हरिप्रसाद उप्रेतीसम्वृद्धि सर्दै
एकल सरकारमा सरे गठे सरकारमा सरे विघटनका बान्कीहरूमा सरे नेताका अदलबदलमा सरे पास्पोर्टमा र नागरिकतामा सरे भुटानी शरणार्थीका तस्करीमा सरे सुनका कालोबजारीमा सरे चियाबगानका प्लटहरूमा सरे ।

हरिप्रसाद उप्रेती :
पटक पटक सर्यो
पर्खदापर्खदै फेरि सर्यो
सरेको समय नआई पुन: सर्यो
नाफाखोर जहाजको उडानतालिका सरेजस्तै
सुधार र सम्वृद्धि का बाचाहरू सरिरहेछन् ।।
पञ्चायतबाट बहुदलमा सरे
लोकतन्त्रको कोरा कल्पनामा सरे
त्यसबाट फेरि गणतन्त्रका महान् परिवर्तनमा सरे
मनमोहक क्रान्तिकारितामा सरे।।
समाजवादमा सरे
जनवादमा र जनतन्त्रमा सरे
गणतन्त्र र लोकतन्त्रका मोहनी आदर्शमा सरे
सत्तामा पुग्दा जनता दङ्ग परे
शासनशैली हेर्दा त छक्क परे।।
गाउँमा सरे शहरमा सरे
ग्यासका पाइपमा सरे
भ्यू-टावरका टुप्पामा सरे
सर्दासर्दै एकैपटक बाढीमा परे ।।
श्रमस्वीकृतिका लामा पङ्क्तिमा सरे
खाडीमुलुकबाट आउने बाकसका लासहरूमा सरे
मुलुक भित्रै बसेकाहरू कोही उपचार नपाएर मरे
कोही बेरोजगार भएर अलपत्र परेर मरे ।।
एकल सरकारमा सरे
गठे सरकारमा सरे
विघटनका बान्कीहरूमा सरे
नेताका अदलबदलमा सरे
चुनावका तिथिमितिमा सरे।।
पास्पोर्टमा र नागरिकतामा सरे
भुटानी शरणार्थीका तस्करीमा सरे
सुनका कालोबजारीमा सरे
चियाबगानका प्लटहरूमा सरे।।
महाधिवेशनका दस्तावेजहरूमा सरे
छलफलका गरम बहशहरूमा सरे
आकर्षक चुनावी भाषणहरूमा सरे
सर्दासर्दै जनताहरू अलपत्र परे ।।
मिसनहरूमा सरे नाराहरूमा सरे
सर्दासर्दै मिसन चौरासी पुग्नु पहिल्यै
उठ्नै नसक्नेगरी
सम्वृद्धिका नायकहरू आफैँ थला परे ।।
०००
काठमाडाै
Subscribe
Login
0 Comments
Oldest







































