साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँपिरहेको गणतन्त्र

तमाम अधिकारीहरूले मुख्य सचिवसित भन्नेछन् –  ‘सर, समाजवाद अलि पछि आउन सक्दैन ? कुरो के छ भने अहिले हामी त्यसको सुरक्षा गर्न सक्दैनौँ । दसैँ आउँदै छ अनि दङ्गाको सङ्केत पाइएको छ । सिङ्गो बल दङ्गा नियन्त्रणमा लागेको छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मैले दिल्लीमा चार पटकसम्म गणतन्त्र दिवसको समारोह हेरिसकेको छु । पाँचौँ पटक हेर्ने साहस छैन । हरेक पटक जब म गणतन्त्र समारोह हेर्न जान्छु तब मौसम निकै क्रूर देखिन्छ । आखिर के कुरो छ यसमा ? छब्बिस जनवरीमा पहिले माथि हिमपात हुन्छ, शीतलहर आउँछ, बादल लाग्छ, छिटाछाटी पर्छ र सूर्य कतै लुक्छ । दिल्लीको आफ्नो अर्थनीति नभएझैँ मौसम पनि आफ्नो छैन । जसरी अर्थनीति डलर, पाउन्ड, रुपियाँ, अन्तर्राष्ट्रिय मुद्राकोष या भारतसहायता क्लबले निर्धारित गर्छन् त्यसै गरी मौसम कस्मिर, सिक्किम र राजस्थानबाट निर्णित हुन्छ ।

जुन वर्ष मैले गणतन्त्र दिवसको समारोह हेर्छु त्यसै वर्ष मौसम यस्तो हुन्छ भन्ने मानूँ भने पनि म त्यति मूर्ख पनि छैनँ । हरेक वर्ष हेर्नेहरू भन्ने गर्छन् हरेक गणतन्त्र दिवसमा मौसम यस्तै घाम नलागेको र काँपिरहेको हुन्छ ।
आखिक कुरो के हो र रहस्य के हो ?

जति वेला कांग्रेस फुटेको थिएन मैले एउटा कांग्रेसी मन्त्रीसित सोधेको थिएँ हरेक गणतन्त्र दिवसमा यसरी घामै नदेखिने कारण के हो र हामीले सूर्यको तापमुनि गणतन्त्र दिवस किन मनाउन पाउँदैनौँ भनेर । उनले भनेका थिए – ‘पख्नुस्, धैर्य गर्नुस् । हामी सूर्यलाई बाहिर ल्याउने प्रयासमा लागेका छौँ । तर यति ठूलो सूर्यलाई बाहिर निकाल्नु त्यति सहज छैन । यसमा समय लाग्छ । त्यसैले यसका लागि हामीलाई कम्तीमा सय वर्ष त दिनुस् !’

दियौँ । सूर्यलाई बाहिर ल्याउन सय वर्ष दियौँ तर हरेक वर्ष त्यसको कुनै सानो कुनो वा चुच्चो निस्केको देखिनु त पर्‍यो नि ! सूर्य अन्तरिक्षको कोखमा अड्केको कुनै शिशु त होइन जसलाई कुनै दिन तपाईंले अपरेसन गरेर बाहिर ल्याउनुहुन्छ !

यता जब कांग्रेसका दुई भाग भए तब मैले एउटा इन्डिकेटी कांग्रेसीसँग सोधेँ । उसले भन्यो – ‘हामीले हरेक पटक सूर्यलाई बादलहरूबाट बाहिर निकाल्ने कोसिस गथ्यौँ तर हरेक पटक सिन्डिकेटवालाहरूले अड्को थापिहाल्थे । अब भने अर्को गणतन्त्रसम्म सूर्यलाई बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

एउटा सिन्डिकेटीले नजिकै उभिएर सुनिरहेको थियो । उसले भन्यो – यी लेडी (प्रधानमन्त्री) कम्युनिस्टहरूको चक्करमा परेकी छन् । उनीहरूले नै उनलाई सूर्यलाई बाहिर निकाल भनेर उक्साइरहेका छन् । उनीहरूलाई बादलभित्रबाट उनीहरूको प्यारो रातो सूर्य बाहिर निस्किन्छ भन्ने विश्वास छ । हाम्रो भनाइ छ, ‘सूर्यलाई किन बाहिर निकाल्नुपर्‍यो ? बादललाई हटाइदिए भइहाल्यो नि !’

