सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मानिला मानिसमा घुँडा र कम्मर समस्या !

पाका मान्छेले सबै कुरामा होस पुर्‍याएर आफूलाई सुरक्षित राख्नु सुखपूर्वक जीउने कला बनाऔँ है अब । दुख आउँछन् जान्छन्, राम्रो व्यवस्थापन गर्न पो निपूर्ण हुनुपर्छ, त्यसैले पाका हरेक कुरामा ‘मतापले’ भन्छन् नि ।

Nepal Telecom ad

सबै प्राणीमा निश्चित समय उमेरअनुसार जन्म, बाल्यकाल, किशोर किशोरी अवस्था, वयस्क र पाको कालखण्ड आउँछ र एक पटक मृत्यु हुन्छ नै । जीवितहरूमा समानता भनेकै उनीहरूमा गति हुन्छ, आवश्यक्ता र उपलब्धता हेरेर खानपान, विभिन्न जैविक प्रक्रियासहित उमेर ढल्कँदै गएर पाको अवस्था हुन्छ । शरीरले नसक्दा अथवा विभिन्न रोगव्याधले गलाएर मृत्यु हुन्छ । पृथ्वीमा सबै प्राणीको आआफ्नै जीवनचक्र हुन्छ र सबैले त्यसै प्रक्रियालाई आफ्नो प्रजाति र वंशअनुसार पच्छ्याइरहेको नै भेटिन्छ । समुहमा रहने प्राणीहरूमा गाह्रोसाह्रोमा एकअर्काको हेरबिचार र भरथेग गर्ने स्वभाव विकसित भएको हुन्छ । समुहमा नबसे पनि अप्ठ्यारोमा केही न केही सहयोगी प्रतिक्रिया देखाउने बानीव्यहोरा पाइन्छन् ।

मानिसको लगायत स्तनधारी धेरै प्राणीमा हुर्काइबढाई र कामको बोझसँगै शरीरको उचित स्याहारको अभावमा र वंशानुगत गुणको कारण विशेषगरी हाड र जोर्नीका समस्या पाको उमेरमा देखापर्दछ । जतिजति उमेर बढ्दै जान्छ शरीरलाई चलाउने, ठिक आकारमा राख्ने र जोर्नीको बलियोपनामा कमजोरी आउन थाल्दछ । हाडजोर्नी र माँसपेशीका कमजोरी साथै मस्तिष्कबाट शरीरभरी आदेश पुर्‍याउने र अनुभूत गराउने स्नायुप्रणालीमा पनि असर हुनगई ती भागहरूले पहिलेजस्तो काम गरिरहेका हुँदैनन् । त्यसैले पहिले जतिनै काम गरे पनि, जति हिँडे पनि थकाई मारेपछि फूर्तिला हुने मान्छे, पाको उमेर भएपछि अनेक खालका दुखाईका कुरा गर्छन् । उनीहरू अरु उमेरसमुहले बुझ्नै नसक्ने र अनुभव नगरिसकेका समस्याहरूबाट पीडित भएको सबै किसिमका मानव समाजमा पाइन्छ ।

सामान्यतया धेरैले गुनासो गर्नेमा मुण्टो ठड्याउन गाह्रो भएको, कुम झोल्लिएर कुप्रिनु परेको, ढाड दुखेको र कम्मर कटकटाएको भन्छन् । घुँडाको पाङ्ग्रा दुखेर, झम्झमाएर फुत्केलाजस्तो भई पोलेको र नलिखुट्टा भाँच्चिएला जस्तो भएको भनि सुस्केरा हाल्छन् । सुन्दा पनि अपत्यारिलो, ‘सियोले घोचेको जस्तो, काँडोनै पसेको जस्तो च्वास्सच्वास्स गर्छ लौन’ भनी धेरै पाका मान्छेको दुखेसो सुनिन्छ । उमेरदार र वयस्कहरूले ‘आ, बूढाबूढीका गनगन, यस्तो हुन्छ र ?’ भनी आफूले पनि भोग्नैपर्ने अवस्यंभावी अवस्थालाई कदापि गिल्ला गर्नुहुन्न । केटाकेटीले किन हुन्छ बुझ्दैनन् र छक्क पर्छन, पाका मान्छेको सन्दर्भ आउँदा गरिएका आनीबानी, चालढालको नक्कल गरी पार लगाएर देखाउँछन, हसाउँछन् । तर बेलैमा त्यसो किन हुन्छ ? कसरी बच्न सकिएला ? उमेर छँदै त्यस्तो उमेरमा हुने दुख, बेलैमा के गरे कम भई सुबिस्ता होला भन्न र सल्लाह दिन पाका मान्छनै आफ्ना अनुभवसहित अघि बढ्नुपर्छ ।

