हरिशंकर परसाईंकाँपिरहेको गणतन्त्र
तमाम अधिकारीहरूले मुख्य सचिवसित भन्नेछन् – ‘सर, समाजवाद अलि पछि आउन सक्दैन ? कुरो के छ भने अहिले हामी त्यसको सुरक्षा गर्न सक्दैनौँ । दसैँ आउँदै छ अनि दङ्गाको सङ्केत पाइएको छ । सिङ्गो बल दङ्गा नियन्त्रणमा लागेको छ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
मैले दिल्लीमा चार पटकसम्म गणतन्त्र दिवसको समारोह हेरिसकेको छु । पाँचौँ पटक हेर्ने साहस छैन । हरेक पटक जब म गणतन्त्र समारोह हेर्न जान्छु तब मौसम निकै क्रूर देखिन्छ । आखिर के कुरो छ यसमा ? छब्बिस जनवरीमा पहिले माथि हिमपात हुन्छ, शीतलहर आउँछ, बादल लाग्छ, छिटाछाटी पर्छ र सूर्य कतै लुक्छ । दिल्लीको आफ्नो अर्थनीति नभएझैँ मौसम पनि आफ्नो छैन । जसरी अर्थनीति डलर, पाउन्ड, रुपियाँ, अन्तर्राष्ट्रिय मुद्राकोष या भारतसहायता क्लबले निर्धारित गर्छन् त्यसै गरी मौसम कस्मिर, सिक्किम र राजस्थानबाट निर्णित हुन्छ ।
जुन वर्ष मैले गणतन्त्र दिवसको समारोह हेर्छु त्यसै वर्ष मौसम यस्तो हुन्छ भन्ने मानूँ भने पनि म त्यति मूर्ख पनि छैनँ । हरेक वर्ष हेर्नेहरू भन्ने गर्छन् हरेक गणतन्त्र दिवसमा मौसम यस्तै घाम नलागेको र काँपिरहेको हुन्छ ।
आखिक कुरो के हो र रहस्य के हो ?
जति वेला कांग्रेस फुटेको थिएन मैले एउटा कांग्रेसी मन्त्रीसित सोधेको थिएँ हरेक गणतन्त्र दिवसमा यसरी घामै नदेखिने कारण के हो र हामीले सूर्यको तापमुनि गणतन्त्र दिवस किन मनाउन पाउँदैनौँ भनेर । उनले भनेका थिए – ‘पख्नुस्, धैर्य गर्नुस् । हामी सूर्यलाई बाहिर ल्याउने प्रयासमा लागेका छौँ । तर यति ठूलो सूर्यलाई बाहिर निकाल्नु त्यति सहज छैन । यसमा समय लाग्छ । त्यसैले यसका लागि हामीलाई कम्तीमा सय वर्ष त दिनुस् !’
दियौँ । सूर्यलाई बाहिर ल्याउन सय वर्ष दियौँ तर हरेक वर्ष त्यसको कुनै सानो कुनो वा चुच्चो निस्केको देखिनु त पर्यो नि ! सूर्य अन्तरिक्षको कोखमा अड्केको कुनै शिशु त होइन जसलाई कुनै दिन तपाईंले अपरेसन गरेर बाहिर ल्याउनुहुन्छ !
यता जब कांग्रेसका दुई भाग भए तब मैले एउटा इन्डिकेटी कांग्रेसीसँग सोधेँ । उसले भन्यो – ‘हामीले हरेक पटक सूर्यलाई बादलहरूबाट बाहिर निकाल्ने कोसिस गथ्यौँ तर हरेक पटक सिन्डिकेटवालाहरूले अड्को थापिहाल्थे । अब भने अर्को गणतन्त्रसम्म सूर्यलाई बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
एउटा सिन्डिकेटीले नजिकै उभिएर सुनिरहेको थियो । उसले भन्यो – यी लेडी (प्रधानमन्त्री) कम्युनिस्टहरूको चक्करमा परेकी छन् । उनीहरूले नै उनलाई सूर्यलाई बाहिर निकाल भनेर उक्साइरहेका छन् । उनीहरूलाई बादलभित्रबाट उनीहरूको प्यारो रातो सूर्य बाहिर निस्किन्छ भन्ने विश्वास छ । हाम्रो भनाइ छ, ‘सूर्यलाई किन बाहिर निकाल्नुपर्यो ? बादललाई हटाइदिए भइहाल्यो नि !’
