साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघोरीहरू

ऊ बाल्टीमाथि ढक्कन राखेपछि आश्वस्त भयो, मुसो डुबे पनि पानीको सुचिता फर्क्याे भन्ने लाग्यो । जे भए पनि पानी ढाकेर राख्नुपर्ने हो । स्वास्थ्यका लागि बढिया कुरो । त्यो उसले गर्यो । यद्यपि, अर्को बाल्टी पानी कहिले थाप्न पाइने हो, त्यसको मिति तय थिएन ।

Nepal Telecom ad

राति कतिबेला हो, त्यो थाहा भएन । तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ । छप्ल्याङ्ग आवाज आएको पनि सुनिएन । सायद पानी “साइलेन्ट किलर” बनिदिएछ । पानीले भरिएको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरिन्छ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ । सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु । तर, प्रश्न यो जन्मन्छ, पानी नै नआउने धारामा पानी कसरी झार्ने र कुन भाँडालाई किन ढाक्ने ! टुटी छ, कनेक्सन पनि छ तर पानी छैन । कहीँ आउँदो हो पानी हप्ताको एकचोटि वा दुईचोटि तर उसको धारामा पानी नआएको महिनौँ बितिसक्यो । उहिले कहिले हो, धारामा पानी आउँथ्यो भन्ने लोकोक्तिजस्तो बन्न पुगेको छ यो समय। धाराबाट पानी नोटबाट राजाको तस्बिरझैँ गायब भएको छ । त्यसैले उनीहरू बाहिरफेर सार्वजनिक धारामा पानी थाप्छन्, रित्ता भाँडा लाइन राखेर पालो कुर्दै ।

पानी नआउनु मात्रै थिएन कुरो । अगाडि धेरै कष्टकर समय आइरहेछ । पानी नभएको मात्रै होइन, लोडसेडिङ् पनि छ । बत्तीपानी आउँदै गर्ला । तर, प्रत्यक्षमा समय अझ जटिल र कष्टकर आइरहेछ । भावी पुस्ताका लागि पानी एउटा काल्पनिक वस्तु बन्न पनि सक्छ । त्यो भविष्यको कुरो हो । अतीत पनि खासै राम्रो छैन । मेलम्ची भनियो । सहर पूरै पखालेर स्वच्छ तुल्याउने । राजनीतिले सपना देखाउन नसक्ने भए यो चीज पनि नोटको राजाकै फोटोझैं हराउने थियो । आशा र सपनाका पछि दौडने बानी परसिकेको छ उनीहरूको ।

भन्न त यो मुलुक जलको धनी देश हो भनिन्छ । अझ त्यसमा पनि पेय जलको । आउने समयमा युद्ध स्त्री, भूभाग र सत्ताविस्तारका लागि नभएर खानेपानीका लागि हुने बडो गर्वैका साथ भन्ने गर्छौं हामी । गर्व यस अर्थमा, हामीसित खानेपानीको अजस्र स्रोत छ त युद्ध होस् वा शान्ति हामी पेयजलका असमाप्य स्रोतका धनी त हुँदै हौँ, बाँकी लड्दै गर्लान्, हामी हातहातमा पानीको बोतल लिएर त्यो रमिता हेर्दै गरौँला, ओलम्पिक खेल हेरेझैं । तर, खेल अहिले यहीँ भइरहेछ । रित्ता गाग्री र बाल्टीहरू !
तर, यो मुसो ? मुसो बाल्टीको पानीमाथि प्रश्नचिन्ह बनेर तैरिरहेको छ ।

यो एक बाल्टी पानी उनीहरूले बडो सङ्घर्षका साथ अस्ति राति भरेर राखेका थिए । पूरै परिवारका सदस्य पालैपालो लाइन बसेर थापेका थिए । पानीका भाँडाका अनन्त लाइनमा पालो आउनै गाह्रो हुन्छ र आइहाल्यो भने पनि बाल्टी थाप्दानथाप्दै वा भरिँदा–नभरिँदै पानी सुकिदिन सक्छ । धाराका मुनि थापिएका भाँडाहरू काकाकुलका मुखझैं प्याकप्याक गर्दै आँ गरिरहेका हुन्छन् । कसले कति पानी कसरी थाप्न सक्छ, त्यो बहादुरी हो र त्यो उनीहरूको जमातमा काउन्ट गर्छ । जसले पानी थाप्न पाउँदैन, त्यो पानीमरुवाजस्तै भइदिन्छ छरछिमेकका आँखामा । एक बटुको पानी कोही दिन चाहँदैन, पानी बाँडेर धर्म कमाउने धन्दा अचेल सेलाएको छ ।

