चूडामणि वशिष्ठव्यङ्ग्यकार लुइँटेलको ‘अपराजेय कटाक्ष’ : एक छोटो टिप्पणी
अन्यायमा परेका व्यक्तिहरू प्रति सहानुभूति जगाउँदै व्यक्तिका अनावश्यक धाक रवाफ आडम्बर स्वार्थलाई निर्मूल गर्ने प्रयास गर्नु व्यङ्ग्यकार लुइँटेलको विशेषता बनेको छ ।

‘यस सङ्ग्रहमा सङ्कलित निबन्धहरू साना छन् तर छुरा छन् ।’- प्रकाशक परशुप्रधान
‘सामाजिक राजनैतिक परिप्रेक्ष्य लिएर आएका उक्त रचना मार्फत राष्ट्रमा घटित विसङ्गति विकृति विद्रूपता आदिमा आक्षेप टीका-टिप्पणी तथा आलोचना गर्न सक्तो प्रयास रहेको छ ।’ समालोचक जयप्रसाद ढकाल ।
‘रोहिणीविलास विरचित प्रस्तुत ग्रन्थमा कुनै पनि देशभक्त नेपाली विचारको हृदयलाई घच्घच्याउने गुण छ ।’ -भाषाशास्त्री बालकृष्ण पोखेल ।
‘व्यङ्ग्य लेख्न वस्ता म समाजका विभिन्न असङ्गति-विसङ्गतिको आलोचना गर्न बसेको भन्ने प्रत्यक्ष अनुभति नभए पनि परोक्षमा यही शाश्वत सत्य रहेछ ।’ – व्यङ्ग्यकार रोहिणीविलास लुइटेल ।
वाणी प्रकाशन विराटनगरद्वारा प्रकाशित यी टिका टिप्पणीहरू रोहिणीविलास लुइटेलको ‘अपराजेय कटाक्ष’ व्यङ्ग्य निबन्ध सङ्ग्रहमाथि गरिएका हुन् । वास्तवम लामो साहित्य साधनाको उत्तरार्धमा आएका लुइँटेलका निबन्धहरू खारिएका तिखारिएका माडिएका छन् । निबन्धकारको लामो जीवनको अनुभव, जीवनमा भोगेका देखेका अनुभूत गरेका अनुभव, मुलुकमा सर्वत्र फैलिएको विङ्सगति विकृतिको हैजा र व्याधिलाई निबन्धकारले व्यङ्ग्य शैलीमा सहज रुपमा प्रकट गरेका छन् ।
साहित्यकार रोहिणीविलास लुइटेललाई झापाली साहित्यकारका रुपमा परिचय गराइरहनु पर्दैन पत्रपत्रिकामा जताततै देखापर्ने लुइँटेल मूलतः छन्दोबद्ध शास्त्रीय कवि हुन् । शास्त्रीय शैलीमा स्वच्छन्दतावादी भाव व्यक्त गर्ने लुइँटेलका कृतिहरूलाई हेर्दा उनलाई झापाली साहित्यकार भनेर मात्रै साँघुर्याउनु अन्याय हुन्छ । उनका -प्रौढ र परिपक्व विचार, भाव र भाषाको सन्तुलन, विचारलाई प्रस्तुत गर्ने शिल्प काव्यात्मक उचाइलाई नियाल्दा उनी राष्ट्रिय स्तरकै साहित्यकार हुन् भन्दा फरक नपर्ने देखिन्छ । साहित्यका विभिन्न विधामा कलम चलाउने लुइँटेलले कथा निबन्धमा कलम चलाए पनि मुख्य रुपमा उनी कवि हुन् । कवितामै उनी बढी सफल छन्, काव्य जगतमै उनका भावना विचार चिन्तन बढी मौलाएका गाँजिएका फक्रिएका छन् । भारवि उपनाममा उनी झापामा प्रसिद्ध हुनुले उनक कवित्वको परिचय गराएको छ ।
