साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के सम्झेर मलाई नेता भनेको ?

जाबो दुई छाक खानकै लागि परिवार पाल्नकै लागि मैले नेतागिरी गरिरहन पर्दैन । एकचोटि भनिहाल्नु भो अबचाहिँ बिर्सेर पनि नभन्नुहोला भन्ने नै हो भने आफ्नो चिहान पहिले नै खन्नुहोला ।

Nepal Telecom ad

के रे ?
एकचोटि फेरि भन्नुस् त
फेरि एकचोटि भनेर त हेर्नुस्
तिरिमिरी झ्याइँ बनाइदिऊँ गाला चड्काएर ?
तोरीका फूल देखाइदिऊँ थाप्लो पड्काएर ?
अर्कालाई त्यसै मनपरी भन्ने !
के सम्झेर मलाई नेता भन्नुभयो ?
म छट्टु हुँ कि विदेशीको टट्टु
के ठानेर तपाईंले मलाई
नेतामा गन्नुभयो ?

के मैले चन्दा उठाएर कुम्ल्याएको छु ?
कि खुङ्खार अपराधी कालोबजारीसित मीत लगाएको छु ?
मैले जेलबाट तस्कर ज्यानमारालाई छुटाएँ
कि मन्त्री पदका लागि पार्टी फुटाएँ ?
होइन भने के ठानेर तपाईंले मलाई
नेता भन्ने हिम्मत गर्नुभयो ?
धर्म, इमान, नैतिकता केचाहिँ छैन मसित
र तपाईंले मलाई नेतामा दर्नुभयो ?

ए मिस्टर ! मुख सम्हालेर बोल्ने
गालीबेइजतिमा पर्नपर्ला !
भएभरको झिटिमिटी बेचेर
हदैसम्मको हर्जाना भर्नपर्ला !

होइन, नरिसाएर के गर्ने, चुपचाप रहने त ?
बेकसुरमा नेता भनेको त्यसै सहने त ?

ल तपाईं नै भन्नोस्
के म डुङ्डुङ्ती गनाएको छु ?
कि रानजीतिलाई मैले
कमाउने भाँडो बनाएको छु ?
मैले अकुत सम्पत्ति लुंड्याएर राखेको छु
कि राष्ट्रको ढुकुटी रित्याएर
भुँडी फुटुन्जेल जाकेको छु ?
संसद्को हाटमा भेडाबाखा भएर
मैले आफ्नो दर बसाएँ ?
कि पजेरो संस्कृति भित्र्याएर जग हँसाएँ ?

हो भन्या,
झ्वाँकै चलेर आउँछ
नेता शब्दले त मेरो कन्सिरी नै तताउँछ
निर्लज्ज भएर मैले देशलाई ढाँटें ?
कि विदेशी प्रभुको खुट्टा चाटें ?
भनोस् मैले कुन निहत्थालाई मारेँ ?
कि ब्रह्मलुट मच्चाएर
राष्ट्रको सम्पत्ति सखाप पारें ?

मैले सरकारी निकायलाई भर्तीकेन्द्र बनाएँ ?
कि रातो पासपोर्ट बेचेर खाएँ ?
वा ! विनाकारण त्यसै नेता भन्ने ?
मलाई के नपुग्दो छ र मैले नेता बन्ने !!

गजब छ बा !
वन माफियासित मिलेर
मैले जङ्गल साफ गरेँ ?
कि आफ्नै मित्रलाई अन्तरघात गरेँ ?
अर्काले धेरै हसुर्‍यो भनेर
म भुत्भुताएको छु ?
कि लुटेको धनमा भागबन्डा नमिलेर
चित्त दुखाएको छु ?
देशलाई मैले आफ्नो मौजा बनाएको छु
कि नदीनाला वा सिमाना बेचेर खाएको छु ?
कुर्सीका लागि के मैले
सिद्धान्तको बली चढाएँ
कि आफ्नै कार्यकर्ताको थप्पड खाएँ ?

हँ, फगत सत्ताका लागि
के मैले गठबन्धन गरेँ ?
कि भ्रष्टाचार गरेर
डिल्लीबजार खोरमा परें ?
भन्नुस् ल भन्नुस्,
मैले आफूलाई विदेशीको दलाल बनाएँ ?
कि सिन्को नभाँचेर लाखौँलाख भत्ता पचाएँ ?
होइन भने बताउनुस्,
मैले कुन त्यस्तो निकृष्ट कर्म गरेँ
कि मान्छेबाट पदच्यूत भएर
आज नेतामा झरें ??

सुन्नोस्,
इज्जतदार मान्छेलाई यसरी
अनाहकमा नेता भन्न पाइँदैन
नेपालमा नेपाली भएर बाँच्नका लागि
मलाई कसैको आशीर्वाद चाहिँदैन ।
हेर्नुस्, आफ्नो खुट्टामा उभिएको
आफ्नै पाखुरीमा बाँचेको मान्छे
खान नपाएर मर्दैन ।
र यो पनि बुझ्नुहोस्
जाबो दुई छाक खानकै लागि
परिवार पाल्नकै लागि
मैले नेतागिरी गरिरहन पर्दैन ।

एकचोटि भनिहाल्नु भो
अबचाहिँ बिर्सेर पनि नभन्नुहोला
भन्ने नै हो भने
आफ्नो चिहान पहिले नै खन्नुहोला ।

कान थापेर सुन्नुहोस्
डाँका, चोर, गधा, पाजी
सब भनेको सहुँला
तर नेता भनेको किमार्थ सहने छैन
नेताचाहिँ भएर मैले खानपर्‍यो भने
म यस दुनियाँमा रहने छैन !
म यस दुनियाँमा रहने छैन !!
म यस दुनियाँमा रहने छैन !!!

०००
‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०७५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वदेशको गौरव

स्वदेशको गौरव

कालीप्रसाद रिजाल
भाषण अड्किँदा

भाषण अड्किँदा

कालीप्रसाद रिजाल
नेताजीको अन्त्येष्टि

नेताजीको अन्त्येष्टि

कालीप्रसाद रिजाल
सालिक फरार भएको दिन

सालिक फरार भएको दिन

कालीप्रसाद रिजाल
नयाँ सडक

नयाँ सडक

कालीप्रसाद रिजाल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x