म संसोपाई दाजुलाई सोध्छु । उनी भन्छन् – ‘सूर्यले गैरकांग्रेसवादमाथि विचार गर्दै छ । उसले डाक्टर लोहियाको भनाइ मानेर हाम्रो पार्टीफर्म भरिदिएको थियो । उसले कांग्रेसी प्रधानमन्त्रीले सलामी लिएको कसरी हेर्न सक्छ र ? कुनै गैरकांग्रेसीलाई प्रधानमन्त्री बनाइदिनुस् त, सूर्य त के, उसका बडा पनि निस्किने छन् ।’
मैले जनसङ्घी भाइसित पनि सोधेँ । उसले स्पष्ट भन्यो – ‘सूर्य यदि सेक्युलर हुन्थ्यो भने यस सरकारको परेडमा निस्किन्थ्यो । यस सरकारबाट कुनै आशा गर्नु हुँदैन । यसले भगवान् अंशुमालीलाई निकाल्न सक्दै सक्दैन । सूर्य यदि निस्किन्छ भने हाम्रो शासनमा नै निस्किन्छ ।’
साम्यवादीले मसित स्पष्ट भनेको थियो – ‘यो सबै सी. आई. ए.को षड्यन्त्र हो । सातौँ डुँगाबाट बादललाई दिल्ली पठाइन्छ ।’
स्वतन्त्र पार्टीको नेताले भन्यो – ‘रुसको पिछलग्गु बनेपछि परिणाम अर्को के आउँथ्यो र ?
प्रसोपाको भाइले मन नलागी नलागी भन्यो – ‘प्रश्न जटिल छ । नेसनल काउन्सिलको आउँदो बैठकमा यसको निर्णय भएपछि भनुँला है !’
मैले राजाजीलाई भेट्न सकिनँ । भेटेको भए उनले पनि योभन्दा बढी त के भन्दा हुन् र –‘यस शासनमा तारा निस्केका छन् भने यही ठुलो कुरो हो ।’
सूर्य जहिले निस्किए पनि म प्रतीक्षा गर्नेछु ।
स्वतन्त्रता दिवस पनि त ठुलो पानी परिरहने वेलामा हुन्छ । अङ्ग्रेज निकै चलाख छन् । मध्य वर्षामा स्वतन्त्र गरेर गए । प्रेमिकाको छाता पनि लिएर जाने कपटी प्रेमीझैँ भागे । उनी जब बसस्ट्यान्डमा उभिएर भिजिरहेकी हुन्छिन्, उनलाई प्रेमीको नभएर छाताचोरको सम्झना आइरहन्छ ।
स्वतन्त्रता दिवस भिजिरहन्छ र गणतन्त्र दिवस काँपिरहन्छ ।
म ओभरकोटमा हात घुसारेर परेड हेर्छु । प्रधानमन्त्री कुनै विदेशी पाहुनाका साथमा खुला गाडीमा निस्किन्छिन् । रेडियो टिप्पणीकारले भन्छ, ‘घोर करतलध्वनि भइरहेको छ ।’ मैले भने कतै पनि भएको देख्दिनँ । हामी सबै त कोटमा हात घुसारेर बसेका छौँ । बाहिर झिक्ने जाँगर नै चल्दैन । हात कठ्याङ्ग्रिन्छन् ।
तर हामीले नबजाए पनि ताली बजेकै छन् । चउरमा चिसो भुइँमा बसेकाहरूले बजाएका छन् किनभने उनीहरूसित कोट छैन नि हात सेक्नका लागि ! यस्तो लाग्छ मानौँ गणतन्त्र त कठ्याङ्ग्रिएका हातको तालीमा टिकेको छ । गणतन्त्रले तिनै हातको मात्र ताली पाउँछ जसको मालिकसँग लुकाउनका लागि न्यानो लुगा हुँदैन ।
तर केही मानिसहरू भन्छन् – ‘गरिबी हट्नुपर्छ ।’ त्यसै वेला अर्का थरी भन्छन् – ‘यस्तो भन्नेहरू प्रजातन्त्रका लागि खतरा निम्त्याउँदै छन् ।’
गणतन्त्र समारोहमा हरेक राज्यको झँाँकी निकालिन्छ । तर यिनले आफ्नो राज्यको प्रतिनिधित्व गर्दैनन् । ‘सत्यमेव जयते’ हाम्रो मूलमन्त्र हो र यी झाँकीहरू झुट बोल्छन् । यिनमा विकासकार्य, जनजीवन र इतिहासआदि हुन्छन् । वास्तवमा हरेक राज्यले त्यहाँको त्यही विशिष्ट कुरालाई यहाँ प्रस्तुत गर्नुपर्ने हो जसका कारणले गएको वर्ष त्यो राज्य परिचित भएको थियो । गुजरातको झाँकीमा यस वर्ष जलिरहेको घर र आगामा हुत्याइँदै गरेका साना नानीहरूसितको दङ्गाको दृश्य हुनुपर्थ्यो । गएको वर्ष मैले आन्ध्रको झाँकीमा जलाइँदै गरेका हरिजनहरूको दृश्य होला भन्ने आशा गरेको थिएँ । तर त्यस्तो देखिएन । कुनै राज्यले अन्तर्राष्ट्रिय ख्याति त कमाउँछ दङ्गाका कारणले र झाँकी देखाइन्छ लघु उद्योगको भने योभन्दा ठुलो झुट के हुन सक्छ ?
