
विराट् प्रतिभा देवकाेटा
भित्तामा अब लेख्छ काे र कविता छन् वाल हातैभरि । बाजी मार्दछ लेख्न काे र रचना ब्यूँझेर रातैभरि ? त्याे आशुत्त्वपना टुना मृदु मुना सत्कामना वन्दना । काे देख्लान् र महामना विजयकी आस्वादिली छन्दमा ?

एकेएन गाेगने :
हे ! काव्येश्वर तीर्थ हे ! सविनयी स्वच्छन्दवादी घटा ।
हे ! वाणी-सुत कल्पना-घर महान् हे ! भावनाका लता ।।
हे ! सर्वज्ञ विराट् प्रदीप्त गहना हे ! ज्वार काव्यायन ।
हे ! लक्ष्मी विमलाङ्ग साङ्ग लहना हे ! शील्प शब्दायन ।।
१
पढ्दैनन् अहिले मुनामदनले त्याे भव्य शाकुन्तल ।
तिम्री दिव्य सुलाेचनासँगसँगै चम्पा परिन् झन् तल ।।
चिन्दैनन् वनकाे सुपुष्प कलिलाे यात्री भिखारी भए ।
तिम्राे दाडिमकाे निबन्ध नपढी भाषा बिगारी रहे ।।
२
तिप्लिङ्गी अनि कुन्जिनी विरहमा चुर्लुम्म डुब्छन् बरा !
मैना-भाव तलाउमा बनिसके बाँझा स-साना गरा ।।
कल्ले दिन्छ र काेट ती गरिबमा आफू भई थुर्थुर ?
तिम्राे मानवता अचेल रिसले बन्ने सधैँ मुर्मुर ।।
३
गर्दैनन् उपकार हेर ! नरले बाेक्रे भलाद्मी भए ।
जम्मै पागल देख्दछन् नयनले सम्पूर्ण छद्मी भए ।।
छक्कै पर्दछ हैमकुञ्ज अहिले देखेर दादागिरी ।
छिर्दा पश्चिमका विरूप कविता अश्लील धाेती भिरी ।।
४
भित्तामा अब लेख्छ काे र कविता छन् वाल हातैभरि ।
बाजी मार्दछ लेख्न काे र रचना ब्यूँझेर रातैभरि ?
त्याे आशुत्त्वपना टुना मृदु मुना सत्कामना वन्दना ।
काे देख्लान् र महामना विजयकी आस्वादिली छन्दमा ?
०००