चिरञ्जीवी दाहालदामलाई राजनीति कि राजनीतिलाई दाम ?
मान्छे निकाशा गर पैसा, दल फेर पैसा, सरकारी चल अचल सम्पति बिक्री गर पैसा, सुनको कारोवारमा पैसा, भिजिट भिसाको कारोबार गर पैसा, सहकारीमा सङ्लग्न होउँ पैसा । त्यसैले सबै काम छोडेर राजनीति गरौँ कुस्त कमाऔँ, चुस्त रहौं ।

चिरञ्जीवी दाहाल :
राजनीति गर्न दाम कमाउने कि दाम कमाउन राजनीति गर्ने ? आखिर भन्लाई जे भने पनि गर्ने राजनीति नै हो र कमाउने चाँही दाम नै हो । राजनीति गर्न दाम कमाउन तिर लाग्ने हो भने, जीवनको महत्त्वपूर्ण समय खेर जानसक्छ र यो बाटो लामो र घुमाउरो हुन्छ । त्यसैले मेरो सल्लाह मान्ने हो भने राजनीति गर्न दाम कमाउने होइन दाम कमाउन राजनीति गर्नुपर्छ । म ठोकेर भन्छु हालसम्म देखिएको मध्य, दाम कमाउने यो भन्दा छोटो र सहज बाटो अरू कुनै पनि हुन सक्दैन ।
कुनै बेला राजनीति गर्न दाम कमाउने प्रचलन थियो तर यो प्रचलन पुरानो भयो । कतिपयलाई याद होला उहिले उहिले भने यस्तै चलन थियो । मान्छेहरू भन्थे , चुनावमा धरौटी राख्न, पर्चा पम्प्लेट फाल्न, कार्यकर्ता पाल्न, चुनावमा खसी र राँगो ढाल्न केही दाम चाहिन्छ । जग्गाजमिन प्रसस्त हुनेले सुर्को फगटो बिक्री गरेर चुनाव खर्च जुटाउँथे , नहुनेले दुईचार वर्षजति सानोतिनो व्यापार बिजनेस गर्थे , कि सानोतिनो जागिर खाएर चुनाव लड्ने खर्च जुटेपछि राजनीतिमा प्रवेश गर्ने गर्थे । समय फेरबदल भए सँगै यो प्रचलन हराएर गयो ।
त्यसैताका हाम्रो टोलमा एकजना काइते काका थिए । सायद उनलाई चुम्बकले फलाम ताने झैँ राजनीतिको आकर्षणले तानेछ क्यारे । यिनको मनमा जसरी पनि राजनीति गर्ने र रा पं स बन्ने भूत सवार भएछ । घरमा सामान्य सरसल्लाह गरेर उनी चुनाव खर्च जुटाउन कलकत्ता हानिए । अन्य गाउँलेहरू भन्दा निकै टाठाबाठा मानिएका काइते काका कलकत्ताको कपडा कोठीमा चार वर्ष दरमान बसेछन् । उनको उदेश्य पाँच वर्षपछि जिल्लामा आएर रापंस पड्काउने थियो । जब उनको चारवर्ष पूरा भयो मालिकले भनेछ “बहादुर , तिमीलाई दरमानबाट फोरम्यानमा प्रमोसन गरिदिउँला घर फर्कने कुरा नगर ।” तिमी रापंस भयौ भने कति तलब पाउँछौ ? पहिलेदेखि नै हिसाब कण्ठ पारेका काकाले प्रश्न झर्न नपाउँदै उत्तर दिएछन् “सात हजार । “मालिकले नौ हजार तलव दिने भएपछि काका न रापंस बने न तुरुन्त नेपाल फर्किए !
बीस बर्ष पछि नेपाल आएका काकाले साँसद हुने साथीभाईले काठमाडौंमा घर गाडी जोडेको देखेपछि टाउको समाउँदै भने “ त्यसताका राजनीति गर्नेले भ्रष्टाचार गर्यो भने राजनीतिबाट हात धुनु पर्ने हुन्थ्यो । सहायक मन्त्री राज्यमन्त्री सँग डराउँथ्यो, राज्यमन्त्री फुल मन्त्रीसँग डराउँथ्यो, फुल मन्त्री प्रधानमन्त्रीसँग डराउने र प्रधानमन्त्री डराउने समेत संस्था थियो । एकदमै टाठो र चम्बु राजनीतिज्ञ रहेछ भने पनि एकपटकमा हजारभन्दा बढी यताउता गर्न सक्दैन थियो । काकाले यस्तै सोचेका थिए । जे सुकै होस्,जमाना सस्तो थियो, रा पं स बन्न सके पनि जेनतेन काठमाडौमा एउटा सानो घर जोड्न सहजै सकिन्थ्यो । यस बीचमा काकाले सोचेभन्दा ठूलो परिवर्तन भै सकेको थियो । उनलाई परिवर्तन र समयले एकसाथ धोका दियो । काकाले रा पं स बनेर काठमाडौंमा घरजग्गा जोड्न सकेनन् । कलकत्तामा मालिकले थप गरिदिएको दुई हजार तलब नै काकाको राजनीतिज्ञ बन्ने र राजनेता बन्नका लागि सबै भन्दा ठूलो बाधाको रूपमा देखापर्यो । काकाको सपना चकनाचुर भयो ।
