शिवप्रसाद जैशीसरकार मलाई सजिलै बेचिन देऊ
सरकार कति दिन्छौ सास्ती जान देऊ सजिलै पर पर, विदेशतिर सार्न देऊ मेरो गुँड, सरकार मलाई सजिलै सस्तैमा बेचिन देऊ , एक थान राहदानी तिम्रै मूल्यमा सजिलै मिलाई देऊ ! लौ न सरकार मलाई सजिलै बेचिन देऊ !

मैले मलाई बिक्रिमा राखेको छु
बेचिन पूजापाठ गरी देवीदेउता भाकेको छु
तिमीसँग एकथान राहदानी मागेको छु
सित्तैमा होइन दाम गोजीमा राखेको छु ।
उहिले बा अस्थायी निस्सा लिन सामल बोकेर
सुत्केरी आमालाई एक्लै छोडेर
बाटोभरी जुता हातमा बोकेर
तिम्रो अड्डानेर गोडामा जुत्ता ठोकेर
ठिङ्ग्रिङ्ग उभिएका थिए रे !
नागिरकता लिन आमा लाइन बस्दा
छाती चुँडाएका थिए रे !
अहिले मलाई दशैंमा राँगो मौलामा कस्नुअघि
फनफनी गाउँघर घुमाए जस्तै
अक्षता फूल चढाए जस्तै
कोठा-कोठा लाइन लगाई उभ्याउने
सकसपूणर् भोगाइ भोगाउने
तिम्रो इ सेवाले फस्टाएका
पसल पसल धाउन लगाउने
मैले पेटको भोक मारेर
बच्चाको माग टारेर
बाको ओखती सारेर
जोगाको पैसा बुझाउन
कति सकस पर्यो ?
परिचय पत्र भन्यौ
टोपी खोलायौ
सिन्दुर पुछायौ
पोते खोलायौ
हाम्रा संस्कृति मेटायौ ।
के गरेनौ ?
एस.एल.सी. मा ठ्याक्कै एक बर्ष ठोक्यौ
प्रमाण पत्र तहमा पनि एक बर्ष तोक्यौ
स्नातक स्नातकोत्तरमा एक एक बर्ष रोक्यौ
तिमीले के चाँडो गथ्र्यौ र नतिजा निकाल्न ?
तिम्रो इइ…. सेवाले खेद्नु खेदयो
कति गाह्रो छ फाराम भर्न
युनिकोड भन्यौ रोमनाइज्ड गर्दा आउन्न
ख लेख्न सिफ्ट र के थिच्ने बनायौ
आफै भर्न खोज्दा ट्युसन पढ्न पठायौ
सेवा केन्द्रमा पैसा ठटाउने गरायौ ।
सक्छौ एक थान राहदानी एक महिनामा दिन ?
अँह, सक्दैनौ ? किनकि तिम्रो सेवा इइ…. हो ।
सरकार कति दिन्छौ सास्ती
जान देऊ सजिलै पर पर विदेशतिर
सार्न देऊ मेरो गुँड
सरकार मलाई सजिलै सस्तैमा बेचिन देऊ
एक थान राहदानी तिम्रै मूल्यमा
सजिलै मिलाई देऊ !
लौ न सरकार मलाई सजिलै बेचिन देऊ !!
०००
कैलाली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































