साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै कुन्नि !

म विदेशी निर्देश मानेर हिँड्ने इमानदार कर्मचारी हुँ । हाे, मेरा सहकर्मीले विपक्षी पेल्ने, असहमत हुनेलाई गौडाे ढुकेर ठाउँका ठाउँ ठेउक्याएर मलाई सजिलो बनाउने हाे।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

खै अचेल म मै भाछु। अरूको कुरा सुन्नै मन छैन । मलाई आफै जाेतिने रहरै पुग्दैन ! दुवै हातले कपाकप खानुछ । हँ ! यति धेरै अहम् नगरूँ कि अलिकति साथीभाइका कुरा सुनुम् सुनुम हुन्छ फेरि आफैंले गरेको कामले मस्तिष्क हुँडल्छ । अरूबाट सिन्काे भाँचिएकै देख्दैनन् मेरा आँखा अनि त काम गर्ने कालू मकै खाने भालु भन्ने पूर्वज भनाइ अगाडि आउँछ बबुरा साथीभाइ जाऊन् भाडमा जस्तो आत्मीय दृश्य। मन न हाे ! अघाउँदैन । ए ! अघा न भन्छु हवस् त भन्छ बाहिर निस्कना साथ नसा उत्रन्छ ! विलासकाे पाेखरी खाेजिहाल्छ !

नसामा बाेल्ने हाे नसामा बाेलेकाे पुग्छ भन्ने छैन । जनतासँग हुन्न नभन्ने प्रतिपक्षीसँग हुन्छ नभन्ने मेरो साख्खै नीति छ । कार्यकर्ता केही रस पानका कुरा गर्छन् कि भन्ठान्छु तर देश विचल्लिमा छ, जनजीवन महङ्गीले पिटिएको छ भनेर अर्ती उपदेशमा उत्रन्छन् ! कन्सिरी तातेर आउँछ भन्या । कहिलेकाहीँ उदेक लाग्छ अर्ती-उपदेशका लागि त प्रतिपक्ष छँदैछ नि यति पनि थाहा नपाउने मेरा कार्यकर्ता कसरी भए ? खै कसरी भए ? अनुसन्धानमा खै कसलाई खटाउनु? मलाई मलाई भन्नेकाे भिडले उछारबाटाे दिन्न । काम कसैले गर्दैन । कतै यिनलाई मेरै प्रभावले त असर गरेको छैन ? मैले काम गर्न सिकाएको भए….!

कति सङ्घर्ष गरियो कस्ताकस्ता चुनौती खेपियाे खै लेखाजोखा ? मेरा भनिने विद्वान्ले मूल्यांकन गरेर प्रचारप्रसार सहित सम्मानकाे व्यवस्था गर्नुपर्दैन ? खाली भाषा संस्कृतिकाे उत्थानमा खटेर जीवन समर्पण गरेका स्रष्टा दुखी भए उपचार पाएनन् भनेर जनिहतका कुरा बाेकेर हुन्छ ? मकहाँ आउन त मेरा कुरामा काेसेली मिसाएर आउनुपर्छ नि ! तँ जेलनेल भाेगेकाे दुख पामान्छे भनेर सहानुभूति प्रकट गर्ने सज्जन त दिउँसै लालटिन बालेर खाेजे नभेटिने भाे ? यहाँ आफूलाई विदेशीकाे निर्देशनले हलचल गर्न दिन्न । उस्तै प्रतिपक्षीकाे देश विकासको याेजना, गरिब जनताका लागि राेजगारी जस्ता मागकाे लामो फेयरिस्ता आउँछ, कतै फकाएर, कतै धम्क्याएर, केही भाग दिएर मिलाउने बाध्यता छ । नजिकका कार्यकर्ताकाे विलासी जीवन चलाइदिनुपर्ने छ । यी कति जिम्मेवारी छन् मेरो काँधमा ? खै बुद्धिजीवीले कुरा बुझेको ? एकाेहाेराे नीति नियम, ऐनकानुनका कुरा गरेर राजनीति चल्छ ? राजनीति गर्ने मजस्ताे बयाेवृद्ध नेतालाई विधि सिकाउने ? अलिकति लाज छैन तपाईं बुद्धिजीवीसँग ! नभा पैंचाे मागेर आउनुस् तर लिएर आउनुस् ।

तपाईंलाई थाहा हुनुपर्ने युवाहरूलाई विदेश पठाउनुछ, भाग लिनुछ, आउँदो चुनाव जित्नुछ, लामाे समय जेल बसेर अर्जेकाे पदप्रतिष्ठा विलासी जीवन शैलीकाे जतन गर्नुछ ! याे खेल खेल्दै छल्दै धम्क्याउँदै प्राप्त पद हाे, चानचुने तिकडम हाेइन । मेरो याेजना आफू सुरक्षित रहने छ,आफू सुरक्षित रहेर संवैधानिक निकाय बसमा राख्नुछ । आफूअनुकूल नहुनेलाई घाेक्रेठ्याक लाउनुछ । साथ दिनेलाई जाेगाउनुछ , नदिनेलाई तहलाउनुछ, देश बनाउने, जनतालाई राहत दिने कुरामा अलमलिएर आफ्नो शुभलाभकाे अवसर गुमाउने मूर्ख म हाेइन । म त चतुर खेलाडी आफ्नो र आफ्नाकाे हित विपरीत जाने कुरा हुँदैन । पदमा छु भन्दैमा देशबासी सबैको हितका पछि लाग्ने ? यसरी नीति र याेजनाकाे पछि लागेर आफै दुख पाउने कुरा आउँदैन ।

