बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– ५)
पुराण ज्यादै घत लाग्दै सुनेर सबै श्रोता बृन्द साध्वीको खुट्टामा लम्पसार पर्न पुगे । चुच्चो पखालेर फर्केका पण्डित बाजेले त्यो तमासा देखि आफ्नो उद्योगको साह्रै प्रशंसा गरे ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक(५)
सिंहासनमा बसिरहेकी पिताम्बर धारी साध्वी १००००८ लाई नमस्कार गरी कप्तान्नी लहरमा गई बसी । टुफिन लोग्ने मान्छेको लहरमा गफ छाँट्दै बस्यो । श्रोताहरु ध्यानामग्न थिए । कसैले कसैको कुरा सुन्दैन थे । दुइ चार जना केटा बेलवटम्धारी केटीहरुसँग आँखा जुदाई रहेका थिए । चार पाँचौटी गुण्डी बुढीहरु चेष्टर देखिने पातलो चोली लगाएर आधी ढाड र नाइटो प्रदर्शित गर्नमा मग्न थिए । पछि बसेका बुढा दुई चार अक्षर गाईखाने अक्षरका कुरा तीनै बुढीहरुलाई सुनाउँदै खासाक खुसुक गरिरहेका थिए । इष्टकोट र हिप्पी पाइन्ट लगाएका केटाहरु बेलवटम पेन्ट र स्ल्याक्स धारी केटीहरु सामु पुग्न अलि–अलि पेल्दै आइरहेका थिए । आठ–दशौटी पिताम्बर वश्त्रधारी चेलीहरु गुरुको प्रशंसा गर्दै फोटो, किताब दोब्बर मूल्यमा विक्रि गर्दै यता र उता लर्खर्री रहेका थिए । पण्डित बाजे पैसा कत्ति झर्ने हो भन्ने कुरामा खूबै विचार पुर्याउँदै थिए । झण्डावाल मोटर वाट ४/५ भलाद्मी हातमा फूलको गुच्छा र टोकरीमा फलफूल राखी उत्रे । साध्वीले आफ्नो पूर्व सूचना अनुसार कार्यक्रम प्रस्तुत गर्न थालिन् –
पृय सज्जन बृन्द, आज म को हुँ ? भन्ने विषयमा तपाईंहरुलाई जानकारी दिलाउँछु । गुरुभक्त तपाईंहरुले केहि लिई आउनु भएको भए किन बोकी रहनुहुन्छ ? बुझाएर आराम साथ मेरो कुरा सुन्नु होस् ।
साध्वीको आज्ञा पाउँदा साथ सबै भक्त उठी पाउ नजिक पुग्दै आ–आफ्नो श्रद्धाले ल्याएका सामग्री धमाधम खन्याउन थाले । नोटको कित्ता र फलफूलको ढिस्को बन्यो । पण्डित बाजेले निक्कै मिलाएर सुरक्षा साथ राखे ।
साध्वीले प्रवचन दिन थालिन् –
हुन त म भन्नु अहङ्कार हो । तैपनि म जान्नाले नै जीवनको सार हुन्छ । मोक्ष प्राप्तीको लागि ‘म’ लाई नचिनी हुँदैन । जबसम्म म भन्न सकिंदैन तबसम्म संसार रुपी समुद्रमा माछा बनेर छट्पट्टी रहनु पर्छ त्यसैले म को हुँ ? तपाईंहरुलाई बताई दिन्छु । कान खोलेर सुन्नु होस् ।
एक सय आठ शंकराचार्य साध्वी १००८ को छोरा हुन् । १००८ मेरो उनान्सय हजार छोरी पछिको छोरी हो । त्यसैले म १००००८ बनेकी छु । यस पृथ्वीमा श्रृष्टि हुँदा आकाश–पाताल केहि थिएनन् । ब्रम्हाजीले मलाई बोलाएर भन्नु भो –
