विनाेद खनालसक्कली मुना मदन
चन्चले आँखा, ती राता ओठ मिलेको हाइट थाइकट केश, सुडौल शरीर, भेस्टपेन्ट टाइट । अरुले दाग्छन् नक्कली मुना, तिमी के बचौली ! मलाई संझी चोखो प्रेम तिम्ले कसरी साँचौली !

विनोद खनाल :
मुना-
छिटै जाऊ विदेश, हे मेरा मदन छाडेर मलाई,
विदेश गए हुनेछ तिम्रो धेरै नै कमाई
त्यो पैसा पठाऊ म यहाँ गर्छु छोराको सियार,
तिम्रो र मेरो भेट नभई पनि बढ्ने छ पियार ।
बस्नेछु छोरो पढाउन भनी गएर शहर,
खुरुमा खुरु पठाऊ पैसा पुर्याउँछु रहर ।
खाउँला मीठो मसिनु सधैं, सेकुवा बियर
तिमी त उता, म यहाँ अर्कै बनाउँला डियर
मदन तिमीलाई पनि गरौंला पियार ॥
मदन-
नक्कली मुना विदेश तँ जा डलर कमाउन,
यो गाउँ मेरो हो जन्मभूमि, बस्छु म रमाउन ।
विदेश गई डलर पठा, छोरालाई पढाउँला,
उब्रेको पैसा भिट्टामा हाली दोब्बर कमाउँला ।
तँ मोज गर्नू, विदेश बसी म यहीं गरौंला,
फर्केर आउनू दश वर्षपछि एड्स भइ मरौंला ॥
मुना-
हे मेरा मदन म जान्न विदेश, तिमी जाऊ कमाउन
म यहीँ बस्छु, स्वतन्त्रपूर्वक घुमेर रमाउन
रोजी र जेरी सुखी छन् कति, विदेशमा बुढा छन्,
मेरिना, लिजा, कृस्टिना,बृन्दा झन् अझ खुशी छन् ।
चरेर हिँड्छन स्वतन्त्रसँग डर छैन कसैको,
याँ हुन्छन् आज, भोलि काँ पुग्छन् के ठेगान बसाइको ।
मेरो चैं बूढो नामर्द कस्तो विदेशै नजाने !
क्या सोझो लोग्ने पाएँछु मैले जाँडरक्सी नखाने ।
मदन-
हे मेरी मुना नभन त्यसो बैंशमै फुलेकी,
कपाल थाइकट, हापिन छोटो लाएर डुलेकी ।
माइकल, डेभिट, ज्याक्सन र फिरोज सँगमा लिएर
देख्याछु मैले हिँडेको धेरै बियर पिएर ।
म यहाँ हुँदा यस्तो छ चाला, विदेश गए म,
तिमी त मुना लौ कस्ती हौली झन छक्क पर्छु म ।
उहिलेकी मुना पतिलाई भन्थिन बसौं न स्वदेशमै,
अहिलेकी मुना कर लाउन थालिन् जाऊ बुढा विदेश नै ।
उहिलेकी मुना साग र सिस्नु खाएर बाँचेकी,
सासूको सियार गरेर पनि जून झैं हाँसेकी ॥
मुना-
हे ! मेरा राजेस, हे ! मेरा निखिल त्यसरी नबोल,
घरदेखि बाहिर गरेका कर्तुत त्यसरी नखोल ।
हे मदन तिम्ले डल्ली र काली नेप्टी र गोरीलाई
लिएर हिँड्या देख्या छु कति के भन्छौ मलाई ।
पुरुषले चैं जे गर्दा हुने महिलाले चैं नहुने ?
समाज र कानुन महिलालाई लाग्ने, पुरुषलाई नलाग्ने ?
भनेर आयो महिला हक स्वच्छन्द हुनलाई,
लागेका हामी महिला जाति यै सन्देश छर्नलाई ।
घरमा म छु खूब पतिब्रता, सीता र पार्वती,
बाहिर हिँड्दा म बन्छु सदा मेनका, उर्वशी ।
उहिलेकी मुना साग्सिस्नु खान्थिन् थिएन चाउमिन,
मोमो र पिज्जा बर्गर खाने भाग्यमै थिएन ।
साग र सिस्नु खाएर हुन्न अहिलेका नारीलाई,
सेकुवा, मोमो, अमलेट, बियर खाजा त्यो खानलाई ।
पाए पो हुन्छन्, महिला खुशी स्वतन्त्र घुमेर,
घरैमा बसी कस्ले पो गर्छ, सासूको सियार ॥
मदन-
चन्चले आँखा, ती राता ओठ मिलेको हाइट
थाइकट केश, सुडौल शरीर, भेस्टपेन्ट टाइट ।
अरुले दाग्छन् नक्कली मुना, तिमी के बचौली !
मलाई संझी चोखो प्रेम तिम्ले कसरी साँचौली !
त्यसकारण मुना बसौं न यहीँ विदेश नजाऊँ,
स्वदेशमै बसी सुकार्य गरि यश कीर्ति फैलाऊँ ।
गाईभैंसी पालौं, कृषि काम गरौं देशलाई उठाऊँ,
विकास कार्य गर्नका निम्ति, साथीभाइ जुटाऊँ ।
विदेशमा खट्ने समय यहीँ खटेर कमाऊँ,
दुई जोइपोइ एकै ठाउँ बसी दिन रात रमाऊँ ।
मुना-
हे ! मेरा मदन मन बुझ्यो मेरो नजाऊँ विदेश
तिमी, म जस्तै भएर सबले बनाऊँ स्वदेश ॥
(समाप्त)
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest








