यस लेखमा चाहि लुइँटेलको ‘अपराजेय कटाक्ष’ (२०५८) व्यङ्ग्य निबन्ध सङ्ग्रहमा अडेसा लागेर उनको निबन्धकार व्यक्तित्व र व्यङ्ग्यकारिताका बारेमा नियाल्ने जमर्को गरिएको छ । यस निबन्ध सङ्ग्रहमा छयासीवटा व्यङ्ग्य निबन्धहरूलाई विटो कस्ने काम भएको छ । यस सँगालो भित्रका निबन्धहरूको मुख्य विषयवस्तु- लेखकका जीवनका तिता मिठा अनुभव, संस्मरण, जीवन भोगाइका विभिन्न समयमा आइपरेका वाध्यता विवशता, अनेक प्रकारका अवरोहहरूलाई निबन्धकारले आफ्नो अनुभूतिमा गालेर पगालेर अत्यन्तै रोचक र मिठासपूर्ण शैलीमा प्रस्तुत गरेका छन् ।
लुइँटेलको यो कृति मूलतः व्यङ्ग्य निबन्ध सङ्ग्रह हो । यसमा खास गरी १२/ १५ वर्षे प्रजातन्त्रकालका विसङ्गति विकृति बेथिति विषमता उभिण्डा बिब्ल्याँटा परिस्थितिहरू प्रति कटाक्ष गरिएको छ । आधुनिकताका नाउँमा आएका उत्ताउला उच्छृंखल प्रवृत्ति, प्रजातन्त्रको नाउँमा देखापरेका छाडा र मनपरीतन्त्र, सामाजिक, आर्थिक शैक्षिक लैङ्गिक विभेद, तिघ्रे पाखुरे चङ्खे कमाउकान्तेहरूको बढ्दै गएको विगविगी, मान्छेका वैयक्तिक कमी कमजोरी, सत्ताका चम्चे, सुलसुले धुपौरे अवसरवादीहरूको जगजगी, डलर पचाउने फोस्रा कागजी गोष्ठी र कार्यक्रमहरू, सत्यलाई असत्यले सल्काइ रहेको दयनीय अवस्था, योग्यले भन्दा चाकरीवाजले अवसर पाइरहेको परिस्थिति, जो चोर उसको ठूलो स्वर भइरहेको वर्तमान अनेक दुव्यवस्था दुष्प्रवृत्तिको उछितो काड्ने काम निबन्धकारले गरेका छन् । यही भावभूमिमा यस सङ्ग्रहभित्रका व्यङ्ग्य निबन्धहरू फक्रिएका छन् ।
राजनैतिक, साहित्यिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक आदि विभिन्न क्षेत्रमा देखा परेको अधोगति, स्खलन, मान-मर्यादा मूल्य-मान्यता, कर्तव्यपरायणता, इमान्दारी, निस्वार्थको समाप्ति, न्यायले गर्ने गरेको अन्याय, विकृत संस्कृतिको विकासले सर्वसाधारणमा पर्न गएको पीडा ताडना दुःख हैरानीप्रति सहानुभूति प्रकट गर्दै यस्ता दुष्प्रकृतिप्रति सुधारको निम्ति लुइँटेलले व्यङ्ग्य प्रक्षेपण गरेका छन् ।
यस सङ्ग्रहभित्रका व्यङ्ग्य निबन्धहरूलाई छवटा खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा लामा छोटा गरी ५६ वटा व्यङ्ग्य वाण रहेका छन् । दोस्रो विमोचन खण्डमा ४ वटा पुस्तक विमोचनको प्रसङ्गलाई बडो विनोदी भाषामा प्रस्तुत गरिएको छ । ‘पत्रपातो’ भनिएको तेस्रो खण्डमा ५ वटा व्यङ्ग्यका मट्याङ्ग्रा हानिएको छ । जयन्ती प्रसङ्ग भनेर ६ वटा प्रसङ्गलाई संस्मरणात्मक ढाँचामा व्यङ्ग्यको समेत मिश्रण गरी प्रस्तुत गरिएको छ जसमा भानु, देवकोटा, लेखनाथ, विश्वेश्वर, पासाङ ल्हामू ल्यूसुनका जन्मजयन्तीमा गरिएका कार्यक्रमको विवरण पनि छ । अर्को कथा सम्वाद शीर्षकका ११ वटा निबन्धहरूमा सम्वादात्मक भाषाको प्रयोग गरी, नाटकीय शिल्पका साथ तीक्ष्ण व्यङ्ग्य प्रहार गरिएको छ । अन्त्यमा, लथालिङ्ग विश्वविद्यालय खण्डमा मुलुकको विकृत राजनीति, भाषा, साहित्य, संस्कृति, समाजप्रति प्रश्नात्मक शैलीमा दोहोलो काड्ने काम भएको छ । यी प्रत्येक खण्डका निबन्धहरूले विविधताको मौजी मसला पाठक समक्ष पस्किएको छ ।
