लक्ष्मण नेवटियावाह कव्वाली- क्या कव्वाली !
हरे ! यति गर्दा पनि सुन्नु पर्यो दे दनादन- ठेकेदारको तथानाम गाली किनकी कविताका साथै प्रत्येक भाषणमा पनि हामीले बजायौं ताली, चिच्याउँदै त्यही ‘वाह कव्वाली- क्या कव्वाली’ । ‘वाह कव्वाली- क्या कव्वाली’ ।

आफ्ना वृद्ध कवि बुबाको
सुन्दा सुन्दा अनुरोध, भए आजित,
बुबालाई खुसी पार्न छोराहरूले
विशेष कवि गोष्ठी गरे आयोजित ।
कवि थिए साठ- श्रोता थिए सात ।
ती पनि थिए कोलकोताका भोपाली
राम्ररी नबुझ्ने नेपाली ।
तर गजब बजाइराखेका थिए
प्रत्येक लाइनमा जोरदार ताली
चिच्याउँदै
“वाह कव्वाली- क्या कव्वाली”,
“वाह कव्वाली- क्या कव्वाली” ।
मैले जब गरें उनीहरूसँग संवाद
त्यसको सुन्नुस् यो नेपाली अनुवाद
हामी त छौं मञ्च बनाउने कामदार
आएका थियौं फूलामाला झुण्ड्याउन
गोष्ठीका लागि मञ्च सजाउन,
आएका श्रोता पनि सबै
कोही ‘प्रमुख अतिथि’
‘विशेष अतिथि’ त कोही
‘आमन्त्रित अतिथि’
बनेर मञ्चमा बसिदिँदा
जब तल भयो श्रोताका सबै कुर्सी खाली
आयोजकको इज्जत जोगाउन
ठेकेदारले थपेर हाम्रो पारिश्रमिक
बजाउन लगायो लयमा ताली
र पो हामी चिच्याउँदै छौं-
‘वाह कव्वाली- क्या कव्वाली’
‘वाह कव्वाली- क्या कव्वाली’ ।
हरे ! यति गर्दा पनि
सुन्नु पर्यो दे दनादन-
ठेकेदारको तथानाम गाली
किनकी कविताका साथै
प्रत्येक भाषणमा पनि हामीले
बजायौं ताली, चिच्याउँदै त्यही
‘वाह कव्वाली- क्या कव्वाली’ ।
‘वाह कव्वाली- क्या कव्वाली’ ।।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































