साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमचन्दका फाटेका जुत्ता

शताब्दियौँदेखि तहतह परेर जमिरहेको छ त्यसैलाई हिर्काउँदा हिर्काउँदा नै तिमीले जुत्ता फटाल्यौ होला । बाटामा कुनै अवरोध थियो होला र तिमीले त्यसैमा जुत्ता कि अवरोध बलियो छ भनेर जाँच्यौ होला ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मेरा सामुन्ने प्रेमचन्दको एउटा चित्र छ जसमा उनी पत्नीका साथमा फोटो खिँचाउँदै छन् । टाउकामा कुनै बाक्लो कपडाको टोपी, कुर्ता र धोती लगाएका छन् । कन्चट धसिएको छ अनि गालाका हाडहरू उठेका छन् तर बाक्ला जुँगाले अनुहारलाई भरिलो बनाएका छन् ।

खुट्टामा क्यानभसका जुत्ता छन् जसका तुना नमिलाएर बाँधिएका छन् । उपयोगमा लापरवाहीका कारण तुनाको टुप्पामा रहने फलामका खोलहरू फुस्किने हुँदा ती तुनालाई प्वालमा छिराउन मुस्किल हुन्छ । त्यसैले तिनलाई जसरीतसरी कसिन्छ ।

दाहिने खुट्टाको जुत्ता त ठिकै छ तर देब्रे खुट्टाको जुत्तामा ठुलै प्वाल परेको छ र त्यसबाट औंलाहरूले चियाइरहेका छन् ।

मेरो दृष्टि यिनै जुत्तामा अड्केको छ । सोच्छु, फोटो खिचाउने पोसाक यदि यही हो भने नित्य लगाउने लुगा कस्तो हुँदो हो ? अहँ, यी व्यक्तिका छुट्टाछुट्टै पोसाक थिएनन् होला । यिनमा पोसाक परिपर्तन गर्ने स्वभाव छैन । यिनी जस्ता छन् त्यस्तै फोटोमा पनि खिँचिन्छन् ।

म अनुहारतिर हेर्छु । ए मेरा साहित्यिक पुर्खा ! के तिम्रा जुत्ता फाटेका छन् र आँैलाहरू बाहिर निस्केका छन् भन्ने तिमीलाई थाहा त छ ? के तिमीलाई यसको अलिकति पनि आभास छैन ? अलिकति लज्जा, सङ्कोच केही पनि छैन ? के तिमीलाई धोती अलिकति तलसम्म तानेको भए औँला छोपिन्थे भन्नेसम्म पनि थाहा भएन ? तर यति हुँदा पनि तिम्रो अनुहारमा त्यसका प्रति बेवास्ता र विश्वास छ ! फोटोग्राफरले जब ‘रेडी प्लीज’ भन्यो होला तब परम्पराअनुसार तिमीले मुस्कुराउने प्रयत्न पनि गर्‍यौ होला, पीडाको गहिरो इनारको पिँधमा कतै च्यापिएको मुस्कानलाई बिस्तारै माथि तानेर निकाल्दै थियौ होला र त्यसै वेला ‘क्लिक’ गरेर फोटोग्राफरले ‘थ्याङ्क यू’ भन्यो होला । यो अधुरो मुस्कान विचित्रको छ । यो मुस्कान नभएर उपहास र व्यङ्ग्य हो !

यो कस्तो मान्छे हो जसले आफैँ फाटेका जुत्तामा फोटो खिँचाउँदै छ र कसैमाथि हाँस्दै पनि छ !
फोटो नै खिँचाउनु थियो भने राम्रा जुत्ता लगाउनुपर्थ्यो या नखिँचाउनुपर्थ्यो । फोटो नखिँचाएर बिग्रिने पो के थियो र ? सके पत्नीको आग्रह टार्न नसकेर तिमी ‘लौ, त हिँड’ भनेर गइदिएका मात्र होलाऊ ! तर मान्छेसँग फोटो खिँचाउनका लागि समेत जुत्ता नहुनु कति ठुलो ‘ट्र्याजडी’ हो ! मलाई भने तिम्रो यो फोटो हेर्दाहेर्दा तिम्रो क्लेशलाई आफूभित्र अनुभव गरेर रुन मन लाग्छ तर तिम्रा आँखाको यो धारिलो र पीडायुक्त व्यङ्ग्यले मलाई रोकिदिन्छ ।