म संसोपाई दाजुलाई सोध्छु । उनी भन्छन् – ‘सूर्यले गैरकांग्रेसवादमाथि विचार गर्दै छ । उसले डाक्टर लोहियाको भनाइ मानेर हाम्रो पार्टीफर्म भरिदिएको थियो । उसले कांग्रेसी प्रधानमन्त्रीले सलामी लिएको कसरी हेर्न सक्छ र ? कुनै गैरकांग्रेसीलाई प्रधानमन्त्री बनाइदिनुस् त, सूर्य त के, उसका बडा पनि निस्किने छन् ।’
मैले जनसङ्घी भाइसित पनि सोधेँ । उसले स्पष्ट भन्यो – ‘सूर्य यदि सेक्युलर हुन्थ्यो भने यस सरकारको परेडमा निस्किन्थ्यो । यस सरकारबाट कुनै आशा गर्नु हुँदैन । यसले भगवान् अंशुमालीलाई निकाल्न सक्दै सक्दैन । सूर्य यदि निस्किन्छ भने हाम्रो शासनमा नै निस्किन्छ ।’

साम्यवादीले मसित स्पष्ट भनेको थियो – ‘यो सबै सी. आई. ए.को षड्यन्त्र हो । सातौँ डुँगाबाट बादललाई दिल्ली पठाइन्छ ।’

स्वतन्त्र पार्टीको नेताले भन्यो – ‘रुसको पिछलग्गु बनेपछि परिणाम अर्को के आउँथ्यो र ?

प्रसोपाको भाइले मन नलागी नलागी भन्यो – ‘प्रश्न जटिल छ । नेसनल काउन्सिलको आउँदो बैठकमा यसको निर्णय भएपछि भनुँला है !’

मैले राजाजीलाई भेट्न सकिनँ । भेटेको भए उनले पनि योभन्दा बढी त के भन्दा हुन् र –‘यस शासनमा तारा निस्केका छन् भने यही ठुलो कुरो हो ।’

सूर्य जहिले निस्किए पनि म प्रतीक्षा गर्नेछु ।
स्वतन्त्रता दिवस पनि त ठुलो पानी परिरहने वेलामा हुन्छ । अङ्ग्रेज निकै चलाख छन् । मध्य वर्षामा स्वतन्त्र गरेर गए । प्रेमिकाको छाता पनि लिएर जाने कपटी प्रेमीझैँ भागे । उनी जब बसस्ट्यान्डमा उभिएर भिजिरहेकी हुन्छिन्, उनलाई प्रेमीको नभएर छाताचोरको सम्झना आइरहन्छ ।

स्वतन्त्रता दिवस भिजिरहन्छ र गणतन्त्र दिवस काँपिरहन्छ ।
म ओभरकोटमा हात घुसारेर परेड हेर्छु । प्रधानमन्त्री कुनै विदेशी पाहुनाका साथमा खुला गाडीमा निस्किन्छिन् । रेडियो टिप्पणीकारले भन्छ, ‘घोर करतलध्वनि भइरहेको छ ।’ मैले भने कतै पनि भएको देख्दिनँ । हामी सबै त कोटमा हात घुसारेर बसेका छौँ । बाहिर झिक्ने जाँगर नै चल्दैन । हात कठ्याङ्ग्रिन्छन् ।

तर हामीले नबजाए पनि ताली बजेकै छन् । चउरमा चिसो भुइँमा बसेकाहरूले बजाएका छन् किनभने उनीहरूसित कोट छैन नि हात सेक्नका लागि ! यस्तो लाग्छ मानौँ गणतन्त्र त कठ्याङ्ग्रिएका हातको तालीमा टिकेको छ । गणतन्त्रले तिनै हातको मात्र ताली पाउँछ जसको मालिकसँग लुकाउनका लागि न्यानो लुगा हुँदैन ।

तर केही मानिसहरू भन्छन् – ‘गरिबी हट्नुपर्छ ।’ त्यसै वेला अर्का थरी भन्छन् – ‘यस्तो भन्नेहरू प्रजातन्त्रका लागि खतरा निम्त्याउँदै छन् ।’

