साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुते राजनीति र हाम्रो समाज

जनताले पनि हरेक पटक खोक्रो वाचामा विश्वास गर्ने, आलोचना नगर्ने, मौन बस्ने, मासुभात र पैसामा बिक्ने गल्ती गरेका छन् । राजनीति तब मात्र सुधारिन्छ जब जनता प्रश्न गर्न थाल्छन् ।

Nepal Telecom ad

पदम भण्डारी :

नेपालको राजनीति विगत सात दशकदेखि नै वाचा, आशा र निराशाको घुम्तीमा अड्किएको छ । हरेक पटक नयाँ पार्टी, नयाँ नेता वा नयाँ घोषणापत्र आउँछ, तर परिणाम भने उही निराशाजनक हुन्छ । यो लेखमा हामी कुनै व्यक्ति वा राजनीतिक दल भन्दा पनि नेपाली राजनीतिको भ्यागुते प्रवृत्ति अर्थात उफ्रिने प्रवृत्ति र वर्तमान अवस्थाको चित्रण गरिएको छ ।

खोक्रो भाषण र सपनाको व्यापार
नेता भन्छन् – हामीले देशलाई पाँच वर्षमै सिंगापुर बनाउँछौँ, घरघरमा पाईपबाट ग्यास पुर्याउँछौं, गाउँगाउँमा हावाबाट बिजुली, सडक, उद्योग छ्यापछ्याप्ति पार्छौं, हावाबाट बिजुली निकाल्छौं, गाउँ गाउँमा रेल पुर्याउँछौं, पानीजहाज चलाउँछौं । तर वास्तविकता के छ ? गाउँमा अझै पानीको पाइप जिर्ण छ, बिजुलीको लाईन समेत तानिएको छैन । अस्पतालमा डाक्टर छैनन्, औषधि छैन, विद्यालयमा शिक्षक छैन । नेताका भाषणहरु सस्तो सपना बेच्ने व्यापार जस्तै बनेका छन् । कार्यकर्ताले ताली बजाउँछन्, जनताले विश्वास गर्छन्, तर त्यो विश्वास हरेक चुनावपछि चकनाचुर हुन्छ ।

भागुते संस्कृतिको प्रदर्शन
राजनीतिमा उफ्रिने संस्कृति अर्थात भ्यागुते संस्कृतिको चरम रुप हामीले हरेक दिन देख्छौँ । संसदमा माइक कब्जा गर्ने, चिच्याउने, टेबल ठटाउने, बाटो रोकेर प्रदर्शन गर्ने राजनीतिक दलका झोलेहरु नै छन् । यिनीहरु सबै उफ्रिने शैलीका नमूना हुन् ।

सडकमा, संसदमा, सामाजिक सञ्जालमा पनि खराव नेताका खराव समर्थकहरु सधैं उफ्रिरहन्छन् । नेतालाई बा सम्झिन्छन् । हाम्रा बा जिन्दावाद ! हाम्रो नेता जिन्दावाद ! भन्दै तर्कभन्दा नारामा रमाउँछन् । कसैले आलोचना गरे भने तुरुन्त देशद्रोहीको ट्याग लगाइन्छ र कार्यकर्ता उतारेर ठेगान लगाइन्छ ।

खोक्रो राष्ट्रवाद
राष्ट्रवाद नेपाली राजनीतिेमा सबैभन्दा सजिलो हतियार बनेको छ । जब नेताहरु असफल हुन्छन्, तुरुन्त राष्ट्रवादको कार्ड खेलिन्छ। हामी देशको स्वाभिमानमा सम्झौता गर्दैनौँ भन्ने नारा लगाइन्छ, तर सम्झौता चाहिँ गुपचुपमा गरिन्छ । सीमा मिचिँदा भाषण हुन्छ, तर ठोस कूटनीतिक पहल हुँदैन । परदेशीसँग घुँडा टेकेर सम्झौता गर्नेहरु भित्रभित्रै कमिसन खान व्यस्त हुन्छन् ।

