सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकृतिको ब्रीज हुनसक्दैन तीज

खबरदार ! तीजलाई फ्रीजमा नहाल, होसियार कमाउमार्गीहरु ! ट्रेडमार्कको ब्रिज नबनाऊ तीजलाई । आदर्श र उच्च बन्न सिकाउने व्रतलाई अराजक र उद्दण्ड बनेर कलङ्कको टिका लगाउन पाइन्न ।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

आजभोलि तीजजस्तो महापर्वलाई विकृतिको ब्रीज बनाएर थिचमिच गरी किचमिच पार्न लागिसके गाँठे ? बेपार अपार भनेर त्यसै भनेको रहेनछ । अहिलेको युग झन् वैश्य जुग भएर होला सबै क्षेत्रमा मात्र व्यापारिक सोच कोचाकोच छ बा ! शिक्षा, स्वास्थ्य, धर्म, राजनीति, सामाजिक सम्बन्ध र परम्परागत व्रत तथा उत्सवसमेत कमाउ धन्दाको फन्दामा परेको देख्दा ‘आयो कलि धपक्कै बली ’ भन्ने गीत गणितको अकाट्य सूत्रजस्तो पो भो त हे भोला ? तीज आउनुभन्दा तीन चार महिनाअघिदेखि तीज गीतको भिडियोमा उर्लेको बाढी यतिखेर त नेपालै डुबाउने भइसक्यो ।

‘तीज’ घर-संसारमा झगडाको बीज, आर्थिक किचकिच, सासू-बुहारीबीचको थिचमिच र भुँडी फुटुन्जेलसम्मको घिच्नसम्म घिच, बनी अनावश्यक ढर्रामा आउन हुँदैन । पर्वमा गर्व हुनुपर्छ दम्भ, फुर्ती, अभिमान र ढोग होइन, जात्रालाई मात्रा मिलाउनु सक्नुपर्छ । व्रत बेकामको भतभत पोल्ने घाउ र खत बन्न हुँदैन । सात्विक उपवासमा तामसी चिन्तनले आवास र आवाद गर्नु सनातन संस्कृतिमा अपशकुन मडारिनु हो । चाड घाँटीमा अड्किने हाड, ऋणको गाड, कमाउमार्गीका लुटका कार्ड बन्न हुँदैन । महोत्सवलाई अन्धविश्वासको श्वास-प्रश्वास र निकृष्ट धन्दाको फन्दामा पारिनु हुन्न । ऋणलाई तृण बराबर सम्झिएर घिन नमानी घिचन्दास हुने कूकार्यले सधैं अरुकै दासानुदास बन्नु पर्ने नियति आइपर्छ । पारिवारिक एवं सामाजिक जीवनमा सांस्कृतिक महोत्सवहरु यतिखेर बोझ, ढासा, ढर्रा र स्वाङको भ्वाङमा अनुवाद हुँदैछ ।

नेपालीहरू अझै पनि प्रतीक दिवसहरुलाई विवस र बाध्य पारेर फगत् भकुर्ने कामलाई साध्य बनाउ‘दै स्वैर कल्पनाका अनावश्यक उडन्ते कथाको अन्धविश्वासभित्र गुँडुलिएको गुँडुलियै पो छौँ त गाँठे ! संसारका कैयौं मुलुकले परिवर्तनको काँचुली फेर्दा, विज्ञान र प्रविधिको चरम क्रान्ति भइसक्दा पनि भ्रम पस्किएर नयाँ पुस्तालाई विभ्रम बनाउने क्रम जारी छ बा ! ‘छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले’ भन्ने नेपाली उखान चरितार्थ गर्दै महिनौँ दिनअघिदेखि रेडियो, टेलिभिजन, युटुब, फेसबुक, सिनेमा र टेलीश्रृङ्खलाहरुमा सम्बन्धितहरुलाई भक्तिमा हैन, आशक्ति र आरक्तिमा तताएर कतिपय तीज गीतले बेबकूफ बनाउने खेला ठेलम ठेला भएर आइरहेका छन् । नेपालमा आफ्नो कलाकारितालाई नचिनेको गुनासो गरेर डेक्ची मास्टर बन्न विदेसिएका समेत यो बेला कलाकारको पगरी गुथेर दुईचार भिडियो बनाउन आई हाल्छन् नेपाल । मातृभूमिको माया लागेको भनेर गोहीको आँसु चुहाउँदै छाडा गीतमा कौलासेको दृष्यले कुन सज्जनको मुटु कुटुकुटु खाँदैन ?