काकाले कलकत्ता छोड्न सकेनन्, यता समय र संस्कार परिवर्तन हुँदै गयो । हिजोका तिनै रा पं स रातारात सांसद बने । पदको नामसँगै भ्रष्टाचार गर्ने तरिका र अङ्कमा पनि नसोचेको परिवर्तन भयो । भ्रष्टाचार गर्नु नै छ भने पुरातन शैलीमा हजार अङ्कको भ्रष्टाचार पनि के भ्रष्टाचार गर्नु भन्दै आजभोलि रकमको मात्रामा लाख करोड हुँदै अर्ब पुर्याइयो । कमसेकम जमाना अनुसार त चल्नै पर्यो । फेरि सबै मिलेर डराउने रोग, औलो उन्मूलन गरे जस्तै उन्मूलन गरियो । जब रोग हरायो अचेल कसैसँग पनि डराउनु पर्दैन । हाइसञ्चो भएको छ । त्यसैले होला, अचेल राजनीति गर्न पहिल्यै दाम कमाइ रहने झन्झट गर्नु पर्दैन । कलियुगे ब्रह्मा, बिष्णु र महेश्वरलाई प्रदक्षिणा, आरती, दक्षिणा र प्रसाद चढाउँदै सेवा गर्ने हो भने पक्का साँसद भइयो । जनताले पत्याउँछ जस्तो लागे चुनाव लडेपनि भयो होइन भने साँसद मन्त्रीहुने चोरबाटाहरू खनिएकै छ सोही बाटो हुँदै लुसुक्क छिरे भइहाल्यो । जसरी हुन्छ त्रिदेव रिझाउनु पर्यो बस् , साँसद पक्का !
राजनीतिमा सहभागिता जनाएकै भरमा दाम कमाउन पाउने भएपछि दु:ख कसले बेसाउँछ ? जब राजनीति गर्न सहज भयो,आजभोलि गाउँमा मल बोक्ने , बाउसे गर्ने, खेत रोप्ने, कोदो रोप्ने र अन्य सारा कामका लागि ज्यामी काम गर्ने मान्छेहरूको अभाव खड्किँदै गयो । बलिया तिघ्रा हुनेहरू लिगलिगे दौड जिते जस्तै चुनाव नाम गरेको दौड जितेर केन्द्र, प्रदेश र स्थानीय तहमा भर्ती हुन थाले, बुढाखाडा ओछ्यान छोडन सक्दैनन् । भर्ती हुन योग्यता नपुगेका र केही बचेखुचेका युवा समुन्द्र पारको लाहुर हानिए ।
यता काम गर्ने मान्छेको अभाव नखड्कियोस् पनि किन ? देशका २५ प्रतिशत मान्छे खाडीमा छन् । बाँकी २५ प्रतिशत अन्य मुलुकमा पुगे । बाँकी २५ प्रतिशत कुनै न कुनै रूपमा राजनीतिको जागिरे बनेका छन् । संघ, प्रदेश र स्थानीय निकायतिर डुङ्गुर खपत हुने ठाउँ छँदैछ । अब बाँकी २५ प्रतिशत जनता बुढाखाडा , रोगी , र कमजोर शारीरिक अवस्थामा रहेकामात्र गाउँघरमा छन् । जो हतपती घरबाट बाहिर निस्कन सक्दैनन् । चुनावताका निर्णायक मत यिनैसँग हुन्छ । यी चाहेर होइन नसकेर घर बाहिर निस्कन नसकेका हुन् । सक्ने भए यिनले पनि युरोप अमेरिकाको स्वादको निकै चर्चा सुनेका छन् । यिनीहरू सन्तान विछोडको पीडा नाम गरेको रोगले ग्रस्त छन् सबै । यिनले घरबाहिर निस्कने भनेको चुनावका दिनमा मात्र हो । त्यो पनि हिँडेर जानुपर्दैन, यिनको दैलोमा गाडी लिन आइपुग्छ ।
राजनीतिमा प्रवेश गर्नका लागि दाम कमाउन गएका काइते काका अचेल जिल्लाराम परे । उता कमाउन राजनीतिमा लाग्नेहरू भने रातारात मालामाल बने । त्यसैले आजभोलि पहिले जस्तै दाम कमाएर राजनीति गर्नु जरुरी छैन । पैसा कमाउने एकमात्र माध्यम राजनीति मात्र बाँकी छ । व्यापार विजनेश गरौँ व्यापार सेलाउँदै गयो, खेतिपाती हुन छोड्यो त्यसले खान पनि पुग्दैन । उद्योगधन्दा राजनीतिले खायो , कमाउने सजिलो विकल्प भनेको राजनीति मात्र बाँकी रह्यो , अब कुस्त दाम कमाउन राजनीति गर्नुपर्छ । राजनीतिका दशै दिशामा कमाउने बाटाहरू मात्र छन् । मान्छे निकाशा गर पैसा, दल फेर पैसा, सरकारी चल अचल सम्पति बिक्री गर पैसा, सुनको कारोवारमा पैसा, भिजिट भिसाको कारोबार गर पैसा, सहकारीमा सङ्लग्न होउँ पैसा । त्यसैले सबै काम छोडेर राजनीति गरौँ कुस्त कमाऔँ, चुस्त रहौं ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































