साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दरको डर

दरमा सवारी भएपछि ´लौ अब तन्काउँ डियर, यो चिल्ड चिल्ड बियर `भन्दै बोतल खाली गर्नै पर्याे, ´अल इज फाइन घुड्क्याउँ वाइन` भन्दै प्याला रित्याउनै पर्यो । अनि म त ढलेँ ढलेँ ढलेँ ढलेँ भन्दै थरथराउनै पर्यो ।

Nepal Telecom ad

युगल बसेल :

दरसँग डराएको भन्ने शीर्षक पढ्दा तपाईंको अन्तरमनमा खसखस जाग्ला । महँगीको दर हो कि जन्मदर हो, विकास-वृद्धिको दर हो कि घट्दो ब्याजदर, प्रतिव्यक्ति आम्दानीको दर हो कि मृत्युदर ? तर यहाँ भन्न खोजेको त्यस्तो कुनै दर होइन । मेरो मर्मस्पर्शी कथनमा समेटिएको दरचाहिँ तीजको अघिल्लो दिन खाइने दर हो ।

हरितालिका (तीज) मा व्रत बस्नका लागि सहज होस् भनी अघिल्लो दिन खाइने अडिला र दर्बिला परिकार घिउभात (खाजा), खिर, दही, अचार र स्वादिष्ट तरकारी जस्ता भोज्य सामग्रीको समूह नै दर हो। अझ धेरै पहिलाको कुरा गर्ने हो भने त नअमिलिएको ताजा दहीमा कोरेसोमा कोरेको काँक्रो मिसाई बिरे नुन र मरिचको धुलो समेत राखी तयार पारिएको मिश्रणको नाम नै दर हो, जुन महिलाहरुले तीजको मौकामा खाने गर्थे ।

अलि अगाडिको कुरा गर्ने हो भने दर भाद्र शुक्ल द्वितीयाका दिन साँझ र रातिसम्म खाने गरिन्थ्यो । अहिले त उनी दिन गए, यिनी दिन आए भन्ने अवस्था छ । हेर्नुस् त अहिले दर खाने सामग्री र समय दुवै थरी बदलिएका छन् । साउन सुरु भयो कि दरको बबन्डरयुक्त सफर सुरु भइहाल्छ।

त्यसैले त मलाई दरको डर लाग्ने गरेको हो । दरको मौसममा ठमठम गर्दै मेरो एकाघरकी एकलौटी श्रीमतीजी कहिले टोल समूहको, कहिले निवृत्त कर्मचारी समूहको, कहिले प्रवृत्त समूहको, कहिले पार्टीको, कहिले देहातीको, कहिले चेलीबेटी समूहको, कहिले श्रीमती समूहको त कहिले आमा समूहको जब्बर दर कार्यक्रममा पार्टी प्यालेस धाएको धाई गर्न थाल्छिन्, दर खाएको खाई गर्न थाल्छिन् । केही समयको अन्तरालपछि बुढीखाडी समूहको दर कार्यक्रममा लौरो टेक्दै जानेछिन् र ‘बुढी हुन मन थेन लौन के गरौँ‘ भन्दै लौरो टेक्दै छमछम नाच्ने छिन् भन्ने मेरो सहज र भरपर्दो अनुमान छ ।

पहिलो डर त मलाई रकम कलमकै हो। हप्तामा १० पटक दर खाने गौरवमय परम्परा धान्नका लागि दाँत फुकालौँ भने त्यसको उचित विनिमय दर छैन । ढुकुटी रित्ताएर नपुगी रिनपानसमेत गरी दरको रकमको जोहो नगरी धर छैन। यो सघन दर कार्यक्रमको विरोध गरौँ वा उनलाई असहयोग गरौँ भने चर्को डर छ ।

फेरि भोजनबापतको रकम मात्रै जुटाएर पनि काम चल्दैन । फरक फरक कार्यक्रमका लागि फरक फरक साडी,चोली र लाली पाउडर अनि अन्य अन्य सामग्री चाहिए नै । आफ्नो कमाइ हुने नारीले आफ्नै कमाइ उडाउँछन्, नहुनेले बुढालाई पिर्दै सडकमा पुर्यााउँछन् । दरको कारणले आयु नै धरमर हुने हो कि भन्ने डर छ, बित्यास पर्ने हो कि भन्ने डर छ। बिलिबाँठ भएर दिवालियापन बेहोर्न पर्ने हो कि, टाट पल्टिइने हो कि भन्ने डर पनि उत्तिकै छ ।

दरमा सवारी भएपछि ´लौ अब तन्काउँ डियर, यो चिल्ड चिल्ड बियर `भन्दै बोतल खाली गर्नै पर्याे, ´अल इज फाइन घुड्क्याउँ वाइन` भन्दै प्याला रित्याउनै पर्यो । अनि म त ढलेँ ढलेँ ढलेँ ढलेँ भन्दै थरथराउनै पर्यो । यिनै विकृतिले संस्कृति मास्न थाले भन्ने ठूलो डर छ मलाई ।
उता बेली डान्स, ग्राइन्डिङ र स्ट्रिप डान्स पनि हेर्न र देखाउनै पर्यो । पारम्परिक नाच नाचेर खिसी ट्युरीको पात्र बन्नै भएन । ..बिल्ली आँख गोरिय , … नाचदी नाचदी सारी दुनिया, …धुम मचादे धुम जस्ता हिन्दी फिल्मी गीतका चर्का धुनमा कम्मर मर्काउनै पर्यो, जिउ झड्कार्नै पर्यो । यस्तै यस्तै कुराले सांस्कृतिक अतिक्रमणको डर, आफ्नो मौलिक संस्कृति मासिने हो कि भन्ने डर, आफ्नो पहिचान गुम्ने हो कि भन्ने डर मलाईजस्तै तपाईंलाई पनि छैन र ?

लखरलखर दर कार्यक्रममा सहभागी भई नाना थरी खुराक हसुर्नसम्म हसुरेपछि अजीर्ण भएर ढ्याउ ढ्याउ डकार्ने, ढ्वाँ ढ्वाँ अपानवायुको चित्कार फड्कार्ने र झाडा बान्ताको चमत्कारले शौचालयतिर बुर्कुसी मार्दामार्दै थला पर्ने डर पनि उत्तिकै छ।

त्यसैले साउन मैना लागेदेखि तीज नसकेसम्म दरको डरै डर मेरो मनमा मडारिई रहन्छ । मजस्ता अरु अभागी कापुरुषको जमात सानो पो छ कि भन्ने डर पनि मलाई उत्तिकै छ ।

०००

सन्धिखर्क (हाल चन्द्रागिरी- ११)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x