नन्दलाल आचार्यजरा
दोस्रो बोट बिस्तारै हाँस्यो- “देवी बत्ती-भजनले होइन, धरती बचाउने कर्मले प्रसन्न हुन्छिन् ।”

नन्दलाल आचार्य :
“तिमीहरू यस्तो थकित किन देखियौ ?” ढोकैछेउमा उभिएका दुई साना केराका बोटहरू आज दु:खी देखेर अचम्मै मान्दै मैले सोधेँ ।
हिजोसम्म हावासँगै हाँस्ने, पात फड्काउँदै प्रकाशसँग भलाकुसारी गर्ने ती बोटहरू आज उदास थिए- पात झुकेका, जरा रोएजस्तो लाग्थ्यो ।
एक बोट कष्टसाथ बोल्यो- “हामीलाई सजावट बनाइयो, लक्ष्मी बोलाउन रे ! तर हेर न, हाम्रा खुट्टा गिडिएका छन् ।
माटोबाट उखेलेर सिमेन्टमाथि बाँधिएका छौँ, जरा छट्पटाइरहेका छन्, वरपर माटो कतै भेटिँदैन ।”
म छेउमै उभिएँ- निशब्द, अपराधीझैँ ।
दोस्रो बोटले पीडा पोख्यो- “मानिस अचम्म गर्छ, भाग्य खोज्दै दौडिन्छ, तर भाग्य दिने धरतीलाई नै कङ्क्रिट बनाउँछ ।”
मैले चुपचाप पानी खन्याएँ, पातहरू सुम्सुम्याएँ । पहिलो बोटको स्वर थोरै नरम भयो- “हामीलाई धेरै चाहिँदैन,
थोरै माया, थोरै माटो, थोरै श्वास लिने फाल्ने वातावरण मात्रै भए पुग्छ ।”
दोस्रो बोट बिस्तारै हाँस्यो- “देवी बत्ती-भजनले होइन, धरती बचाउने कर्मले प्रसन्न हुन्छिन् ।”
०००
२०८२ कार्तिक ३ गते ।
Subscribe
Login
0 Comments
Oldest










































