भाउपन्थीअघोरीहरू
ऊ बाल्टीमाथि ढक्कन राखेपछि आश्वस्त भयो, मुसो डुबे पनि पानीको सुचिता फर्क्याे भन्ने लाग्यो । जे भए पनि पानी ढाकेर राख्नुपर्ने हो । स्वास्थ्यका लागि बढिया कुरो । त्यो उसले गर्यो । यद्यपि, अर्को बाल्टी पानी कहिले थाप्न पाइने हो, त्यसको मिति तय थिएन ।

राति कतिबेला हो, त्यो थाहा भएन । तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ । छप्ल्याङ्ग आवाज आएको पनि सुनिएन । सायद पानी “साइलेन्ट किलर” बनिदिएछ । पानीले भरिएको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरिन्छ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ । सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु । तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने ! टुटी छ, कनेक्सन पनि छ तर पानी छैन । कहीँ आउँदो हो पानी हप्ताको एकचोटि वा दुईचोटि तर उसको धारामा पानी नआएको महिनौँ बितिसक्यो । उहिले कहिले हो, धारामा पानी आउँथ्यो भन्ने लोकोक्तिजस्तो बन्न पुगेको छ यो समय। धाराबाट पानी नोटबाट राजाको तस्बिरझैँ गायब भएको छ । त्यसैले उनीहरू बाहिरफेर सार्वजनिक धारामा पानी थाप्छन्, रित्ता भाँडा लाइन राखेर पालो कुर्दै ।
पानी नआउनु मात्रै थिएन कुरो । अगाडि धेरै कष्टकर समय आइरहेछ । पानी नभएको मात्रै होइन, लोडसेडिङ् पनि छ । बत्तीपानी आउँदै गर्ला । तर, प्रत्यक्षमा समय अझ जटिल र कष्टकर आइरहेछ । भावी पुस्ताका लागि पानी एउटा काल्पनिक वस्तु बन्न पनि सक्छ । त्यो भविष्यको कुरो हो । अतीत पनि खासै राम्रो छैन । मेलम्ची भनियो । सहर पूरै पखालेर स्वच्छ तुल्याउने । राजनीतिले सपना देखाउन नसक्ने भए यो चीज पनि नोटको राजाकै फोटोझैं हराउने थियो । आशा र सपनाका पछि दौडने बानी परसिकेको छ उनीहरूको ।
भन्न त यो मुलुक जलको धनी देश हो भनिन्छ । अझ त्यसमा पनि पेय जलको । आउने समयमा युद्ध स्त्री, भूभाग र सत्ताविस्तारका लागि नभएर खानेपानीका लागि हुने बडो गर्वैका साथ भन्ने गर्छौं हामी । गर्व यस अर्थमा, हामीसित खानेपानीको अजस्र स्रोत छ त युद्ध होस् वा शान्ति हामी पेयजलका असमाप्य स्रोतका धनी त हुँदै हौँ, बाँकी लड्दै गर्लान्, हामी हातहातमा पानीको बोतल लिएर त्यो रमिता हेर्दै गरौँला, ओलम्पिक खेल हेरेझैं । तर, खेल अहिले यहीँ भइरहेछ । रित्ता गाग्री र बाल्टीहरू !
