रामशरण न्याैपानेचमेरा महात्म्य
यौटै हुन्न दया किसानसितको काला ती प्राणीसित विष्टामात्र खसाल्दछन् नजिकमा दुर्गन्धले रञ्जित मिल्ला मिष्ठ फलादि लोक सबमा अग्लेर कैले तरु सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।

कालो रात अपार उत्सव ठुलो मान्छन् चमेराहरू
आभा भाष्करको अघोर अरिझैँ ठान्छन् चमेराहरू
पाकेको फल हड्पिदै फजित नै खान्छन् चमेराहरू
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।१
कालो चील बनेर छोप्छ धरती आएर त्यो रातले
मुर्दातुल्य बनेर सुत्छ दुनियाँ क्वै नीदले, मातले
रातारात हरेक क्षेत्र बनको पार्छन् उछित्तो अरू
सारा बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।२
गर्छन् काम किसानले दिनदिनै घोटेर हड्डी कति
उब्जाई फल धेर शिल्प श्रमले मेलो मिलाई अति
एकै रात सिकार बाग बन त्यो पार्छन् भुसुक्कै बरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।३
खाई तृप्त मनै हुँदैन तिनको छन् हन्तकाली अति
खोजी क्षेत्र नयाँ नयाँ दिन दिनै संहार पार्छन् कति
खानामा त बिँडो अगस्ति ऋषिकै धर्छन् हरे आबरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।४
प्यारो बाग बगान जर्जर रुखो पारेर झन् बेसरी
खान्छन् स्वणर् फलै टिपेर बहुतै भण्डार रित्तो गरी
आफन्ती जन धेर झुण्ड बनमा ल्याएर पार्छन् मरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।५
यौटै हुन्न दया किसानसितको काला ती प्राणीसित
विष्टामात्र खसाल्दछन् नजिकमा दुर्गन्धले रञ्जित
मिल्ला मिष्ठ फलादि लोक सबमा अग्लेर कैले तरु
सिङ्गो बाग दिबालियातिर छिटै लान्छन् चमेराहरू ।।६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































