेखिएका केपी बाका कुरा उस्तै उस्तै नाम भई कसैकाे वास्तविक जीवनसँग मेल खाएमा संयाेग मात्रै हुनेछ ।
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२।०४।१०
Subscribe
Login
0 Comments
Oldest








































