लक्ष्मण नेवटियाखोइ कता छ ? दशैं आयो रे सुन्छु !
साझा रङ्गमा रङ्गिएका दिनहरूलाई, देखाउने दिशा दिशाहीनहरूलाई। अब हराएका ती सुनौला दिन गन्छु ! खोइ कता छ दशैं ? आयो रे सुन्छु !

लक्ष्मण नेवटिया :
उत्सवको न्यानोपन छ सेलाएको, 
कतै मौनता,कतै शून्यता छाएको।
पिङ छ रित्तो,कता को रिसाएको ?
आशिष थाप्ने खोइ कता हराएको ?
पुराना सम्झनामा मात्र रुमलिन्छु,
खोइ कता छ? दशैं आयो रे सुन्छु !
घरको त्यो मूलढोका हेर्छु टोलाएर,
आफन्त आउँथे खुसीले रमाएर।
अहिले त ताल्चा झुन्डिएको भेट्छु,
नचाहेर पनि नलेख्नु पर्ने नै लेख्छु।
परदेशी नातिलाई अनलाइन देख्छु,
खोइ कता छ ? दशैं आयो रे सुन्छु !
आँगनको डिलमा सयपत्री फुलेछन्,
तर फूल टिप्ने ती हात कता छुटेछन्!
मालश्री धुन बज्छ मोबाइलमा रसिलो,
तर छुँदैन भित्रसम्म, मन भएर अमिलो।
एकान्तमा बसेर भित्तासँग बोल्छु,
खोइ कता छ ? दशैं आयो रे सुन्छु !
अल्झेका छन् सबै मोबाइल सन्देशमा,
मानिस खोज्दैछ मानिस, हरेसमा।
खुसी रोकिएछ, गाउँ-शहर प्रवेशमा
उदासी छ मन, हुनुपर्ने नहुँदा देशमा।
दशैं यता छ कि इमोजीमा ? खोज्छु,
खोइ कता छ ? दशैं आयो रे सुन्छु !
आशिर्वाद- चोखो माया बाँड्नेलाई,
लड्न लागेकाहरूलाई समाउनेलाई।
साझा रङ्गमा रङ्गिएका दिनहरूलाई,
देखाउने दिशा दिशाहीनहरूलाई।
अब हराएका ती सुनौला दिन गन्छु !
खोइ कता छ दशैं ? आयो रे सुन्छु !
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