उसले टाउको झड्कार्यो र पहिल्यै पढेको भूगोलको पाठ सम्झ्यो, धर्तीमा तीन हिस्सा पानी छ, एक हिस्सा भूभाग, हाम्रो मुलुक हिमस्रोतको पेय जलले परिपूर्ण छ । तर, भविष्य मानिसको मूत्र रिसाइकल गरेर पिउनुपर्ने हुनसक्छ । तर, मूत्र पनि कसरी बन्ला, निर्जलीय मानिसमा । उसले दिमागमा जन्मेका यी तर्क सब खारेज गर्यो र सोच्यो यी सब कुरा हुँदै गर्छन् । तर, तर्कहरू सुकुम्बासीझैं डफ्फाका डफ्फा आइरहे । एउटा तर्कले भन्यो, अहिलेको समस्या यो हो, मुसो कसरी पानीको बाल्टीमा डुबेर मर्यो ? मुसो अन्यत्र मर्दो हो त ठीक हुने थियो, बाल्टीको पानी फाल्नु कि राख्नु समस्या हुने थिएन । अब मुसो डुबेर मरेको पानी खानु कि फाल्नु ? अर्को तर्क थियो, सब्सिच्युटमा मिनरल वाटर । दिनदिनै मिनरल वाटर किनेर खान सकिन्न । मिनरल वाटर पनि कति शुद्ध हुन्छ, त्यसको कुनै ग्यारेन्टी छैन । सरकारकै ग्यारेन्टी छैन । कन्ट्रोल कसले गर्ने ? दण्डहीनता छ । जसले जे गरे पनि भएकै छ । त, मिनरल वाटर भनेर शुद्ध उच्चारण गरेर भएन, किनेर खान पैसो पनि चाहियो । पानी खानै पनि अमेरिका जान सकिन्न । अमेरिका उसको चेतनामा यसरी घुसेको छ, त्यहाँ सबै कुरो शुद्ध पाइन्छ । सुरक्षा पनि छ । एक जना मान्छेका पछाडि दसवटा पुलिस। वाह, क्या बात छ ! हाम्रोमा त घटनास्थलमा पुग्न पुलिसले पोसाक लगाउँदा लगाउँदै दिन बितिसक्छ । अस्ति गुप्ताङ्गमा पेस्तोल लुकाएर लगेको रहेछ, छाम्दाखेरी अश्लील भइने लज्जाबोधले होला पुलिसले गुप्ताङ्गतिर हात लगेन होला । जेलैभित्र झन्डै हत्या नभएको ?

त, यो मुसो पनि के त्यसरी नै आयो घरभित्र, गुप्त बाटोबाट लुकेर ? मुसाहरूको अराजकता छ । होइन, यो पनि पानीको खोजमा निस्केको हुँदो हो । तिर्खाले आत्तिएर पूरै बाल्टी पानी पिउने लोभले डाइभ गर्यो होला बाल्टीभित्र । तर, यसले थाहा पाएन, यो एक बाल्टी पानी हाम्रो परिवारका लागि कति महत्त्वपूर्ण छ । यसका पनि परिवार होलान् । ती यसको खोजीमा होलान्, घरबाट निस्केको मान्छे अपहरणमा परेर गायब भएझैं । यो मुसो पनि फर्कन सकेन । मुसाहरू प्रजनन क्षमता अत्यन्त उच्च भएका जीव हुन् भनिन्छ । मान्छे पनि त्यस्तै छ । हामी दुई हाम्रा दुई । प्रचार यस्तो भए पनि पपुलेसन काठमाडौंमा वाहन बढेझैं यति बढ्यो एक लिटरसम्म पिउने पानी पाउन छाडियो ।