यो देशमा दङ्गाभन्दा राम्रो गृहउद्योग अर्को छँदै छैन । मेरो मध्य प्रदेशले दुई वर्षपहिले सत्यको नजिकै पुग्ने कोसिस त गरेको थियो । झाँकीमा अकाल राहतकार्य देखाइएको थियो तर सत्य अधुरै थियो । मध्यप्रदेश त्यस वर्ष राहत कार्यका कारण नभएर राहत कार्यमा घोटालाका कारण प्रसिद्ध भएको थियो । मेरो सुझाव मानिन्थ्यो भने मैले झाँकीमा झुट्टा मस्टररोल भरिरहेको देखाउँथेँ, चोरी गर्नेहरूले हजारौँ मूर्ख गरिबहरूको नक्कली औँठाछाप लगाएको देखाउँथेँ अनि नेता, अधिकारी र ठेकेदारका बिचमा हुने लेनदेनको दृश्य देखाउँथेँ । त्यस झाँकीमा यी कुरा आएनन् । गएको वर्ष स्कुलहरूको ‘टाटपट्टी काण्ड’ का कारण पनि हाम्रो राज्य प्रसिद्ध भयो । मैले गतवर्षको झाँकीमा मन्त्री, अधिकारी आदिले टाट र पट्टी खाइरहेको दृश्य देखाउँथेँ ।
जुन हाल झाँकीहरूको छ त्यही छ घोषणाहरूको पनि । प्रतिवर्ष समाजवाद आइरहेको घोषणा गरिन्छ तर अहिलेसम्म आएको छैन । कहाँ अड्क्यो ? लगभग सबै दलहरूले समाजवाद ल्याउने दावा गर्छन् तर त्यो आउँदैन ।
म समाजवाद आएको र बस्तीबाहिर थुम्कामा उभिएको एउटा सपना देख्छु आरती सजाएर त्यसको स्वागत गर्न तयार भएर उभिएका छन् भने कैयौँ प्रकारका समाजवादीहरू फेरि त्यसै थुम्कालाई घेरेर उभिएका छन् । तिनीमध्ये हरेकले जनतासँग म समाजवादको हात समातेर ल्याउँछु भनेर आएको हुन्छ ।
समाजवाद थुम्काबाट कराउँछ – ‘मलाई बस्तीमा लिएर जाऊ ।’
तर थुम्कालाई घेर्ने समाजवादीहरू भन्छन् – ‘तेरो हात समातेर कसले लैजाने भन्न्ो कुराको छिनोफानो पहिले हुनुपर्छ ।’
यसरी समाजवादको घेराबन्दी गरिएको छ । संसोपा – प्रसोपाका मानिसहरू जनतान्त्रिक समाजवादी हुन्, पिपुल्स डेमोक्रेसी अनि नेसनल डेमोक्रेसीवालाहरू साम्यवादी हुन्, दुवै प्रकारका कांग्रेसी छन् र सोसलिस्ट युनिटी सेन्टरवाला पनि छन् । क्रान्तिकारी समाजवादी छन् । हरेक समाजवादी चाहन्छ उसैले समाजवादको हात समातेर उसलाई बस्तीमा लगोस् र मानिसहरूसित ‘लौ, मैले ल्याएँ समाजवाद ।’ भनेर भन्न चाहन्छ ।
समाजवाद दिक्क परेको छ । उता जनता पनि दिक्क छन् । समाजवाद त आउन तयार भएर उभिएको छ तर समाजवादीहरूमा आपसी तँछाड्मछाड् छ । जब समाजवाद एकातिरबाट ओर्लिन खोज्छ अनि अर्कोतिरबाट पत्थरबाजी सुरु हुन्छ, ‘उताबाट गइस् भने खबरदार !’ एउटा समाजवादीले उसको एउटा हात समाउँछ अनि अर्काले अर्को हात समाएर तान्न थाल्छ । अनि बाँकी समाजवादीहरूले खोसाखोस गरेर दुवै हात छुटाइदिन्छन् । अनि रगतपच्छे भएको समाजवाद त्यसै थुम्कामा उभिइरहेको छ ।
