चन्द्रप्रसाद न्याैपानेअमेरिकी जासुस
तर अमेरिकाको सोही टेक्नोलोजीका कुरा आजभन्दा ४६ वर्षअगि नेपालको सिन्धुपाल्चोक जिल्लाको जलवीरे भन्ने ठाउँमा कसरी पुगेको होला ? अचम्म लागेको छ ।

चन्द्रप्रसाद न्याैपाने :
(४६ वर्षपछि पनि उही कुराले मेल खाएकाे संस्मरण)
वि.सं. २०३६ अर्थात् सन् १९७९ को कुरा हो । म कक्षा ४ मा पढ्दै थिएँ । सिन्धुपाल्चोक जिल्लास्थित श्री आनन्द मावि जलवीरे स्कुल २००८ सालमा स्थापित भएको हो । उसले २०३६ सालसम्म आफ्नो जीवनको २८ वसन्त पार गरिसकेको थियो भने म भर्खर १२ को थिएँ । त्यसताका चौथो घन्टीपछि ठिक १:१५-२:०० बजेसम्म ४५ मिनेटको हाफटाइम हुन्थ्यो । हरेक कक्षाका विद्यार्थीहरू स्वतन्त्र रूपमा चउरमा निस्कन्थे । त्यस समयमा शिक्षकहरू पनि स्वतन्त्र हुन्थे । गर्मी याममा अधिकांश खोलामा पौडी खेल्न जान्थे । म पनि पौडी खेल्न सिपालुमै गनिन्थेँ ।
एक दिनको कुरा हो । हामी हाफटाइममा चउरमा खेल्दै थियौँ । सरहरू पनि चहुरतिरै थिए । प्रायः विद्यार्थीहरू हाफकट्टु लगाउँथे । पाइन्टको त्यति चलन थिएन । जुत्ताको त कुरै नगरौँ । पाइन्ट लगाएको मान्छे देखियो भने पनि अचम्म लाग्थ्यो र हामी हूल बाँधेर हेर्न जान्थ्यौँ । त्यस दिन गजबकै संयोग मिलेछ । एकजना सर्ट पाइन्ट जुत्तामोजा लाएका मान्छे चउरमा आए । हामी वरिपरि झुम्मिएर हेर्न थाल्यौँ । ती मान्छे सरहरूसँग गफ गर्न थाले । अमेरिकाको बारेमा कुरा चल्यो । जलवीरे स्कुल जुगल हिमालको फेदीनिर भएकाले होला त्यही बाटो गरी हिमाल आरोहणका लागि कुहिरेहरूका लस्करका लस्कर आउँथे तर जुगल हिमाल चढ्ने इजाजत सरकारले दिएको छैन भन्ने पनि सुनिन्थ्यो । तिनीहरू छेउछाउ पुगेर फर्कन्थे ।
ती नौला मान्छे सरहरूभन्दा पनि चलाकजस्ता देखिन्थे । तिनले भने- हामीले यसरी चउरमा निस्केर जथाभावी कुरा गर्नुहुन्न । यस्ता विद्यालय, सार्वजनिक ठाउँमा अमेरिकाको विरुद्ध कुरा भयो भने यहाँबाट सिधै हाम्रा कुरा अमेरिकामा पुग्छ भन्थे । त्यतिबेला बिजुली थिएन । अहिलेको जस्तो मोबाइल, सामाजिक सञ्जाल थिएन । रेडियो नेपालबाहेक सञ्चारका माध्यम केही थिएन । कसरी पुग्छ हाम्रा कुरा अमेरिकामा म छक्क पर्थेँ । अमेरिका हामी बसेको ठाउँभन्दा ठिक तल छ रे भन्थे । आफू उभिएको चउरबाट एउटा बाँस गाड्दा पुछारमा प्वाल पारेर निस्क्यो भने अमेरिका पुग्छ भन्नेसम्म मेरो मनमा कल्पनाले विकास गरिसकेको थियो । एक दिन यसै कुरामा बाजी पर्दा मैले बाजी जितेको थिएँ । ग्लोबलाई सिन्काले सिधा छेडेर हेर्दा जलवीरे स्कुलबाट अमेरिकामा सिन्को पुग्यो र मैले प्रमाणित बाजी जितेको हो ।