कैयौं दिदीबहिनीहरू दरमा तर मारेर तरबर गर्दै ब्युटीपार्लरलाई रोजगार दिएर वास्नादार बन्दै ठाँटिएको ठाँटियै पो छन् त गॉठे ! कतिपय सम्भ्रान्त एवं नव-सम्भ्रान्त सुकिलामुकिलाहरू संस्कृति नै बदनाम र गुमनाम हुने गरी आधुनिकताको नाममा तीजको मौलिकतामा नै हुरीबतास मच्चाइरहेका छन् । तीज आज हर क्षेत्रका लुटन्दासहरूको कमाउमार्गको गतिलो पुल बनेर भविष्यलाई भुल थप्दैछ भन्नेहरू पनि छन् । मन्दिर, धर्मशाला, देवस्थल, चौतारो र पूजा-मण्डपमा भेला भएर सात्विक गानमा देवदेवीको आराधना गर्नु पर्नेमा कारमा हार लागेर वहार मार्दै पॉच तारे होटल, डान्सबार र पार्टी हलहरुमा तमोगुणी खानाको हलाहल भकुरेर बल झिकी अपसंस्कृतिको भलको हुण्डरी मच्चियो भने हाम्रोपन कता रहन्छन् र ? त्यसै गरी च्याउसरी उम्रिएका राजनीतिक दल, नाना नामका ठगी धन्दा गर्ने सहकारी, वित्तीय संस्था, भ्रातृ संगठन, शुभेच्छुक संघ-संगठन र अशुभेच्छुक धनीमानीहरुको (खाना-कालको) हसुर्ने र भकुर्ने अभिमानी पर्व पो बन्दै छ तीज ? आध्यात्मिक शान्ति, सौहार्द्रता एवं सौम्यताको प्रतीक पर्व तीज जहॉ शिवपार्वतीका भजन कीर्तन र स्तवन गर्नु पर्ने ठाउँ‘मा छिल्लिएका अनि पात्तिएका तथा मात्तिएका दोहोरीको कामुक गाना चल्यो भने पुल्टुङबाजी खाइँदैन भन्या गाँठे ?

यसरी धनाढ्य र नव धनाढ्यहरु तारे होटलमा वियर, स्कच, रेड लेभल, हिस्की , अनि परिकार – परिकारका मासु, माछा, तास, सुकुटी दन्काएर ढ्याउ गर्दै छोटा फेसनमा मोटा गफ छॉटिरहेको देख्दा कुन संस्कृेतिप्रेमीको कन्सिरीको रौं तात्दैन र ? त्यसमा पनि क्याट् वाक, लाइन जम्प , कक फाइट र नशिला ताता गानामा मानाका माना तीनपाने समेत थप्ने थप्पूकाजी र कजिनीका तालले त भल्गर खाले रत्यौली नै पो बिर्साउँछ त ! आफ्नै खाले देवगान, लोकगान, वीर एवं भक्ति-गानलाई अपमान गरेर हिपहप, र्‍याप र रेकमा च्यापाच्याप गरेका भाले पोथीको तातो दृष्यले संस्कृतिभीरुहरुको सातो लिएको छ । यसरी तीज धनीगरीब मापन गर्ने, गरगहनासहित फेसन शो भर्ने, फजूलमा कृत्रिम तरिकाले अङ्ग-प्रत्यङ्ग चम्काएर को भन्दा को कम ? को ढर्रामा गर्राका गर्रा झल्ला भएर हल्ला पिटिरहेको देख्दा धूर्त वैश्यतन्त्रका अनुयायीले उत्सवलाई मजैको नाफामुखी धन्दा बनाए बा ? वास्तवमा चाड आफ्नै ढाड सेक्ने, हाड घोट्ने र टाट उल्टाउने हुन थाले पछि संस्कृतिप्रेमीहरु घाट पुग्ने थितिमा छन् ।

