साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल कवि

साँच्चै भन्ने हो भने, दल कविको कलममा मसी होइन, दलको रङ्गीन प्रचार सामाग्री र तिनकै भक्तिगानको मसी बगिरहेको हुन्छ । उनीहरूलाई सत्यलाई भन्दा पनि ‘दलप्रतिको निष्ठा’ लाई ठूलो साहित्यिक धर्म मान्दछन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

‘एकदिन कुनै राजाले भन्टाको तरकारी खाएर सभामा आएछन् । त्यस दिन उनलाई भन्टाको तरकारी अत्यन्त स्वादिष्ट लाग्यो । मान्छेको जिभ्रो सँधै एकनासको हुँदैन । कहिले कुनै परिकार स्वादिलो लाग्छ कहिले कुनै ! त्यसदिनको भन्टाको स्वाद उनले मरिगए पनि बिर्सन सकेनन् । सभामा आएर उनले भन्टाको स्वादको विषयमा वर्णन गर्न निकै समय खर्च गरे र आफ्नो निर्णय सुनाए “तरकारी खानु त भन्टाको पो खानु ।” अन्त्यमा उनले सभालाई निर्देशन समेत दिए “ जनताका करेसाबारीमा दुई चार बोट भन्टा सबैलाई रोप्न लगाउनु र स्वादिलो र अर्गानिक तरकारी मात्र सेवन गर्न भन्नु । ”

त्यसपछि राजाका दरबारी कविले तुरुन्त भन्टा महिमा गाउँदै कविता सुनाए ।

भन्टा तरकारीको राजा, भन्टा हुन्छ अति मिठो
राजा हो हुन्छ मुकुट , भेट्नोमा हेर है छिटो
भगवान कृष्णको रङ् र, भन्टा रङ समान छ
आकार पनि राम्रो छ, स्वाद यसको महान छ

राजा, भन्टा र दरवारी कविको समर्थनमा उपस्थित सबै भाई भारदारले परर ताली बजाए , त्यसदिनको सभा सकियो ।

मिठो लागेकोले पेट फुट्ने गरि भन्टाको तरकारी खाएका राजालाई भोलिपल्ट दिनभरि पखाला चल्यो र उनी त्यसदिन भाइभारदारहरू समावेश हुनेगरेको नियमित सभामा उपस्थित हुन सकेनन् । रातमा उनी अझै सिकिस्त बिरामी परे । दरवारी बैद्यले राजाको नारी छाम्दै भने “ महाराजले हिजो ज्यूनार गरेको भन्टाको दोष देखियो । भन्टा पित्तवर्धक र वात वर्धक हुन्छ । यसले पेटको विकार वृद्धि गर्छ । तसर्थ भन्टा स्वास्थ्यको लागि हानिकारक मानिएको छ । ” सामान्य औषधी उपचार पछि राजा निको भए ।

त्यसको अर्कोदिन राजा दरबारी सभामा उपस्थित हुनासाथ नयाँ फर्मान जारी गर्दै भने “ भन्टाको गुन कम र बैगुन अत्यधिक भएकोले सकेसम्म भन्टाको तरकारी खाँदै नखानु, जनताका घरमा भएको भन्टाको बोट तुरुन्त हटाउनु । त्यसै समयदेखि भन्टाको नयाँ नामाकरण गरियो र भन्टालाई “ बैगुन” भन्न थालियो । यता दरबारी कविले पनि आफ्नो चाकरी बजाउन बिर्सिएनन् । आखिर दरबारी कवि न परे, तुरुन्त परिस्थिति मिल्ने गरि अस्ति आफैंले लेखेको कवितालाई धोती लगाउँदै पुनः अर्को कविता प्रस्तुत गरे ।

भण्टाको नगर्नु सङ्गत , खानुहुन्न सधैँ भरी
जसरी बैगुनी मान्छे, त्याज्य हुन्छ त्यसै गरी
रङ यसको नराम्रो छ,कालो ध्वाँसे देखिन्छ यो
बोटमा लुकेको हुन्छ, पातले नि छेकिन्छ यो ।

