भगवतीप्रसाद शर्माकुलत
मान्छे भए सहजमा अब बुद्धि आओस् । यो चित्त भित्र सजिलै वशमा लगाओस् । झर्ला कुहेर नबुझेर मनुष्य चोला । बेला बितेपछि बिजोग नभोग्नु होला ॥

भगवतीप्रसाद शर्मा :
गाई दुहुन्छ घरको अनि बेच्न आयो ।
बाटो हिँडेर जिउमा पसिना बगायो ।
तिर्खा मिटाउन सिधै अब कोक खायो ।
बेचेर दूध उसले रुपियाँ उडायो ॥१
धायो बजार जहिल्यै अनि पान खायो ।
खैनी चुरोट जति अम्बल सिक्न धायो ।
गर्दा बिगार दिलमा न त चाल पायो ।
पैसा कता बचत होस् सहजै उडायो ॥२
सस्तो अचेल पसिना रउसेहरूको ।
सस्तो भयो दुध अझै तलका अरूको ।
मर्दैछ त्यो श्रम सधैँ दुखको भकारो ।
सुध्रिन्छ होटल जहाँ मदले उकालो ॥३
घण्टौँ चिया पसलमा गफ चल्छ थारो ।
खायो त्यहीँ वियर झन् पछिको उधारो ।
पारो चढेर अब जीवन हुन्छ घारो ।
यो जिन्दगी गजबको नहुने हतारो ॥४
साथी र सङ्गत बढे नदिई तघारो ।
आफै भएछ तरुनो तरुनी पियारो ।
साथी बनेर मदिरा तन भित्र धारो ।
खायो रमेर उसमै दुनियाँ उमारो ॥५
रित्तो पकेट जहिल्यै घर चल्न छाड्यो ।
बढ्दैछ तल्तल उता मदिरा करायो ।
मान्छे भएर जिउँदो उसकै कमारो ।
यो जिन्दगी गजबको अब ता उधारो ॥६
छामेर जेब रुपियाँतिर हातलाई ।
छल्दै पिएर मदिरा मन यो बुझाई ।
यो जिन्दगी मद सँगै दिलचित्त लायो ।
साथी झिँगा कुकुर छन् अझ ऊ रमायो ॥७
भेट्दा बिहान हँसिलो जहिल्यै हतारो ।
सम्साँझ हुन्छ जहिल्यै छ उही अँध्यारो ।
रक्सी भएपछि सधैँ घर नै विरानो ।
यो जिन्दगी गजबको मदिरा छ छानो ॥८
अर्ती न बुद्धि अहिले कसको न लाग्छ ।
मान्छे न इज्जत रह्यो पछि को न लाग्छ ।
गढ्दा अहो ! कुलतले परिवार रुन्छ ।
छाडौँ नसा मनुज हो ! पछुतो रहन्छ ॥९
मान्छे भए सहजमा अब बुद्धि आओस् ।
यो चित्त भित्र सजिलै वशमा लगाओस् ।
झर्ला कुहेर नबुझेर मनुष्य चोला ।
बेला बितेपछि बिजोग नभोग्नु होला ॥१०
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