तर, यो मुसो ? मुसो बाल्टीको पानीमाथि प्रश्नचिन्ह बनेर तैरिरहेको छ ।
यो एक बाल्टी पानी उनीहरूले बडो सङ्घर्षका साथ अस्ति राति भरेर राखेका थिए । पूरै परिवारका सदस्य पालैपालो लाइन बसेर थापेका थिए । पानीका भाँडाका अनन्त लाइनमा पालो आउनै गाह्रो हुन्छ र आइहाल्यो भने पनि बाल्टी थाप्दानथाप्दै वा भरिँदा–नभरिँदै पानी सुकिदिन सक्छ । धाराका मुनि थापिएका भाँडाहरू काकाकुलका मुखझैं प्याकप्याक गर्दै आँ गरिरहेका हुन्छन् । कसले कति पानी कसरी थाप्न सक्छ, त्यो बहादुरी हो र त्यो उनीहरूको जमातमा काउन्ट गर्छ । जसले पानी थाप्न पाउँदैन, त्यो पानीमरुवाजस्तै भइदिन्छ छरछिमेकका आँखामा । एक बटुको पानी कोही दिन चाहँदैन, पानी बाँडेर धर्म कमाउने धन्दा अचेल सेलाएको छ ।
उसले टाउको झड्कार्यो र पहिल्यै पढेको भूगोलको पाठ सम्झ्यो, धर्तीमा तीन हिस्सा पानी छ, एक हिस्सा भूभाग, हाम्रो मुलुक हिमस्रोतको पेय जलले परिपूर्ण छ । तर, भविष्य मानिसको मूत्र रिसाइकल गरेर पिउनुपर्ने हुनसक्छ । तर, मूत्र पनि कसरी बन्ला, निर्जलीय मानिसमा । उसले दिमागमा जन्मेका यी तर्क सब खारेज गर्यो र सोच्यो यी सब कुरा हुँदै गर्छन् । तर, तर्कहरू सुकुम्बासीझैं डफ्फाका डफ्फा आइरहे । एउटा तर्कले भन्यो, अहिलेको समस्या यो हो, मुसो कसरी पानीको बाल्टीमा डुबेर मर्यो ? मुसो अन्यत्र मर्दो हो त ठीक हुने थियो, बाल्टीको पानी फाल्नु कि राख्नु समस्या हुने थिएन । अब मुसो डुबेर मरेको पानी खानु कि फाल्नु ? अर्को तर्क थियो, सब्सिच्युटमा मिनरल वाटर । दिनदिनै मिनरल वाटर किनेर खान सकिन्न । मिनरल वाटर पनि कति शुद्ध हुन्छ, त्यसको कुनै ग्यारेन्टी छैन । सरकारकै ग्यारेन्टी छैन । कन्ट्रोल कसले गर्ने ? दण्डहीनता छ । जसले जे गरे पनि भएकै छ । त, मिनरल वाटर भनेर शुद्ध उच्चारण गरेर भएन, किनेर खान पैसो पनि चाहियो । पानी खानै पनि अमेरिका जान सकिन्न । अमेरिका उसको चेतनामा यसरी घुसेको छ, त्यहाँ सबै कुरो शुद्ध पाइन्छ । सुरक्षा पनि छ । एक जना मान्छेका पछाडि दसवटा पुलिस। वाह, क्या बात छ ! हाम्रोमा त घटनास्थलमा पुग्न पुलिसले पोसाक लगाउँदा लगाउँदै दिन बितिसक्छ । अस्ति गुप्ताङ्गमा पेस्तोल लुकाएर लगेको रहेछ, छाम्दाखेरी अश्लील भइने लज्जाबोधले होला पुलिसले गुप्ताङ्गतिर हात लगेन होला । जेलैभित्र झन्डै हत्या नभएको ?
त, यो मुसो पनि के त्यसरी नै आयो घरभित्र, गुप्त बाटोबाट लुकेर ? मुसाहरूको अराजकता छ । होइन, यो पनि पानीको खोजमा निस्केको हुँदो हो । तिर्खाले आत्तिएर पूरै बाल्टी पानी पिउने लोभले डाइभ गर्यो होला बाल्टीभित्र । तर, यसले थाहा पाएन, यो एक बाल्टी पानी हाम्रो परिवारका लागि कति महत्त्वपूर्ण छ । यसका पनि परिवार होलान् । ती यसको खोजीमा होलान्, घरबाट निस्केको मान्छे अपहरणमा परेर गायब भएझैं । यो मुसो पनि फर्कन सकेन । मुसाहरू प्रजनन क्षमता अत्यन्त उच्च भएका जीव हुन् भनिन्छ । मान्छे पनि त्यस्तै छ । हामी दुई हाम्रा दुई । प्रचार यस्तो भए पनि पपुलेसन काठमाडौंमा वाहन बढेझैं यति बढ्यो एक लिटरसम्म पिउने पानी पाउन छाडियो ।
