नवराज कार्कीम्वाइँ
अलि बेग्लै छ हाम्रो यताको चलन त म्वाइँ पनि फुकुवा र लुकुवा पो छन् त सानी नानीको म्वाइँ जसले, जहाँ, जतिखेर खाए पनि हुन्छ ठूली नानीको म्वाइँलाई भने 'लगन' चाहिन्छ ।

नवराज कार्की :
एउटा प्रश्न सोधुँ भन्न सक्नुहुन्छ ?
अहं सक्नुहुन्न पक्कै ढाँट्नुहुन्छ
छ कोही साहसी भने कि आँट्नुहुन्छ
प्रश्न यस्तो छ-
तपाईंले चाहिँ बताउनुहोला जस्तो छ
“कोही हुनुहुन्छ, जिन्दगीमा कहिल्यै म्वाइँ नखाएको ?”
अहं, कोही छैन म्वाइँ नखाइकन आएको
चुरोट नखाएका होलान्, पत्याउँछु
जाँड नखाएका होलान्, पत्याउँछु
पान, सुपारी, खैनी, तमाखु
प्याज, गोलभेंडा या माछामासु
खा’छैन ‘भन्दा पनि पत्याउँछु
तर … त…..र. भन्नै पर्छ र ?
म्वाइँ खा’छैन या म्वाइँ ख्वा छैन
भन्छ भने कसैले म कहाँ पत्याउँछु ?
यो त हुँदै हुँदैन
सम्भव छँदै छैन
म्वाइँ नखाएकाे त मान्छे नै हुँदैन
रङ्ग छैन, गन्ध छैन, स्वाद छैन
खै कति खाइयो, त्यो पनि याद छैन
न निलिन्छ, न चपाइन्छ
भन्नोस् तपाईं नै म्वाइँ कसरी खाइन्छ ?
न खान नपाउँदैमा मरिन्छ
न त खाँदैमा पेट टम्मै भरिन्छ
जति खाए पनि न अघाइन्छ
धेरै खाएर न मोटाइन्छ
खानै नपाउँदा न दुब्लाइन्छ
म्वाइँ खानलाई न दाँत नै चाहिन्छ
बालवृद्ध सबैको लागि उपलव्ध छ म्वाइँ
हरेक ठाउँ अनि हर मौसममा पाइन्छ
पकाउने, उसिन्ने, तार्ने, पोल्ने
कुनै झञ्झट गर्ने पर्दैन
फाष्टफुडको पनि बाउ छ यो
आँखा झिमिक्क नपार्दै भ्याइन्छ
बत्ती नै नभए पनि भेट्टाइन्छ
अब अर्को प्रश्न छ, सुन्नोस्
पहिला अब तपाईं नै भन्नोस्
सबैले खाएको र सबैले खुवाएको म्वाइँ
‘शाकाहारी’ भोजन हो कि ‘मासाहारी’ हो त ?
ठ्याक्कै उत्तर मिलाउन सक्ने को छ ?
सोझै मासुसित सम्बन्धित छ
तर यो ‘मांसाहार’ त होइन
सोझै मासु त खाइदैन
तैपनि ‘शाकाहार’ त होइन
पहिले यै जुठो हुन्थ्यो
अहिले यै मीठो भा’छ
टी. भी. हेर्नोस् कि सिनेमा
थुतुनो जुधा’छ जुधा’छ ।
च्याप्पै समातेर खैरेले क्वाप्पै म्वाइँ खान्छन्
रिसाउनु त परै जावोस्
“थ्याङ्क यु, थ्याङ्क यु” पो भन्छन्
अलि बेग्लै छ हाम्रो यताको चलन त
म्वाइँ पनि फुकुवा र लुकुवा पो छन् त
सानी नानीको म्वाइँ
जसले, जहाँ, जतिखेर खाए पनि हुन्छ
ठूली नानीको म्वाइँलाई भने ‘लगन’ चाहिन्छ
सम्थी, सम्धिनी, सासु, ससुरा र बुहारीको म्वाइँ
जेठी सासू, जेठाजु र आमाजूको म्वाइँ
जति राम्रो भए पनि खान नहुने
ज्याइँको पनि म्वाइँ
यीबाहेक अरू सबै म्वाइँ
भाग्यमा भए खाए हुन्छ, सबले रमाई रमाई ।
०००
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