मरोस् ! मुसोले तर अन्यत्र ठाउँ पाएनछ र यही बाल्टीभित्रको पूरै पानी बिटुल्याएर किन मर्नुपरेको यसलाई । तर, मुसाको विषयमा उसले कथात्मक पाराले सोचेर भएन किनभने यो मुसोले २० लिटर अटाउने बाल्टीको पानी प्रदूषित गरिदिएको छ । कथा काल्पनिक हुनसक्छ, कल्पनाशक्तिले रोचक बन्नसक्छ तर अहिले मृत मुसो यथार्थ भएर उसको मुड बिगारिरहेछ । मुड होइन यार पानी, ऊ आफैंसित सम्बोधित भएको छ । उसभित्र मृत मुसोप्रति भुलुक्क घृणा भल्किएको छ । कति बेला मरेको हो ? बाल्टीको पानीमा मुसो यसरी उत्रिएको छ, उसलाई एक मन त लाग्यो मुसाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै त्यसलाई पुच्छरतिरबाट छोपेर समवेदनापूर्वक बाहिर मिल्काइदिऊँ । आखिर मृत्यु नै सत्य हो, मरेका बाघको जुँघा कति उखेलिरहनु ! उसलाई तैपनि मृत मुसाको घिन लागिरह्यो । मुसो ढाडिएको थिएन ।

उसले एक मनले झन्डैझन्डै निर्णय गरिसकेको थियो, पूरै बाल्टी पानी बाहिर लगेर फालिदिने । त्यससँगै मुसो पनि बग्ने थियो र त्यसरी त्यसको सद्गत हुने थियो । घरकाहरू अरू कोही पनि उठेका थिएनन् । उसलाई बिहानबिहान खाली पेट एक गिलास शुद्ध पानी पिउने बानी थियो । शुद्धका पछाडि उसले एउटा ठूलै प्रश्नचिह्न जड्यो । सहरमा कुन कुरो शुद्ध पो छ र ? उसको शुद्ध पानी पिउने बानीको परिवार विरोध गर्छ । भात खाएपछि एक गिलास पानी पिउने रासनिङ् थियो । पानी पिउन कम गर । विद्युत् बचतको नाराझैं, बिजुलीको बचत भनेको बिजुली उत्पादन गर्नु हो । यद्यपि, पूरै मुलुक लोडसेडिङमा डुबेको छ, सदाकालदेखि अविकास र गरिबीमा डुबेजस्तो । बिजुली छैन, बालिएको पनि छैन तर बचत भएको छैन न उत्पादन नै बढेको छ तैपनि नारा छ विद्युत् बचत गर ।

बिहानको एक गिलास पानी ऊ बडो तृप्तिदायी बनाएर पिउने गर्छ । एउटा ठूलै स्टिलको गिलासमा पानी निःशब्द भर्ने गर्छ अनि गलाबाट घटघट आवाज ननिस्कने गरी पिउने गर्छ । त्यसरी चोरीचोरी पानी पिउनुमा रोमाञ्च र चरम तृप्ति रहन्छ किनभने उसले परिवारले थाहै नपाउने गरी एक गिलास पानी पिउने क्षमता राख्छ । फेसनै थियो जनविद्रोहको, परिवारले कसो जनविद्रोहको धम्की दिएन, एक गिलास पानीका लागि ।

समस्या तैपनि विद्यमानै थियो, जेहोस् । मुसो सानो थियो । सानै भए पनि के, बाल्टी भरिको पानीमा डुबेर मरेको त छ र छे त्यो लिङ्ग पत्तो लगाउन सकिएको छैन । अब पानी काम लाग्ने रहेन । तर, उसले एकपल्ट आफ्नो सोचाइलाई अर्धविराम दियो, तर । तर, के भने उसले अखबारहरूमा पढेको पनि थियो । अखबारहरू यस्ता थिए, फोहोर उधिन्ने काम मनोयोगले गर्थे । देशका नेताहरू कसले कति कसरी खाए भन्ने एकेक फोहोरी हिसाब राख्थे । नेताहरू सफासुग्घर, सुकिलामुकिला र स्वच्छ तरिकाले हिँड्छन् । पजेरो चढ्छन्, सरकारी पेट्रोल भर्छन्, प्रहरीको फोकटको सुरक्षा लिन्छन्, धूवाँ धूलोबाट बच्छन् । तैपनि, अखबारहरू उनीहरूको छवि बिगार्नैमा सम्पूर्ण शक्ति खर्चन्छन् । किन हो कुन्नि ?

