साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय टोपी दिवसका पाँच फित्कौली

टोपीले अपमानित महसुस गर्दै अन्तिम पटक दृढताका साथ भन्यो, "म शिर छोप्ने कपडा मात्र होइन, शिर झुक्न नदिने स्वाभिमान हुँ; तर विडम्बना, मेरो दिवस मनाउनेहरू नै आज मेरै अस्मिता लिलाम गरिरहेका छन् ।"

Nepal Telecom ad

संयोजन : नन्दलाल आचार्य :

१. राष्ट्रिय टोपी र म्याउँको साख
पीयूष आचार्य

“तिम्रो टाउकोमा यो केको पहाड ठडिएको, कतै सगरमाथा नै त होइन ?”
भान्साको अँध्यारो कुनाबाट सानो मुसो ‘मुसु’ ले बिरालो ‘म्याउँ’ लाई देखेर निकै अचम्म मान्दै सोध्यो । सधैँ टाउको निहुराएर दूध चोर्न तम्सिने म्याउँ आज भने घाँटी तन्काएर, कक्रक्क परेर बसेको थियो । उसको टाउकोमा एउटा सुन्दर ढाका टोपी ढल्केको थियो ।

“चुप लाग मुसो ! आज अङ्ग्रेजी नयाँ वर्ष मात्र होइन, मेरो पहिचानको उत्सव ‘राष्ट्रिय टोपी दिवस’ पनि हो,” म्याउँले शानका साथ जुँगा चलाउँदै भन्यो ।

मुसो अझै अलमलमा थियो । उसले म्याउँको वरिपरि घुम्दै सोध्यो, “तर तिमी त विदेशी नश्लको बिरालो हौइनौ र ? हिजोसम्म त तिमी ‘बर्थडे क्याप’ लगाएर म्याउँ-म्याउँ गर्दै थियौ, आज अचानक यो नेपालीपन कसरी पलायो ?”

म्याउँले आफ्नो पञ्जाले टोपी मिलाउँदै गम्भीर मुद्रामा भन्यो, “पहिचान भनेको रगतमा मात्र होइन, शिरको गरिमामा हुन्छ । यो टोपीले मलाई सगरमाथा जस्तै अटल र लालीगुराँस जस्तै कोमल बनाएको छ । आज मलाई मुसा समात्ने लोभ भन्दा पनि आफ्नो सांस्कृतिक स्वाभिमान जोगाउने चिन्ता छ ।”

मुसो मुसुमुसु हाँस्दै अलि नजिक गयो र म्याउँको गाला मुसारिदियो । म्याउँको ध्यान टोपी खस्ला कि भन्ने डरमा मात्र केन्द्रित थियो । उसले हलचल समेत गर्न सकिरहेको थिएन ।

त्यसैबेला मुसोले एउटा तीखो झटारो हान्दै भन्यो, “शिरमा सगरमाथा जस्तो टोपी त ढल्कायौ साथी, तर कतै यसको ओझ थाम्न नसकेर तिम्रो सिकारी स्वभाव नै त मरेको होइन ?”

यो सुनेपछि म्याउँले टोपी बचाउने धुनमा झम्टिन खोज्दा सन्तुलन बिग्रियो र ऊ भित्तामा ठोक्कियो; टोपी भुइँमा खस्यो र मुसो ‘सांस्कृतिक स्वाभिमान त व्यवहारमा पो देखिनुपर्छ’ भन्दै दुलोभित्र पस्यो ।

श्री जनता माध्यमिक (प्राविधिक) विद्यालय, गोलबजार, सिरहा
०००

२. सानो टाउको, ठुलो टोपी
गजल आचार्य

“ए केटा, कता हरायो त्यो सगरमाथाको टाकुरा जस्तो टोपी ?” भान्साबाट हजुरआमाको स्वर यसरी गुन्जियो, मानौँ कुनै हराएको खजानाको खोजी भइरहेको छ ।

आज जनवरी १, अर्थात् राष्ट्रियञ नेपाली टोपी दिवस । घरमा निकै चहलपहल थियो । सात वर्षको नाति रिदम ऐना अगाडि उभिएर आफ्नो निधार छामिरहेको थियो । बाहिर चोकमा छिमेकीहरू ढाका टोपी ढल्काउँदै फोटो सेसनमा व्यस्त थिए, तर रिदमको कोठामा भने एउटा अनौठो सन्नाटा र रहस्य व्याप्त थियो ।

“मैले त दराजमा राखेको थिएँ, कतै मुसाले त लगेन ?” रिदमले सुस्केरा हाल्दै भन्यो । उसले सोफाका कुनाकाप्चा पल्टायाे, बाकसका कपडाहरू छरपस्ट पाऱ्यो, तर टोपी फेला परेन ।

बुबाले भन्नुभयो, “छोरा, त्यो टोपी मात्र होइन, हाम्रो शिरको शान हो, छिटो खोज !”