सिद्धान्तको सौदा
हाम्रा नेताहरु चुनावअघि आफूलाई समाजवादी, वामपन्थी, दक्षिणपन्थी, प्रजातान्त्रिक, प्रगतिशील भनेर चिनाउँछन् । तर चुनावपछि यी सबै सिद्धान्त खल्तीमा राखिएको कागजजस्तै हराउँछन् । पार्टीभित्र पद बाँड्दा सिद्धान्त गायब हुन्छ, मन्त्री बन्ने लोभमा आदर्श हराउँछ ।

चुनावी वाचा र जनताको धोका
चुनावी घोषणापत्र अब जनतालाई धोका दिने एउटा प्रमाणपत्र मात्र बनेको छ । गाउँमा उद्योग खोल्छौं भन्ने वाचा हुन्छ, तर चुनाव जितेपछि नेताको आफ्नै उद्योग मात्र बढ्छ । युवा रोजगारी बनाउँछौं भन्ने वाचा हुन्छ, तर युवाहरु अझै विदेश जान लाइनमा बस्छन् । शिक्षा र स्वास्थ्य निःशुल्क बनाउँछौं भन्ने वाचा हुन्छ, तर गरीबले औषधि नपाएर मर्नुपर्छ । जनतालाई चुनावअघि सम्झन्छन्, चुनावपछि बिर्सन्छन्।

भ्रष्टाचार र कमिसनको खेल
भ्रष्टाचार अब हाम्रो राजनीतिमा रगत जस्तै भइसकेको छ । म भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न, भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनुजस्तै हो भन्ने आकर्षक नारा बनाउँछन् तर ठूला ठेक्काबाट साना टेंडरसम्म सबैमा कमिसनको खेल हुन्छ । नेता–व्यवसायी मिलेर खाने, कर्मचारी–माफिया मिलेर बाँड्ने, अनि पत्रकार–बुद्धिजीवीले त्यसलाई ढाकछोप गर्ने–यही हो हाम्रो शासन प्रणाली । भ्रष्टाचारको विरुद्ध बोल्नेहरुलाई उफ्रेको भन्दै वेवास्ता गरिन्छ । तर कमिसन खानेहरु चलाख र सफल कहलिन्छन् ।

गुटबन्दी र विभाजन
पार्टी फुट्ने, फेरि मिल्ने, फेरि फुट्ने– यो त हाम्रो राजनीतिमा दैनिक समाचार हो । नेताहरु आफ्नै स्वार्थका लागि पार्टी विभाजन गर्छन् । जनता सोच्छन्-अब के होला? तर अन्ततः सबै पद र पैसाको खेलमै मिल्छ । गुटबन्दीले विकासभन्दा बढी नेतृत्वको कुर्सी सुरक्षित गर्छ । राजनीतिक दल हेरफेर गर्नेको संख्या गन्ने हो भने शायद देशको जनसंख्या भन्दा धेरै हुन्छ ।

जनतालाई बिर्सने प्रवृत्ति
चुनाव आउँदा नेताहरु गाउँगाउँ पुग्छन् । नमस्कार गर्छन्, हात मिलाउँछन्, चिया खान्छन्, बच्चालाई काँधमा बोकेर फोटो खिच्छन् । तर चुनाव सकिएपछि ती गाउँमा कहिल्यै फर्केर जाँदैनन् । जनताको पीडा फोटोसेसनका लागि मात्र हुन्छ, समाधानका लागि होइन।

कार्यकर्ता संस्कृति
राजनीतिक दलका कार्यकर्ताको संस्कार नेतालाई भगवान् मान्ने संस्कृतिमा परिणत भइसकेको छ । कार्यकर्ताले नेताको आलोचना गर्न सक्दैनन् । बरु आलोचकलाई दुश्मन ठान्छन् । नेताको आदेश नै धर्म हो भन्ने अन्धविश्वासले पार्टीभित्र लोकतन्त्र मरेको छ ।

