
हाम्रो अड्डामा
कमिसन चाहिन्छ कि नजराना भेटी, दस्तुर या उपहार कोसेली, सौगात, कुम्लो, पोको सबै चढाउन तयार आफू बने देश बन्छ आफैंलाई बनाउनु छ ।

नवराज कार्की :
हाम्रो अड्डामा त हाकिम छन् तीनोटा
एउटा बूढा छन् मोटा
दाग लागेका खोटा
अफिसबाट घर ओसार्थे रे
टोयोटा होस् या लोटा
अर्काको आँखा लागेर अचेल
अलि पाखा लागेका छन्
त्यति जाँगर पनि छैन उनलाई
तीन पुस्तालाई पुग्ने गरी
पहिल्यै खाएका छन्
एउटा अर्का छन् छोटा
बरु उनी पो जागेका छन्
थैली चढाएर, नाता सोझ्याएर
त्यै ठाउँमा मागेका छन्
मुद्दा पनि हालेका छन्
तारेख धाउँदै छन् विचरा
दिनभरि सुत्छन् कुर्सीमै
सपना भए रे अधुरा
बरबराउँछन् नीदमै, तर
सपना हुँदैनन् पूरा
बहालवाला छन् अस्थायी हाकिम
कोठामै लगाउँछन् नारा
मानौं उनले बोकेका छन्
यो देश बनाउने अभिभारा
सालो होइन मन्त्रीको
म त जेठान हुँ
यस्तो योग्यता भएपछि
किन हाकिम न हुँ
कमिसन चाहिन्छ कि नजराना
भेटी, दस्तुर या उपहार
कोसेली, सौगात, कुम्लो, पोको
सबै चढाउन तयार
आफू बने देश बन्छ आफैंलाई बनाउनु छ
ल, हेर्नोस् । म बनें कि बनिनँ
विरोधीलाई देखाउनु छ
हाकिम सा’बको त यस्तो इच्छा छ
उहाँको नाममा कहिले आउला
अवकाशको पुर्जी
अरूलाई भने खालि त्यसैको प्रतीक्षा छ
खालि त्यसैको प्रतीक्षा छ ।
०००
एक दनक (२०५९)
Subscribe
Login
0 Comments
Oldest