रिदम अझै अत्तालियो । ऊ यताउता दौडिरहँदा उसको टाउको अलि गह्रौँ र तातो भइरहेको थियो । उसलाई लागेको थियो- कतै त्यो टोपी अदृश्य त भएन ? कतै यसले जादु गरेर मलाई नै छोपिदिएको त छैन ?

ठिक त्यतिबेला, हजुरबा कोठामा छिर्नुभयो र गलल हाँस्दै रिदमको अनुहारतिर औँल्याउनुभयो । रिदमले ऐनामा हेर्दा त अचम्म ! बुबाको ठुलो आकारको भादगाउँले टोपी उसको सानो टाउकोमा आँखासम्मै सरेर बसेको रहेछ ।

हजुरबाले उसको ढाड सुमसुम्याउँदै गहकिलो कुरो बोल्नुभयो, “बाबु, टोपीले मान्छेको पहिचान त दिन्छ, तर आँखा नै छोप्ने गरी ढल्काएपछि आफ्नै अस्तित्व देखिन छाड्छ ।”

रिदमले टोपी अलि माथि सार्दै भन्यो, “हो त हजुरबा ! मैले त टोपी हरायो भनेर दुनियाँ खोजेँ, तर आफ्नै टाउकोमा भएको कुरा बिर्सिएछु ।” चोकमा हाँसोको फोहोरा छुट्यो, किनकि रिदमले टोपी त लगाएको थियो, तर उल्टो पारेर !

श्री बुढानिलकण्ठ आवासीय मावि, गोलबजार-४, सिरहा ।
०००

३. टोपीको लाज
गरिमा आचार्य

“तपाईँको शिरमा यो के को पहाड हो, जसले मेरो इज्जत नै थिचिरहेको छ ?”

श्रीमती झुम्कीको यो झड्केलो प्रश्न सुन्नासाथ रामप्रसाद झस्किए । उनले ऐना हेरे- शिरमा ढाका टोपी ढल्केको थियो । आज जनवरी १, अर्थात् ‘राष्ट्रिय नेपाली टोपी दिवस’ । तर झुम्कीको अनुहारमा भने औँसीको रात झैँ अँध्यारो थियो ।

“भाग्यमानी ! यो पहाड होइन, सगरमाथाको प्रतीक हाम्रो नेपाली टोपी हो,” रामप्रसादले सगर्व छाती फुलाए ।

“अनि मेरो चाहिँ के नि ?” झुम्कीले दराजबाट एउटा विदेशी ब्रान्डको चम्किलो ह्याट निकालिन् । “आजै न्यू इयर इभको पार्टी छ, तपाईँ यो थोत्रो टोपी लगाएर मेरो ‘स्टाटस’ बिगार्न खोज्दै हुनुहुन्छ ? सबैले ‘ओल्ड फेसन’ भनेर जिस्क्याउँदा मेरो नाक कहाँ रहन्छ ?”

रामप्रसादले टोपी मिलाउँदै भने, “यही टोपीले हाम्रो पहिचान जोगाएको छ झुम्की ! यो कुनै फेसन होइन, यो त हाम्रो पुर्खाको स्वाभिमान हो ।”

झुम्कीले नाक खुम्च्याइन्, “स्वाभिमानले पेट भरिँदैन, न त यसले आधुनिक समाजमा सान दिन्छ । बरु यो फुकालेर मेरो महँगो ह्याट लगाउनुस्, नत्र म पार्टीमा जाँदै जान्नँ !”

रामप्रसाद एकछिन मौन रहे । उनले टोपी फुकालेर ओछ्यानमा राखे । झुम्की मुसुक्क हाँसिन्, उनलाई लाग्यो; आफ्नो आधुनिकताको जित भयो । तर रामप्रसादले सुस्तरी कोटको खल्तीबाट एउटा पुरानो तस्बिर निकाले र गहकिलो स्वरमा एउटै वाक्य बोले:
“श्रीमतीजी, आधुनिकताको नाममा शिरको टोपी त फुकाल्न सकिएला, तर भित्रैदेखि खुस्किसकेको गिदी र बेचिएको स्वाभिमानलाई कुन चाहिँ महँगो ह्याटले छोप्नुहुन्छ नि ?”

स्वप कलेज अफ इन्जिनियरिङ, भक्तपुर
०००

४. टोपीको प्रतिष्ठा र रित्तो खप्पर
लक्ष्मी रिजाल

“यसपालि त यो राष्ट्रिय गौरवलाई सगरमाथाको उचाइ नदिई छोड्दिनँ !”

शिरुदाइले ऐनाअगाडि उभिएर आफ्नै प्रतिबिम्बलाई यसरी थर्काए, मानौँ अगाडिको ऐना कुनै विदेशी हस्तक्षेपकारी शक्ति हो । पुस १७ को ठिहीमा उनले वर्षभरि बाकसमा थुनिएको ढाका टोपी निकाले । टोपीको घेरामा उनलाई आफ्नो पुर्खाको वीरता, सगरमाथाको धिरता र मेची-महाकालीको एकता प्रस्टै देखिरहेको थियो ।

उनले टोपी ढल्काए- स्वाभिमान अलिकति कोल्टो परेको जस्तो देखियो । टोपी सीधा बनाए- अनुशासन अलि बढी कसिलो भएर टाउको दुखेको जस्तो भयो । बाहिर चोकमा ‘टोपी दिवस’ को र्‍याली निस्कन लागेको थियो ।

शिरुदाइले टोपी मिलाउँदा-मिलाउँदै पत्नी सुन्तलीले भान्साबाट व्यङ्ग्य कसिन्, “ए बुढा ! टोपी त ठाडो भयो, तर भित्रको गिदी कता हरायो ?”