पक्षघात भएको र नशाको रोगहरू लागेमा शरीरका बिभिन्न भागमा असन्तुलन आउँछ जस्ले मान्छेको गतिबिधि बिग्रन्छ । प्राकृतिकरुपले मान्छेको माथिल्लो भाग घनत्वको हिसाबले र तौल पनि बढि हुन्छ । पुरा शरीरलाई आकार दिन ठड्याउने ढाड र कम्मरमा कमजोरी भए घुँडातिर पनि दबाब पर्छ । घुँडादेखि गर्दनसम्ममा दुखाई वा असजिलो भए ठडिएर हिँडडुलमा समस्या पर्छ त्यसैले मानिस लरबरिन्छ । त्यस्तो भएमा दुई खुट्टामा मात्र भर नपर्दा शरीरलाई टेको लगाउन हात चाहिँ बलियो नै हुँदा लौरो लिने गरिन्छ । तेस्रो खुट्टारुपी हातको लौरोले शरीरलाई अड्याउने त्रिभूजाकारको एक खुट्टाको काम गर्छ । शरीरलाई सन्तुलन गर्न र घुँडा कम्मरलाई भरथेग गर्न हाते लौरोले धेरै सहयोग गरेको हुन्छ । केटाकेटीले बामेसरेपछि त्रिखुट्टे वा गुड्नेमा भरगरी हिँड्न सिकेको देख्नुभएको होला ? शरीर सन्तुलित पार्न त्यस्तो भरथेग कामलाग्छ । बयस्क भारी बोक्नेले यही कारण त गह्रौँ भारी बोकी उठ्न र बिसाउन लौरोको मद्दत लिन्छन् नि ! अब, लौरो टेक्न पाका मान्छेलाई बाध्य गराउने अवस्था र रोगव्याध बारे केही चर्चा गरौँ ।

घुँडा र कम्मर दुखाईः
घुँडा र कम्मरका दुखाई बाथ जस्तै धेरै प्रकारका पाइएका छन्, त्यसमध्ये २३ प्रकारकालाई सामान्यतया विज्ञानले पनि ठम्याएको छ । यी समस्याहरू समयमै उपचार भएमा एउटै ओच्छ्यानमा कुँजिनु पर्दैन, निको हुन्छन् वा अरु बिग्रन रोकिन्छ र दुखाई घटेर दैनिक जीवन सुचारु बन्दछ । हार्वाडको स्वास्थ्यसम्बन्धी विज्ञहरूले अङ्ग्रेजीमा ‘राईसे’ भन्ने सूत्र निकालेका छन् र तुरुन्तै आरामी पाउन ठिक ढङ्गले पीडितले गरिहाल्न भनेका छन् । आर भनेको आराम (रेष्ट), आई भनेको चिसो वा तातो सेकाई (फापेअनुसार आईस वा तातोले सेक्नु), थिचाई वा कडापन (कम्प्रेसन) र ई भनेको दुखेको घटाउनु (एलिभिएसन) यति चार चिज गरेमा दुखाईबाट मुक्ति मिल्छ ।

उपचारका तरिका
आरामः शरीरमा केही कारणले दुख्ने सुन्निने भएमा त्यस भागलाई धेरै नचलाई आराम गर्नु पनि निको पार्ने सामान्य तरिका हो । धेरै हिँडेर गलेका, सुन्निएका र दुखेका गोडा आराम गरेर मनतातो पानीले धोएर मात्र पनि निको हुन्छन् । उत्तानो सुतेर कम्मर मुनिबाट खुट्टा ठाडा बनाई सोझै पालैपालो उठाउँदा पनि गोडा हलुका हुँदै जान्छन् । यसले तिघ्रासम्मको कसरत भएर पुरा गोडा र कम्मरको पनि आरामी हुनजान्छ । हात र कुमले गह्रौँ सामान धेरैबेर बोकेर र झुण्ड्याएर हिँडेपछि पातापाखुरामा कैँडालाग्ने र हात उठाउन नसक्नेगरी दुख्ने सुन्निने हुनसक्छ । यसो गरेर काम गरेपछि गर्धन तलको पातोमा दखल परेर पातो दुख्ने, हात टाउकोतिर लैजान गाह्रोरो हुने हुनसक्छ । कसैलाई धेरै दुख्दा टाउकोतिर हात नै उचाल्न नसक्ने हुन सक्छ । एकोहोरो लेख्ने वा टाइप गर्नेका पनि यस्तै समस्या दिनदिनै आउन सक्छ । त्यस्तो भए दिनमा एकदुई फेर कुम उचाल्लिने गरी उल्टोसुल्टो घुमाई असर गरेको भागमा सामान्य तेल मालिस गरी आराम गरे पनि निको हुन्छ । धेरै हिँडाई वा काम पछि उत्तानो भएर जीउ छाडेर सुत्ने र बस्दा ढाड ठाडो पारेर लामोलामो स्वासप्रस्वास गर्दा पनि आरामी चाँडै हुनसक्छ ।