तिमीले फोटोको महत्त्व बुझेका रहेनछौ । बुझेका भए फोटो खिँचाउनकै लागि भए पनि कसैसँग जुत्ता माग्नुपर्ने ! मानिसहरू मागेको कोट लगाएर जन्त जान्छन् । अनि मागेकै मोटरमा दुलाहा लैजान्छन् । फोटो खिचाउनका लागि त पत्नी पनि मागिन्छ भने तिमीले जुत्ता पनि माग्न सकेनौ ! तिमीलाई फोटोको महत्त्व थाहा रहेनछ । मानिसहरू त फोटोमा पनि सुगन्ध आओस् भनेर पर्फ्युम छर्केर फोटो खिँचाउँछन् । यसरी फोहरीभन्दा फोहरी मान्छेको फोटोबाट पनि सुगन्ध निस्किन्छ ।

टोपी आठ आनामा पाइन्छ तर जुत्ता त्यो समयमा पनि पाँच रुपैयाँभन्दा कममा त के पाइन्थे होला र ? जुत्ता सधैंभरि टोपीभन्दा बहुमूल्य रहने गरेको छ । अब त जुत्ताको मूल्य अझै बढेको छ र एउटा जुत्ताका लागि पच्चिसौँ टोपीहरू समर्पित छन् । तिमी पनि जुत्ता र टोपीको आनुपातिक मूल्यको मारमा परेछौ । यो विडम्बना मभित्र पहिले यति तिखो गरी गडेको थिएन जति आज तिम्रा फाटेका जुत्ता देखेर गडिरहेको छ ! तिमी महान् कथाकार, उपन्याससम्राट्, युगप्रवर्तक र अरू पनि केके केके कहलाउँछौ तर फोटोमा पनि तिम्रो जुत्ता फाटेको छ ।

मेरो जुत्ता पनि कुनै राम्रो त छैन तर माथिबाट त राम्रै देखिन्छ । औँलाहरू बाहिर त निस्किन्नन् तर बुढीऔँलाको तलतिरको तलुवा भने फाटेको छ । त्यो बुढीऔँलो तल भुइँमा छोइन्छ र कहिलेकाहीँ त कुनै तिखो ढुङ्गामा पर्‍यो भने रगतपच्छे पनि हुन्छ । पुरै तलुवा खसे पनि र पुरै पाइतला खिइए पनि औँला बाहिर देखिन्नन् । तिम्रा औँला त देखिन्छन् तर खुट्टा सुरक्षित छन् । मेरा औँला ढाकिएका छन् भने पाइतला तल खिइँदै छ । तिमीलाई खोल (आडम्बरं)को महत्त्व थाहा छैन तर हामी खोलका लागि मरिहत्ते गर्छौँ ।

तिमीले फाटेका जुत्ता पनि निकै सानसित लगाएका छौ । म भने यसरी लगाउन सक्दिनँ । फोटो त जिन्दगीभरि यसरी खिँचाउँदै खिँचाउन्नँ चाहे कसैले विनाफोटो नै जीवनी छापिदेओस् ।
तिम्रो यस व्यङ्ग्यमुस्कानले मेरो हिम्मत हराइदिन्छ । यसको तात्पर्य के हो ? कुनचाहिँ मुस्कान हो यो ?
–के होरीको गोदान भयो ?
–के पुसको रातमा सुँगुरहरूले हलुकको खेती खाइदिए ?
–के सुजान भगतको छोरो मर्‍यो ? किनभने डाक्टरहरू क्लब छोडेर आउन सक्दैनन् ।
अहँ, मलाई त के लाग्छ भने पक्कै माधोले स्वास्नीको कात्रो किन्न चन्दा जम्मा गरेको पैसाको रक्सी खायो होला । त्यसैको मुस्कान लाग्दछ ।
म फेरि तिम्रो जुत्ता हेर्छु । मेरा जनताका लेखकको यो जुत्ता कसरी फाट्यो ?
के निकै चक्कर लगाउनुपर्‍यो ?
के व्यापारीको ताकेताबाट जोगिन एकदुई कोसको फेरो बाटो घुमेर घर आयौ ?
तर यसरी चक्कर लगाउँदा त जुत्ता फाट्दैन, खिइन्छ नि ! कुम्भनदासको जुत्ता पनि फतेहपुरी सिकरी जाँदाआउँदा खिइएको थियो । उसलाई निकै पछुतो भएर भनेको थियो –