मरोस् ! मुसोले तर अन्यत्र ठाउँ पाएनछ र यही बाल्टीभित्रको पूरै पानी बिटुल्याएर किन मर्नुपरेको यसलाई । तर, मुसाको विषयमा उसले कथात्मक पाराले सोचेर भएन किनभने यो मुसोले २० लिटर अटाउने बाल्टीको पानी प्रदूषित गरिदिएको छ । कथा काल्पनिक हुनसक्छ, कल्पनाशक्तिले रोचक बन्नसक्छ तर अहिले मृत मुसो यथार्थ भएर उसको मुड बिगारिरहेछ । मुड होइन यार पानी, ऊ आफैंसित सम्बोधित भएको छ । उसभित्र मृत मुसोप्रति भुलुक्क घृणा भल्किएको छ । कति बेला मरेको हो ? बाल्टीको पानीमा मुसो यसरी उत्रिएको छ, उसलाई एक मन त लाग्यो मुसाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै त्यसलाई पुच्छरतिरबाट छोपेर समवेदनापूर्वक बाहिर मिल्काइदिऊँ । आखिर मृत्यु नै सत्य हो, मरेका बाघको जुँघा कति उखेलिरहनु ! उसलाई तैपनि मृत मुसाको घिन लागिरह्यो । मुसो ढाडिएको थिएन ।
उसले एक मनले झन्डैझन्डै निर्णय गरिसकेको थियो, पूरै बाल्टी पानी बाहिर लगेर फालिदिने । त्यससँगै मुसो पनि बग्ने थियो र त्यसरी त्यसको सद्गत हुने थियो । घरकाहरू अरू कोही पनि उठेका थिएनन् । उसलाई बिहानबिहान खाली पेट एक गिलास शुद्ध पानी पिउने बानी थियो । शुद्धका पछाडि उसले एउटा ठूलै प्रश्नचिह्न जड्यो । सहरमा कुन कुरो शुद्ध पो छ र ? उसको शुद्ध पानी पिउने बानीको परिवार विरोध गर्छ । भात खाएपछि एक गिलास पानी पिउने रासनिङ् थियो । पानी पिउन कम गर । विद्युत् बचतको नाराझैं, बिजुलीको बचत भनेको बिजुली उत्पादन गर्नु हो । यद्यपि, पूरै मुलुक लोडसेडिङमा डुबेको छ, सदाकालदेखि अविकास र गरिबीमा डुबेजस्तो । बिजुली छैन, बालिएको पनि छैन तर बचत भएको छैन न उत्पादन नै बढेको छ तैपनि नारा छ विद्युत् बचत गर ।
बिहानको एक गिलास पानी ऊ बडो तृप्तिदायी बनाएर पिउने गर्छ । एउटा ठूलै स्टिलको गिलासमा पानी निःशब्द भर्ने गर्छ अनि गलाबाट घटघट आवाज ननिस्कने गरी पिउने गर्छ । त्यसरी चोरीचोरी पानी पिउनुमा रोमाञ्च र चरम तृप्ति रहन्छ किनभने उसले परिवारले थाहै नपाउने गरी एक गिलास पानी पिउने क्षमता राख्छ । फेसनै थियो जनविद्रोहको, परिवारले कसो जनविद्रोहको धम्की दिएन, एक गिलास पानीका लागि ।
समस्या तैपनि विद्यमानै थियो, जेहोस् । मुसो सानो थियो । सानै भए पनि के, बाल्टी भरिको पानीमा डुबेर मरेको त छ र छे त्यो लिङ्ग पत्तो लगाउन सकिएको छैन । अब पानी काम लाग्ने रहेन । तर, उसले एकपल्ट आफ्नो सोचाइलाई अर्धविराम दियो, तर । तर, के भने उसले अखबारहरूमा पढेको पनि थियो । अखबारहरू यस्ता थिए, फोहोर उधिन्ने काम मनोयोगले गर्थे । देशका नेताहरू कसले कति कसरी खाए भन्ने एकेक फोहोरी हिसाब राख्थे । नेताहरू सफासुग्घर, सुकिलामुकिला र स्वच्छ तरिकाले हिँड्छन् । पजेरो चढ्छन्, सरकारी पेट्रोल भर्छन्, प्रहरीको फोकटको सुरक्षा लिन्छन्, धूवाँ धूलोबाट बच्छन् । तैपनि, अखबारहरू उनीहरूको छवि बिगार्नैमा सम्पूर्ण शक्ति खर्चन्छन् । किन हो कुन्नि ?