हे छोरी ! मैले प्रसस्त जीवात्माको श्रृष्टि गर्नु छ । मानिसको श्रृष्टि गर्ने अभिभारा तिमीलाई दिन्छु । १००००८ पुरुष मत्र्यलोकमा छन् । त्यहाँ गएर तिमीले सबैसँग संभोग गर । १००८ पतिसँग संभोग गर्न सक्ने सामर्थ भएर १००००८ छोरीहरु उत्पन्न हुने छन् । तिनैबाट विभिन्न सन्तान जन्माएर आफै सात लोक आवादी गराउनु परेको छ ।
ब्रम्हाजीको त्यो कुरा सुनेर म मर्त्यलोकमा आएँ । युवती देख्दा साथ स्वास्नी नपाएर खर्रिएका पुरुषहरुले पालै पालो संभोग गरे । एकै वर्ष भित्रमा एकलाख आठ छोरी जन्माएँ । हरेक छोरीले १०००८ पुरुषसँग संभोग गरे तिनीहरुबाट एक सय आठ छोराहरु जन्मन थाले पछि कलियुग आयो । १०८ बाट घटेर ६,५, ४ हुन थाले । म सबै भन्दा ठूली हुँ । मलाई १००००८ ब्रम्हाजीले बनाई दिनु भएको हो । १००८ मैले बनाई दिएकी हुँ । १०८ मेरो छोरीले बनाई दिएकी हो । अरु घटी कलियुगले बनाएको हो । बुझ्नु भो म को हुँ ? तपाईहरुले विचार गर्नु भो भने आफै जान्नु हुनेछ ।
श्रोताहरुले श्री १०८, १००८ र १००००८ को मतलव बुझे । उनीहरुलाई कुरा सबै चित्त बुझ्यो । पुराण सुनाउने आग्रह गरे । साध्वीले मनचिन्ते पुराण सुनाउन थाल्नु भयो –
‘वाराणष्यात् अत्राऽगम्य, विद्धद् ब्राह्मण पप्रक्षमत् …. ’
काशीबाट अति विद्वान एक ब्राह्मणले शास्त्रार्थ गर्ने कुनै विद्वान नपाएर नेपालका विद्वान सँग छलफल गर्न भनी आएका थिए । बाटामा एउटा फेट्टा गुतेको ज्यापु हातमा ट्वाक लिएर हिंडिरहेको देखि पण्डित हुन् भन्ने ठानेर कुरा सोध्दै पछि लागे – ‘भवान कुत्र गच्छसी ?’ ज्यापुले जवाफ दियो –‘जीः खिफाय वने !’
पण्डितले शब्दार्थ नै बुझेनन् र डेरामा गई शब्दकोष पल्टाए ; जि : खिफाय वने को कुनै अर्थ नलागेकोले भोलिपल्ट पनि त्यसै बखत सोध्न भनी हिंडे । ज्यापुले पुन : ट्वाक लिई हिड्यो । पण्डित पछिपछि लाग्दै कराए –‘भवान् शब्दार्थ म या नजानित किमर्थ जी : खिफाय वने ?’ ज्यापुले रिशाउँदै हिंड्यो –‘गन्यामा ख्वासा ? ढाय लिपा – लिपा वयाच्वङ्गु ?’ पण्डित झन् चकित परेर फर्के । डेरामा पुगी शब्दकोष पल्टाउँदा कुनै पनि अर्थ लागेन । पर्सि पल्ट पनि त्यसै बला पारी पण्डित बाटो कुर्न गए । ज्यापु छाप्रोबाट हातमा ट्वाक लिई बाहिर निस्क्यो । पण्डित पुन : पछि पछि लागे । दिशाले च्यापेको ज्यापुले रिसाएर करायो –‘माम्प्वाखा, न्हि न्हिः वया छु : छु धाई छु : छु : हुँ ख्वासा ।’ पण्डितजीले गुरुबाट हुङ्कार प्रयोग भयो ; अब भष्म गरि दिनु हुन्छ भनी बर्कुसी मारे । शास्त्रार्थमा कसैले जित्न नसकेका पण्डितजीलाई साधारण ज्यापुले हराएर पठाई दिएको छ । यो हिमवत्खण्डमा रहने कसैलाई कसैले पनि जित्न सक्तैनन् भन्ने कुरा जो हो यथा मति यहिँ विस्तार भयो । हरय नम : ॥
