धनराज गिरीमिलेन बा !
आफूभित्र छु। किशोर, रफी, मुकेश, नारायणगोपाल साथी, गीत गजल मित्र। अरू, अरू नै हुन् । म कसैको फ्रेममा अटाउन्न कि ? प्रेममा अवश्य ! प्रेममय छ जिन्दगी !!

धनराज गिरी :
सन्तानको भिडिओ कल कुर्नु मेरो दिनचर्या भएको छ। “म” अर्थात् उही म, जो मेरो कथाको केन्द्रविन्दु, परिधि पनि। सन्तान, आफ्नै अवतार। “म” उही ४३ नामी, ३६ नामीबाट बढुवा भएको छु । हुन त ७४ नामी भने पनि हुन्छ, म आज, हो आज, समय होइन, “प्रोफेसर अजेयराज आशुतोषनाथ उच्चमाथ देवीभक्त गिरिजालोपाध्याय झुवानीश्री बलरामपुरे” मेरो नाम, बोरिङ्ग, हो, कतिलाई दिक्क बनाउने, उही “ओलीजीको प्रवचन झ्याउ लागेजस्तो !” आज झुवानीको दिन। छोराको भिडिओ कल आयो। पितापुत्र, यतिखेर, गालिब, मीर तकी मीर, अञ्जान- समीर, जे माने पनि भयो। आयो, आयो, छोरी “शिवानी प्रेमदीवानी तर्केश्वरीको कल आयो। अब गन्थन बन्द।
“बा, के छ खबर ? नयाँ ?” प्राण, जेसी,पूजाकी दिदी, अनन्त पाइला,अजेया।
“हरेक दिन नयाँ, हरेक दिन ताजा, हरेक दिन म आफ्नै घरको राजा, अझ बादशाह, लालसम्राट् ! चारतारे उस्ताद। दोस्तों के दोस्त !” मेरो शैली।
“एउटा प्रश्न गर्छु, अलि सोचेर उत्तर दिनुहोला है !” छोरी।
“म नसोची कहिल्यै बोल्दिन, तर अरूले पत्याए पो, ल ल मज्जाले सोचेर बोल्छु। ४३ मिनेट ।” म,प्रोफेसर,नक्कली, तर सक्कली ।
“हाम्रो सबैभन्दा ठूलो दुश्मन को हो ?” छोरी, जेसी।
“सजिलो, इगो, दम्भ, अहङ्कार, घमण्ड, अहम् !” म। तपाक।
“मिलेन बा ! आज हजुरलाई पनि ब्याक लाग्यो। अझ एक मौका दिन्छु। आज, जीवनमा पहिलोपटक मेरो परीक्षामा मेरो बा, ए ए हाम्रो बाको असफलता देख्नुपर्यो !” जेसी।
“हा हा हा, वागवान सिनेमा, परेस रावल, शेखर, मोटा भाइ, हा हा हा, छोरी, मेरो मितवा प्रोफेसर जगमोहन आजाद सुमेधाश्री दयालुले पनि आफ्नो मित्र सफल प्राचार्य असफलाध्यक्ष, अजासु बजासु मायालु, सर्वोत्तमप्रसाद किरणोपाध्यायसित यस्तै गर्ने नि, आफूले जानेको कुरा पनि नजानेजस्तो गरिदिने, साथीको अनुहारको चमक, झापा दमक अवलोकन गर्न ! तिमीलाई अलिअलि सञ्चो भएन पक्कै, यो प्रश्नको रचनागर्भ यही हो। छोरी, जीवन एक सत्ता हो भने, यो शरीर, यो भूगोल, यो देह, निसन्देह कडा प्रतिपक्ष हो, मान्छेको आफ्नै “तन” महादुश्मन ! हेर न, मलाई मज्जाले गीत गाउन मनलाग्छ, गला अवरुद्ध !! मलाई दमक जान मन छ, भाङबारी, तर यो गजराजमय शरीर, सधैं अवरोध ! “गोपी” पद धरापमा !” तन, मन, धन र स्वजन” बीचको सन्तुलन नै सफल र सार्थक जीवन हो, तर कहाँ हुन्छ र भनेजस्तो !! हुन्न नि छोरी। अब मिल्यो ?” म, साझा बा !
