पाखण्डको रङ्ग
एउटा कवि बिहान गोष्ठीमा प्रगतिशील मुट्ठी उठाउँछ दिउँसो सामन्ती कविको वाचनमा ताली पिट्न जान्छ ! लौ न कसैले सम्झाईदेऊ कवि हुनु पेन्डुलम हुनु होइन ।
बोर्डिङ स्कुलको मालिक
एउटा कवि
जनबादी गीत लेख्छ !
उताबाट पैसा कमाउँछ
यताबाट ताली कमाउँछ
लौ न कसैले सम्झाईदेऊ
दारी पाल्दैमा कोही माक्र्स हुँदैन ।
एउटा कवि
बिहान गोष्ठीमा
प्रगतिशील मुट्ठी उठाउँछ
दिउँसो
सामन्ती कविको वाचनमा
ताली पिट्न जान्छ !
लौ न कसैले सम्झाईदेऊ
कवि हुनु पेन्डुलम हुनु होइन
एउटा कवि
चर्को देशभक्ति लेख्छ
जनताका छोराछोरीलाई बारुद बोकाउँछ
आफ्ना छोराछोरीलाई निलो पासपोर्ट !
लौ न कसैले सम्झाईदेऊ
कवि हुनु छेपारो हुनु होइन ।
०००