गणतन्त्र समारोहमा हरेक राज्यको झँाँकी निकालिन्छ । तर यिनले आफ्नो राज्यको प्रतिनिधित्व गर्दैनन् । ‘सत्यमेव जयते’ हाम्रो मूलमन्त्र हो र यी झाँकीहरू झुट बोल्छन् । यिनमा विकासकार्य, जनजीवन र इतिहासआदि हुन्छन् । वास्तवमा हरेक राज्यले त्यहाँको त्यही विशिष्ट कुरालाई यहाँ प्रस्तुत गर्नुपर्ने हो जसका कारणले गएको वर्ष त्यो राज्य परिचित भएको थियो । गुजरातको झाँकीमा यस वर्ष जलिरहेको घर र आगामा हुत्याइँदै गरेका साना नानीहरूसितको दङ्गाको दृश्य हुनुपर्थ्यो । गएको वर्ष मैले आन्ध्रको झाँकीमा जलाइँदै गरेका हरिजनहरूको दृश्य होला भन्ने आशा गरेको थिएँ । तर त्यस्तो देखिएन । कुनै राज्यले अन्तर्राष्ट्रिय ख्याति त कमाउँछ दङ्गाका कारणले र झाँकी देखाइन्छ लघु उद्योगको भने योभन्दा ठुलो झुट के हुन सक्छ ?

यो देशमा दङ्गाभन्दा राम्रो गृहउद्योग अर्को छँदै छैन । मेरो मध्य प्रदेशले दुई वर्षपहिले सत्यको नजिकै पुग्ने कोसिस त गरेको थियो । झाँकीमा अकाल राहतकार्य देखाइएको थियो तर सत्य अधुरै थियो । मध्यप्रदेश त्यस वर्ष राहत कार्यका कारण नभएर राहत कार्यमा घोटालाका कारण प्रसिद्ध भएको थियो । मेरो सुझाव मानिन्थ्यो भने मैले झाँकीमा झुट्टा मस्टररोल भरिरहेको देखाउँथेँ, चोरी गर्नेहरूले हजारौँ मूर्ख गरिबहरूको नक्कली औँठाछाप लगाएको देखाउँथेँ अनि नेता, अधिकारी र ठेकेदारका बिचमा हुने लेनदेनको दृश्य देखाउँथेँ । त्यस झाँकीमा यी कुरा आएनन् । गएको वर्ष स्कुलहरूको ‘टाटपट्टी काण्ड’ का कारण पनि हाम्रो राज्य प्रसिद्ध भयो । मैले गतवर्षको झाँकीमा मन्त्री, अधिकारी आदिले टाट र पट्टी खाइरहेको दृश्य देखाउँथेँ ।

जुन हाल झाँकीहरूको छ त्यही छ घोषणाहरूको पनि । प्रतिवर्ष समाजवाद आइरहेको घोषणा गरिन्छ तर अहिलेसम्म आएको छैन । कहाँ अड्क्यो ? लगभग सबै दलहरूले समाजवाद ल्याउने दावा गर्छन् तर त्यो आउँदैन ।

म समाजवाद आएको र बस्तीबाहिर थुम्कामा उभिएको एउटा सपना देख्छु आरती सजाएर त्यसको स्वागत गर्न तयार भएर उभिएका छन् भने कैयौँ प्रकारका समाजवादीहरू फेरि त्यसै थुम्कालाई घेरेर उभिएका छन् । तिनीमध्ये हरेकले जनतासँग म समाजवादको हात समातेर ल्याउँछु भनेर आएको हुन्छ ।

समाजवाद थुम्काबाट कराउँछ – ‘मलाई बस्तीमा लिएर जाऊ ।’
तर थुम्कालाई घेर्ने समाजवादीहरू भन्छन् – ‘तेरो हात समातेर कसले लैजाने भन्न्ो कुराको छिनोफानो पहिले हुनुपर्छ ।’

यसरी समाजवादको घेराबन्दी गरिएको छ । संसोपा – प्रसोपाका मानिसहरू जनतान्त्रिक समाजवादी हुन्, पिपुल्स डेमोक्रेसी अनि नेसनल डेमोक्रेसीवालाहरू साम्यवादी हुन्, दुवै प्रकारका कांग्रेसी छन् र सोसलिस्ट युनिटी सेन्टरवाला पनि छन् । क्रान्तिकारी समाजवादी छन् । हरेक समाजवादी चाहन्छ उसैले समाजवादको हात समातेर उसलाई बस्तीमा लगोस् र मानिसहरूसित ‘लौ, मैले ल्याएँ समाजवाद ।’ भनेर भन्न चाहन्छ ।