नशाको बेसुरमा मर्यादालाई पैतालाले किचेर घरानियाहरुले तीजलाई भ्रान्ति-वीज र कमाउ ब्रिज बनाउने कुकाम गरिरहेका छन् भनेर पूर्व कमिनिष्ट हालका कमाउनिष्ट झिनो स्वरमा विरोधको नौटङ्की पनि निकाल्छन् । त्यसै गरी चुरा, धागा, पोते, टिका, सिन्दुर जस्ता सौभाग्यका सामान उपहार दिने क्रममा महागा लोसन, क्रिम, माला, आभूषण, तेल, पालिस र लत्ताकपडाले घरायसी बजेटलाई जेट र आखेट बनाउने क्रम भयकारी भएको छ । नव-सम्भ्रान्त र भुँइफुट्टाहरुले धर्म-संस्कृतिलाई नै टुट्टा पारेर झुट्टामा परिणत गर्दैछन् । पुरुषसरह समानता र स्वतन्त्रताको आलाप गर्ने केही नारी-मण्डली अझै आफ्ना लोग्नेको आयु बढाउन वायु चल्ने गरी अभक्ष्य हसुरेर आफ्नो पेटलाई वर्षा ऋतुको आकाशझैँ गड्याङ-गुडुङ मच्चाउने भए भनेर एक अलपत्रकारको तातो समाचार पनि आयो । श्रीमतीको आयु एवं आरोग्य वृध्दिमा तमाम श्रीमान् वा पतिदेवहरूमा उपवासको लगाम लगाइदिने सामर्थ्य कहिले आउला ? यी समानताको बिगुल फुक्ने मातृसत्तामा ? व्रतको नाममा कम्मर, कुचमण्डल, जघन प्रदेश हल्लाउँदै ऑखा मर्काउनमै सन्चो मान्ने दब्बू नारीवृत्तिले कुन युगमा समानताको बाजा बजाउन सक्लान् ? हामी पुरुषवर्गको पुतली हैनौं भनेर ललकार दिने ललना जमात अझैं कैयौं वर्ष अदना हुने हुन् ठेगान छैन ।

किसिम-किसिमका गर-गहना र भेष-भूषा लगाएर कुरा काट्न छुरा बनेका बकबके स्वघोषित अप्सराहरुले आफ्ना पुरूष मोराहरुलाई भ्रष्ट र दुई नम्बरी काममा बुइ चढाएरै छाड्ने भए गाँठे ! अनि सनातन संस्कृतिमा चर्को सुनामी थप्ने भए मेरी बास्सै ? सत्वगुणी , सौम्य मुद्रा ,शान्त र धीर चरित्रमा मनाउने तीज पर्व गर्वबाट गिर्दै छ । खबरदार ! तीजलाई फ्रीजमा नहाल, होसियार कमाउमार्गीहरु ! ट्रेडमार्कको ब्रिज नबनाऊ तीजलाई । आदर्श र उच्च बन्न सिकाउने व्रतलाई अराजक र उद्दण्ड बनेर कलङ्कको टिका लगाउन पाइन्न । तीज त क्रान्ति बीज र शान्तिको फसल हुनु पर्छ । श्रीमान् श्रीमती र नयाँ पुस्तामा स्वस्थ सिर्जनाको वहार दिनसक्ने हुती राख्नु पर्छ । हाम्रा संस्कृति हाम्रा आगतलाई परिष्कृति, प्रगति, उन्नति र सौहार्द्रताको द्योतक बन्न सक्नु पर्छ । आम चेलीको बेली फूल बन्न सकोस् तीज, जय तीज ! धन्य तीज ! तर विकृतिको ब्रीज कबै बन्न हुन्न तीज !

०००
धादिङ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नकच्चरा

नकच्चरा

आर.सी. रिजाल
चौकीपावर

चौकीपावर

नगिता लेप्चा राई
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
ब्याक पेन

ब्याक पेन

सुरेश राई
क्या क्या दिमाग हा हा !

क्या क्या दिमाग हा...

रामकुमार पाँडे