साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकी जासुस

तर अमेरिकाको सोही टेक्नोलोजीका कुरा आजभन्दा ४६ वर्षअगि नेपालको सिन्धुपाल्चोक जिल्लाको जलवीरे भन्ने ठाउँमा कसरी पुगेको होला ? अचम्म लागेको छ ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

(४६ वर्षपछि पनि उही कुराले मेल खाएकाे संस्मरण)

वि.सं. २०३६ अर्थात् सन् १९७९ को कुरा हो । म कक्षा ४ मा पढ्दै थिएँ । सिन्धुपाल्चोक जिल्लास्थित श्री आनन्द मावि जलवीरे स्कुल २००८ सालमा स्थापित भएको हो । उसले २०३६ सालसम्म आफ्नो जीवनको २८ वसन्त पार गरिसकेको थियो भने म भर्खर १२ को थिएँ । त्यसताका चौथो घन्टीपछि ठिक १:१५-२:०० बजेसम्म ४५ मिनेटको हाफटाइम हुन्थ्यो । हरेक कक्षाका विद्यार्थीहरू स्वतन्त्र रूपमा चउरमा निस्कन्थे । त्यस समयमा शिक्षकहरू पनि स्वतन्त्र हुन्थे । गर्मी याममा अधिकांश खोलामा पौडी खेल्न जान्थे । म पनि पौडी खेल्न सिपालुमै गनिन्थेँ ।

एक दिनको कुरा हो । हामी हाफटाइममा चउरमा खेल्दै थियौँ । सरहरू पनि चहुरतिरै थिए । प्रायः विद्यार्थीहरू हाफकट्टु लगाउँथे । पाइन्टको त्यति चलन थिएन । जुत्ताको त कुरै नगरौँ । पाइन्ट लगाएको मान्छे देखियो भने पनि अचम्म लाग्थ्यो र हामी हूल बाँधेर हेर्न जान्थ्यौँ । त्यस दिन गजबकै संयोग मिलेछ । एकजना सर्ट पाइन्ट जुत्तामोजा लाएका मान्छे चउरमा आए । हामी वरिपरि झुम्मिएर हेर्न थाल्यौँ । ती मान्छे सरहरूसँग गफ गर्न थाले । अमेरिकाको बारेमा कुरा चल्यो । जलवीरे स्कुल जुगल हिमालको फेदीनिर भएकाले होला त्यही बाटो गरी हिमाल आरोहणका लागि कुहिरेहरूका लस्करका लस्कर आउँथे तर जुगल हिमाल चढ्ने इजाजत सरकारले दिएको छैन भन्ने पनि सुनिन्थ्यो । तिनीहरू छेउछाउ पुगेर फर्कन्थे ।

ती नौला मान्छे सरहरूभन्दा पनि चलाकजस्ता देखिन्थे । तिनले भने- हामीले यसरी चउरमा निस्केर जथाभावी कुरा गर्नुहुन्न । यस्ता विद्यालय, सार्वजनिक ठाउँमा अमेरिकाको विरुद्ध कुरा भयो भने यहाँबाट सिधै हाम्रा कुरा अमेरिकामा पुग्छ भन्थे । त्यतिबेला बिजुली थिएन । अहिलेको जस्तो मोबाइल, सामाजिक सञ्जाल थिएन । रेडियो नेपालबाहेक सञ्चारका माध्यम केही थिएन । कसरी पुग्छ हाम्रा कुरा अमेरिकामा म छक्क पर्थेँ । अमेरिका हामी बसेको ठाउँभन्दा ठिक तल छ रे भन्थे । आफू उभिएको चउरबाट एउटा बाँस गाड्दा पुछारमा प्वाल पारेर निस्क्यो भने अमेरिका पुग्छ भन्नेसम्म मेरो मनमा कल्पनाले विकास गरिसकेको थियो । एक दिन यसै कुरामा बाजी पर्दा मैले बाजी जितेको थिएँ । ग्लोबलाई सिन्काले सिधा छेडेर हेर्दा जलवीरे स्कुलबाट अमेरिकामा सिन्को पुग्यो र मैले प्रमाणित बाजी जितेको हो ।