पुराण घत्लाग्दो पाएर सबै श्रोता दङ्ग परे । साध्वीले अर्को पुराण सुनाईन् –
गक्वा चत्बार पुत्राणाम्, भ्रमणात् प्राप्य मोटरम्’
स्व राष्ट्र प्रभूत्व दृष्टवा गफ कृत्वा पृथक पृथक् ॥’
एक दिन बेलायत, अमेरिका, रुस र चीनका चार जना केटाहरु देश घुम्नको लागि रवाना भए । दैव संयोग चारै जनाले एउटा मोटर रिजर्व गर्नु परि आयो । मोटर रिजर्व गरी १०० किलो मिटरको स्पीडमा दुगुरे ।
मोटरमा कुरा हुन थाल्यो आफ्नो देशको बारेमा । अमेरिकनले लाख डलर झिकेर भन्यो –‘ म आफ्नो देशको लागि लाख डलर त्यसै फ्याँकिदिन केहि मान्दिन र चल्ती मोटरबाट फ्याँकी पनि दियो ।
बेलायतीले भन्यो –‘त्यो लाख डलर तुरुन्तै जम्मा गरेर आफ्नो देशमा भब्य पार्क बनाई दिन्छु बुझ्नु भो’ र तुरुन्तै गाडी रोकेर वर्लि हाले ।
रसियनले आफ्नो देशको लागि हामी आफ्नो दाजु भाइ केहि भन्दैनौ बुझ्नु भो । लौ हेर्नोस् ! आफ्नो भाइलाई फ्याँकी दिन्छु भनी चिनियालाई उचाली चल्ती गाडीबाट फ्याँकि दियो । हामी नेपालीले के गर्न सक्यौँ ? चार पैसा साधुलाई दान गर्न सक्तैनौ । साध्वीको पुराण सुन्ना साथ सबै श्रोताहरुले खल्ती, व्याग टक्टक्याउँदै भएभरका नगद दान गरे । कप्तान्नीले सुन बनाउन लगेकी चाँदीको गाग्री दान गरी, टुफिनले जुत्ताको फित्ता ।
नगदी जिन्सीको खोला लागेको देखि साध्वी अति प्रसन्न भइन् । श्रोताहरु विदा हुन तयार भए । साध्वीले आफूले खाई नसकिने सबै फलफूल प्रसाद दिइन् । खल्ती टक्टक्याइदिएका श्रोताहरुले एक/एक ओटा फलफूल टोक्दै बाटो लागे ।
मण्डप सन्नाटा छाइ सकेपछि पण्डित बाजेले सबै नगदी जिन्सी भित्रयाए । पुरेतेनी बजै मख्ख परिन् । नगदी फलफूल प्रसस्त खाएर मोटाएका पुरेत बाजेले कुरा झिके –
“बुढी, अब लखपति भैस् कि भैनस् ?”
“पहिलेनै यस्तो जुक्ति किन झिक्नु भएन ?”
“खान पुगेकै थियो, किन अधर्म गरौँ भनेर पो त !”
“अब मोटर चढेर हिंड्न पुग्दैन हामीलाई ?”
“भोलि एक दिन धुतौँ ; अनि गन्नु पर्ला ? पुग्छ कि पुग्दैन ?”
“आजको पुराण कस्तो लाग्यो ?”
“बुढी, गर्नुसम्म गरिस् । कहाँबाट जानिस यस्तो कुरा ?”
“अँस्तिनै तपाईंले ठट्टा गर्नु भएको थियो नि ! बिसर्नु भो !”
“ओहो ! त्यो ठट्टा अहिलेसम्म बिर्सेकी थिइनस् ?”
“बिर्सेकी भए, के सुनाउँथें र ?”
“स्यावास् ! ठीक गरिस् ।”
“आज त हिंडी दिएर पो, भोलि के सुनाउने नि ?”
