जय- सञ्जाल, भय- जन्जाल !
जहानै मोबाइल्सित मित धसी लम्पट भए । सँगै बस्ने बाबा सुत र बुढिया झम्पट भए ।। छुटे पढ्ने कक्षा अनियमित छन् दैनिक क्रिया । रुँदै हाँस्दै एक्लै गजबसित भन्छन् प्रिय ! प्रिया !!
सबै पुस्ता झुण्डे, मन मगज आँखा कर दिई ।
हदै मस्ताना छन्, हर समय सञ्जाल दगुरी ।।
गरे खेती फुस्सा, उदर कसरी भर्छ मनुवा ?
बुभुक्षाले मान्छे, पतित हुुन गै बन्छ खतुवा ।।
बनायौ यो भाँडो, सुखदुख दुुबै साट्न ‘जुकर’ ।
गर्यौ क्यारे गल्ती, किचन-गृहमा फुट्छ कुकर ।।
दुधै उम्ले डड्दै पटटट भए आलु र मुला ।
लुछे चुल्ठोटुप्पी, रणथल बने झन् कति चुला ।।
जहानै मोबाइल्सित मित धसी लम्पट भए ।
सँगै बस्ने बाबा सुत र बुढिया झम्पट भए ।।
छुटे पढ्ने कक्षा अनियमित छन् दैनिक क्रिया ।
रुँदै हाँस्दै एक्लै गजबसित भन्छन् प्रिय ! प्रिया !!
सुते पेशा खेती मिलकल र फ्याक्ट्री पनि सुते ।
नयाँ पुस्ता चोखा प्रखर प्रतिभा घायल भए ।।
अहो सञ्जालैका प्रतिलिपि भयौँ मानिस सबै ।
बढे सञ्जालैले गलत ननिका काम बहुतै ।।
०००
धादिङ