एकेएन गोगनेवृद्धाश्रम- २
गर्दै भुन्भुन टोक्न आउँछ उडी यो नाकमा मच्छड । भोको पेट छ के गरूँ ! म उसमा हानूँ कहाँ थप्पड !

एकेएन गोगने :
यौटा सत्तल ठिङ्गझैं छ तृणको कालो घना रातमा ।
झुल्को भोलि बिहानको बिउँझिने आशा छ यो आँतमा ।
आशा नै छ विशेष मन्त्र रसिलो खोजी गुभो खाऊँ म ।
चङ्गा उड्न हतारिंदो छ नभमा धागो कहाँ पाऊँ म ?
॥१०॥
हुन्छन् मानिस एक काल बिधवा पत्नीविनाका पति ।
झैझर्को नगरौं ! खुला हृदयले बाँडौं ! सुधी सम्मति ॥
मुर्दातुल्य बनेर आप्त मनले चीत्कार गर्दा पनि ।
कोही सुन्न तयार हुन्न बहिरो प्रारब्ध उल्टो बनी ॥
॥११॥
छानो तात्दछ भाद्रमा भतभती पोल्ने असाध्यै कडा ।
ढाकी देह सबै अनेक बिमिरा उठ्छन् घमौरा बडा ॥
निथ्रुक्कै पसिना चिलन्धर हुने सारी र चोला पनि ।
हावा टक्क अडिन्छ फेरि उसमा रोकूँ कि चोला भनी ॥
॥१२॥
पङ्खा हम्किदिएर पूज्य पतिले गर्मी भगाए कति !
जम्मै सुस्मृत हुन्छ तत्क्षण सबै बिर्सन्नँ एकै रति ॥
त्यो ताजा स्मृतिले यहाँ म अहिले ज्यूँ त्यूँ गरी बाँच्दछु ।
यो देहान्तक ती सुधा पलहरू पोल्टा भरी साँच्दछु ॥
१३॥
अग्ल्याएर बडा बडा महलमा आनन्द लिन्छन् जन ।
यो पाटी अति जीर्ण शीर्ण बनियो भत्केर छोप्ला तन ॥
दुब्ला इन्द्रिय दुःखले बल गरी उभ्याउँछन् धर्मर ।
हड्डी मासु शिरा र सूक्ष्म धमनी काम्छन् सबै थर्थर ॥
॥१४॥
मैला प्लास्टिक फाल्दछन् नजिकमा दुर्गन्धको बास छ ।
कीरा गुज्गुज गर्दछन् वदनमा रोगादिको त्रास छ ॥
सू गर्छन् कतिले पछिल्तिर गई बिस्ट्याइदिन्छन् पनि ।
घुर्चिन्छन् करले पुरानु घर यो भत्काइदिन्छौं भनी ॥
॥१५॥
गर्दै भुन्भुन टोक्न आउँछ उडी यो नाकमा मच्छड ।
भोको पेट छ के गरूँ ! म उसमा हानूँ कहाँ थप्पड !
लामो सुत्त छ कोष्ठका हर कुना छन् माकुरा डङ्गुर ।
दाह्रा ङिच्च गराउँछन् डरमरा ढाडे कुनै लङ्गुर ॥
॥१६॥
छन् धेरै उपियाँ सबैतिर घुमी टोकेर मार्छन् सधैं ।
त्यस्तै सुल्सुल गर्दछन् उडुसले मारूँ म केले रुँदै ?
नाच्छन् रात-बिरात सूक्ष्म डुहुरा उध्याउँदै चञ्चुल ।
खान्छन् के तर ती प्रसन्न बहुतै छन् पुष्पझैं मञ्जुल ॥
॥१७॥
थोत्रा पन्तुरका धरा सब लगी लाएर साना गुँड ।
मेरै मस्तकमा खुरुर्र कहिले चल्छन् स-साना सुँड ॥
के खोज्दै किन पस्तछन् हरघडी चीं-चीं ! गरी गौंथली ?
छारो झर्दछ बर्बरी सुकुलमा घुर्मैल जम्मै दली ॥
॥१८॥
क्रमशः
०००
भोजपुर
Subscribe
Login
0 Comments
Oldest







































