साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोलमेच सम्मेलन

यसरी जनताको छातीमा जाँतो रिँगाएर देशलाई धुलोपिठो पार्न पाइँदैन । हामी कुनै अद्वितीय क्षमता भएर सभासद् भएका होइनौँ । हाम्रो नाउँमा काकताली परेको मात्र हो । ए जनता होसियार !

Nepal Telecom ad

रमेश समर्थन :

स्थान – विश्वमानचित्रको एउटा महादेश एसिया । त्यसभित्रको एउटा भाग दक्षिण एसिया । त्यहाँको एउटा देश नेपाल । नेपालको राजधानी काठमाडाैं । काठमाडौंको मुटु बानेश्वर । बानेश्वरमा अवस्थित अन्तर्राष्ट्रिय सभागृह जसलाई पछि संसद् भवन बनाइयो । त्यसको एउटा विशाल कक्ष जहाँ विभिन्न दलका दलालहरू बसेर देशको दलाली गर्छन् ।

परिवेश – कक्षमा एउटा बाटुलो ठुलो टेबुल छ जसलाई उनीहरू गोलमेच भन्दछन् । वरिपरि कुर्सीहरू छन् जसमा टुटेका, फुटेका र फेरि जुटेका राजनीतिक पार्टीहरूका नेताहरू विराजमान छन् । तिनीहरू आआफ्नो जाति, समूह र दलअनुसारको पहिरनमा छन् । तिनीहरूमध्ये केही त भर्खर फाइभ स्टारको खाना बुत्याएर चाँदीको सिन्काले दाँत कोट्याउँदै र ढ्याउ गर्दै आउँदै पनि छन् । सबै आइसकेपछि उनीहरूका बिचमा सम्मेलन आरम्भ हुन्छ ।

क. ढिलै भए पनि सरकारले सही निर्णय लियो । (कतैबाट कुनै प्रतिक्रिया आउँछ कि भनी चारैतिर हेर्छ तर केही नआएपछि मौन हुन्छ ।)

ख. नत्र त हामी ठुलै समस्यामा परेका थियौँ केरे । (दाँत कोट्याउँदा भर्खरै लुछेको मासुको चोक्टो सिन्कासँगै निस्किन्छ जसलाई उसले फेरि मुखमा हालेर निल्छ ।) ठुल्ठुला पार्टीका नेताहरू केरे कुनै आयल निगमको, कुनै नेपाल टेलिकमको, कुनै विद्युत्‌को, कुनै उड्डयन प्राधिकरणको त कुनै खाने पानीको केरे गाडी चढ्ने भए पनि हामी साना पार्टीका त केरे ठुलै मर्कामा परेका थियौँ । आफ्नो पार्टीको त केरे एक मात्र सांसद् भएर पनि गाडी नपाउनु त केरे हाम्रो माननीय पदकै मानहानि हो नि !

ग. (अलि व्यङ्ग्यको भावमा) तपाईंले त मने झन् पाउनैपर्ने नि ! बाबु मने अदच्छे, आमा मासचिव, आफू सांसद् र छोराछोरी र भाइभतिजाहरू कार्यकर्ता । मने पार्टी र नेतृत्व भनेको त यस्तो पो हुनुपर्छ । (अट्टहास गुँज्छ जुन गुँजाइले ‘ग’मा केही सङ्कोेच ल्याए पनि जातीय स्वभावअनुसार ऊ पनि लाज पचाएर हाँस्न थाल्छ ।)
घ. (अलि असन्तुष्टिको भावमा) यहाँ हामी सुविधाभोगी बन्न आएका कि देशका जल्दाबल्दा समस्याको समाधान खोज्न आएका हौँ ? जनताले खाई नखाई तिरेको करबाट तलब सुविधा लिएर यस्ता स्वार्थका मात्र कुरा गर्न सुहाउँछ हामीलाई ? (लाग्छ ऊ नेता नभएर नेटा हो । त्यो कुन ग्रहको जीव हो भनेझैँ सबैले उसैलाई हेर्छन् । अरूले खिल्ली उडाउने दृष्टिले आफूलाई हेरेको देखेर उसमा ग्लानिबोध हुन्छ ।)