कुरो तिनै नयाँ मान्छेको गरूँ । तिनले भन्दै गए- अमेरिकाले हाम्रा घरको ढोका कता फर्केको छ ? कसले कतिखेर के कुरा गर्छ र के खान्छ सबै थाहा पाउँछ । उसले नीला रङका झिँगा बनाएर त्यसभित्र मसिना तारहरू जडान गरेको छ रे ! त्यो झिँगो झिँगाकै हूलमा उस्तै बनेर उड्छ रे ! विश्व परिक्रमा गरेर त्यसले सबै कुरा खिच्छ रे ! अनि अमेरिका पुर्‍याउँछ रे ! त्यस्तै सेता बकुल्लाको हूलमा सेतै बकुल्लो बनाएर पठाउँछ रे ! भनेर निकैबेर गफिए । नभन्दै हाम्रो विद्यालय नजिकैको शिवालयमा बडेमाको झाङ्गिएको समीको रुख थियो । त्यहाँ साँझपख हजारौँ सङ्ख्याका सेता बकुल्लाहरू बास बस्न आउँथे । बिहान-बिहान उडेर हाम्रा घरतिर पनि चर्न जान्थे । त्यो शिवालय र मेरो घर गाउँ एक डेढघन्टाको दूरीमा पर्थ्यो । बकुल्लाको बथान उडेर आएपछि बेसरी बोलेर अमेरिकाको कुरा गर्‍यो भने त्यसले सुन्छ र हाम्रा कुरा अम्रिकामा लान्छ भनेर हामी साउती गरेर कुरा गर्थ्यौँ ।

बकुल्लाहरूको क्रियाकलाप देख्दा साँच्चिकै हो जस्तो पनि लाग्थ्यो । सीमतिर चर्ने बथानमा एउटाचाहिँ नचरी डिलमा बसेर मुन्टो घुमाइघुमाई चारैतिर हेर्थ्यो र कराउँदा पनि कराउँदैनथ्यो । हुरुरु उडेर हाम्रा घरतिर आउँथ्यो । होन न हो मेरा बा विश्वयुद्धमा जाँदा के के गरेका थिए, अहिले यो मान्छे के गर्दै छ भनेर चाल बुझ्न आएको होला भन्ने लाग्थ्यो । बाबै ! म त कति डराएँ डराएँ । कहिलेकाहीँ कुहिरेहरूका लस्कर आउँदा “गिभ मी मनी, गिभ मी मनी” भनेर माग्ने गरिन्थ्यो । पैसा माग्ने भनेर रेकर्ड राखेको होला भोलिपर्सि किन मागिस् भन्छ होला जस्तो पनि लाग्थ्यो ।

ती नयाँ मान्छेले भनेजस्तै नीला रङे झिँगाहरू रछ्यान वरिपरि घुम्थे । कुनै एउटाचाहिँ उडेर सुटुक्क भान्सा, ओछ्यानतिर पनि पुग्थ्यो । समाउन खोज्यो थाहै नपाई उम्कन्थ्यो । मेरा मनमा उत्सुकतामाथि उत्सुकता थपिँदै जान्थ्यो । एउटा झिँगो समातेर किचकाच पार्छु र हाम्रा कुरा रेकर्ड गर्ने पेटभित्र के कस्तो मेसिनरी तार जडान गरेको रहेछ हेर्छु भन्ने लाग्थ्यो तर के सकिन्थ्यो र ! एक मनले हुँदैन हुँदैन भन्थ्यो । त्यसलाई समाते पनि मेरा कुरा पहिले नै अम्रिकामा रेकर्ड भइसकेको हुन्छ । फेरि टोकिदियो भने विष लाग्ला ! उतिखेरै ठहरै पार्ने विषालु बनाएर पठाएको पनि हुनसक्छ । भयभित हुन्थेँ म ।

