लक्ष्मण नेवटियाअपमान-पत्र
“यो त छ साक्षात्, मेरो आकांक्षाहरूको चिहान ! यस्ताको कस्तो सम्मान ? यसले आफ्नो त महल ठड्याएको छ, तर मसँग लिएको उधारो भने डकार नलिइ मजाले पचाएको छ ! हरे ! मेरो दोकान डुबाएको छ !!”

उहाँलाई जब भव्य मञ्चमा
सयपत्रीको माला
त्यसमाथि खादा, दोसल्ला थपिंदै,
समर्पण गरिँदै थियो ‘सम्मान-पत्र’
तल दर्शक दीर्घामा,
उनको सम्मान भएको देखेर,
बेस्सरी मन थामेर
बसेको एकजनाले भन्यो-
“यसले त मलाई
स्वार्थ रहँदासम्म फकायो,
अब ठुटा झोसिएको चुरोट झैं
मिल्काएको छ ।”
दोश्रोले भन्यो-
“यो त छ साक्षात्,
मेरो आकांक्षाहरूको चिहान !
यस्ताको कस्तो सम्मान ?
यसले आफ्नो त महल ठड्याएको छ,
तर मसँग लिएको उधारो भने
डकार नलिइ मजाले पचाएको छ !
हरे ! मेरो दोकान डुबाएको छ !!”
तेश्रो, उनकै छिमेकीले भन्यो-
“यस पापीले त मेरो जग्गा हडपेको छ
भएभरका सपना कुल्चेको छ ।”
चौथोले भन्यो-
“यस कृतध्नले आफू मोजले घरमा बसी
आफ्नी आमालाई वृद्धाश्रम पुर्याएको छ ।”
पाँचौंले भन्यो-
“यस नराधमले मलाई झुठो मुद्दामा फसाएर
ऋण लगाइ, टाट पल्टाएको छ ।”“
छैटौँले भन्यो-
“यस दुष्टले आफ्नी स्वास्नीलाई
माइती फर्काएको छ,
कान्छी भित्र्याएको छ ।”
हरे ! यहाँ जस्तो पनि गर्दा धन्धा,
जनताको कालोसूचीमा परेको छँदा,
पुजिन्छन् किन ? दिँदा चुनिन्दा चन्दा ।
उता मञ्चमा पढिँदै थियो-
उनका लागि सम्मान पत्र ।
यता उसको दुःखले दुःखी जनता
पढ्दै थिए-
थुक्क !, के को सम्मान पत्र ?
ठाडै एक पछि एक
खुर्सानीको धुलो छर्केको
‘अपमान-पत्र !’
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