समाजवाद दिक्क परेको छ । उता जनता पनि दिक्क छन् । समाजवाद त आउन तयार भएर उभिएको छ तर समाजवादीहरूमा आपसी तँछाड्मछाड् छ । जब समाजवाद एकातिरबाट ओर्लिन खोज्छ अनि अर्कोतिरबाट पत्थरबाजी सुरु हुन्छ, ‘उताबाट गइस् भने खबरदार !’ एउटा समाजवादीले उसको एउटा हात समाउँछ अनि अर्काले अर्को हात समाएर तान्न थाल्छ । अनि बाँकी समाजवादीहरूले खोसाखोस गरेर दुवै हात छुटाइदिन्छन् । अनि रगतपच्छे भएको समाजवाद त्यसै थुम्कामा उभिइरहेको छ ।

यस देशमा जो जुन कुराका लागि प्रतिबद्ध छ त्यसले त्यही कुरो नष्ट गर्दै छ । लेखकीय स्वतन्त्रताका लागि प्रतिबद्ध व्यक्तिहरूले नै लेखकीय स्वतन्त्रता खोसिरहेका छन् । सहकारिताका लागि प्रतिबद्ध यस आन्दोलनका मानिसहरूले नै सहकारितालाई नष्ट गरिरहेका छन् । सहकारिता त एउटा स्पिरिट हो । सबै मिलेर सहकारितापूर्वक खान थाल्छन् अनि आन्दोलनलाई नष्ट गरिदिन्छन् । समाजवादलाई समाजवादीहरूले नै रोकेका छन् ।
त्यसो त प्रधानमन्त्रीले अब समाजवाद आउँदै छ भनेर घोषणा गरिदिएकी छन् ।

म एउटा कल्पना गर्दै छु ।
दिल्लीमा हुकुमप्रमाङ्गी जारी गरिएको छ – ‘समाजवाद राष्ट्रभ्रमणका लागि निस्किसकेको छ । त्यसलाई सबै ठाउँमा पुर्‍याइयोस् । त्यसको स्वागत तथा सुरक्षाको पुरा बन्दोबस्त गरियोस् ।

एउटा सचिवले अर्को सचिवलाई भनोस् – ‘लौ, एक जना अर्का भी.आई.पी. आउँदै हुनुहुन्छ । अब यहाँको व्यवस्था गर्नुहोस् । भ्याइनभ्याइ छ ।

कलेक्टरहरूका लागि आदेश जानेछ । कलेक्टरले एस.डी.ओ.लाई लेख्नेछ अनि एस.डी.ओ.ले तहसिलदारलाई लेख्नेछ ।
प्रहरी निकायमा समाजवादको सुरक्षाको तयारी गर्नू भनेर आदेश पुग्नेछ ।

कार्यालयहरूमा सुब्बाले खरिदारलाई भन्नेछन् – ‘के गर्दै हुनुहुन्छ तिवारीजी, कुनै एउटा पत्र आएको थियो नि समाजवादवाला ! हो, त्यो झिक्नुस् त !’

तिवारीजीले कागज झिकेर दिनेछन् । सुब्बा साहेबले फेरि भन्नेछन्, ‘अरे, त्यो समाजवाद त अस्ति नै निस्किसक्यो । कोही पनि स्टेसनमा लिन गएन । तिवारीजी तपाईंको एउटा बानी साह्रै नराम्रो छ । तपाईंले कागज दबाएर राख्नुहुन्छ ।’

तमाम अधिकारीहरूले मुख्य सचिवसित भन्नेछन् –  ‘सर, समाजवाद अलि पछि आउन सक्दैन ? कुरो के छ भने अहिले हामी त्यसको सुरक्षा गर्न सक्दैनौँ । दसैँ आउँदै छ अनि दङ्गाको सङ्केत पाइएको छ । सिङ्गो बल दङ्गा नियन्त्रणमा लागेको छ ।

मुख्य सचिवले दिल्लीलाई लेख्नेछ – ‘हामी समाजवादको सुरक्षाको व्यवस्था गर्न असमर्थ छौँ । त्यसैले हाललाई उसको आगमन स्थगित गरियोस् ।’

जुन शासनव्यवस्थामा समाजवादको आगमनको कागज नै दबाइन्छ अनि जसले सुरक्षा नै गर्न सक्दैनन् भने तिनकै भरमा समाजवाद ल्याउँछौ भने ल्याओ न त ! मलाई खासै विरोध पनि छैन । यदि समाजवाद जनताबाट नआएर कार्यालयहरूबाट आउँछ भने यो एउटा ऐतिहासिक घटना हुनेछ ।

०००
यो निबन्ध हरिशंकर परसाईको परसाई रचनावली ३ अन्तर्गत ‘ठिठुरता हुआ गणतन्त्र’बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x