२०५३ सालमा ‘कहाँ छ ईश्वर ?’ नाउँको कवितासङ्ग्रहमा मैले यस्तै प्रसङ्गको एउटा ‘त्यो श्वेत जासुस चरो’ शीर्षकमा ४-५ पृष्ठको गद्यकविता पनि छपाएको छु । मेरा बा उहिल्यै वि.सं. १९९७ ताका दोस्रो विश्वयुद्ध लड्न बेलायत गएका थिए । मेरा बालाई त्यो नयाँ मान्छेको भन्दा बढ्ता विश्वको कुरा आउँथ्यो । मेरा बा रुसको निकै बखान गर्नुहुन्थ्यो । सबभन्दा पहिला जूनमा जीव पठाउने रस्सा हो भन्नुहुन्थ्यो । बालाई यस्ता कुरा सोध्थेँ म । बाले हेर् केटा अम्रिका पहिलेभन्दा अहिले बाठो भइसकेको छ । पहिले बेलायत हो संसारैको बाठो तर अहिले अम्रिकाले धेरै आधुनिक विकास गरिसकेको छ । जासुसी यन्त्र आकाशभरि उडाइसकेको छ । हाम्रा वेद, पुराणका कुरा चोर्न ससाना किराहरू बनाएर किताबको पानाभित्र छिराइसकेको छ भनेर बाका झन् अचम्मका कुरा सुनेर म तीनछक पर्थेँ । किताबको पाना पल्टाएर हेर्दा बिचबिचमा ढुसीजस्ता किराहरू भेटिन्थे । कुनै पानामा लामालामा पुच्छर भएका, कुनै पानामा सिङजुरो भएका किरा पनि भेटिन्थे । होन न हो यिनले जम्मै कुरो पढेर लैजान्छन् भन्ठान्थेँ म ।

आज त्यो समयको ठिक ४६-४७ वर्षपछि मैले सामाजिक सञ्जालमा तिनै सर्ट पाइन्ट, जुत्तामोजा लाएर आउने मान्छेले उबेलामा भनेजस्तै उस्तै समाचार सुनेँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले थाहै नपाई बिस्ताराबाटै अपहरण गर्‍यो रे ! अचम्मको कुरो- यो कुरा पनि मैले उतिबेला अर्थात् सन् १९७९ मा सुनेको भन्दा फरक रहेनछ ।

अमेरिकाले मादुरो कहाँ सुत्छ ? उसका आसेपासे पहरेदार के कति छन् ? कतिखेर ब्युँझन्छन् ? कतिखेर सुत्छन् ? मादुरोले के खान्छ ? नुन बिलिनो हो कि चर्को हो ? कतिखेर ट्वाइलेट जान्छ ? कतिखेर सेक्स गर्छ ? उसकी श्रीमतीको हाउभाउ कस्तो छ ? सुत्दा कस्तो लुगा लाउँछ ? मुख धुँदा नुहाउँदा कस्तो साबुन प्रयोग गर्छ । सुत्ने कोठाको ढोका केले बनेको छ ? चुकुल कति इन्च लामो छ ? तलको भर्‍याङबाट उसको कोठासम्मा पुग्न कति समय लाग्छ ? छतबाट झर्न परे कति मिनेट लाग्छ ? कोठा केले बारेको छ र तोड्न परेमा कस्तो साधन प्रयोग गर्ने जस्ता दैनिक व्यवहारका सम्पूर्ण कुराहरू तिनै मसिना झिँगा, भुसुनाजस्ता यन्त्रहरूद्वारा सबै कुरा थाहा पाउँछ र सजिलैसँग अपहरण गर्छ ।

त्यहीँ अमेरिका नजिकैको भेनेजुएलाले आजसम्म अमेरिकाका सूक्ष्म जासुसी कुरा थाहा पाएको रहेनछ तर अमेरिकाको सोही टेक्नोलोजीका कुरा आजभन्दा ४६ वर्षअगि नेपालको सिन्धुपाल्चोक जिल्लाको जलवीरे भन्ने ठाउँमा कसरी पुगेको होला ? अचम्म लागेको छ ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x