यस देशमा जो जुन कुराका लागि प्रतिबद्ध छ त्यसले त्यही कुरो नष्ट गर्दै छ । लेखकीय स्वतन्त्रताका लागि प्रतिबद्ध व्यक्तिहरूले नै लेखकीय स्वतन्त्रता खोसिरहेका छन् । सहकारिताका लागि प्रतिबद्ध यस आन्दोलनका मानिसहरूले नै सहकारितालाई नष्ट गरिरहेका छन् । सहकारिता त एउटा स्पिरिट हो । सबै मिलेर सहकारितापूर्वक खान थाल्छन् अनि आन्दोलनलाई नष्ट गरिदिन्छन् । समाजवादलाई समाजवादीहरूले नै रोकेका छन् ।
त्यसो त प्रधानमन्त्रीले अब समाजवाद आउँदै छ भनेर घोषणा गरिदिएकी छन् ।
म एउटा कल्पना गर्दै छु ।
दिल्लीमा हुकुमप्रमाङ्गी जारी गरिएको छ – ‘समाजवाद राष्ट्रभ्रमणका लागि निस्किसकेको छ । त्यसलाई सबै ठाउँमा पुर्याइयोस् । त्यसको स्वागत तथा सुरक्षाको पुरा बन्दोबस्त गरियोस् ।
एउटा सचिवले अर्को सचिवलाई भनोस् – ‘लौ, एक जना अर्का भी.आई.पी. आउँदै हुनुहुन्छ । अब यहाँको व्यवस्था गर्नुहोस् । भ्याइनभ्याइ छ ।
कलेक्टरहरूका लागि आदेश जानेछ । कलेक्टरले एस.डी.ओ.लाई लेख्नेछ अनि एस.डी.ओ.ले तहसिलदारलाई लेख्नेछ ।
प्रहरी निकायमा समाजवादको सुरक्षाको तयारी गर्नू भनेर आदेश पुग्नेछ ।
कार्यालयहरूमा सुब्बाले खरिदारलाई भन्नेछन् – ‘के गर्दै हुनुहुन्छ तिवारीजी, कुनै एउटा पत्र आएको थियो नि समाजवादवाला ! हो, त्यो झिक्नुस् त !’
तिवारीजीले कागज झिकेर दिनेछन् । सुब्बा साहेबले फेरि भन्नेछन्, ‘अरे, त्यो समाजवाद त अस्ति नै निस्किसक्यो । कोही पनि स्टेसनमा लिन गएन । तिवारीजी तपाईंको एउटा बानी साह्रै नराम्रो छ । तपाईंले कागज दबाएर राख्नुहुन्छ ।’
तमाम अधिकारीहरूले मुख्य सचिवसित भन्नेछन् – ‘सर, समाजवाद अलि पछि आउन सक्दैन ? कुरो के छ भने अहिले हामी त्यसको सुरक्षा गर्न सक्दैनौँ । दसैँ आउँदै छ अनि दङ्गाको सङ्केत पाइएको छ । सिङ्गो बल दङ्गा नियन्त्रणमा लागेको छ ।
मुख्य सचिवले दिल्लीलाई लेख्नेछ – ‘हामी समाजवादको सुरक्षाको व्यवस्था गर्न असमर्थ छौँ । त्यसैले हाललाई उसको आगमन स्थगित गरियोस् ।’
जुन शासनव्यवस्थामा समाजवादको आगमनको कागज नै दबाइन्छ अनि जसले सुरक्षा नै गर्न सक्दैनन् भने तिनकै भरमा समाजवाद ल्याउँछौ भने ल्याओ न त ! मलाई खासै विरोध पनि छैन । यदि समाजवाद जनताबाट नआएर कार्यालयहरूबाट आउँछ भने यो एउटा ऐतिहासिक घटना हुनेछ ।
०००
यो निबन्ध हरिशंकर परसाईको परसाई रचनावली ३ अन्तर्गत ‘ठिठुरता हुआ गणतन्त्र’बाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest






































