डा. रमेश शुभेच्छुदाह्री स्तोत्र
दाह्रीवाल बनेर झ्याप्प गतिला कुर्सीहरू चढ्दथेँ, हेप्ने सामु बनेर उच्च प्रतिभा भाला छुरी गड्दथेँ ।

ठूलो बन्नु छ ए पलाउन जुँगा-दाह्रीहरू उम्र हे
कोही मान्न तयार छैन यतिकै जैले म सानो भएँ
सारा देख्छ ठिटो र हेप्छ सहजै हेप्नै नसक्ने बनूँ
दाह्री मात्र बढे त पुग्छ म बरु तर्साउने भालु हुँ ।
नेता लेखक, भद्र दार्शनिक जे बाटो म हिँड्ने थिएँ
मौका पर्छ जसो उसै किसिमको पातो म भिर्ने थिएँ
दाह्रीवाल बनेर झ्याप्प गतिला कुर्सीहरू चढ्दथेँ
हेप्ने सामु बनेर उच्च प्रतिभा भाला छुरी गड्दथेँ ।
ठूलो बन्न सकूँ हलक्क, दुनियाँ देख्दै नमस्ते गरून्
हेप्ने आह्रिसले जलून् दनदनी जल्दै खरानी बनून्
मेरो ज्यान र मान शान चुलियोस् हेर्दै बडोझैँ बनूँ
खोक्रो बुद्धि अज्ञान मूर्खपन यी भुत्ला बढाई छलूँ ।
फेरौँला अझ बस्त्र जे जति परोस् देख्दा भलाद्मी बनूँ
छोडौँला अझ जाँड धोक्न दिनमा बाठो र विद्वान् बनूँ
दाह्री मात्र पलाए पुग्छ अरुता आफैँ गरी हाल्छु नि
साँच्चै स्वच्छ छवि भएपछि स्वयम् ठूलो बनी हाल्छु नि ।
हालौँला घिऊ तेल मै ब्रतबसी तिम्रै सुसारे न हुँ
कोरौँला चिपिचल्ल उम्र मजले गाला मली राख्त छु
मेरो अन्तिम आश केवल तिमी दाह्रीहरूमा रह्यो
तिम्रै स्तोत्र फलाक्छु जप्छु म सधैँ, यो भक्त तिम्रै न हो ।
पाँचथर
Subscribe
Login
0 Comments
Oldest










































