साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेन्जर माने खत्रा इण्टरभिउ

यतिकैमा गुण्डु'बा'ले भेण्टिलेटर फोर्सतिर इशारा गरे । फोर्सले फत्तेलाई तान्द्राङ्ग तुन्द्रुङ्ग, झ्यानाकुटी पार्दै बाहिर राखेको टिपरमा लोड गरेर अज्ञात स्थलतर्फ लाग्दा भए ।

Nepal Telecom ad

भवानी बराल :

केही दिनदेखि गुण्डुबासँग लगातार मूलधारका टाउके पत्रकारको वार्तालाप प्रकाशन/प्रशारण भैरहेको थियो । तर ती वार्तालापको भ्यूअर्स नगन्य थियो । गुण्डु साइबर सेनाले समीक्षा त गरिरहेकै थियो । गौरशालीव पार्टीको कौरवशाली नेताको यो हविगत भएपछि अन्य उपाय लगाउने निधो भयो । मूलधारका मिडियालाई च्यालेन्ज गर्ने सोसियल मिडियाको खोजी हुन थाल्यो । सोसियल मिडियाको डनलाई अन्तरवार्ता लिन लगाउने निधो भयो । यसैक्रममा युट्युबर डन युट्युबसिं फत्ते खोजीको सूचीमा परे । युट्युबसिं फत्ते सोर भरेङ् निवासमा आराम गरिरहेका थिए । यतिकैमा गुण्डु भेण्टिलेटरले आधारातमै उठाएर गुण्डु ल्याएर पछारे । विचरा किडन्यापिङमा परेका फत्तेको गुण्डु पुगेपछिमात्र होस खुल्यो । गुण्डुबासँग डेन्जर इण्टरभिउ लिने काम रहेछ भन्ने थाहा पाएपछि शान्तिको सास फेरे । र ढिलो नगरी कर्मकाण्ड सुरु गरे :

युट्युबसिं फत्ते : दर्शन गुण्डु’बा’ ।
गुण्डुबा : सुदर्शन फत्ते नाती।
युट्युबसिं फत्ते : सुपारीटारको भूमिगत जीवन कस्तो रह्यो ?
गुण्डुबा’ : गहिरो सपना देखे जस्तो । बोल्ने साथी हाते मुबाइल छैन । नाकले सुघुँ सेनाको बारुद गनाउँछ । आँखा च्यातेर, भृकुटी खुम्च्याएर हेर्यो वरिपरी सुपारीको जंगलमात्र छ । खुट्टा चलाउँ गोडा घुँडाफार सतर्क हुँदैन । आँखाको विख मार्न जोरीपारी हेर्न नपाइने । प्रान पियारी राधिकासंग हेराहेर गर्यो । आँखाको भाका केलायो बस । दुई जोईपोई बुढेसकालमा रुँगारुँग गरे जस्तो । कसैको काजक्रिया गर्दै कोरामा बसे जस्तो भयो ।

युट्युबसिं फत्ते : गुण्डु आगमन चैं कसरी भो ?
गुण्डुबा : जिन्दगानीमा यहि पुत्ने छोरो काजीलाइ हुर्काइएको रहेछ। यसैले उद्योग गरेर ल्यायो र उसैको मतानमा बास दियो । यसरी सुकुम्बासी भएर बस्दा पनि लोभिपापी जन्तरेहरु लर्को लाएर धाइरहेका छन् । फोटो खिच्छन् र मुहार पुस्तिकामा टाँस गरेरे साखुल्ले भएको दिवाना देखाउँछन् ।

युट्युबसिं फत्ते : के भएर यस्तो भयो ? यसो धामी, झाँक्री, जोतिसी देखाएको भा हुने ।
गुण्डुबा : धेरै धामी, झाँक्री, जोतिसीलाइ घर फर्क भनेर बोलाको थिएँ। एउटी झँक्रिनी चैं आकी थि । एकछिन उफ्रीपाफ्री गरी अनि थाल चाटेर गई । जोखाना के निस्कियो भन्दै भनिन ।

युट्युबसिं फत्ते : अनि केरकार शाखामा लैजाने भन्ने सुनेको थिएँ । केरकार गर्यो ?
गुण्डुबा’ : त्यो पहिलेको कालिकोटे कार्कीले केरकार गर्छु भन्दै छ रे । त्यो जुँगे कार्कीले जति नै जुँगामा ताउ लगाएपनि केरकारमा जाँदिन । तेस्ले जुँगा मुसार्दैमा को डराउँछ ? कस्ता कस्ता लट्टे जुँगा दारी भएका जोगीसँग त डराइन । बोलाउन पनि ढङ्ग हुन्छ नि र पो जानु । कुकुरलाई पनि चोइ…. चोइ…. नभनी आउँदैन । कुखुरालाई बोलाउँदा पनि त्रु…. त्रु….. आह… आह… भन्नु पर्छ ।

