भानुभक्त कुभिण्डेलीसिङ्गापुर चाहिँदैन
यत्रो प्रगति गर्ने नेताको देश चाहिँ गरिब हुन्छ ? यति धनी नेताको देशलाई कसले गरिब भन्छ ? तर ख्याल गर, नेपाललाई सिङ्गापुर बनाउँन पाइँदैन हामीलाई हाम्रै देश प्यारो छ, सिङ्गापुर चाहिँदैन ।

भानुभक्त कुभिण्डेली :
तिमी त साह्रै विद्वान् रहेछौ
एक्लै भिडेर प्रथम भएछौ
मलाई गोरु ब्याउँछ भन्यौ, पत्याएँ
तिम्रो विश्वास गरी अरूलाई लत्याएँ
आज बल्ल थाहा भो गोरु थारो रहेछ
गाईका अगाडि गोरु ब्याउन गाह्रो रहेछ ।
यो देशलाई सिङ्गापुर बनाउँछु भन्दा डर लागेको थियो
सिङ्गापुरे पो होइन्छ कि भनी डरले भोक भागेको थियो
धन्न नेपाललाई सिङ्गापुर नबनाई नेपाल नै बनायौ
नेपालीलाई संसारमा पठाएर विश्वमा चिनायौ ।
कोही भन्छन् नेपाल गरिब छ, र नेपाली गरिब छन्
अन्य देशभन्दा अविकसित र पछौटे छ झन् झन्
नेपालमा खै कहाँ गरिबी छ ? कहाँ पछौटे छ ?
अविकसित भन्नेहरूको आँखा साँच्चै धमिलो छ ।
हिजो फाटेको चप्पल लाएर दैनिक पैदल हिँड्नेहरू
वा सास अल्झाउन दस रुपियाँको पाउरोटी किन्नेहरू
आज मूल्यवान पजेरामा सवार गर्छन् ।
मार्सी चामलका स्वादिष्ट व्यञ्जनमा भर पर्छन्
विलासिताको र आनन्दको जिन्दगी बिताएका छन्
आफ्ना नाता कुटुम्बको भलो चिताएका छन्
के यो प्रगति होइन ? यो विकास होइन ?
अनि फेरि तिमी भन्छौ विकास भएन भनेर ?
जुन देशका नेताको बैङ्क खातामा खरबौँ पैसा छ
अनि, अनगिन्ती सुन र चाँदीको कारोबार छ
बस्न आलिशान भवन र हिँड्न करौडौँका पजेरा छन्
नेपालमा राख्ने ठाउँ नभएर पैसा विदेशमा राख्या छन्
यत्रो प्रगति गर्ने नेताको देश चाहिँ गरिब हुन्छ ?
यति धनी नेताको देशलाई कसले गरिब भन्छ ?
तर ख्याल गर, नेपाललाई सिङ्गापुर बनाउँन पाइँदैन
हामीलाई हाम्रै देश प्यारो छ, सिङ्गापुर चाहिँदैन ।
०००
भद्रपुर– १०, झापा
Subscribe
Login
0 Comments
Oldest








































