जीवनाथ अधिकारीकुर्सीमहिमा
हे कुर्सी ! महिमा तेरो साँच्चै कत्ति अपार छ जीवन सबको कुर्सी, नभए अन्धकार छ ॥ मरेका बिउँझी उठ्ने कुर्सीको नाम राम भो कुर्सीकै मोहले मान्छे, 'राम' बाट 'हराम' भो ॥

जीवनाथ अधिकारी :
कुर्सी नै जिन्दगी हाम्रो कुर्सी तारणहार हो
कुर्सी छैन भने साँच्चै जिन्दगी यो असार भो ॥१॥
कुर्सीमै जन्मियौं हामी कुर्सीकै लागि मर्नु छ
कुर्सीमा नबसी हुन्छ ? बसेरै केही गर्नु छ ॥२॥
कुर्सीको झै मिठो वास्ना अरू केबाट आउँछ
कुर्सी पाउनकै लागि बुढो संसद धाउँछ ॥३॥
कुर्सीका स्रोत हुन् केके खोज -सन्धान गर्दछु
कुर्सी स्थायित्वका लागि जैले जे पनि गर्दछु ॥४॥
कुर्सी काठ सही होस् वा मणिमाणिक्य मण्डित
कुर्सीको महिमा कैल्यै हुनै सक्तैन खण्डित ॥५॥
कुर्सी भण्डार हो शान कुर्सी धाक रवाफ हो
कुर्सी प्रश्न स्वयं आफैँ, कुर्सी आफै जवाफ हो ॥६॥
कुर्सी पाउन मान्छेले ठूला युद्ध रचे कति
कुर्सीकै मोहले लाखौँ, करोडौंको भयो क्षति ॥७॥
कुर्सीले भगवान्-देव दानवीवृत्तिमा झरे
कुर्सी छोड्नुपरे साँच्चै हीनताले मरे मरे ॥८॥
हे कुर्सी ! महिमा तेरो साँच्चै कत्ति अपार छ
जीवन सबको कुर्सी, नभए अन्धकार छ ॥९॥
मरेका बिउँझी उठ्ने कुर्सीको नाम राम भो
कुर्सीकै मोहले मान्छे, ‘राम’ बाट ‘हराम’ भो ॥१०॥
०००
भक्तपुर
अविदित यात्रा (२०७७)
Subscribe
Login
0 Comments
Oldest







