मानिसलाई पो सुनाउन गाहृो पर्छ । गधालाई जे सुनाई दिए पनि त भयो नि । त्यसै ठगिई हाल्दा रहेछन् । मैले पहिलेनै भनि दिएको थिएँ नि । यी गधा हुन् । घाँस नखाने । घुस र भुस मात्रै खाने ।
दुई दिन मै लाखौं रुपैयाँ कमाईंदो रहेछ भने महीनौ बसेर गएको एक हजार आठले कत्ति सोहरी होली ? हामीले त अझ मन्त्र सुनाउने व्यवस्था मिलाएनौं । उसले कत्ति उडाई होली मन्त्रैबाट ।
‘नकराउनोस् ! हामीलाई पाप त भोग्नु पर्दैन । ब्राह्मण हौँ । अरुले दिएकै लिने । दिए लियौँ । नभएको मन्त्र सुनाई दिएर किन पापको खाडलमा जाक्किइनु ? ठीक छ । यत्तिकैमा चित्त बुझाउनु पर्छ । भोली धर्मकै कथा सुनाई दिनु पर्ला । ठगेको पनि पच्छ ।’
“ठीक भनिस् !”
“हैन, आज कप्तान्नी पनि देखे जस्तो लागेको थियो नि !”
“अँ, आइछ राँड ! चाँदीको गाग्री पनि त्यसैको जस्तो छ !”
“चिन्न त चिनिन !”
“चिनेकी भए किन गाग्री छोड्थी ?”
“हैन, तपाईंको रुपैयाँ फिर्ता गरी ?”
“गर्छे रण्डीले ! खाइदी !”
“कप्तान कैले आउँछन् नि ?”
“उसलाई किन कप्तान चाहियो र ? छँदै छ नि चाउरे कप्तान ।”
“किन, थाह छैन र कप्तान साबलाई ?”
ती पनि त एउटा गधा हुन नि । थाह भै भै पनि चूप लागी बसी रहेका छन् । बुढो भैहालेँ । अर्की स्वास्नी ल्याउने बेला गई हाल्यो । यही पनि भागीदिई भने के गर्नु ? भनी मुखैले भन्छन् । म कप्तान भैदिएको भए यस्ता रण्डीलाई लातका लात खाँदेर घोक्र्याई दिने थिएँ । के गर्नु ? उनी गधा भैहाले । गधैलाई पतिब्रता स्वास्नी मानेर बसिरहेछन् । अब त लडाईंमा गएका फर्किने पनि हुन कि होइनन् ? चाउरेले मोज लुट्नसम्म लुट्ने भयो ।
“दिपुले पो दुःख पाउने भई”
“के पाउँथी ? ऊ पनि त रण्डीकी छोरी, रण्डी हुन्छे खान्छे !”
“कप्तान्नीको साथ अर्को एउटा गुण्डो पनि आएको थियो ; त्यो पनि नयाँ लोग्ने हो कि ?”
“नयाँ–पुराना कत्ति छन् कत्ति नहुन पनि के बेर ?”
“साँच्चै, भोलि के गर्ने भन्नोस्न !”
“के गर्ने अव, मूर्ख गधाहरुलाई ठग्ने !”
“कसरी ठग्ने ?”
“आज कसरी ठगेकी थिस ? भोलि पनि त्यसरी नै ठग्ने ।”
“केहि कुरा अज्माउनु पर्ला होइन ?”
