साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दामलाई राजनीति कि राजनीतिलाई दाम ?

मान्छे निकाशा गर पैसा, दल फेर पैसा, सरकारी चल अचल सम्पति बिक्री गर पैसा, सुनको कारोवारमा पैसा, भिजिट भिसाको कारोबार गर पैसा, सहकारीमा सङ्लग्न होउँ पैसा । त्यसैले सबै काम छोडेर राजनीति गरौँ कुस्त कमाऔँ, चुस्त रहौं ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

राजनीति गर्न दाम कमाउने कि दाम कमाउन राजनीति गर्ने ? आखिर भन्लाई जे भने पनि गर्ने राजनीति नै हो र कमाउने चाँही दाम नै हो । राजनीति गर्न दाम कमाउन तिर लाग्ने हो भने, जीवनको महत्त्वपूर्ण समय खेर जानसक्छ र यो बाटो लामो र घुमाउरो हुन्छ । त्यसैले मेरो सल्लाह मान्ने हो भने राजनीति गर्न दाम कमाउने होइन दाम कमाउन राजनीति गर्नुपर्छ । म ठोकेर भन्छु हालसम्म देखिएको मध्य, दाम कमाउने यो भन्दा छोटो र सहज बाटो अरू कुनै पनि हुन सक्दैन ।

कुनै बेला राजनीति गर्न दाम कमाउने प्रचलन थियो तर यो प्रचलन पुरानो भयो । कतिपयलाई याद होला उहिले उहिले भने यस्तै चलन थियो । मान्छेहरू भन्थे , चुनावमा धरौटी राख्न, पर्चा पम्प्लेट फाल्न, कार्यकर्ता पाल्न, चुनावमा खसी र राँगो ढाल्न केही दाम चाहिन्छ । जग्गाजमिन प्रसस्त हुनेले सुर्को फगटो बिक्री गरेर चुनाव खर्च जुटाउँथे , नहुनेले दुईचार वर्षजति सानोतिनो व्यापार बिजनेस गर्थे , कि सानोतिनो जागिर खाएर चुनाव लड्ने खर्च जुटेपछि राजनीतिमा प्रवेश गर्ने गर्थे । समय फेरबदल भए सँगै यो प्रचलन हराएर गयो ।

त्यसैताका हाम्रो टोलमा एकजना काइते काका थिए । सायद उनलाई चुम्बकले फलाम ताने झैँ राजनीतिको आकर्षणले तानेछ क्यारे । यिनको मनमा जसरी पनि राजनीति गर्ने र रा पं स बन्ने भूत सवार भएछ । घरमा सामान्य सरसल्लाह गरेर उनी चुनाव खर्च जुटाउन कलकत्ता हानिए । अन्य गाउँलेहरू भन्दा निकै टाठाबाठा मानिएका काइते काका कलकत्ताको कपडा कोठीमा चार वर्ष दरमान बसेछन् । उनको उदेश्य पाँच वर्षपछि जिल्लामा आएर रापंस पड्काउने थियो । जब उनको चारवर्ष पूरा भयो मालिकले भनेछ “बहादुर , तिमीलाई दरमानबाट फोरम्यानमा प्रमोसन गरिदिउँला घर फर्कने कुरा नगर ।” तिमी रापंस भयौ भने कति तलब पाउँछौ ? पहिलेदेखि नै हिसाब कण्ठ पारेका काकाले प्रश्न झर्न नपाउँदै उत्तर दिएछन् “सात हजार । “मालिकले नौ हजार तलव दिने भएपछि काका न रापंस बने न तुरुन्त नेपाल फर्किए !

बीस बर्ष पछि नेपाल आएका काकाले साँसद हुने साथीभाईले काठमाडौंमा घर गाडी जोडेको देखेपछि टाउको समाउँदै भने “ त्यसताका राजनीति गर्नेले भ्रष्टाचार गर्यो भने राजनीतिबाट हात धुनु पर्ने हुन्थ्यो । सहायक मन्त्री राज्यमन्त्री सँग डराउँथ्यो, राज्यमन्त्री फुल मन्त्रीसँग डराउँथ्यो, फुल मन्त्री प्रधानमन्त्रीसँग डराउने र प्रधानमन्त्री डराउने समेत संस्था थियो । एकदमै टाठो र चम्बु राजनीतिज्ञ रहेछ भने पनि एकपटकमा हजारभन्दा बढी यताउता गर्न सक्दैन थियो । काकाले यस्तै सोचेका थिए । जे सुकै होस्,जमाना सस्तो थियो, रा पं स बन्न सके पनि जेनतेन काठमाडौमा एउटा सानो घर जोड्न सहजै सकिन्थ्यो । यस बीचमा काकाले सोचेभन्दा ठूलो परिवर्तन भै सकेको थियो । उनलाई परिवर्तन र समयले एकसाथ धोका दियो । काकाले रा पं स बनेर काठमाडौंमा घरजग्गा जोड्न सकेनन् । कलकत्तामा मालिकले थप गरिदिएको दुई हजार तलब नै काकाको राजनीतिज्ञ बन्ने र राजनेता बन्नका लागि सबै भन्दा ठूलो बाधाको रूपमा देखापर्यो । काकाको सपना चकनाचुर भयो ।