हाे, नीति अबलम्बन गरिन्छ त्याे आफू अनुकूल , आफ्नै दुनाे साेझिने हुन्छ । आफू च्यात्तिएर देश टाल्ने, जीवन संहाल्ने गल्ती गरियो भने इतिहास उज्यालो हुन बेर लाग्दैन । मलाई थाहा छ इतिहास उजिल्याए आफै भत्किन्छ । कतै पद खुस्क्याे भने याे ऐसआराम खाेसिन्छ । याे निजी जीवन रक्षामा जुट्ने अभ्यासमै रमाउने हुँ म बाँकी सबै भाषण हाे ।

भाषण भनेको गरुन्जेल हाे पछि बिर्सनका लागि हाे । ऊ भाषणमा गाली गर्‍याे धम्की दियो भरेसाँझ सँगसँगै बस्याे जलपान गर्‍याे हात मिलायाे ! याे विगतदेखि बसेकाे रीतिथिति र व्यवहार मैत्री नजिर मैले तपाईंलाई सम्झाइरहनुपर्ने ? कहीँ नभा जात्रा हाँडी गाउँमा ! तपाईं मेरा हितैषीहरू जस्तो सुकै कठिनाइ आइपरे पनि प्रतिरक्षामा उभिइदिनुपर्छ ।

घुसजुस कमिसन उपहार जेजति प्राप्तिका स्राेत छन् ती सबै म र मेरा आफन्तलाई चाहिने विषय हुन् । घुस खान अरूलाई नदिने भनेको हाे आफूले नखाने भनेको छैन । नियमकानुन मैले पाे नमान्ने हाे ! कसैले नमान्ने भन्या हाे र ! जति भनिएको छ त्यति बुझौं न बढी बढी बुझेर लाल बुझक्कीकाे उपाधि नखाेसौं । मसँग नौथरी कुरा नगरौं म जे भन्छु कान खाेलेर सुन्ने गुन्ने र राम्ररी पालना गर्ने हाे। बाँकी दायाँबायाँ जे पर्छ म सम्हाल्छु । म छउन्जेल ढुक्क भए हुन्छ तपाईं मेरा अङ्ग । हेक्का रहाेस् मेरो विरोध गर्नु मेरो मात्र विरोध हाेइन मेरो पार्टीको पनि विरोध हाे । पार्टीको विराेध गरेपछि बाँकी राख्छन् मेरा कार्यकर्ताले ? तिनीहरू पहिल्यै तयार छन् कतिखेर के गर्ने ! याे कामका लागि आवश्यक प्रशिक्षण म आफैले दिएकाे छु । विराेधीलाई त देख्नै सक्तैनन् आखिर कार्यकर्ता कसका ? ठाकठुक जे पर्छ त्यै गरेर तहलाइहाल्छन् ।

बजार व्यवस्था जनमैत्री बनाउने भनेको वरिपरिबाट आउने कमिसनकाे भागबिलाे मिलाएर बुझ्ने गाेप्य विधि हाे । कतै भ्रम नरहाेस् महङ्गी र मिसावट, विषादी प्रयोग, आयात जस्ता बेथिति नियन्त्रण हाे कि भनेर, प्रस्ट छ यस्तो हाेइन । म विदेशी निर्देश मानेर हिँड्ने इमानदार कर्मचारी हुँ । हाे, मेरा सहकर्मीले विपक्षी पेल्ने, असहमत हुनेलाई गौडाे ढुकेर ठाउँका ठाउँ ठेउक्याएर मलाई सजिलो बनाउने हाे। हेरौं न मेरो विद्युत अवराेध गरेर अँध्यारो बाँड्ने सफलता ! याे मेरो र मेरो राजनीतिक पार्टीको नीति-पालना इमानदारीपूर्वक गरिरहेका छन् साथीभाइले । उनीहरूकै प्रतिरक्षामा मैले उद्योगी व्यापारीकाे स्वार्थ अनुकूल भइदिनुछ । मातहतमा रहेर आज्ञा पालना नगरी नीतिनियमका कुरा गर्नेलाई त किन किन गलहत्याउन मन लाग्छ ।

कस्तो के ? आफूले मान्नुपर्ने अनुशासन ममाथि लाद्न खाेज्छन् भन्या ! भाउन्न छुटेर आउँछ ! उनीहरूकाे काम त मेरो सल्लाह सुझाव, निर्देशन मानेर खुरुखुरु भाग बुझाउने हाे । यी र यस्ता आदेश पालक सज्जन पाे मेरा प्रिय मित्र हुन् । यी मेरो भरणपाेषणमा खटिने मित्रकाे सुरक्षा गर्नु मेरो दायित्व हाे । म यसमा सचेतछु । गडबड नगरी निर्देश मान्ने मित्रलाई छाता ओढाएर घामपानीबाट जाेगाउने जिम्मेवारी मेरो हाे । यसमा म इमानदार छु । ढुक्क हुनु कुनै आँच आउन दिन्नँ । अस्तु

०००
पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x