युट्युबसिं फत्ते : कर्केनी बजैको सर्खारले चुनाउ गराउने भन्दैछ के अर्ने हो ? (अलिकति पश्चिमा लय मिसाएर फत्तेले सोधे)
गुण्डुबा : यस्ता हा…. हु….. सर्खारले भन्दैमा चुनाउ हुन्छ ? नहुने चुनाउमा कस्ले भाग लिन्छ ? तित्रा, फटेङ्ग्राले ? नजाने गाउँको बाटो नसोध्नु । यस्ता लैबरी प्रश्न नसोध फत्ते ।
युट्युबसिं फत्ते : राष्ट्रिय राजनीतिको जल्दोबल्दो प्रश्न नसोधेर के सोध्नु ?
गुण्डुबा : पीरै पीरमा परेको बेला अरु नै प्रश्न सोध। ‘नसम्झने मन छ, म बिर्सौं कसोरी’ भएको बेलाँ ।
युट्युबसिं फत्ते : भेण्टिलेटर फोर्स चैं किन बनाको ?
गुण्डुबा : विरोधीलाई धर्नासोमा हानेर भेण्टिलेटरमा पुर्याउन ।

युट्युबसिं फत्ते : नेपालका सबै छोराछोरी नाती नातिना भनेको हैन ? को चैं हो विरोधी ?
गुण्डुबा : तेही खैरेहरुले न्वारान गरी नाम राखेका फुच्चाफुच्ची धर्मछाडा अगतिहरु । जेन्जी हो की फेन्जी के नाम हो ? अलिक ठम्याउन सक्तिन । सपना हो कि विपनामा भदौरे झल्को आउँछ ।
युट्युबसिं फत्ते : अनि आफैले कर्कीनी बजैलाई लेखेर सर्खार बनाउन दिएको भन्छन् त ?

गुण्डुबा : कता हुनु । मेरो टाउकोमा हाल्न त्यो खुर्सानी बाजेले पिरो कुरा छादेको । लेखेरै दिएको भए पनि त्यो त सपनामा होला । सपनामा लेखेको पनि प्रमान हुन्छ ?
युट्युबसिं फत्ते : को हो खुर्सानी बाजे ?
गुण्डुबा : रामचन्द्र खसखसे । तेसलाइ खसखस कुरा नगरी भातै पच्दैन । त्यो मन्त्री, राष्ट्रपति हुनुभन्दा अगाडि तनहुँबाट खुर्सानी ल्याएर असनमा बेच्थ्यो तेही भएर तेस्को नाम खुर्सानी बाजे भयो ।

युट्युबसिं फत्ते : अब चैं के अर्ने विचार छ ? (अलिकति पश्चिमा लय मिसाएर फत्तेले सोधे)
गुण्डुबा : माडी बेसन ।
युट्युबसिं फत्ते : महाधिवेसन त सुनेको हो । यो माडी बेसन भनेको चैं के हो ?
गुण्डुबा : माडमुड गरेर बेसन बनाउने भनेको । मासुलाई किमा बनाए जस्तो सबैलाइ धूलोपीठो पार्ने ।
युट्युबसिं फत्ते : तेसो गर्दा के हुन्छ ?
गुण्डुबा : बैगुनी केटो, एक दुइजना काँठे पानीआन्द्रे फ्याउरा फ्याउरीहरु, सुदूर पश्चिमको कर्ने भन्ने थापाकाजीलाइ फेरि झोलीतुम्बी बोकाएर मुङ्लान कटाउने । अर्को त्यो बरिष्ठे पानी टंकीलाई साइजमा ल्याउने । पानीटंकीले मलाई छ्याप्न पानीको जोहो गरिरा छ भन्ने सुन्या छु । तेस्को घैंटो फुटाउने हो ।

युट्युबसिं फत्ते : भख्खरै तेत्रो नरसंहारको दाग लागेको थाहा छैन ? बानै हुन् भनी राखेका छन् जनजनले ।
गुण्डुबा : प्रधानमन्त्रीको हातमा गुलेली मटेङग्रा त हुँदैन कता मैले गोली चलाउनु र नर संहार गर्नु ? डिपस्टेट, विदेशी खडयन्त्रकारी र लुसिफरले भटट….रटट… गरेका हुन् । मैले त अपानवायु पड्काउन छाडेको पनि जाँते चेन्ज गरे पछि हो । बरु यो प्रश्न गृहमन्त्री राइटर बाजेलाई थाहा होला । उसैलाइ सोध्नु ।

युट्युबसिं फत्ते : माडी बेसनको राजनैतिक विचारधारा वा वाद चैं के हो ?
गुण्डुबा : ‘घफवाद’ ।
युट्युबसिं फत्ते : झापाली तेसमाथि ओलीलाई घफ त आउने नै हो ? नयाँ जनवाद, जनताको बहुदलीय जनवाद (जबज) त सुनेकै हो । तर ‘घफवाद’ भनेको चैं के हो ?

गुण्डुबा : जनवाद विप्लपको रे । जबज विद्धेको पेवा रे । अब हाम्रो चैं सबै त्यागेर नयाँ सिद्धान्त ‘गफवाद’ अविश्कार गरिएको छ । ‘घ’ भनेको घर, ‘फ’ भनेको फर्क, वाद भनेको विचार भैगो । यसरी लामकरीमा ‘घरफर्कवाद’ अर्थात छोटकरीमा ‘घफवाद’ भयो । यसको रणनीति तथा कार्जेनीति घर फर्केर ‘बा’ को सेवा गर भन्ने झोले सिद्धान्तमा आधारित छ ।

यतिकैमा गुण्डु’बा’ले भेण्टिलेटर फोर्सतिर इशारा गरे । फोर्सले फत्तेलाई तान्द्राङ्ग तुन्द्रुङ्ग, झ्यानाकुटी पार्दै बाहिर राखेको टिपरमा लोड गरेर अज्ञात स्थलतर्फ लाग्दा भए… ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x