खबर यस्तो थियो, पानीको मुहानमै मानिसको दिसा थुप्रिएको छ । कतै ढल मिसिएको पो छ कि ? तर, त्यो अखबारमा लेखिएको थिएन । पानी त अखबारवालाले पनि पिउँछन् । आफ्नै आङको छारो उडाउनु छैन । ढलले वाग्मती ढलमती भएको छ । बडो अचम्म छ । उसलाई यस्तो लाग्थ्यो । रेस्टुराँहरूमा खाना स्वादिष्ट बनाउन कतै टुकुचाको पानी त प्रयोग गरिँदैन ? मान्छे तिक्खर रेडिमेड फुडको खोजीमा हुन्छ । महानगरीय जीवन त्यसै पनि बासीबासी भइदिने गर्छ त त्यसलाई साजीसाजी गराउन पिरोअमिलो, झानेको, साँधेको र मसालेदार चीज खानैपर्ने हुन्छ । पानीको मुहानमै त्यस्तो छ भने ? पानी कहाँ शुद्ध छ ?
तर, यो मुसो ? ऊ बेकारका तर्कनामा फसेको छ । मुसो होस् वा कुकुर, मुहानमै सडेर आउने गरेको त होला । त यो बाल्टीको पानीमा लाखलाख मुसा डुबेर मरे पनि के भो त ? महानगरको मान्छे अघोरी भइसकेको छ । केको घिन? उसले यस तर्कमा दम देख्यो । तर्कको पछि लागेर उसले सुस्तरी निःशब्द मृत मुसाको पुच्छर समातेको छ । उसले मुसो निचोर्न त निचोरेन तर बाल्टीमाथि पुच्छरतिरबाट केही बेर पानी तैरियोस् भनेर झुन्डयाइराख्यो । परपीडक भावना पनि थियो मुसोप्रति, ला अझै अरूले सङ्ग्रह गरेको पानीको बाल्टीमा डुबेर मर्ने धृष्टता गर्छस् ? मृत मुसो स्वाभाविक छ, पानीमा डुबेर मरेको छ भने पुच्छरबाट उचाल्दा उसको जीउको पानी पुनः बाल्टीतिरै झरेको छ । उसलाई लाग्यो मुसो निचोरेर पानीजति बाल्टीमै झारिदिऊँ । दूधमा परेको माखो निचोरेर फालिन्छ भन्ने उखानको उसलाई सम्झना पनि भो । माखो निचोरेरै दूधजति भाँडोमा झारेपछि फाल्ने रहेछन् । एक झिङो दूध नछोड्ने भनेपछि यो त पूरै मुसो थियो, जुन पानीमा डुबेर मरेको थियो । निचोर्दा कममा पनि आधा गिलास पानी त झर्ला । अचेल महानगर अघोरीहरूको अखडा भएको छ । अघोरी !
उसले चुपचाप ढोका खोलेर मृत मुसोलाई कोठाबाहिर मिल्काउन लगेको छ । भाग्यको कुरो ढोका चुइँकिने गर्दैन । नत्र कोही न कोही जाग्न सक्थ्यो । प्रश्नहरू ओइरिने थिए । मुसाको पुच्छर जलार्द भएकाले उसले पानीको स्पर्शसुख पनि पाएको छ । पानीको स्पर्शसुख ! कुनै भरिलो वक्षमाथि हात राख्न पाएझैं ।
मुसो बाहिर फाल्न जानुअघि उसले सुस्तरी बाल्टीको ढक्कन छेउबाट उठाएर लगायो। अरूले थाहा नपाऊन्, कतै मुसो बाल्टीमा डुबेको रडाको नउठोस् । तर, पानीको यो खडेरीमा मुसो डुब्दैमा के हुने हो र ! कुकुरजस्तो ठूलो जीव डुबेको त होइन नि ! ऊ बाल्टीमाथि ढक्कन राखेपछि आश्वस्त भयो, मुसो डुबे पनि पानीको सुचिता फर्क्याे भन्ने लाग्यो । जे भए पनि पानी ढाकेर राख्नुपर्ने हो । स्वास्थ्यका लागि बढिया कुरो । त्यो उसले गर्यो । यद्यपि, अर्को बाल्टी पानी कहिले थाप्न पाइने हो, त्यसको मिति तय थिएन ।
०००
‘नेपाल’ साप्ताहिक, अङ्क ४४०
Subscribe
Login
0 Comments
Oldest







