कुरो तिनै नयाँ मान्छेको गरूँ । तिनले भन्दै गए- अमेरिकाले हाम्रा घरको ढोका कता फर्केको छ ? कसले कतिखेर के कुरा गर्छ र के खान्छ सबै थाहा पाउँछ । उसले नीला रङका झिँगा बनाएर त्यसभित्र मसिना तारहरू जडान गरेको छ रे ! त्यो झिँगो झिँगाकै हूलमा उस्तै बनेर उड्छ रे ! विश्व परिक्रमा गरेर त्यसले सबै कुरा खिच्छ रे ! अनि अमेरिका पुर्याउँछ रे ! त्यस्तै सेता बकुल्लाको हूलमा सेतै बकुल्लो बनाएर पठाउँछ रे ! भनेर निकैबेर गफिए । नभन्दै हाम्रो विद्यालय नजिकैको शिवालयमा बडेमाको झाङ्गिएको समीको रुख थियो । त्यहाँ साँझपख हजारौँ सङ्ख्याका सेता बकुल्लाहरू बास बस्न आउँथे । बिहान-बिहान उडेर हाम्रा घरतिर पनि चर्न जान्थे । त्यो शिवालय र मेरो घर गाउँ एक डेढघन्टाको दूरीमा पर्थ्यो । बकुल्लाको बथान उडेर आएपछि बेसरी बोलेर अमेरिकाको कुरा गर्यो भने त्यसले सुन्छ र हाम्रा कुरा अम्रिकामा लान्छ भनेर हामी साउती गरेर कुरा गर्थ्यौँ ।
बकुल्लाहरूको क्रियाकलाप देख्दा साँच्चिकै हो जस्तो पनि लाग्थ्यो । सीमतिर चर्ने बथानमा एउटाचाहिँ नचरी डिलमा बसेर मुन्टो घुमाइघुमाई चारैतिर हेर्थ्यो र कराउँदा पनि कराउँदैनथ्यो । हुरुरु उडेर हाम्रा घरतिर आउँथ्यो । होन न हो मेरा बा विश्वयुद्धमा जाँदा के के गरेका थिए, अहिले यो मान्छे के गर्दै छ भनेर चाल बुझ्न आएको होला भन्ने लाग्थ्यो । बाबै ! म त कति डराएँ डराएँ । कहिलेकाहीँ कुहिरेहरूका लस्कर आउँदा “गिभ मी मनी, गिभ मी मनी” भनेर माग्ने गरिन्थ्यो । पैसा माग्ने भनेर रेकर्ड राखेको होला भोलिपर्सि किन मागिस् भन्छ होला जस्तो पनि लाग्थ्यो ।
ती नयाँ मान्छेले भनेजस्तै नीला रङे झिँगाहरू रछ्यान वरिपरि घुम्थे । कुनै एउटाचाहिँ उडेर सुटुक्क भान्सा, ओछ्यानतिर पनि पुग्थ्यो । समाउन खोज्यो थाहै नपाई उम्कन्थ्यो । मेरा मनमा उत्सुकतामाथि उत्सुकता थपिँदै जान्थ्यो । एउटा झिँगो समातेर किचकाच पार्छु र हाम्रा कुरा रेकर्ड गर्ने पेटभित्र के कस्तो मेसिनरी तार जडान गरेको रहेछ हेर्छु भन्ने लाग्थ्यो तर के सकिन्थ्यो र ! एक मनले हुँदैन हुँदैन भन्थ्यो । त्यसलाई समाते पनि मेरा कुरा पहिले नै अम्रिकामा रेकर्ड भइसकेको हुन्छ । फेरि टोकिदियो भने विष लाग्ला ! उतिखेरै ठहरै पार्ने विषालु बनाएर पठाएको पनि हुनसक्छ । भयभित हुन्थेँ म ।