यी नर पशुहरुलाई किन कुरा अज्माउनु पर्छ र ? मुखमा जे आयो त्यही बकी दिए लाटोकोशेरो झुलिहाल्छन् । पैसा छुसी झर्नलाई के बेर ? अलि राम्रो नभए केहि बुद्धु आउन घट्लान त्यत्ति न हो । आजैको कमाईले तीन पुस्ता अघाउने भैसकेका छन् के को पीर मान्छेस् । मोटर किनेरै चढ्ने विचार गरेकी भए उहिल्यै सुनाई दिएको थिएँ नि नारद मोह; त्यसैलाई फुलबुट्टा भरी सुनाई दिनु । बुद्धुका खल्तीबाट लक्ष्मी छट्पटाएर बाहिर निस्किन्छिन् । टोयोटा कार चारोटा किन्न पुग्छ के को डर ? एउटामा तँ चढ्लिस् अर्कोमा म चढौंला दुइटा ट्याक्सीमा राखी दिएपछि पैसा कुकुरले नखाने हुन्छ ।
यहाँ चोरलाई चौतारा मिल्छ साधुलाई सुली । नेपाली कुकुरको बेलायति भुकाई भएपछि सबैले ठूलो मानि हाल्छन् । पहिले टपरे काठा भन्नेले पनि हजुर यहाँलाई के टक्र्याउँ ? भन्न अघि सरि हाल्छन् । यहाँको इज्जत पैसामा छ । जात पैसामा छ अनि धर्म पनि पैसामै । गुहुको ढ्वाङ्ग बोक्न छोडेको च्यामेलाई कैयौंले नमस्कार टक्र्र्याउँछन् । झन बीस तिस रुपैयाँको कुनै वास्ता नगरी फुङ्ग्ने गर्यो भने काजी पनि बनी हाल्छ ।
अब मलाई कसैले टपरे, काठा भन्ने हिम्मतै गर्न सक्दैनन् । आँखा पछाडि त कसले कसलाई के भन्दैनन् र ? अगाडि आएर टपरे कत्तिको चढेछ पनि भन्न सक्तैनन् किन भन्छन् त यी तेरा किस्मतले ।
मानिस यति छिटै कसरी भेडा भए ? रक्सीको सिसीले त होइन ? पुराणमा पनि जी : खिफाए वने आउला ? कस्ता बुद्धु ? अलिकति बिचार त गर्नु पर्छ । मै जान्ने, मै सुन्ने, मै विद्वान पनि भन्छन् नि । फेरि कहाँ ज्ञान सुन्न आएका । के ज्ञान पाएर गए होलान् ? कुन रक्सीको तालमा आएका थिए होलान् घर पुग्दा नपुग्दै बिर्सी पनि हाल्छन् ।
हुनत धर्मको लागि को आउँछ ? जात्रा हेर्न मात्रै आउने हुन् । जात्रा भैहाल्छ । तरुनी केटीले आफ्नो पुठ्ठा र छाती केटोलाई देखाउन आउँछे । मज्यौलीले नाइटोको प्वाल, सेतो ढाड र चोली भित्रको चेष्टर गुण्डालाई देखाउन आउँछन् । बुढीले चाउरी परेको गालामा लोपरेको पाउडर र तरुनी नै छु भन्ने नक्कल देखाउन आउने त हुन्नी । केटा, गुण्डा र बुढा सबै हेरेर र्याल काढ्छन् । समय बित्छ ठेलम ठेल गर्दै जान पाइन्छ कि भन्ने आश गर्छन् यत्ति न हो ? यस्तो रमिता त हर बखत भैनै रहनु पर्छ । नत्र कसले कसलाई चिन्ने ?
आज मदिशे, मारवाडी ज्यादै कम्ती थिए । भोलि अलिकति हिन्दी पनि बोलेस् । के छर ? पछाडि है थपिदिए पुगी हाल्छ । लक्कु का लक्कु झार्न त मारवाडीलाई झुलाउनु पर्छ बुझिस् । उनीहरुलाई खर्च गरेको पैसा अशूल गर्न केहि आपत्ती नै छैन । एक अंगुल घटी कपडा च्याती दिंदा साथ उपर भैहाल्छ । हाम्रा नेपालीबाट पैसा झार्न त कि प्रसस्त घुस्याहालाई पल्काउनु पर्छ कित पहाडियालाई, अरुबाट त एक पैसा पनि झर्दैन । केहि झरी हालेछ भने केटाहरुबाट झर्छ । केटी साथैमा छे भने । लौ कुरा बुझि हालिस् ! रात पनि धेरै वितेको जस्तो छ । भोलि छिट्टै उठेर ठग्नु पर्छ सुती हाल ।