काकाले कलकत्ता छोड्न सकेनन्, यता समय र संस्कार परिवर्तन हुँदै गयो । हिजोका तिनै रा पं स रातारात सांसद बने । पदको नामसँगै भ्रष्टाचार गर्ने तरिका र अङ्कमा पनि नसोचेको परिवर्तन भयो । भ्रष्टाचार गर्नु नै छ भने पुरातन शैलीमा हजार अङ्कको भ्रष्टाचार पनि के भ्रष्टाचार गर्नु भन्दै आजभोलि रकमको मात्रामा लाख करोड हुँदै अर्ब पुर्याइयो ।‌ कमसेकम जमाना अनुसार त चल्नै पर्यो । फेरि सबै मिलेर डराउने रोग, औलो उन्मूलन गरे जस्तै उन्मूलन गरियो । जब रोग हरायो अचेल कसैसँग पनि डराउनु पर्दैन । हाइसञ्चो भएको छ । त्यसैले होला, अचेल राजनीति गर्न पहिल्यै दाम कमाइ रहने झन्झट गर्नु पर्दैन । कलियुगे ब्रह्मा, बिष्णु र महेश्वरलाई प्रदक्षिणा, आरती, दक्षिणा र प्रसाद चढाउँदै सेवा गर्ने हो भने पक्का साँसद भइयो । जनताले पत्याउँछ जस्तो लागे चुनाव लडेपनि भयो होइन भने साँसद मन्त्रीहुने चोरबाटाहरू खनिएकै छ सोही बाटो हुँदै लुसुक्क छिरे भइहाल्यो । जसरी हुन्छ त्रिदेव रिझाउनु पर्यो बस् , साँसद पक्का !

राजनीतिमा सहभागिता जनाएकै भरमा दाम कमाउन पाउने भएपछि दु:ख कसले बेसाउँछ ? जब राजनीति गर्न सहज भयो,आजभोलि गाउँमा मल बोक्ने , बाउसे गर्ने, खेत रोप्ने, कोदो रोप्ने र अन्य सारा कामका लागि ज्यामी काम गर्ने मान्छेहरूको अभाव खड्किँदै गयो । बलिया तिघ्रा हुनेहरू लिगलिगे दौड जिते जस्तै चुनाव नाम गरेको दौड जितेर केन्द्र, प्रदेश र स्थानीय तहमा भर्ती हुन थाले, बुढाखाडा ओछ्यान छोडन सक्दैनन् । भर्ती हुन योग्यता नपुगेका र केही बचेखुचेका युवा समुन्द्र पारको लाहुर हानिए ।

यता काम गर्ने मान्छेको अभाव नखड्कियोस् पनि किन ? देशका २५ प्रतिशत मान्छे खाडीमा छन् । बाँकी २५ प्रतिशत अन्य मुलुकमा पुगे । बाँकी २५ प्रतिशत कुनै न कुनै रूपमा राजनीतिको जागिरे बनेका छन् । संघ, प्रदेश र स्थानीय निकायतिर डुङ्गुर खपत हुने ठाउँ छँदैछ । अब बाँकी २५ प्रतिशत जनता बुढाखाडा , रोगी , र कमजोर शारीरिक अवस्थामा रहेकामात्र गाउँघरमा छन् । जो हतपती घरबाट बाहिर निस्कन सक्दैनन् । चुनावताका निर्णायक मत यिनैसँग हुन्छ । यी चाहेर होइन नसकेर घर बाहिर निस्कन नसकेका हुन् । सक्ने भए यिनले पनि युरोप अमेरिकाको स्वादको निकै चर्चा सुनेका छन् । यिनीहरू सन्तान विछोडको पीडा नाम गरेको रोगले ग्रस्त छन् सबै । यिनले घरबाहिर निस्कने भनेको चुनावका दिनमा मात्र हो । त्यो पनि हिँडेर जानुपर्दैन, यिनको दैलोमा गाडी लिन आइपुग्छ ।

राजनीतिमा प्रवेश गर्नका लागि दाम कमाउन गएका काइते काका अचेल जिल्लाराम परे । उता कमाउन राजनीतिमा लाग्नेहरू भने रातारात मालामाल बने । त्यसैले आजभोलि पहिले जस्तै दाम कमाएर राजनीति गर्नु जरुरी छैन । पैसा कमाउने एकमात्र माध्यम राजनीति मात्र बाँकी छ । व्यापार विजनेश गरौँ व्यापार सेलाउँदै गयो, खेतिपाती हुन छोड्यो त्यसले खान पनि पुग्दैन । उद्योगधन्दा राजनीतिले खायो , कमाउने सजिलो विकल्प भनेको राजनीति मात्र बाँकी रह्यो , अब कुस्त दाम कमाउन राजनीति गर्नुपर्छ । राजनीतिका दशै दिशामा कमाउने बाटाहरू मात्र छन् । मान्छे निकाशा गर पैसा, दल फेर पैसा, सरकारी चल अचल सम्पति बिक्री गर पैसा, सुनको कारोवारमा पैसा, भिजिट भिसाको कारोबार गर पैसा, सहकारीमा सङ्लग्न होउँ पैसा । त्यसैले सबै काम छोडेर राजनीति गरौँ कुस्त कमाऔँ, चुस्त रहौं ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x