२०५३ सालमा ‘कहाँ छ ईश्वर ?’ नाउँको कवितासङ्ग्रहमा मैले यस्तै प्रसङ्गको एउटा ‘त्यो श्वेत जासुस चरो’ शीर्षकमा ४-५ पृष्ठको गद्यकविता पनि छपाएको छु । मेरा बा उहिल्यै वि.सं. १९९७ ताका दोस्रो विश्वयुद्ध लड्न बेलायत गएका थिए । मेरा बालाई त्यो नयाँ मान्छेको भन्दा बढ्ता विश्वको कुरा आउँथ्यो । मेरा बा रुसको निकै बखान गर्नुहुन्थ्यो । सबभन्दा पहिला जूनमा जीव पठाउने रस्सा हो भन्नुहुन्थ्यो । बालाई यस्ता कुरा सोध्थेँ म । बाले हेर् केटा अम्रिका पहिलेभन्दा अहिले बाठो भइसकेको छ । पहिले बेलायत हो संसारैको बाठो तर अहिले अम्रिकाले धेरै आधुनिक विकास गरिसकेको छ । जासुसी यन्त्र आकाशभरि उडाइसकेको छ । हाम्रा वेद, पुराणका कुरा चोर्न ससाना किराहरू बनाएर किताबको पानाभित्र छिराइसकेको छ भनेर बाका झन् अचम्मका कुरा सुनेर म तीनछक पर्थेँ । किताबको पाना पल्टाएर हेर्दा बिचबिचमा ढुसीजस्ता किराहरू भेटिन्थे । कुनै पानामा लामालामा पुच्छर भएका, कुनै पानामा सिङजुरो भएका किरा पनि भेटिन्थे । होन न हो यिनले जम्मै कुरो पढेर लैजान्छन् भन्ठान्थेँ म ।
आज त्यो समयको ठिक ४६-४७ वर्षपछि मैले सामाजिक सञ्जालमा तिनै सर्ट पाइन्ट, जुत्तामोजा लाएर आउने मान्छेले उबेलामा भनेजस्तै उस्तै समाचार सुनेँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले थाहै नपाई बिस्ताराबाटै अपहरण गर्यो रे ! अचम्मको कुरो- यो कुरा पनि मैले उतिबेला अर्थात् सन् १९७९ मा सुनेको भन्दा फरक रहेनछ ।
अमेरिकाले मादुरो कहाँ सुत्छ ? उसका आसेपासे पहरेदार के कति छन् ? कतिखेर ब्युँझन्छन् ? कतिखेर सुत्छन् ? मादुरोले के खान्छ ? नुन बिलिनो हो कि चर्को हो ? कतिखेर ट्वाइलेट जान्छ ? कतिखेर सेक्स गर्छ ? उसकी श्रीमतीको हाउभाउ कस्तो छ ? सुत्दा कस्तो लुगा लाउँछ ? मुख धुँदा नुहाउँदा कस्तो साबुन प्रयोग गर्छ । सुत्ने कोठाको ढोका केले बनेको छ ? चुकुल कति इन्च लामो छ ? तलको भर्याङबाट उसको कोठासम्मा पुग्न कति समय लाग्छ ? छतबाट झर्न परे कति मिनेट लाग्छ ? कोठा केले बारेको छ र तोड्न परेमा कस्तो साधन प्रयोग गर्ने जस्ता दैनिक व्यवहारका सम्पूर्ण कुराहरू तिनै मसिना झिँगा, भुसुनाजस्ता यन्त्रहरूद्वारा सबै कुरा थाहा पाउँछ र सजिलैसँग अपहरण गर्छ ।
त्यहीँ अमेरिका नजिकैको भेनेजुएलाले आजसम्म अमेरिकाका सूक्ष्म जासुसी कुरा थाहा पाएको रहेनछ तर अमेरिकाको सोही टेक्नोलोजीका कुरा आजभन्दा ४६ वर्षअगि नेपालको सिन्धुपाल्चोक जिल्लाको जलवीरे भन्ने ठाउँमा कसरी पुगेको होला ? अचम्म लागेको छ ।
०००
सिन्धुपाल्चाेक
Subscribe
Login
0 Comments
Oldest







