कविले थप पुष्ट्याइँ दिँदै भने, “महाराज, यिनै दोषहरूका कारण यसको रङ पनि कालो भएको हो र प्रकृतिले पनि भन्टालाई हाँगामा उँधोमुन्टो झुण्ड्याएर सजायँ दिएकी हुन् । दरवारी कवि न परे, मालिकले सेतो बस्तुलाई कालो भने पनि हो मा हो मिलाउनै पर्यो, उनले पनि राजासँग स्वर मिलाई हाले । यो थियो उहिलेका दरवारी कविको हविगत ।

वर्तमानमा त्यस्तै दरबार छैनन् र दरवारी कवि पनि छैनन् तर यिनै दरवारी कविहरू “दल कवि” मा रुपान्तरित भएका छन् । नाम परिवर्तन भएपनि यिनको स्वभाव भने मरिगए पनि परिवर्तन हुन सकेन । ध्यान दिएर हेर्नुपर्छ स्पष्ट देखिन्छ, यस प्रजातिका कविहरूले राजनीतिक दलको घोषणा पत्रलाई महाकाव्य सम्झिन्छन्, नेताको भाषणलाई खण्ड काव्य ठान्छन् र भाका हालेर वाचन गर्छन् । यिनले दलको झण्डालाई प्रेरणाको सागर मान्छन् ।

दल कविको दिनचर्या अत्यन्त ‘साहित्यिक’ हुन्छ । दल कविहरू बिहान उठ्नेबित्तिकै नेता र पार्टीको फेसबुक स्टाटस पढ्छन् र त्यसैबाट प्रेरणा लिन्छन् । बल्ल सिर्जनाका लागि कलम समाउँछन् । नोटबुकमा दलको चुनाव चिन्हलाई मनन गर्दै कविता कोर्न सुरु गर्छन् । कविता लेख्दै जाँदा ‘जनता’ शब्द आउन खोज्यो भने तुरुन्तै काट्छन्, किनकि कविको प्रेरणा जनता होइनन्, आफ्नो बिरादरीको नेताको अद्भुत हाँसो, उखानटुक्का र काइते भाषणलाई मान्छन् ।

यी कविका कवितामा नदी, फूल, आकाश, चन्द्रमा सबैको नाम बदलिन्छ, नदीको नाम ‘दल नदी’, फूलको नाम ‘दल फूल’, आकाशको नाम ‘दलाकाश’। प्रेम कवितामा समेत “तिम्रो आँखामा देख्छु म हाम्रो दलको भविष्य” जस्ता अमर पङ्क्तिहरू लेखिएको पाइन्छन् ।
पुराना दरबारी कविहरू राजाको दरबारमा गाएर सुनाउँथे, आजका दल कविहरू पार्टी सम्मेलन, चुनावी सभा र प्रेस मिटमा गाएर सुनाउँछन् । अध्यक्षज्यूको हातबाट ‘साहित्यिक दल योद्धा’ नामको सम्मानपत्र बोकेर फर्कन्छन् । दल कविलाई लाग्छ, अब आफू पनि आदिकवि भानुभक्तकै गोत्रीय बनेँ ’।

दल कवि कुनै दिन स्वतन्त्र कवि बन्छन् कि भनेर जनताले आशा राख्छन् तर आशा निरासामा परिणत हुन्छ, यिनको व्यवहार साइनबोर्डमा खसीको फोटो देखाएर सोरुममा कुकुरको मासु बेच्न राखे जस्तै हुन्छ । साँच्चै भन्ने हो भने, दल कविको कलममा मसी होइन, दलको रङ्गीन प्रचार सामाग्री र तिनकै भक्तिगानको मसी बगिरहेको हुन्छ । उनीहरूलाई सत्यलाई भन्दा पनि ‘दलप्रतिको निष्ठा’ लाई ठूलो साहित्यिक धर्म मान्दछन् ।

त्यसैले कतै साहित्यिक मेला र कविता गोष्ठीमा उनीहरूलाई भेट्दा चकित नपरे पनि हुन्छ । किनकि यिनीहरू उहिलेका दरबारी कविका सन्तती र पछिल्लो पुस्ताका होनहार कवि हुन् । उनीहरूको कविता सुनेर ‘वाह !’ भन्दा पनि ‘आहा, पुनः चुनाव आउँदै रहेछ’ भनेर बुझ्नुपर्छ । किनकि उनीहरूको कवितामा सौन्दर्य होइन, घोषणापत्रको काव्यिक रूपान्तरण हुन्छ, जसमा जनताभन्दा दलको जयगान नै सर्वोच्च सत्य ठहरिन्छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x