डा. छायादत्त न्यौपाने ‘बगर’के भने जेनजीले ?
यति लछापछार पछि पनि चेत खुलेन ? यो निर्लज्ज अनुहारमा कति अटाउँछ छल ? हेक्का रहोस् सधैभरिं शकुनिको दाल गल्दैन दुनियाँमा ।

डा. छायादत्त न्यौपाने :
झन्डै बच्यो प्राण ! सज्जन भन्थे समय बलवान् हुन्छ । अरुको कुरा सुन्ने बानी भा’भए पो थाहा हुन्थ्यो समयको गति । सोध्न मन लाग्छ । आफ्नै सुरमा बगिरहने समयको गति र प्रभाव थाहा पाएको भए टाउकाले टेकेर सरणार्थी शिविरतिर दौडिनु पर्दैनथ्यो कि ? समयको प्रवाह हुत्तिएर कतिखेर कहाँ पुग्छ शिवपुरी कि सौराह वा अस्पताल ? पत्तै नहुने । वरिपरि चल्ने हावाको झोक्काले ढाडसेक्न सक्छ भनेर नपत्याउँदाको परिणामले काँडेतारको भर्याङ चढेर हामफाल्न कर गर्यो । जनआवाज नसुन्ने बधिर स्वभावले ताल न सुर, बजाइरह्यो निज निज डम्फु । एक्कासि यी मैमत्त साँढेले गाई ओगटेझैं डम्फु समातेर विलासमा बौरिने दुस्साहसी कर्तुत छचल्कियो तर कति छिटो भागबिलोमा घाँटी जोडाजोड गर्न भ्याए ! देशको सीमा रक्षाको सवालमा उत्तरदक्षिण मुखबाएर डकार्ने यी दधीचिहरूमा नैतिक मूल्यले स्थान पाउने कुरै थिएन तर सत्ता लुछालुछ गरेजस्तै जेलमा सँगै परिएला भन्ने पीर छ तर भौतिक सुखले पुगेकै छैन,अघाउनै सकेनन् ।
विषवमन गर्छ सम्राट नामको छिमेकी । यहाँ अलिकति पानी धमिलियो कि माछा मार्न तम्सिन्छ कालसर्प फँडा फुलाएर । यहाँका हन्तकालीहरू अझ पनि उतै लय मिलाई मिलाई सत्तामा रमिरहन लालायित छन् । सत्ताशक्तिको नसामा नीतिनियम, देश, स्वत्व महिमा सबै बिर्सेर विलासको पोखरीमा डुबिरहेछन् पानीमरुवा दासहरू । देश र पुर्खा आर्जित ऐतिहासिक बलिदानीको हेक्कै छैन । यी पथभ्रष्ट मतिभ्रष्ट, गतिभ्रष्टहरू शिवपुरी जङ्गलतिर हानिनु परे पनि मन भरेनन् । सरणार्थी बेचेर बाँचेकाहरू फेरि फँडा फैलाएर युवाशक्तिको रगतसँग खेल्ने दाउपेच गरिरहेछन् । केकेन रोटीबेटीको सम्बन्ध फलाक्ने छिमेकीलाई यस्तै बेथिति रमाइलो लाग्छ । यहाँको सुखशान्ति उसलाई गला लाग्छ । कोलाहल निम्त्याएर नरसंहारकारी लुटेरा नकाबधारी शासक खसीझैं सुमसुम्याएर राख्न चाहन्छ । यी भ्रष्टलाई दसीप्रमाण मेटाउन प्रशासनिक भवन ध्वस्त पार्ने विकल्प देखाइदिएँ भनेर पारिश्रमिक माग्छ । यता सीमारेखा कब्जा गरेका कागजपत्र नष्ट पारेर ठुलो गुनको आवरणमा थाग्नामा सुताएको पत्तो नपाउनेहरू उगराउँदै छन् । कति जानेको के भ्रष्टचारीले कतै प्रमाण छोडिए कारागारमा चक्की पिस्नुपर्ला भनेर प्रशासनिक भवनदेखि न्यायालयसम्म खरानी बनाउन भ्यायो सरणार्थी, भिजिटभिसा र गिरीबन्धुका वाहनहरूको रक्षार्थ ।
जनजीवन कसरी चलेको छ ? झोपडीको भोक र रोग थाहा पाउने फुर्सदै भएन यी सामान्य जीवनबाट महल मडार्न पुगेकालाई । भिजिटभिसासित सहयात्राको चाजो मिलाउँदा मिलाउँदै धोती गुस्केर नाङ्गिएको होस छैन । आफ्नै जहाजमा सहयात्री बनेका साथीहरूका विषयमा अन्जान बनेको अभिनय गरिरहनुपर्ने अनि कहाँ मिल्छ फुर्सद ? जसोतसो समय निकालेर कमिसन थाप्नुपर्ने मगन्ते प्रवृत्तिले विवेक बन्धक बनाएको पनि सहनुछ । यो राल काढ्ने रोग बढेपछि जनता जाबो पानीमा पाधेर उडादिए हुने । स्वार्थपूर्तिले दिएको हिम्मतले शिर उचालेको उचाल्यै छ । सुरक्षाघेराभित्रबाटै अर्को पासा फाल्न नलजाउने नकचरोले दुलो ढुकिरहेको सन्देश पठाउने दुस्साहस गर्छ । यता मतियारहरू हलकाराको भूमिका निभाइरहन्छन् । अझै पनि संविधानको हबाला दिएर थुकको घुटकोसित हात पसार्छन् ।