खबर यस्तो थियो, पानीको मुहानमै मानिसको दिसा थुप्रिएको छ । कतै ढल मिसिएको पो छ कि ? तर, त्यो अखबारमा लेखिएको थिएन । पानी त अखबारवालाले पनि पिउँछन् । आफ्नै आङको छारो उडाउनु छैन । ढलले वाग्मती ढलमती भएको छ । बडो अचम्म छ । उसलाई यस्तो लाग्थ्यो । रेस्टुराँहरूमा खाना स्वादिष्ट बनाउन कतै टुकुचाको पानी त प्रयोग गरिँदैन ? मान्छे तिक्खर रेडिमेड फुडको खोजीमा हुन्छ । महानगरीय जीवन त्यसै पनि बासीबासी भइदिने गर्छ त त्यसलाई साजीसाजी गराउन पिरोअमिलो, झानेको, साँधेको र मसालेदार चीज खानैपर्ने हुन्छ । पानीको मुहानमै त्यस्तो छ भने ? पानी कहाँ शुद्ध छ ?

तर, यो मुसो ? ऊ बेकारका तर्कनामा फसेको छ । मुसो होस् वा कुकुर, मुहानमै सडेर आउने गरेको त होला । त यो बाल्टीको पानीमा लाखलाख मुसा डुबेर मरे पनि के भो त ? महानगरको मान्छे अघोरी भइसकेको छ । केको घिन? उसले यस तर्कमा दम देख्यो । तर्कको पछि लागेर उसले सुस्तरी निःशब्द मृत मुसाको पुच्छर समातेको छ । उसले मुसो निचोर्न त निचोरेन तर बाल्टीमाथि पुच्छरतिरबाट केही बेर पानी तैरियोस् भनेर झुन्डयाइराख्यो । परपीडक भावना पनि थियो मुसोप्रति, ला अझै अरूले सङ्ग्रह गरेको पानीको बाल्टीमा डुबेर मर्ने धृष्टता गर्छस् ? मृत मुसो स्वाभाविक छ, पानीमा डुबेर मरेको छ भने पुच्छरबाट उचाल्दा उसको जीउको पानी पुनः बाल्टीतिरै झरेको छ । उसलाई लाग्यो मुसो निचोरेर पानीजति बाल्टीमै झारिदिऊँ । दूधमा परेको माखो निचोरेर फालिन्छ भन्ने उखानको उसलाई सम्झना पनि भो । माखो निचोरेरै दूधजति भाँडोमा झारेपछि फाल्ने रहेछन् । एक झिङो दूध नछोड्ने भनेपछि यो त पूरै मुसो थियो, जुन पानीमा डुबेर मरेको थियो । निचोर्दा कममा पनि आधा गिलास पानी त झर्ला । अचेल महानगर अघोरीहरूको अखडा भएको छ । अघोरी !

उसले चुपचाप ढोका खोलेर मृत मुसोलाई कोठाबाहिर मिल्काउन लगेको छ । भाग्यको कुरो ढोका चुइँकिने गर्दैन । नत्र कोही न कोही जाग्न सक्थ्यो । प्रश्नहरू ओइरिने थिए । मुसाको पुच्छर जलार्द भएकाले उसले पानीको स्पर्शसुख पनि पाएको छ । पानीको स्पर्शसुख ! कुनै भरिलो वक्षमाथि हात राख्न पाएझैं ।

मुसो बाहिर फाल्न जानुअघि उसले सुस्तरी बाल्टीको ढक्कन छेउबाट उठाएर लगायो। अरूले थाहा नपाऊन्, कतै मुसो बाल्टीमा डुबेको रडाको नउठोस् । तर, पानीको यो खडेरीमा मुसो डुब्दैमा के हुने हो र ! कुकुरजस्तो ठूलो जीव डुबेको त होइन नि ! ऊ बाल्टीमाथि ढक्कन राखेपछि आश्वस्त भयो, मुसो डुबे पनि पानीको सुचिता फर्क्याे भन्ने लाग्यो । जे भए पनि पानी ढाकेर राख्नुपर्ने हो । स्वास्थ्यका लागि बढिया कुरो । त्यो उसले गर्यो । यद्यपि, अर्को बाल्टी पानी कहिले थाप्न पाइने हो, त्यसको मिति तय थिएन ।

०००

‘नेपाल’ साप्ताहिक, अङ्क ४४०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x