असंवेदनशील शासन
देशमा विपद् आउँछ-भूकम्प, बाढी, महामारी । तर नेताहरु टेलिभिजनमा भाषण गर्छन्,- जनताको साथमा छौँ । विपदका बेला राहतका गाडीमा नेताको फोटो टाँसिन्छ, महामारीमा वैज्ञानिकलेभन्दा पनि नेताले अदुवा–तुलसीको पानी पिउन सल्लाह दिन्छन् । शासन असंवेदनशील छ, किनकि तिनीहरुलाई जनताको पीडाभन्दा आफ्नो पद बचाउनु छ ।

उफ्रिने मानसिकता र समाज
राजनीतिको उफ्रिने प्रवृत्ति अब समाजमै छिरेको छ । चिया पसलमा मानिसहरु नेताको भाषण दोहोर्याएर उफ्रिन्छन् । सामाजिक सञ्जालमा अरुको पोस्टमा गाली गरेर उफ्रिन्छन् । युवाले पढाइ र रोजगारबारे प्रश्न गर्नुको सट्टा हाम्रो नेता महान् भन्दै उफ्रिन्छन् । यसरी राजनीति र समाज दुवै भ्यागुते अर्थात उफ्रिने संस्कृतिमा डुबिरहेका छन् ।

विकासभन्दा भोटको गणित
हाम्रा नेताहरुका लागि विकासभन्दा ठूलो कुरा भोटको गणित हो । बाटो कहिले बनाउनुपर्ने ? चुनाव नजिकिँदा, पुल कहिले उदघाटन गर्ने ? चुनावको अघिल्लो महिना, अनुदान कहिले बाँड्ने ? चुनावी प्रचार शरु हुँदा । विकास स्थायी आवश्यकता होइन, अस्थायी प्रचार सामग्री बनेको छ।

बुद्धिजीवी र मौनता
देशमा राजनीति बिग्रँदा बुद्धिजीवी मौन बस्छन् ।कतिपय त नेताको मुखारबिन्दु दोहोर्याजउँछन्, कतिपय त बेतालको कथा सुनाएझैँ आफ्नै दुनियामा रमाउँछन् । समाजलाई जागरुक बनाउनुपर्ने वर्ग नै सुविधा र पदको लोभमा नेताको प्रशंसा गर्छ ।

युवाको निराशा
आजका युवाहरु राजनीतिबाट निराश छन् । नेताको भाषणले विश्वास दिलाउँदैन, सरकारको नीति व्यवहारमा आउँदैन । त्यसैले लाखौँ युवा रोजगारी खोज्दै विदेसिन्छन् । देशको भविष्य बोकेका हातहरु विदेशमा पसिना बगाइरहेका छन्, तर नेताहरु अझै मंचमा उफ्रिरहेका छन्।

भ्यागुते राजनीति र हाम्रो भविष्य
नेपालको राजनीति आजसम्म उफ्रिने शैली अर्थात भ्यागुते शैलीबाट मुक्त हुन सकेको छैन । खोक्रो भाषण, राष्ट्रवादको व्यापार, गुटबन्दी, भ्रष्टाचार, चुनावी धोका यी सबैले हाम्रो लोकतन्त्रलाई कमजोर बनाइरहेका छन् । तर दोष केवल नेतामा छैन । जनताले पनि हरेक पटक खोक्रो वाचामा विश्वास गर्ने, आलोचना नगर्ने, मौन बस्ने, मासुभात र पैसामा बिक्ने गल्ती गरेका छन् । राजनीति तब मात्र सुधारिन्छ जब जनता प्रश्न गर्न थाल्छन्, जब कार्यकर्ताले अन्धविश्वास त्याग्छन्, जब नेताले भाषण होइन, काममार्फत प्रमाणित गर्छन् । अहिलेलाई भने राजनीति अझै उफ्रिरहेकै छ, जनता अझै सहिरहेकै छन्, अनि मुलुक अझै प्रतीक्षामै अड्किएको छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x