मीनप्रसाद लामिछानेकाका, यो शहर हो !
यहाँ पल्लो घरबाट जन्ती र वल्लो घरबाट मलामी एकसाथ निस्किन्छन् सबै उतै रमाउँछन्, यता रोएको कसले सुन्छ जन्तीको भिडले बजार ढाक्दा मलामी चैँ औँलामा गन्नुपर्ने हुन्छ ।

मीनप्रसाद लामिछाने :
भालेको डाँकोभन्दा पहिल्यै उठ्छ
र, चल्नथाल्छ मेसिनझै अविराम, अनन्त
न खाने फुर्सद यसलाई, न सुस्ताउन पाउँछ
न आफन्तसँग भलाकुसारी गर्न भ्याउँछ
प्रत्येकको हरेकसँग प्रतिस्पर्धा चल्छ यहाँ
कसैको बाध्यता, कसैलाई रहर यो
काका, यो शहर हो ।
यसले काजीका छोरालाई पाजी
र पाजीका छोरालाई काजी बनाउँछ
आज ढुङ्गा हान्छ र भोलि त्यसकै जन्मोत्सव मनाउँछ
रातारात कायाकल्प हुन्छ यहाँ
यसको महिमा वणर्न गरिसाध्य छैन भो
काका, यो शहर हो ।
यहाँका मान्छे गाई पाल्दैनन्, कुकुर पाल्छन्
घरका फोहोरहरू लगेर सडकमा फाल्छन्
सर्वसाधारण तिनैलाई महान् ठान्छन्
अनि बाबु आमालाई वृद्धाश्रममा छाडेर घरमा कुकुर लान्छन्
यस्ता कुरा हेर्ने फुर्सद कसलाई ? बुझ्ने को ?
काका, यो शहर हो ।
शहरको घर, झोलाको भर
सर्वत्र तनावैतनाव, डरैडर
ग्राहकको खोजीमा भौतारिरहेकी यौवना जस्तो,
रूप रङ फेरिरहने घरि घरि
घुमिरहने सधैँ सुन, सुरा र सुन्दरीको वरिपरि
हेर्दा अमृत जस्तो लाग्ने मन्द जहर हो
काका यो शहर हो ।
यहाँ पल्लो घरबाट जन्ती र
वल्लो घरबाट मलामी एकसाथ निस्किन्छन्
सबै उतै रमाउँछन्, यता रोएको कसले सुन्छ
जन्तीको भिडले बजार ढाक्दा
मलामी चैँ औँलामा गन्नुपर्ने हुन्छ
त्यसैले आसुँ र हाँसोको फ्युजन हो शहर
थोरै बुझे बुझे जस्तो धेरै कन्फ्युजन हो शहर
पैसा र पहुँच भए सबै आफ्ना नत्र को हो, को हो ?
काका, यो शहर हो !
०००
हेटौंडा
‘मैले जिउन जानिनँ’ (२०७८)
Subscribe
Login
0 Comments
Oldest








