विश्वविद्यालयको शैक्षिक स्तरप्रति संकेत गर्दै ‘विषय स्वास्थ्य’ शीर्षक प्रश्नार्थक शैलीमा लेखिएको निबन्धमा व्यङ्ग्यकार लुईटेलले शैक्षिक स्तर सामाजिक विषमताको यसरी धज्जी उडाएका छन् । (१) कुरकुरे हाडको काम हो ? र कुरीकुरी लाग्ने कुराको स्वास्थ्यमा कुन स्थान छ ? छर्लङ्ग पार्नुहोस् । (२) ‘नेपाली मानव अस्थिपञ्जरका हाडहरू र महँगीको ढाकर बोक्ता बोक्ता भाचिन लागेका मेरुदण्डका हड्डीहरूका नाम लेख्नुहोस् ।’
यसै गरी उधारों, दांत आदिजस्ता सामाजिक निबन्धहरूले मकाउँदै गएको हाम्रो सामाजिक अवस्था, माटो लाग्दै गएको मानसिकता, उम्लिरहेका बेथिति जस्ता कुरालाई उजागर गरेको छ भने टपरटुइँयावाद ड्याडीमम जस्ता निबन्धले शैक्षिक कमी कमजोरी विकृतमाथि दोहोलो काडेका छन् । लाजनीति र शिशु प्रजातन्त्रमा राजनीतिका ठेकेदारहरूलाई नाङ्गेझार पार्ने काम भएको छ । यसै गरी भाषा, साहित्य, संस्कृति, पुरस्कारका क्षेत्रमा देखा परेको नाङ्गो नाचलाई यहाँका निबन्धहरूले कुरीकुरी गरेका छन् । आफ्नै धूनमा, साहित्यिक मञ्च, फिक्कलको पाडो जस्ता निबन्धले साहित्यिक विकृतको पिलोमा आरो हान्ने काम गरेको छ । यसरी यस सङ्ग्रहभित्रका निबन्धहरूले समाजमा देखा परेका होची-अर्धेली, कमी-कमजोरी देखाउँदै यावत् दुर्गन्ध र दुर्गतिको आन्द्रा दुहुने काम गरेको छ ।
माथि नै भनियो- यो कृति हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो । व्यङ्ग्यका तुलनामा यहाँ हास्य अलिक निम्सरो भएको छ । हुन त हास्य र व्यङ्ग्य भनेको एउटै चिज होइन, यी आफैमा फरक-फरक चिज हुन् । व्यङ्ग्य भएका ठाउँमा हास्य हुनैपर्ने र हास्यमा व्यङ्ग्य हुनैपर्ने भन्ने पनि छैन । खास गरी व्यङ्ग्यको तितोलाई मधुवेष्टित गर्नका निम्ति हास्य आउने गर्छ । हास्य बिनाको व्यङ्ग्य केही रुखो र व्यङ्ग्य बिनाको हास्य हलुको हुने गर्छ । त्यसैले हास्य र व्यङ्ग्य एकै ठाउँमा जोडिन आइपुगेका हुन्, तर पनि हास्य र व्यङ्ग्यमा ठुलै अन्तर छ । हास्यले उपहास गर्ने, धज्जी उडाउने काम गर्छ व्यङ्ग्यले दण्ड नै दिन्छ । हास्यमा भावना प्रवल हुन्छ भने व्यङ्ग्यमा बुद्धि तत्व प्रवल हुन्छ । हास्यले मनोरञ्जन दिन्छ व्यङ्ग्यले सुधारको प्रहार गर्छ । हास्यले विसङ्गति-विकृतिको वणर्न मात्रै गर्छ, व्यङ्ग्यले