साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नकाबको गन्ध

सभामा खलबली मच्चियो । सचिव भने कानमा खुसुक्क बोले, “सर, यसो गरौँ- त्यस नोटलाई म्यास्क बनाऔं, अनि फेसबुकमा ट्याग गरौँ, ‘नकाब पनि सुरक्षा हो’ !”

Nepal Telecom ad

नन्दलाल आचार्य :

सिंहदरबारको कोठा नम्बर २७४ आज बिहानैदेखि अस्वाभाविक रूपमा सुस्त थियो । सामान्यतः यो कोठाबाट आदेशको गन्ध आउँथ्यो- सिफारिस, सरुवा, पुरस्कृत, दण्ड, राजीनामा, नियुक्ति, अनि फेरि नियुक्ति । तर आज केही चुप थियो । चिया तातो थिएन, सचिवको स्वर पनि चिसो थियो ।

“ढुक्क हुनुहोस्, मन्त्रीज्यू ।” सचिवले बायाँ कुम तन्काउँदै भने, “फेरि नियुक्ति सम्भव छ !”

मन्त्री घृणाकुमारले आफ्नो सिंगारिएको निधार खुम्च्याउँदै बिस्तारै भने, “कसरी ?”

सचिवले झ्यालबाट बाहिर हेरे- त्यहाँ बगैँचाको एक मात्र फूल न हावामा हल्लिएको थियो, न भमराले छोएको थियो । त्यो चुपचाप हल्लिरहेको थियो, मानौं सत्ताको मौन यथार्थ बोकेको होस् ।

“सरकार न अङ्ग्रेजी बुझ्छ, न नै न्याय !” सचिवको मुखबाट निस्किएको वाक्य हो कि व्यङ्ग्यको खुकुरी, छुट्याउन सकिने अवस्था थिएन ।

“हिजो मैले अचम्मको सपना देखें !” घृणाकुमारले चियाको कप हातमा समात्दै भने, “वाइडबडी विमानको पाइलट थिएँ म, तर इन्धनले होइन, घुसको गन्धले उडिरहेको थियो विमान ।”

सचिवको आँखा टक्क अडिए, “गन्धले उड्ने विमान ?”

“त्यो विमान आकाशमा चक्कर लगाइरहेको थियो ।” मन्त्री घृणाकुमारको स्वरमा हल्का थरथराहट मिसिएको थियो, “तर अचानक आकासबाट एक चिठी खस्यो ।”

“चिठी ?” सचिवले मुख अलिक बङ्ग्याउँदै भने ।

“हो, चिठीमा लेखिएको थियो, ‘तपाईंको नशामा भ्रष्टाचार मिसिएको छ, पदबाट ओर्लनुस् !’ अनि म… म आकासबाट ओर्लिएँ । सीधै चियाको कपमा खसेँ !”

“सपना त सपना हो नि, मन्त्रीज्यू !” सचिव मुस्कुराए ।

“हो… तर फेसबुक खोलें, त्यही नोट ट्रेन्डिङमा थियो !” मन्त्रीको गला सुकेको थियो । “तस्बिरसहित, ट्याग पनि- नकाब खोल भन्ने थियोे ।”

त्यसपछि सिंहदरबारमा स्यालहरूको सल्लाह बैठक सुरु भयो । मानौं लोकतन्त्रको बिरालो मुसाको सम्मेलनमा आएको होस् । हरेक सचिव, उपसचिव, सहसचिव, निकाय प्रमुख, निजी सचिव, निजकी प्रेमिका र निजकी प्रेमिकाकी सासू पनि अनलाइन थिए । जुम मिटिङको शीर्षक थियो- “नकाब रहस्य कि परम्परा ?”

सचिव चिढिएर बोले, “यो सपना होइन, सङ्केत हो । उहाँको अवचेतनमा सच्चाइले धक्का दिएको हो !”

“तर मन्त्रीज्यूलाई यस्तो सपना देख्नु नै अनुचित हो !” सहसचिवको तर्क थियो, “संविधानले सपना हेर्न पाएको छ र ?”

“त्यो सपनामा इन्धन घुस थियो ! त्यो त राष्ट्रिय गौरवको गन्ध हो नि !” अर्कोले समर्थन गर्‍यो ।

त्यही साँझ मन्त्री घर फर्किए । बुबा टिभी हेर्दै थिए- नयाँ टेलिश्रृङ्खलामा एक मन्त्रीको भ्रष्टाचार खुलासा हुँदै थियो ।

“बाउ ! यस्ता कसरी मन्त्री हुन्छन् ?” छोरो झस्किँदै करायो ।

“श्रीमान, तपाईं पनि कहिले नकाब खोल्नुहुन्छ ?” श्रीमतीले भुइँ पुछ्ने कपडाले उनको जुत्ता पुछ्दै सोधिन् ।

“हाम्रो घरको ‘नकाब’ त तिमी नै हौ !” घृणाकुमार थरथराउँदै मुख खोल्न लागे, तर मोबाइल टिङ्ङ गरी बज्यो ।

नयाँ नोटिफिकेसन थियो- “ब्रेकिङ- ‘सपना देख्ने मन्त्री’ को राजीनामा माग गर्दै संसदीय समितिको आकस्मिक बैठक !”

