धनराज गिरीअवतार
तेस्रो पुस्ताको रेखदेखका लागि छोरा बुहारीले हामीलाई करारमा नियुक्त गरे । यही बहानामा जेट चढियो । पुगियो नयाँ संसारमा । प्यारीले सपनामा भैंसी मात्र देखिन् । मैले भने चेलाचेलीहरू । सिड्नी शहर । अभिभावकले किड्नी बेचेर भए पनि सन्तानलाई सिड्नी पठाउनुपर्दछ भनेर पत्रिकामा लेखेको हिजो जस्तो लाग्छ । केही दिन कोठामै सिमीत । त्यसपछि घुम्न निस्किएँ । पुराना चेलाचेलीहरूले बोलाइरहेका थिए । उनीहरूको व्यस्तता बुझेर हस हस भन्दै मिति सारिरहेको थिएँ । अलिकता मेसो पाएपछि एक्लै निस्किन थालें । तेस्रो पुस्ता हजुरआमाको जिम्मा । म फुक्काफाल । एक साँझ एउटा रेस्टुराँमा कफी तान्न पुगें । साथमा एउटा किताब थियो । पढ्न मन लागिरहेको थिएन । प…र एउटा केटो बसेको थियो । मलाई हेर्छ । फेरि हेर्छ । म पनि उसैलाई हेर्न थाल्छु । कताकता चिने झैं, देखे झैं । आधा घण्टा यसरी नै बित्यो । केटो जुरुक्क उठ्यो । मेरो टाउकोमा नेपाली ढाका टोपी थियो र सरासर मेरै नजिक आयो– ‘हजुर पक्कै पनि नेपाली हुनुहुन्छ’ ढुक्कसित भन्यो । नेपाली नै बोल्यो । मैले सकारात्मक उत्तर दिएँ– ‘कुन जिल्लाबाट ?’
‘चितवन ।’
‘कुन गाउँ ?’
‘सौराहा ।’
‘सर, मलाई चिन्नु भएन ?’
यसो भन्दै मेरो खुट्टामा स्पर्स गर्न पुग्यो । म हच्किएँ ।
‘बाबु, ४० वर्षको प्राध्यापनमा कतिलाई पढाइयो, कति सम्झिने ? आऊ अङ्कमाल गरौँ । पक्कै पनि तिमी मेरो कुनै प्रिय अर्जुन हुनुपर्दछ ।’
अङ्कमाल गरेर मेरो हातमा चुम्बन चढायो । मैले सहजरूपमा लिएँ ।
‘आदर्श सर, म त्यही अर्जुन हुँ, अर्जुन नेपाली, एउटा दलितको सन्तान । समाउने हाँगो न टेक्ने खुड्किलो भएको निरीह नेपाली सीमान्तीकृत रैती । हजुरको न्यानो मायाले गर्दा उच्च शिक्षा पढ्ने अवसर जुट्यो र हिजोको अर्जुने आज अर्जुनजी भएको छ । आज मसित मैले कुनै समयमा सपनामा पनि नचिताएका कुराहरू छन् । यी सबै हुनुमा सरको आशीर्वाद छ । तिस वर्षपछि आज सरसित भेट भयो । सर, मलाई हजुरले किन त्यसरी माया गर्नुभयो ? यो प्रश्न मेरो मनमा गत तिस वर्षदेखि घुमिरहेछ ।’
उसको नयनभरि टिलपिल टिलपिल । म पनि भावुक मान्छे । एकछिन केही सुझेन । ‘के भनौं भनौं भयो मन मनै । उसको व्यग्रता शब्दातीत र गहिरोसित सास फेरें । उसलाई नजिकको कुर्सीमा राखें । थप दुई कप कफी मगाएँ– ‘अर्जुन, तिमीले आज अचम्मको प्रश्न सोध्यौ । चेला, जसरी तिमी प्रतिभाशाली थियौ, त्यसैगरी तिम्रो गुरु पनि कम थिएन । तर उसले रामकृष्ण ढकालले गोपालराज कर्माचार्य र विजयकुमार पाण्डेले विनोद चौधरी जस्ता मसिहा भेटेन । उसको पढ्ने रहर रामचन्द्र पौडेलको प्रधानमन्त्री हुने रहर जस्तै भयो । अनि तिम्रो यो गुरुले हरेक गरीब र जेहेन्दार चेलाचेलीमा आफ्नै ‘अवतार’ देख्न थाल्यो । त्यसपछि कसम खायो यो कुरूप इतिहास दोहोरिने छैन र मैले मेरै अवतारलाई सहयोग गर्ने जमर्को गरेको हुँ ।’
‘सर !, म… ।’ चेलो बोल्न सकेन र गोराहरु पनि जिल्ल । ‘सर, आउने आइतबार मेरो घरमा, गुरुआमा सहित…’ यति बोल्यो । कफीको पैसा मैले तिर्न पाइन । मलाई कोठासम्म उसकै कारमा पुर्याउन आयो । ‘सगर्व भनौं हामी गुरु हौँ’ बिस वर्षअघि चितवन पोस्टमा छापिएको आफ्नू लेख सम्झिएँ ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