ङ. बढी आदर्शवादी बन्ने चेष्टा नगर्नुहोस् माननीयज्यू ! दुःखै पाउने भए किन नेतागिरी गर्नुपर्थ्यो ? कसले जोगी हुनका लागि राजनीति गरेको हो र ? देशका समस्याका समाधान पनि खोजिने नै छ तर पहिले आफ्नै समस्याको समाधान खोज्नु परेन ? जनताले के भन्छन् । जसले आफ्ना लागि केही गर्न सकेन उसले अरूका लागि के गर्ला भनेर भन्दैनन् ? हाम्रो समस्याको समाधान सदनबाट र जनताको समस्याको समाधान सडकबाट खोज्ने हो र त्यो हाम्रा होनहार कार्यकर्ताहरूले गरेकै छन् । हामी जनता होइनौँ, नेता हौँ । तिनै जनताले हैन हामीलाई माननीय भन्ने विशिष्ट पद दिएको ? अब सेवा पनि त विशिष्ट हुनुपर्‍यो नि ! (‘घ’लाई छोडेर सबैले प्रशंसाका दृष्टिले हेर्छन् ।)

च. (‘ङ’लाई उछिन्दै) अब कुरो रह्यो जनताले तिरेको करको । भन्नुस् त कति प्रतिशत जनता यहाँका कर तिर्न सक्ने छन् ? महिनामा लाख खाने हामीले कर तिर्न नपरेपछि वर्षमा लाख पनि नपाउनेले कर तिर्छ ?

छ. (‘च’लाई पछि पार्दै) अनि के जनताले तिरेको करबाट चलेको हो यो देश भन्ठान्नुभा’ ? यो त अनुदानमा चल्या देश हो । त्यसैले हात लागेको सुविधा लिँदै थपका लागि प्रयास गर्नुस् । जबसम्म सभासद् हुनुहुन्छ मोज गर्नुस् । खुस्केपछि त खुस्क्यो खुस्क्यो ।

ज. (बडो जानिफकार भएको देखाउँदै) तपाईं त चार्बाकको हजुरबा पो हुनुहुँदो रहेछ । (एउटा ठट्यौलो हाँसो उठ्छ ।) थाहा छ चार्बाक के भन्छन् ? (उसले धर्मगुरुले झैँ संस्कृतको सिलोक फलाक्यो ।) यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् । भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ?’ (केही नबुझे पनि यसले त महत्त्वपूर्ण कुरो पो गर्‍यो भन्ने पाराले सबै उसैलाई हेर्छन् ।)

झ. वाह ! वाह ! वाह ! तपाईं त ठुलो पण्डित पो हुनुहुँदो रहेछ । व्यास आसनमा बसेर कथा नभनी के खान यता लाग्नुभा’ ? म ठोकुवा गरेर भन्न सक्छु तपाईं त्यता लागेको भए दीनबन्धु काशीतिर लाग्थे । (फेरि हाँसो चल्छ र यो हाँसो लामै चल्छ ।)

ञ. ओ सांसदज्यू ! तपाईंले त्यसको अर्थ पनि बुझ्नुभो कि त्यसै बुझ्झकी बन्दै हुनुहुन्छ ?

ट. नेता हुनु भनेकै सर्वज्ञ हुनु पनि त हो नि ! सभासद् र मन्त्रीले नबुझेको र नजानेको यस सृष्टिमै केही छैन । तपाईंले यसको तात्पर्य त नबुझे पनि बुझ्नुभो नि ? अब के बुझ्नुभो भनेर सोध्न भएन । (हलुका हाँसो)

ठ. संस्कृतमा एक दुई अक्षर भट्याएपछि त्यसै पण्डित भइन्छ भने अर्थ किन जान्नुपर्‍यो र ? चाहे सराद्धे गर्दा सूत्रं दद्यात् का ठाउँमा मूत्रं दद्यात् भने पनि भयो ।