यो अर्थहीन विवादले सङ्क्रमणकाल लम्बिनु हुँदैन । आक्रोशित मनोविज्ञानले बार भाँचेर पुच्छर ठड्याउँदै दौडेको तानासाह समातेर खोरमा हाल्ने काम बाँकी छ ।
छोटो समयको उर्लंदो जनलहरले दिएको सन्देश जेनजी साथीहरूले सुन्नैपर्छ । देश चुसेका भ्रष्टहरूलाई कानुनीकठघरामा पुर्याउने काम हल्लामा सीमित रहनुहुँदैन । यी होनहार युवाहरूको आहुति खेरजान दिइयो भने तिनको रगतले धिक्कार्नेछ । आफू रमाउने ध्याउन्नमा ओठे देशभक्ति देखाएर भित्रभित्रै मालपानी खाने पातकी अगस्तिहरूसँगको मितेरीमा मस्किने अभ्यास गरिरहेका मतियारदेखि सावधान रहनु जरुरी छ । को कुन बरियतामा छ भनेर खोजखबरको ध्याउन्नमा खुम्चिने छुट छैन किशोरवयी जेनजी(किशारवयी)लाई । युवा कुनै होस उडेको बुख्याचा होइन । यसलाई अन्याय भएको छ बेथिति बढेको थाहा छ तर सामान्य विरोधले नपुगेपछि विद्रोहमा नउत्रे पनि । यसलाई लाछीको जमात नठान्नू । जताततै अन्याय बढिरहेको टुलुटुलु हेरेर बस्ने ह्याकुलो फुक्लेको युवा नेतामा नगन्नू । यी बुढा बयलले भकारो छाडेनन् भनेर बलेनीमा रात बिताउने पानीमरुवा बहर भनेर नगिज्याउनू युवालाई । यहाँलाई भलीभाँती जानकारी होस् । कनिका छरेर कानुनी आँखा धमिल्याउन बानी बसेकालाई बल दिइरहने निर्लज्ज युवाको पगरी गुथाइदिनु हुँदैन ल महाशय !
जसको रगतपसिनाले भात खुवाएको छ तिनकै झोपडी मासेर महल उभ्याउने हठी महाराजले जे अरायो लुरुलुरु त्यै गर्ने दासमनोवृत्तिको नियमित वाहन नबनाउनू है । यहाँलाई जानकारी हुनुपर्ने हो । भ्रष्टचारले दुर्गन्धित बनेका रालेसिँगानेका पछिपछि हिँड्ने भतुवा भन्ठान्ने गल्ती पनि नगर्नुपर्ने । जेनजी (किशोरवयी)पुस्तालाई नैतिक समर्थन दिने दरो मनमुटु भएको सन्तानलाई चानचुने नठान्न आग्रह छ । यो धूर्तले खाजाखाने निहुमा देशको जिउ खाइरहेको चाल नपाउने तर वरिपरि घुमिरहने धुलो चाटिरहने बाहेक खै कुन सिन्को भाँचियो युवा नेताबाट ? आलाकाँचा भनेर हेपिँदै आएको किशोर पुस्ताले यो हलचल ल्याइदियो तर तिमीहरू झुटा आश्वासन बाँडेर नथाक्नेको पछाडि बसिरह्यौ । ती भ्रष्टहरू नष्ट हुनुपर्छ भनेर अगाडि आउने हिम्मत तिमीहरूले कहिले गर्ने ? अब पनि तिनै घुस्याहा नेताको स्याहारसुसारमा आफूलाई खटाइरहन्छौ ? यी बेत बसेका अर्थहीन बुढा बयलहरूको बिगबिगीबाट देशको रक्षा गर होइन भने ? होइन भने बेलाबितेपछि पछुताउन पनि फुर्सद मिल्ने छैन ।