साध्वीले कुरा समर्थन गरिन् । भक्तहरुले चढाएका श्याउ बेदाना आदी नगदी फलफूल त्यसै रहेका हुँदा भान्छाको कुनै वेवस्था नै मिलाउनु परेन । प्रसस्त फलफूल लदारेर साधु र साध्वी निद्रा देवीको काखमा पल्टीए । रात गुज्रन कुनै वेर लागेन । जागा हुँदा भक्तहरुको मण्डपमा ठेलम् ठेल् । डूँडमा चुच्चो पखालेर साध्वी पहेंलीन थालिन् । पण्डित बाजे भक्तहरुलाई साध्वीको छिटै ध्यान सक्किने आश्वासन दिंदै मण्डप प्रदक्क्षिणा गर्न थाले ।
पहेंलिइ सकेकी साध्वीले एक अचम्मको आवाज निकालीन् । पण्डित वाजेले ‘समाधी खुल्यो साध्वीको’ अव आ–आफ्नो स्थान ग्रहण गर्नु होस् भन्ने झ्याली पिटी दिए । भेला भएको भक्तहरु लहर मिलेर बसे । दुई चार भक्त र पण्डित बाजे साध्वीको सवारी चलाउन पुगे घर । साध्वी ठीक परेर बसी रहेको थिइन् , भक्तहरुको आगमन हुँदा साथ मण्डपमा साथलागी बर्लिन् । बसेका सबै भक्तहरुले साध्वीको जय, जयकार मच्चाए । पण्डित बाजेले भक्तहरुको आँखा छली चुच्चो पखाल्न दुगुरे । कार्यक्रम चल्न थाल्यो ।
सर्व प्रथम साध्वीले भक्तहरुलाई सम्बोधन गर्दै धर्ममा मन लगाउने प्रवचन दिनु भयो । तत् पश्चात् भक्तकै आग्रह अनुसार कथा सुनाउन थाल्नु भयो –
‘त्रय राष्ट्रस्य भक्ता : सौ : सम्मिलित दुरं मयौ
यकेकम् प्रश्न मादाम हत्वा उत्तर पृथक् पृथक ॥’
तिन राष्ट्र अर्थात् अमेरीका, भारत र नेपालका तीन जना मानिस मिलेर सफरको लागि टाढा गए । वीच बाटोमा पुगी तिनीहरुमा प्रश्न उत्पन्न हुन थाल्यो – कुन देश ठुलो ?
अमेरीकन उठेर आफ्नो ह्वाईट हाउसलाई देखाउँदै भन्न थाल्यो । संसारमा ह्वाईट हाउस भन्दा ठुलो के होला ? तब भारतेलीले प्रश्न गर्यो – कस्तो छ तपाईंको ह्वाईट हाउस ?
अमेरीकनले भन्न थाल्यो –
हाम्रो ह्वाइट हाउसमा एउटा अति ठ्लो साइन बोर्ड झुण्ड्याइएको थियो । एक दिन हावाले सो साइन बोर्ड खसाली दियो । धेरै दिन पछि सो साइनबोर्ड झुण्ड्याउन भनी एक कालीगढ हातमा सोही बोर्ड र मुखमा किला राखी चढ्यो । जव किला ठोक्न लागेको थियो ; दुर्भाग्य बस किला सुखबाटै खस्यो । काम नवनेकोले कालीगढ वर्ली आफ्नो वाटो लाग्यो । सात दिन पछि ; त्यही ह्वाईट् हाउसको बाटो गरी हिंड्दा बल्ल सो किला खसी नाकमा लाग्यो । भन्नोस्त – हाम्रो ह्वाईट हाउस कत्रो रहेछ ?
यो कुरा सुनेर मुमुर्रीएको भारतेलीले आफ्नो कुतुम्मीनार ठूलो गराउँदै भन्न थाल्यो । अमेरिकाको ह्वाईट हाउस् कुनै ठूलो रहेनछ । हाम्रो देश भारतको कुतुर्मीनार हेर्न भनी एक सेठले आफ्नी श्रीमती र काखको बालक लिई माथि चढ्यो । जता हेर्यो उतै राम्रो देखेर आनन्द मान्दै सेंठनीले बच्चा उफार्दै के खेलिरहेका थिइन्, अकस्मात बच्चा हातबाट खस्यो । बच्चा खसेको पीरले वर्ली तल पुगेर हेर्छन् त बच्चाको झ्याप् झ्याप्ती दाह्री आईसकेछ । भन्नोस्त हाम्रो देशको कुतुम्मीनार कत्रो रेछ ?
