वादका मलामीहरू
सन्तान दरसन्तानको विषाक्त खुसीको लागि के पो गर्न बाँकी छ र ? आफैले जन्माएका वादका आफै बनेका मलामीहरूले ।
वादलाई सिलौटामा लोहोरोले
आँपको थेप्ले पिसे झैं
कच्याक कुचुक पार्ने
तिलको तिलुट वनाएर
अलिकति चोर औँलाको टुप्पोले
जिब्रालाई स्वाद दिने
अनिन्द्राका सपनाहरू
डिप्रेस्ड मष्तिष्कका उपजको
लेपनले सेलाएर
नरका सपनाहरू धितो राखेर
आस्थाहरूसँग दौलत साट्ने ।
सिद्धान्तको जलपमा
माहुरीको श्रममा झिंगाको रजाईँ
थोरै मौजुदा स्वाभिमानका बाछिटाहरूमा
वादको घुम्टोमा पजनीयोग्य हुकुमी कजाईँ
वादको लँगौटीले लाज छोप्ने
वाद विसर्जित अपवादको घोडा चढेर
जोर लात्तिले जनताका बङ्गारा खुस्काउने
त्यो घोडा कुट्ने डोरो फन्फनी फन्काएर
चुट्ने, उफार्ने मैमत्तपन
समाजवाद पोलेर
साम्यवाद गाडेर
वादको चिरकटोमा
निभ कुच्च्याइएका कलमले
दिमाग बन्धक भक्तहरूको लेखनले
सुँगारटान एकछत्र पट्टु बोलीले
जनरटानमा उकाली लाउन उद्दत
निन्द्राका विपना सम्झाउने हुलाकीहरूको बथानले
हरिया बाँसको टेको र ठाँडोमा
सिद्धान्तको अन्तिम संस्कारका मलामी भएर
चिहानमाथि ओडाइएको सेतो कात्रो ओडेर
उहीँ जीवित सिद्धान्तको अलापमा
मसानका सन्तानरूपी आत्माहरूले
भागभोग खोजे झैं
के पो बाँकी छ र ?
खै वाद
अस्तुमा परिणत भयो
खरानीरूपी अस्तुको पुजनले
आत्मा फर्काउने अलापविलापमा
सन्तान दरसन्तानको
विषाक्त खुसीको लागि
के पो गर्न बाँकी छ र ?
आफैले जन्माएका वादका
आफै बनेका मलामीहरूले ।
कैलाली, हाल काठमाडौं