ड. (‘ठ’लाई सङ्केत गर्दै) लौ न पण्डितबा, तपाईंले भनेको कुराको पनि अर्थ लाइदिनुपर्‍यो ।
ठ. पहिले श्लोकको अर्थ सुन्नुस् – चार्बाक भन्छन्, जबसम्म बाँचेका छौ तबसम्म रिन काढेर भए पनि घिउ खाऊ किनभने मरेर र जलेर खरानी भएको शरीर फेरि फर्केर आउँदैन । अब मेरो भनाइको तात्पर्य सुन्नुस् – तपाईंजस्ता अनपढहरू पुरोहित भए भने श्राद्धमा पिण्डमाथि सूत्र अर्थात् धागो चढाउनुपर्ने ठाउँमा मूत्र अर्थात् पिसाब चढाउन लगाउँछन् । (अरू त हो हो गरेर हाँस्न थाल्छन् तर ‘ड’ मुर्मुरिन्छ ।)

ढ. त्यही त भन्या । हजारौँ वर्षपहिले त मानिसहरू यस्तो सोच्थे भने आज हामीले सोच्यौँ त के बिगार्‍यौँ ? अनि तपाईं किन हाँसका बिचमा बकुल्लो बन्न खोज्नुहुन्छ ? (अन्तिम वाक्य उसले ‘घ’लाई भनेको हुन्छ ।)

ण. ठुलाठुला नेताले बैठकमा हाजिरै नगरी भत्ता लिन र खानाखाजावापतको पैसा समेत लिन हुन्छ भने हामी त निदाउनकै लागि भए पनि संसद्मा त जान्छौँ ! (सामूहिक हाँसो उठ्छ ।)

त. हैन, निँद पनि कति लागेको भन्या त्याँ पुगेसि ! कुर्सीमा त बस्नै नहुने । निद्रा लगाउने मिसिन जडान गरेको छ कि के हो कुर्सीमा ? .(फेरि हाँस्छन् ।)

घ. तपाइँहरूलाई थाहा छ जनताले हामीलाई कुन नजरले हेर्छन् ? कुकुरलाई गाली गर्दा पनि नेताजस्तो बेइमान भन्न थाले । त्यो इज्जत छ हाम्रो । हामीले यसरी देशको ढुकुटी रित्याएको देखेर नै जनताले कर तिर्दैनन् । हामीले एक एक निष्कर्षहीन बैठकमा लाखौँ उडाउँछौँ भन्ने कुरो उनीहरूलाई थाहा छैन भन्ने सोच्नुभा’ छ ? उनीहरू एक एक व्यक्तिका एक एक करतुत हेरेर बसेका छन् । बुझ्नुभो ?

थ. तपाईंले फेरि आफ्नो खोक्रो आदर्शवादी व्याख्यान छाँट्नुभो, हैन ? समर्थन नगरे पनि विरोध पनि नगरेर बस्न सक्नुहुन्न ? फाइदा हुने कुरामा पनि प्याचप्याची बोल्नैपर्छ ?

द. अनि कुन उल्लु यहाँ इज्जतदार बन्न आएको हो र ? माल कमाउन आएका हौँ । कमाउँछौँ, पासपोर्ट बेचेर, फिरौती लिएर, कमिसन लिएर, वा जनतालाई शरणार्थी बनाई बेचेर भए पनि कमाउँछौँ । कमाउने अवसर र आवश्यकता दुवै छ, त्यसैले कमाउने हो । टिकट किनेको र भोट किनेको पैसा के पातका खोस्मेरा हुन् र ? नकमाए सन्तानले, जोरीपारीले र छिमेकीले नै के भन्छन् ? पानीमरुवा भन्दैनन् ? अनि हामी जतिसुकै चोखो भए पनि र यहाँसम्म आएपछि चोखो छु भनेर तामोतुलसी नै भाके पनि जनताले पत्याउने हैनन् । जनताले कर तिरून् कि नतिरून् ? हामीलाई केको खसखस ? गाईले बाच्छो पाए पनि बाच्छी पाए पनि हामीलाई चाहिएको बिगौती हो । त्यो पाएपछि खाने हो ।