तिमीहरू बेथिति बढाउनेहरूलाई सुरक्षा दिइरह्यौ । खै सक्या बेथिति बढार्न ? युवा भनिएका तिमी लाछीहरू टुलुटुलु केरा हेरेर बस्यौ । के भिजिटभिसा, विदेशको सहयात्रा, भुटानी सरणार्थी, सहकारी कान्ड, पोखरा विमानस्थल, बुढीगण्डकीजस्ता लुटकान्डहरू रोक्न सक्यौ ? छानबिन हुन सक्यो ? नही यिनलाई कानुनी कठघरामा उभ्याउने कुनै प्रयत्न गरियो । कारबाही त धेरै परको कुरा कुनै प्रक्रिया नै सुरु भएन ? उज्यालोप्रेमी कुशल प्रशासकलाई निर्बाध काम गर्न दिइएन । तिमीहरू आफूलाई पढेलेखेका सचेत युवा भनेर चिनाउन बल गर्छौ तर यी काण्डै काण्डको सङ्ग्रहालयमा सङ्कलित भएर रमाउँदै छौ । हुन त ठुलै भाग हात परे होला । पुग्न पनि कतिलाई पुगेको हो भागबिलो ? तलदेखि माथिसम्म भागै–भाग, नीतिनयिम सबै टुलुटुलु खडेबाबाको टुल्लुझैं ।
परराष्ट्र मामिला पार्टीपिच्छे आफ्नो आफ्नो अझ व्यक्तिपिच्छे । अन्तरपार्टी विमर्श गरेर एउटै नीति अख्तियार गर्नै नसक्ने कति धेरै निम्छरो चेतना ? खुम्चिएको छाती । स्वार्थले भित्रबाहिर सबैतिर ढाकेको, बिर्को लागेको छ चेतनामा । राष्ट्रिय सबालमा एउटै बोली बोल्न नसक्ने ? जनताले राहत पाउने एउटा योजना सफल हुन नदिने । कतै सम्पन्न भो कि अर्को मुद्दै फेला पर्दैनझैं । सुरु गर्नै हानथाप । परिणाम दिन कोही चाहँदैन । अरबौंका योजना लथालिङ्ग । जसले आरम्भ गरेको भए पनि राष्ट्रको योजना हो जनताले राहत पाउँछन् तर पार्टी स्वार्थलिप्साले गर्दा योजनाहरू अलपत्रको अलपत्रै छाडिदिने, यही हो लोकतन्त्र ? यस्तै हुन्छ जनताको सेवा ? मैले नबुझ्या नि ! एक ठाउँ हुन नसक्ने देशको स्वाधीनताका लागि ?
पराइ सरणमा खुसी भएर सत्ता दलालीमा विश्वास गर्ने दुइखुट्टे पाल्तु दासहरू । राष्ट्रियताको मुद्दामा एउटै बोली बोल्न सक्दैनन् । तिनै दासका पछिपछि हिँड्ने लाठे भुसतिघ्रे युवाहरू भनेर सम्बोधन गर्न पनि लाज हुने कस्ता पानीमरुवा युवा नेता ! विधि बसाए त पालो आउँदो हो नि । युवाहरू विधि बसाउने हेतु कम्तीमा एक भएर विद्रोह गर्नुपर्छ नि । म फालिन्छु पर पुर्याइन्छु कि भन्ने त्रासले बाँधिएका बँधुवाहरू । देशको आवश्यकतामा बोल्न नसक्ने भएपछि केको राजनीति गर्छु भनेर गुड्डीहाक्या होला ? आफ्नै राल स्याहार्न नसक्नेले छादेको रछान छोड्न नसकेर टिप्दै हिँड्ने केको युवाशक्ति ? यो त मात्रै लठुवाहरूको भिड भएन र ? मुलुकलाई आवश्यकता पर्दा सङ्गीतकारले गीतमा भरेझैं लय,तालसुर मिलाउन सकेको भए ! अनि पो केही हुँदो हो, युवा भनेर गर्व गर्न सकिँदो हो ? तर अफसोस युवाका नाममा बिडम्बना मात्र उभिइरह्यो ।
अलिकति घाम छिरे कि घैंटामा ! वर्षौंदेखि युवा हुँ, राजनीति गर्छु भनेर बहुलट्ठीका पछि पछि हिँड्ने तर देशको माग र जीवनको आवश्यकतानुसार मुख नखोल्ने व्यक्तिका इमानदार कार्यकर्ताका । यो जेनजी (किशोरवयी) विद्रोहले राजनीति पेसा होइन सेवा हो र निस्वार्थ सेवा हो । यै विश्वासले राजनीति गर होइन भने घाँस काट, खेती गर, उत्पादन बढाऊ, कर्ममा लाग तर राजनीतिमा जेलनेल भोगेँ भनेर सूत खाने जालझेल गरी दाउपेचमा नलागे बेस । सिद्धान्त गणतन्त्र व्यवहार सामन्ती ? सुशासन कायम गर्ने जेनजी (किशोरवयी)को बलिदान यति सस्तो छ ? सजिलै मेटाइदिने तिम्रो प्रयास कति ठिक ? यति लछापछार पछि पनि चेत खुलेन ? यो निर्लज्ज अनुहारमा कति अटाउँछ छल ? हेक्का रहोस् सधैभरिं शकुनिको दाल गल्दैन दुनियाँमा । अस्तु
०००
पर्वत, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