‘आउँदा जाँदा पाइतला खिइए बिर्सिसकेँ हरिनाम ।’ (आवतजावत पन्हैया घिस गयी, बिसर गयो हरि नाम ।)
अनि यसरी बोलाएर दिनेहरूका लागि भनेका थिए –‘जसलाई देखी दुःख उब्जन्छ, तिनलाई गर्नुपर्छ सलाम !’ (जिनके देखे दुःख उपजत है, तिनको करबो परै सलाम ।)
हिँडेर जुत्ता खिइइन्छ तर फाट्दैन । तिम्रो जुत्ता फाट्यो त फाट्यो कसरी ?
मलाई लाग्छ तिमीले कुनै साह्रो वस्तुलाई ठोकर हानिरहन्थ्यौ । कुनै कुरो जुन शताब्दियौँदेखि तहतह परेर जमिरहेको छ त्यसैलाई हिर्काउँदा हिर्काउँदा नै तिमीले जुत्ता फटाल्यौ होला । बाटामा कुनै अवरोध थियो होला र तिमीले त्यसैमा जुत्ता कि अवरोध बलियो छ भनेर जाँच्यौ होला ।

तिमीे त्यसलाई बचाएर त्यसको छेउबाट पनि निस्किन सक्थ्यौ नि ! ठेससित समझौता पनि त गर्न सकिन्छ नि ! सबै नदीहरूले कहाँ पहाडलाई चिर्छन् र ? कुनै त फन्को मारेर पनि त बग्छन् नि !
तर तिमीले समझौता गर्न सकेनौ । के तिम्रो पनि त्यस्तै कथा थियो जसले होरीलाई डुबाएको थियो ? उही ‘नेमधरम’ धर्मकर्मको कमजोरी ? ‘नेमधरम’ उसको पनि साङ्लो थियो । तर जसरी तिमी मुस्कुुराएका छौ त्यसलाई हेर्दा त लाग्छ त्यो ‘नेमधरम’ तिम्रो कमजोरी थिएन, त्यो त तिम्रो मुक्ति थियो ।
तिम्रो खुट्टाका यी औँलाहरूले मलाई तिमीले घृणित ठानेका कुराहरूतर्फ हातको औँलाले नभएर खुट्टाका औँलाले देखाएझैँ पो लाग्दै छ त !

के तिमीले त्यसैतर्फ सङ्केत गरेका हौ जसलाई लातले हिर्काउँदा हिर्काउँदा तिमीले जुत्तै फटालेका थियौ ?
म बुझ्छु । तिम्रा औँलाको सङ्केत पनि बुझ्छु । अनि यो व्यङ्ग्य मुस्कान पनि बुझ्छु ।
तिमी ममाथि र हामी सवैमाथि हाँस्दै छौ, हैन ? तिनीमाथि हाँस्दै छौ जो औँला लुकाएर तर पैतला खियाएर हिँडिरहेका छन् । तिनीमाथि हाँस्दै छौ जो अवरोधलाई त्यसै राखेर आफू छेउबाट निस्किरहेका छन् । तिमी भन्दै छौ – मैले त हिर्काई हिर्काई जुत्ता नै फटालेँ, औँला बाहिर निस्के तर खुट्टा जोगियो तर तिमीहरू औँला लुकाउने प्रयत्नमा पैतला खियाउँदै छौ र त्यसको नाश गर्दै छौ । अब तिमीहरू कसरी हिँडौला !

म बुझ्छु । म तिम्रा फाटेका जुत्ताका कुरा बुझ्छु । औँलाको सङ््‌केत पनि बुझ्छु र तिम्रो व्यङ्ग्य मुस्कान पनि बुझ्छु ।

०००
यो लेख हरिशंकर परसाईको परसाई रचनावली भाग ३ मा रहेको ‘प्रेमचन्द के फटे जूते’बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x