
गुरु हुन् मृत्युका देव !
जीव हुँ दैवको नासो गुरुका दृष्टिमा छु म फक्रन्छु फूलझैं हेर ईशकै सृष्टिमा छु म // गुरु हुन् मृत्युका देव मार्दछन् क्लेश दम्भ यो फोर्दछन् तिमिरा घैंटा खोल्दछन् द्वार ज्ञानको//

कृष्णदेव रिमाल ‘शब्दसेना’ :
दृष्यादृष्य सबै हाम्रा गुरु हे गर्छु बन्दन
म यौटा शिष्य हुँ यस्तो नेपाल भूमिनन्दन //१//
अदृश्य खोजमा हामी भौंतारिन्छौं कहाँकहाँ
गुरुको पद पछ्याए पुगिन्छ ज्योति छन् जहाँ //२//
सत्यालम्बन मात्रैले शिष्यत्व भाव खुल्दछ
मिथ्यालम्बी भए शिष्य जानेकै ज्ञान भुल्दछ//३//
गुरुसत्ता कता भाग्यो? उम्लन्छन् शिष्य भक्भक
स्वयम् छन् अति नै जान्ने ओकल्छन् भ्रम बक्बक //४//
मूर्त या दृश्य या स्पर्श्य के हो यो चिन्नुपर्दछ
सत्यासत्य चिनी पैले भ्रमत्व छिन्नुपर्दछ //५//
दिव्यता धीरता प्रेम पात्रता वीरता यहाँ
कृपाले मात्र मिल्ने हुन् पाइन्छन् नत्र ती कहाँ?६//
गुरु हुन् सत्यका ऐना नम्र भै गूढ खैंचनू
स्वयंकै भ्रमले मान्छे बिग्रन्छन् अरु के भनुँ//७//
निजकै छातिमा हुन्छ उज्यालो सत्यको घर
गुरुका ज्ञानले मात्र खुट्टिन्छ्न् मार्ग त्यो तर//८//
ईशको प्रेम बर्षेर सत्गुरु मिल्न सक्दछन्
कर्मका फलले मात्र सत्पथ मिल्छ भन्दछन्//९//
म को हुँ चिन्नुपर्ने थ्यो पर्दाले छेकियो यहाँ
गुरुको प्रेमले पायौं नत्र त्यो मिल्दथ्यो कहाँ//१०//
बालसूर्य देखाएर आशाको दीप बाल्दछन्
गुरुले ज्ञान दर्शाई राग औ द्वेष गाल्दछन् // ११//
जीव हुँ दैवको नासो गुरुका दृष्टिमा छु म
फक्रन्छु फूलझैं हेर ईशकै सृष्टिमा छु म //१२//
गुरु हुन् मृत्युका देव मार्दछन् क्लेश दम्भ यो
फोर्दछन् तिमिरा घैंटा खोल्दछन् द्वार ज्ञानको//१३//
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest