के.पी. पाैडेलमान्छे
सबै गाउँ जिल्ला, बनेको छ किल्ला । सुधारिन्छ नेता, भने भोट मिल्ला ।। जुटून् आज रैती, बनोस् एक शक्ति । चुनून् योग्य नेता, तिखारेर बुद्धि ।।

मान्छे कविता श्रृङ्खलाकाे ८५ औँ भाग
सुरा मासु बाँढ्दै, फिँजाएर नोट ।
पसे गाउँ नेता, लगाएर कोट ।।
प्रभा छर्छु भन्दै, दियो धेर चोट ।
सबै लाज छोप्दै, अझै माग्छ भोट ।।
१
भयो आज निर्वाचनै मारकाट ।
लुटे साधु निर्धा, बनाएर गुट ।।
फकाएर रैती, लिए आज भोट ।
सुधा दिन्छु भन्दै, दिए कालकुट ।।
२
यहाँ मांस मिल्दा, रमाएछ गिद्ध ।
लुटेको धनैमा, फुपूको छ श्राद्ध ।।
कठै न्याय मर्दा, कवै छैन चिन्ता ।
यहाँ देश दुख्दा, रमी हिँड्छ नेता ।।
३
झुटो तथ्य बोक्ने, कलामा छ मान्छे ।
अझै भोट किन्ने, नशामा छ मान्छे ।।
कलि काल धर्दै, छली हिँड्छ मान्छे ।
तितो सत्य छेक्दै, दशा रोप्छ मान्छे ।।
४
यहाँ देश भन्दा, पियारो छ सत्ता ।
गढी दुर्ग खाँवा, थुकी हिँड्छ नेता ।।
खुबै जिल्ल पर्छन्, सिधा रुग्ण निर्धा ।
अझै भोट माग्ने, छ इच्छा इरादा ।।
५
सबै गाउँ जिल्ला, बनेको छ किल्ला ।
सुधारिन्छ नेता, भने भोट मिल्ला ।।
जुटून् आज रैती, बनोस् एक शक्ति ।
चुनून् योग्य नेता, तिखारेर बुद्धि ।।
६
०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest







































