अतृप्त आत्मा
खानाका लालचीले आफैमात्र कहाँ खाएर ख्वाए देशी परदेशी ख्वामितहरूलाई देशको आत्मा र परमात्मा दुबै अतृप्त आत्माहरूले ।
प्रेतकालमा
काल बेलामा
शनि लग्नमा
केतुका कोखमा
राहुका काखमा ।
निमाउनेका सपुतहरू
मानवरूपी कपुतहरू
जन्मे छन् यत्रतत्र
देशका ललाटमा
बृहस्पति टारेर
शुक्र पछारेर
प्रेत आत्मा पारेर
अनिकालका साइतमा ।
मुगुत्तो गलो भएका
तनक्क तन्किने फराकिलो पेट भएका
फलामका दाह्रा भएका
चवाउन सक्ने
पचाउन सक्ने
अघाउन नसक्ने ।
खयर, सिसौ र अग्राख भरी
गिट्टी, वालुवा र पत्थर थरिथरी
कस्तुरीका बिना
हात्तीका दाह्रा
बाघका छाला
गैंडाका खाग
भालुका पित्त
सांस्कृतिक सम्पदा
देवी देवताका मूर्ति
सबै खुलुत्त निलेर
अजिङ्गर बनेका अजम्बरी सरी ।
खोला, किनार र बगर
नदी, पानी र माछाको रहर
खोला पुरेर खाए
अरूथोक बेचेर खाए
सके हसुर्थे आफै माथिको सगर ।
बादल पनि खान मनलाग्दो हो
कुहिरो पनि आँ गरेर सुलुत्त छिराउने इरादा हुँदो हो
आकाश र पृथ्वी विचको भाग निल्ने कल्पना जाग्दो हो
उहिल्यैदेखि अहिलेसम्म
दसक, सतक बिते बितिरहे
अतृप्त आत्माहरू जुनि फेरीफेरी
छेपारे भेषमा रंग भरिभरी
जन्मे यहि देशमा घरिघरी ।
जन्मेनन् मात्र बुद्ध फेरि
जन्मिरहे अतृप्त आत्माहरू मसान सरी ।
खानाका लालचीले
आफैमात्र कहाँ खाएर
ख्वाए देशी परदेशी ख्वामितहरूलाई
देशको आत्मा र परमात्मा दुबै
अतृप्त आत्माहरूले ।
०००
कैलाली, हाल काठमाडौं