शिरुदाइले सुनेनन् । उनी त राष्ट्रियताको “ब्रान्ड एम्बेसेडर” बनेर चोक पुगिसकेका थिए । त्यहाँ दर्जनौँ ‘शिरुदाइहरू’ सेल्फी खिच्न व्यस्त थिए । कसैको टोपी विदेशी ब्रान्डको चस्मासँग जुधिरहेको थियो, कसैको टोपी भित्रबाट विदेशी रक्सीको गन्ध आइरहेको थियो । सबैको शिरमा टोपी त थियो, तर अनुहारमा मौलिक मुस्कान कता हराएको थियो कता ।

र्‍याली सकिएपछि शिरुदाइले एउटा चिया पसलमा बसेर निकै गम्भीर हुँदै छिमेकी हर्कमानलाई भने, “हेर्नुस् हर्कमान जी, यो टोपी भनेको हाम्रो शिरको ताज हो, यसले हाम्रो पहिचान र स्वाभिमानलाई विश्वभर चम्काउँछ, यसलाई कहिल्यै झुक्न दिनु हुँदैन !”

हर्कमानले चियाको सुरुप्को मार्दै तलदेखि माथिसम्म शिरुदाइलाई हेरे र विस्तारै भने, “कुरा त ठिकै हो दाइ, तर यो स्वदेशी टोपी ढल्काएर तपाईँ आज कुन देशको भिसा मिलाउन कन्सल्टेन्सी जाँदै हुनुहुन्छ रे ?”

कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी
०००

५. एउटा मञ्चीय विद्रुपता
नन्दलाल आचार्य

“होसियार ! तिम्रो शिरको ताज आज अर्कैको मति सच्याउन जाँदैछ,” कोठाको कुनामा झुण्डिएको पुरानो झुत्रो कोटले एक्कासी ऐनाअगाडि सजिएको ढाका टोपीलाई सचेत गरायो ।

आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् ‘नेपाली टोपी दिवस’ । सहरमा उत्सवको तयारी थियो ।

ढाका टोपीले ऐना हेर्दै गर्वका साथ भन्यो, “म त नेपालीको शान, आज त मेरो प्रतिष्ठाको दिन हो ।” कोट मुसुमुसु हाँस्यो । टोपी एउटा ठालु नेताको टाउकोमा विराजमान भएर सार्वजनिक सभातर्फ प्रस्थान गर्‍यो ।

मञ्चमा पुग्दा टोपी दङ्ग थियो । तर, जब नेताले भाषण सुरु गरे, टोपीको होस उड्यो । नेताले राष्ट्रियताको चर्को गफ दिँदै गर्दा भित्रभित्रै विदेशी स्वार्थको सम्झौता गरिरहेका थिए । टोपीलाई आफ्नो पवित्रतामा दाग लागेको महसुस भयो । नेताको पसिनाले टोपी भिज्दै थियो, तर त्यो पसिना मेहेनतको होइन, डर र कुण्ठाको थियो ।

टोपीलाई लाग्यो- यो टाउको त केवल एउटा खोक्रो बाकस मात्र हो, जहाँ देशप्रेमको कुनै गुदी छैन ।

टोपीले भित्रैबाट चिच्याउन खोज्यो, तर ऊ त केवल कपडाको एउटा बुट्टा मात्र थियो । सभा सकिएपछि नेताले एउटा महँगो विदेशी रक्सीको पार्टीमा जाँदा टोपीलाई निकालेर सोफाको कुनामा फालिदिए । त्यहाँ एउटा विदेशी ह्याट पहिले नै पल्टिरहेको थियो ।

विदेशी ह्याटले टोपीलाई व्यङ्ग्य गर्दै भन्यो, “स्वागत छ साथी ! प्रदर्शनी सकियो ? अब त तिमी र म एउटै त हौं नि, मालिकको स्वार्थ सिद्ध गर्ने साधन !”

टोपीले अपमानित महसुस गर्दै अन्तिम पटक दृढताका साथ भन्यो, “म शिर छोप्ने कपडा मात्र होइन, शिर झुक्न नदिने स्वाभिमान हुँ; तर विडम्बना, मेरो दिवस मनाउनेहरू नै आज मेरै अस्मिता लिलाम गरिरहेका छन् ।”

यति भन्दै टोपी भुइँमा खस्यो, जहाँ उत्सवका नाममा रक्सीका खाली बोतलहरू र देश बेच्ने कागजातहरू छरिएका थिए ।

०००
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x