दुवै देशको कुरा सुनी सकेपछि नेपालीले आफ्नो देशको धरहराको वर्णन गर्न थाल्यो –
तपाईंहरुको देशमा त्यत्ती ठूलो केहिं रहेन छ ; जत्ती ठूलो हाम्रो देशको धरहरा छ । नेपालीको कुरा सुनी ताजुव मान्दै दुवैले प्रश्न गरे –‘कत्रो छ त ; तपाईंको देशको धरहरा ?’
नेपालीले वर्णन गर्न थाल्यो – एक दिन एक सेंठले आफूले अति मायाँ गरि पालेको बाँदरलाई लिई धरहरा चढ्न थाल्यो । बाँदरको जात चूप लागेर बस्न नसक्ने । आधी आधी के पुगेको हुँदो हो । बीचै बाट बाँदर खस्यो । बाँदर खसेको पीरले सेंठ वर्ली तल आएर हेर्छ त मानिस बनी सकेको । भन्नोस् त त्यसले कत्त योनी फेरिसकेछ ?
यो कुरा सुनेर दुबै जना छक्क परे । नेपाल नामी ठहरियो बुझ्नु भो । हिमवत् खण्ड भन्दा पवित्र र ठूलो खण्ड यो ब्रम्हाण्डमा नै छैन । अव यसै स्कन्दको दोश्रो अध्याय सुनाउँछु । ध्यान दिई सुन्नु होस् –
तौ भक्ता : पुनरागम्य कृत्वा : प्रश्न पुन : पुनः
कि उद्योग लर्कुवन्ती बध साधु त्वया मम ॥
ती दुई व्यक्तिले फेरि आएर सोधे – नेपाल त्यत्रो नामी रहेछ हामीहरुले जान्यौँ तर उद्योग किन गर्दैनन् । त्यो कुरा मलाई भन्नु होस् । एउटाको प्रश्न सुनेर नेपालीले भने – उद्योग के भएको छैन ? एउटी आईमाईले बीसोटा सम्म छोरा छोरी जन्माउँछे । बुढीहरुले नाइटो देखाई हिंड्छन् । केटाहरु सबै हिप्पी बन्न लागीसके भने उद्योग के भएको छैन ?
यो कुरा सुनेर उहि अमेरिकनले भन्यो – हाम्रो देशमा पानी जहाज एकले अर्कोलाई ठेल्दै चल्छ , तपाईंहरु कहाँ त्यस्तो छैन होला ।
अमेरीकनको कुरा काट्दै भारतेलीले भन्यो –
“झुट भन्नु भो, जहाजले पनि एकले अर्कोलाई ठेल्दै चल्छ ।” माफी माग्दै उस्ले पुन : भन्यो –
“होइन, दुई अङ्गुल फरक पार्दै हिंड्छ ।”
भारतेली – ‘होला ! हाम्रो देश भारतमा हवाई जहाज एक माथि अर्को, अर्को माथि झन् अर्को गर्दै आकाशै ढाकेर उड्छ’
अमेरेकी – “असम्भव !”
भारतेली –“होइन, दुई–दुई अंगुल फरक गरेर पो भन्या ।”
नेपाली –“हुन सक्छ, हाम्रो देश नेपालका मानिसले पनि नाकले भात भका भक खान्छन् ।”
दुबै जना –“महा असम्भव !”
नेपाली –“होइन, दुई अंगुल मुनीबाट पो भनेको ।”
दुबै ताजुव परे । नेपालमा निक्कै प्रगति भएको रहेछ । मान्छे निक्कै उद्योगी रहेछन् । धन्य नेपाल, यस्ता उद्योगीलाई काँधमा राखेर बसेकी छेउ । तिमीलाई एक पल्ट दर्शन गर्न आउने छौं ।
पुराण ज्यादै घत लाग्दै सुनेर सबै श्रोता बृन्द साध्वीको खुट्टामा लम्पसार पर्न पुगे । चुच्चो पखालेर फर्केका पण्डित बाजेले त्यो तमासा देखि आफ्नो उद्योगको साह्रै प्रशंसा गरे ।
क्रमश:
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































