उत्तमकृष्ण मजगैयाँविद्राेही कवि !
देशै बेच्न तयार जाे जति यहाँ छन् राष्ट्रघातीहरू आफ्ना व्यङ्ग्यविशेष मार्फत गला चप्पै समाती बरु गर्छन् लाञ्छित कालपात्र सबकाे च्यात्छन् मकुण्डाे उनी लिन्छन् हुर्मत भ्रष्टमाथि खनिँदै पार्छन् उभिण्डाे पनि !

उत्तमकृष्ण मजगैयाँ :
स्वार्थी साेच र दुष्प्रवृत्ति सजिलै फेरेर फेरिन्छ र ?
पर्दाभित्र छ खेल बाहिर खुला हेरेर देखिन्छ र ?
जाे देख्छन् मतियार हुन् सबतिरै छन् व्याप्त छायासरि
नाना शाेषणबाट मुक्ति सजिलै मिल्ला यहाँ के गरी ?
(१)
यस्तै बेथितिका विरुद्ध मनमा चैतन्य आफै खुलाेस्
कस्तै कष्ट परून् बदल्न दुनियाँ उत्साह नाैलाे मिलाेस्
मूलैदेखि हटाउँदै विषमता बन्दै सुधारात्मक
चाहन्छन् कवि जाेडियाेस् मनुजमा सम्बन्ध भावात्मक ।
(२)
देख्दा कष्ट अभाव भाव गहिराे उर्लिन्छ आँखाभरि
लेख्दा दृश्य चलायमान रहने जीवन्त भाखासरि
हेर्ने दृष्टि छ तीक्ष्ण सूक्ष्म मनका संवेग झन् तीव्र छन्
विद्राेही कवि हुन्, सबै सृजनमा सन्देश सम्पृक्त छन् ।
(३)
देशै बेच्न तयार जाे जति यहाँ छन् राष्ट्रघातीहरू
आफ्ना व्यङ्ग्यविशेष मार्फत गला चप्पै समाती बरु
गर्छन् लाञ्छित कालपात्र सबकाे च्यात्छन् मकुण्डाे उनी
लिन्छन् हुर्मत भ्रष्टमाथि खनिँदै पार्छन् उभिण्डाे पनि !
(४)
देख्छन् व्याप्त जसै विसङ्गति उनी लेख्छन् प्रहारै गरी
लाग्छन् शाब्दिक व्यङ्ग्यवाण मुटुमै ताकेर छाेडेसरि
बेलैमा उपचार खाेज्न मनका पीडा र आघातकाे
बन्ने गर्छ अमाेघ अस्त्रसरि नै त्याे लेखनी हातकाे !
(५)
आफ्नाे सिर्जनशीलता सँगसँगै आक्राेश विद्राेहकाे
पाेख्छन् व्यङ्ग्य निबन्ध, काव्य-कविताबाटै नियाँ-माेहकाे
भ्रष्टाचार विरुद्ध जागरणकाे सन्देश फैलाउँछन्
स्वार्थीका भ्रमजाल ताेड्न सबकाे दायित्व सम्झाउँछन् !
(६)
०००
दाङ
Subscribe
Login
0 Comments
Oldest






