“बा पनि धर्मनाथ आचार्य, खप्पिस अभिनयमा ! दिलिप कुमार, राज कपूर, धनराज अपूर, मनराज चपुर, रमेश समर्थन, माधव काफ्ले ,शीतल गिरी र निर्मोही व्यास ! किन नमिल्ने बा ! मिल्यो। चार जीपीए, गोपालप्रसाद आचार्य, आदरणीय नेपाली गुरु। अब खुजुरे प्रश्न, बेखौफ, बेखौफ भन्नुहुन्छ आफूलाई, कसैसित पनि डर लाग्दैन र बा ? पहिले पहिले त “डराउनुपर्छ” भन्नुहुन्थ्यो। धरातलीय यथार्थ के हो बा ? अलि चित्तबुझ्ने उत्तर दिनुहोला है !” प्रेमदीवानी।
“हा हा हा, बेखौफ, हो म बेखौफ हुँ, पक्का, सत्य हो। तर छोरी,डर ममा पनि छ, मलाई आफ्नै चेलाचेलीको डर लाग्छ, किन कि प्रेम र सम्मान दिने नै मेरा चेलाचेली हुन्- ओर्ग्यानिक। मलाई ती सम्पूर्ण पाठकहरूसित डर लाग्छ, जसको प्रेरणा र मायाँले, म यत्तिको सर्जक भएँ। पत्नी,आफ्नै सन्तानसित पनि भयभीत हुन्छु, कतै गलतफहमीको शिकार भए कि ? भनेर। यस्तो भोगियो। मलाई मज्जासित, प्रेम मिसाएर हप्काउनेसित डर लाग्छ, त्यो प्रीत हो, चोखो सद्भाव हो। भाग्यमानीको पुर्पुरोमा मात्र लेखिएको हुन्छ। मप्रति सकारात्मक सोच राख्ने मेरा वास्तविक शुभचिन्तकहरूसित डर लाग्छ, र, कतै म, हो म, “अहङ्कारी हुन्छु कि ?” भनेर डराउने गर्छु। आफैंसित बढी डर लाग्छ। अरू, ती तथाकथित शक्तिशाली,यो त्यो, जमीर नभएका अमीर, कसैसित रौं बराबर पनि डर लाग्दैन छोरी। अमोहको अभ्यासमा छु। मोहभङ्ग भएको छ।
“आत्मीय ” एक भ्रम हो। प्याराडक्स हो जिन्दगी !! मित्र, मित्र बन्न ४३ बर्ष लाग्नसक्छ,अमित्र हुन ४३ सेकेन्ड !! म कसैको पनि होइन, कोही पनि मेरा होइनन् – खास अवस्थामा। एक्लै एक्लै एक्लै एक्लै एक्लै एक्लै एक्लै, गगनको नभोमणिजस्तो! एक्लै !! यो पनि अभ्यास हो। भीडमा एक्लै !! र,जीवनको वास्तविक मज्जा यही हो छोरी, आफूलाई भेटेको छु। आफूभित्र छु। किशोर, रफी, मुकेश, नारायणगोपाल साथी, गीत गजल मित्र। अरू, अरू नै हुन् । म कसैको फ्रेममा अटाउन्न कि ? प्रेममा अवश्य ! प्रेममय छ जिन्दगी !! EH= PL. Rejection is not my culture. Exaltation is not my culture. दाजु “देवेन्द्रलाल गिरोपाध्याय गोस्वामी” निम्तो मान्नु छ, भोलि, चिया बिस्कुट खाएर।” म, ताराकान्त गोरेलाई सम्झिएर।
“ल बा,अब छोरीको कर्तव्यले बोलायो। अब लघुकथा लेख्नुहोला, मसित डराउन पर्दैन। मलाई “बेखौफ बा !” मनपर्छ,अमिताभ बच्चन, विजय, आखिरी रास्ता।” जेसी, वार्ता सकियो। म अब गजल लेख्छु, पर्या र विजय हितान अनुज अनि अपिल घिमिरे सम्झिएर। जय जय सन्तान !! जय झुवानी,आज। सम्पूर्णको जय।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