भत्र्सना पनि गर्छ । हास्य भनेको नौ रसमध्येको एउटा रस हो व्यङ्ग्य भनेको विद्रोह हो । हास्यले मानसिकतालाई स्वच्छ बनाउँछ यो स्थूल र सतही हुन्छ, व्यङ्ग्यले विकृतको फोहोर सफा गर्छ, यो सूक्ष्म र दुर्बोध्य हुन्छ । हास्य र व्यङ्ग्यको समानुपातिक मिश्रण गरिएका हाँस्ता-हाँस्तै रुनुपर्ने र रुँदारुदै हाँस्नुपर्ने रचनालाई हास्यव्यङ्ग्यलाई समानुपातिक मिश्रण गर्ने प्रयास गर्दागर्दै पनि हास्य थोरै कमजोर भएका कारण व्यङ्ग्यलाई एककाँधे लगाउनु पर्ने अवस्था आएको छ ।
मूलरुपमा व्यङ्ग्य भनेको प्रस्तुतिको शैली, हो, विषयवस्तुलाई हेर्ने वक्रदृष्टि हो, शब्द साँध्ने र वाक्य निखार्ने कला हो, बिसङ्गतिमा र विकृतिमाथि नै सही थापे झैं गरेर उपहासमा उडाउने सीप हो । भाषामा उखान टुक्काको प्रयोग, अनुप्रासयुक्त वाक्य, झर्रा शब्दको प्रयोगले हास्यव्यङ्ग्यलाई आनन्ददायक, पठनीय सुरुचिपूणर् बनाउन सहयोग गरेको हुन्छ । व्यङ्ग्यकार लुइँटेल पेसाले शिक्षक आफ्ना व्यङ्ग्य निबन्धमा विनोदी भाषामा शब्दको सही, शुद्ध प्रयोग गर्नुपर्छ भन्ने विचार प्रकट गर्दै अशुद्ध प्रयोग गरेर भाषाको हुर्मत लिनेहरू प्रति कटाक्ष गरेर त्यसो होइन यसो हुनुपर्छ भन्ने शिक्षा प्रदान गर्न पनि पछि परेका छैनन् । जस्तैः- इच्छया होइन इच्छा । कवियत्री होइन कवियित्री । शिच्या होइन शिक्षा । सहस्र होइन सहर्ष । पर्धान होइन प्रधान । प्रध्यापक होइन प्राध्यापक ।
पूर्वीय धर्मशास्त्र पुराण उपनिषद्, आध्यात्मिक चिन्तन दर्शनबाट प्रभावित संस्कृति शिक्षा समेत प्राप्त गरेका लुइटेलका व्यङ्ग्य निबनधहरूमा यसको छाप रहेको पाइन्छ । कतै आफ्नो भनाइलाई स्पष्ट गर्न, प्रभावकारी बनाउन, कतै विषयवस्तुको उठान गर्नको निम्ति धर्मशास्त्र नीतिशास्त्रका उक्ति सूक्तिहरूलाई लुइँटेलले अगाडि सार्ने गरेका छन् । उदाहरणका रूपमा पुराण उपनिषदका कुरा पनि आएका छन् । धर्मप्रतिको घट्तो आस्था र विश्वास, नास्तिकहरूले निर्माण गरेका मन्दिरतर्फ सङ्केत गर्दै व्यङ्ग्यकार -धर्मलाई पनि हिजोआज शनि लागेको छ भन्दछन् ।
देख्यो कि लेख्योमा बानी परेका लुइँटेलको यस सङ्ग्रहभित्रका अधिकांश व्यङ्ग्य निबन्धहरू विभिन्न समयमा, विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएका हुन् । त्यसमध्ये धेरैजसो निबन्धहरू नयाँ कामना साप्ताहिकमा प्रकाशित भएका छन् । तिनै छरिएका निबन्धहरूलाई यो ‘अपराजेय कटाक्ष’ निबन्ध सङ्ग्रहमा कुन्यूँ लगाएर चुल्याउने काम लुइँटेलले गरेका छन् । सानोतिनो कुराले पनि लुइँटेललाई छुने र त्यसलाई तुरुन्तै कथा निबन्धको रुपमा आत्मपरकताले रङ्ग्याएर साहित्यिक अभिव्यक्ति दिने सिप, कला, शब्दचातुर्य र वक्रदृष्टि उनमा देखिन्छ ।