ध. हामी त खाली मामाको धनमा फुपूको सराद्धे गर्ने मात्र पर्‍यौँ । (‘घ’बाहेक सवै हाँस्छन् ।)

घ. (मुर्मुरिँदै) देशलाई के अपुताली पर्‍या छ र फुपूको श्राद्ध गर्न ?
न. देशलाई अपुताली परोस् कि नपरोस् तर हाम्रो तालुमा आलु फलेको भने पक्कै हो । माग्ने थियौँ, माननीय भयौँ ।

घ. हामीलाई जनताले किन चुनेका हुन् भन्ने हेक्का त छ नि ? कि त्यो पनि बन्धकी राख्नुभयो ?

प. छ, किन नहुनु ? ठुला पार्टीका नेताले तयार पारेर ल्याएको मस्यौदामा ताली बजाउनु नै हाम्रो काम र कर्तव्य हो । अझ आवश्यक भएको वेला आफ्नो नेताले सादा कागजमा हस्ताक्षर गर भने पनि गर्ने हो । त्यति काम हाम्रो हो जुन हामीले गरेकै छौँ । अब सरकारले त्यसवापत उपलब्ध गराउने सुविधा किन छोड्ने ?

घ. आफू त्यति मूल्यहीन भएर पनि किन बस्नुहुन्छ त पदमा ? छाडे हुँदैन ?

फ. बरु पशुपतिनाथसँग अरू दुईचार वर्ष यो सरकार यसै गरी चलोस् भनेर प्रार्थना गर्नुहोस् । सरकार गयो कि सुविधा गयो ।

घ. सवोच्चको निर्णय सुन्नुभएको छैन ?
ब. हाम्रा नेताहरूले त्यसलाई पनि थाङनो बनाइदिन्छन् । देख्नुहोला ।
घ. तपाईंलाई थाहा छ हामीले सुविधामा पाउने गाडीलाई कति पर्छ ?
भ. ए भाइ, तपाईंलाई फल खानु छ कि रुख गन्नु छ ?

घ. एउटा गाडीलाई पचास लाख पर्छ । हाम्रा बाले कमाएर राखिदिएको पैसा हैन त्यो । जनताले खाईनखाई तिरेको कर र जनताको शिरमा थपिएको ऋण हो । जति नेता उत्ति पार्टी । एउटा पार्टीलाई एउटा गाडी र ड्राइभर, इन्धन र मरम्मत…! कति पेल्नुहुन्छ जनतालाई ? जनताले भोकै बसेर पनि कर तिर्नुपर्ने र नेताले अजिङ्गरले झैँ देशै निल्ने ?

म. देशको ढुङ्गामाटो त कसले निल्या छ र ? पाएको सुविधा त लिनैपर्‍यो नि पाएसम्म ।
घ. यो अन्याय हो, धोका हो, बेइमानी हो, कृतघ्नता हो, जनघात, राष्ट्रघात, विश्वासघात सवै हो ।
य. होस् न, जुनसुकै घात होस् । हामीलाई छु मतलब ?
घ. म विरोध गर्छु यसको ।

र. गर्नुस्, तर यहाँ हैन, टुँडिखेलमा गएर गर्नुस् ।
घ. यसरी जनताको छातीमा जाँतो रिँगाएर देशलाई धुलोपिठो पार्न पाइँदैन । हामी कुनै अद्वितीय क्षमता भएर सभासद् भएका होइनौँ । हाम्रो नाउँमा काकताली परेको मात्र हो । ए जनता होसियार ! (हात माथि उठाएर कराउँछ ।)

ल. ए साथी हो, त्यसको हात तल झारिदओ, नभए भाँचिदेओ । मुख थुनिदेओ ।

घ. जाग जनता हो जाग । (स्वर मत्थर हुँदै जान्छ । अरूको स्वार्थी तथा क्रूर हाँसोमा उसको विरोधी र चेतनाको आवाज दब्दै जान्छ र मञ्च पुरै अँध्यारो हुन्छ ।)

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x