अब मन्त्री घृणाकुमारले ठानिहाले- मैले केही गर्नैपर्छ । उनको आत्माले भन्न थाल्यो- ‘अब नकाब खोल !’

तर प्रश्न थियो- कुन नकाब ?

उनको अनुहारमा चारवटा नकाब थिए- पहिलो, पार्टीको; दोस्रो, पदको; तेस्रो, राष्ट्रसेवकको; र चौथो, जनताको सेवकको । यी सबै एकअर्काको ट्याग लगाएर जोडिएका थिए- राष्ट्रियहित ।

“तर नकाब कहाँबाट खोल्ने ?” उनले श्रीमतीलाई सोध्न खोजे, तर उनी अहिले टिकटकमा ‘इमानदार मन्त्रीको नाटक’ हेर्दै थिइन् । त्यो भिडियोमा देखिएको मन्त्री साँच्चै उनी नै जस्तो देखिन्थ्यो !

“के म… म अभिनय गरिरहेको छु ?” मन्त्री आफैँसँग डराए ।

त्यस रात उनी पुनः सपना देख्न थाले । उनी एउटा अदालतको बेञ्चमा उभिएका थिए । न्यायाधीशले भने, “तपाईंको अनुहारमा देखिएको नकाब यथार्थ होइन, मिथ्या हो । तपाईंको आत्मा भ्रष्टाचारको नशामा चुर छ ।”

“तर म जनताको सेवक हुँ !”

“जनता भनेका फाइल हुन् र ? तिमी त फाइलमा सेवक भएका छौ, जनतामा होइन ।”

“मलाई माफ गर्नुस् !”

“यसमा माफी छैन…”

त्यो नेपाली पाराको न्यायध्वजाको हल्लासँगै उनको निद्रा खुल्यो । पसिना-पसिनामा भिजेका थिए । ओछ्यानमा फेरि त्यही गन्ध थियो- घुसको गन्ध ।

भोलिपल्ट मन्त्रीज्यू निर्णयमा पुगे- “अब नकाब खोल्नुपर्छ ।”

तर नकाब खोलेपछि देखिने अनुहारको डरले उनी आत्तिने त हैनन् । नकाबभित्रको अनुहार फेरि नकाबजस्तै थियो- बेनामी, बेजान र बेशर्म ।
गृह मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको तयारी हुँदै थियो । पत्रकारहरू उत्साहित थिए, सचिव तनावमा, सुरक्षा गार्ड अप्ठ्यारोमा र मन्त्री आत्ममन्थनमा ।

मन्त्रीले माइक समाते- “म… म घृणाकुमार आज आफूभित्रको नकाब खोल्न चाहन्छु ।”

“कुन नकाब ?” पत्रकारहरू चिच्याए ।

“वाइडबडीको होइन । त्यो त प्रतीक थियो । म जनताको सपना चोर्ने नकाब खोल्न चाहन्छु । म…!”

त्यो बेला एकजना पाखुरे पत्रकार उठे, “मन्त्रीज्यू, तपाईंले भनिरहनु भएको सपना साँच्चै तपाईंको हो कि अरूको स्टाटस चोरेर बनाइएको हो ?”

सभामा खलबली मच्चियो ।

सचिव भने कानमा खुसुक्क बोले, “सर, यसो गरौँ- त्यस नोटलाई म्यास्क बनाऔं, अनि फेसबुकमा ट्याग गरौँ, ‘नकाब पनि सुरक्षा हो’ !”

सपना, स्टाटस र सत्यबीच फसेका मन्त्रीज्यू आफ्नो गालाको मासु छामिरहे । त्यहाँ घडी बाँधिएको थिएन, तर समय दौडिरहेको थियो ।

त्यो समय जो आज पनि सिंहदरबारको कोठा नम्बर २७४ मा झ्यालको ढोका खोली हल्का हावामा फुसफुसाइरहेको छ-
“नकाब त केवल कागज थियो, भ्रष्टाचार त गन्ध हो… जुन हराएकै छैन !”

०००
२०८२ साउन ८ गते ।
बेलका-२, उदयपुर ।
सम्पर्क- nandalalacharya@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x