समष्टिमा हास्यव्यङ्ग्यकार लुइँटेलको हास्यव्यङ्ग्यचेत समसामयिक युगजीवन राष्ट्रिय अन्तर्राष्ट्रिय र आफ्नै वरिपरिको परिवेश र परिस्थितिले सृजना गरेका वेथिति विकृतिले उब्जाएको देखिन्छ । धेरैजसो निबन्धहरू स्थानीय सन्दर्भसँग जोडिएका छन् । राजनीतिमा देखापरेका सङ्कीणर्ता, दलगत, व्यक्तिगत स्वार्थ, छिनाझम्टी, अव्यवस्था असङ्गतिबाट उत्पन्न आर्थिक सामाजिक शैक्षिक भाषिक सांस्कृतिक नैतिक आदि विविध विसङ्गति प्रति लुइँटेलको कटाक्ष लक्षित छ । समाजमा रहेका अर्घेल्याईं कुतर्कतर्फ लुइँटेलको कलम चलेको छ । जीवन जस्तो छ होइन हुनुपर्छको आग्रह निबन्धमा गरिएको छ । लुइँटेलका अधिकांश निबन्धमा आफै पात्र बनेर विसङ्गतिको दोहालों काड्ने काम भएको पाइन्छ । कुनै निबन्धमा आफू तटस्थ दर्शक बनेर अगतिको निन्दा र भत्र्सना गरिएको छ । अत्यन्तै गम्भीर विषयमा पनि ठट्यौली भाषाको प्रयोगले हास्य सिर्जना गरेको पाइन्छ । हस्यौली किसिमको अभिव्यक्तिमा पाठक औधी रमाएका छन् ।
होइन कुरालाई हो कुरो बनाएर विब्ल्याँटो किसिमले गरिएको प्रस्तुतिले अन्यायमा परेका व्यक्तिहरू प्रति सहानुभूति जगाउँदै व्यक्तिका अनावश्यक धाक रवाफ आडम्बर स्वार्थलाई निर्मूल गर्ने प्रयास गर्नु व्यङ्ग्यकार लुइँटेलको विशेषता बनेको छ । मिचाहा दलाहा निठ्याहा अन्यायीहरू तर्फ औंला ठड्याउँदै, नातावाद, कृपावाद फरियावादको उछित्तो उतार्दै, समाजका द्रव्यपिशाच र धूर्तहरूप्रति ताकी ताकी घुयेंत्रो चलाउने काम व्यङ्ग्यकारले गरेका छन् । पश्चिमे संस्कृतिका आैंसाबाट उम्किएका किरा मार्ने प्रयत्न गर्दै आधुनिकताको नाउँमा आएका छाडा उत्ताउलो प्रवृत्तिप्रति तिख्खर व्यङ्ग्य प्रहार गरिएको छ ।
छन्दोबद्ध कविता लेख्न खप्पिस रोहिणीविलास लुइँटेल एउटा सफल कथाकार र असल व्यङ्ग्यकार हुन् निरन्तर रुपमा कलम चलाइरहेका लुइँटेलबाट नेपाली साहित्यलाई अझै गहकिलो योगदान पुग्ने सम्भावना रहेको छ । आफ्नो सम्पूर्ण जीवन शिक्षा सेवामा समर्पण गरेका लुइँटेलका निबन्धहरूको अध्ययन गर्दा उनी पेसाप्रति समर्पित शिक्षक, राष्ट्रप्रेमी, भाषा साहित्यमा मरिमेटेर लागि पर्ने असल सेवक हुन् । ‘अपराजेय कटाक्ष’ व्यङ्ग्य निबन्ध सङ्ग्रहले लुइँटेललाई असल हास्यव्यङ्ग्यकारका रुपमा पनि स्थापित गरेको छ ।
०००
भद्रपुर- ५
मो. ९८४२६५६०६०
‘जुही’ रोहिणीविलास लुइँटेल विशेषाङ्क, पूर्णाङ्क ५९, (२०६६)
Subscribe
Login
0 Comments
Oldest






































