डा. विप्लव ढकालफुलमतीको तकियामुनि
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !
मलाई बल्ल थाहा भयो—
मेरो बाबु अचेल किन
ऐना मात्र हेर्नुहुन्छ
र माछाको टाउको खानुहुन्छ ?
किन हरायो आमाको मङ्गलसूत्र
र स्कुलबाट काटियो मेरो नाम ?
म बुझ्दै छु—
किन मेरो बाबुको अफिसमा
राति अबेरसम्म मिटिङ हुन्छ
र भान्छाकोठामा
झोक्राइरहनुहुन्छ आमा ?
किन यार्सागुम्बाझैँ
आधा झार
र आधा किरा जस्तो देख्छु
बाबुको जिन्दगी ?
स्कुलमा अचेल
गुरु किन जोक भन्नुहुन्न
र कुर्र्सीमा बसेर उँघिरहनुहुन्छ ?
म बुझ्दै छु—
गुरु किन अचेल
रामायण र महाभारतका
नीतिकथाहरू मात्र भन्नुहुन्छ ?
मेरी आमालाई थाहा छैन—
बाबुको कोटमा अल्झिएको
कपाल कसको हो
र केको सुगन्ध आइरहेछ
उहाँको शरीरबाट ?
मेरा साथीहरूलाई थाहा छैन—
गुरुको कलरमा लागेको
दाग केको हो ?
र किन हराउँदै छ मुस्कान
उहाँको ओठबाट ?
कसैलाई थाहा छैन—
फुलमतीको तकियामुनि
कसकसका नामहरू भेटिन्छन् ?
तर मलाई थाहा छ—
बाबु र गुरु त भगवान् हुन्
दुवै महान् र पूजनीय छन्
दुवैले मलाई एउटै सत्य सिकाउँछन्
र एउटै सुगन्ध आउँछ
हाम्रो शरीरबाट !
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !
अन्तिम हरफमा खोज्दै जाँदा
मैले मेरो आफ्नै नाम भेटेँ … !!
(यो कवितासमेत सङ्गृहित ढकालको कवितासङ्ग्रह ‘च्याउको जङ्गल’ गत वैशाख १ गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सार्वजनिक गरियो ।)
Subscribe
Login
0 Comments
Oldest







