तातो सेकाईः हामीले परम्परागत रुपमानै शरीरमा कहिँ चोटपटक लागेर दुखिरह्यो अथवा सुन्नियो भने त्यसलाई कम गर्न तातो इँटले सेक्ने गरेका थियौँ, कसैले त तातोपानी हालेर ठूला आकारका सिसी पनि प्रयोग गरेको देखिन्छ । हिजोआज बजारमा तातोपानी हालेर सेक्ने रबडका झोला पनि भेटिन्छन् भने बिजुलीले तातो बनाउने भित्र बिभिन्न रसायन भएको ससाना सेकुवा झोला र बाँध्न हुने पेटी पनि आएका छन् । आफूलाई अनुकुल भएको बस्तु मार्फत दुखेर सुन्निएका जोर्नी र अङ्गलाई कम गराउन सकिन्छ । यस्तो सेवनको तरिकाले जोर्नीमा भएको कडापन, दुखाईका साथै वरपरका मांसपेशी अरट्ठो भएको, फर्केको र डल्लो परेको खुल्न गएर आराम मिलेको धेरैको अनुभव छ । कतिपय अवस्थाको बिसञ्चोमा असर परेको भागको दुखाई र सुन्निने प्रकृया शरीरमा नफैलियोस् भनेर सादा बरफको ढिक्को बेरेर चिस्याउने प्रक्रिया पनि गरिन्छ । प्राय पैतालाको दुखाईमा यस्तो प्रक्रिया गरेको देखिन्छ भने अरु भागका समस्यामा चिकित्सकको सल्लाह अनुसार गर्न सकिन्छ ।

अल्ट्रासाउण्डः त्यस्तै आजकाल तातो मात्र होइन दुखेका सुन्निएका भागमा रासायनिक लेप दलेर बिस्तारै सानो उपकरणबाट निक्लेका तातोका शूक्ष्म किरण भित्र पठाई अल्ट्रासाउण्ड बिधिबाट पनि उपचार गरिन्छ । तातोका साथै सार्‍है शक्तिशाली तर मसिना ध्वनि उर्जा संक्रमण भागमा पुर्‍याई फिजियोथेरापी गरिएको पनि पाइन्छ । त्यसबाहेक विज्ञको सल्लाहमा शरीरको असर देखिएको भागलाई त्यस भागको प्राकृतिक चलखेल गराउने कसरत सिकाइन्छ । नियमित कसरत र उपचारले असाध्य ठानिएको दुखाई निकोगरी वा कमगरी पाका मान्छेले सन्तोषको जीवन जीउन सकिन्छ ।

अकुपञ्चरः चिन देशमा परम्परागत रुपमानै विकशित भएको सियो घोचाई (अकुपञ्चर) पद्धती अचेल नसा र शरीरका बिभिन्न भागको दुखाई कम गर्ने वा निको गर्ने वैकल्पिक उपचार पद्धती भएको छ । यसमा रोग अनुसारका निर्मलीकरण भएका सफा सियोमात्र सम्बन्धित अङ्गमा प्रयोग हुन्छ, थप कुनै औषधि हुन्न । शरीर विज्ञान र स्नायु प्रणालीको खासखास बिन्दुमा खासखास समस्यामा केही वा धेरै सियोले घोचेर आवश्यक्तानुसार केही समय राखिन्छ । विशेषगरी पातापाखुरा, ढाड, कम्मर र औँलाका जोर्नीहरू दुख्ने, उठबस गर्न नै गाह्रो हुने, हात चलाउन नसकिने, दुखेर कुप्रो हुने, गर्दनको नसा च्याप्पिएर मुण्टो ठड्याउन र हल्लाउँदा दुख्ने हल्लने समस्यामा यो पद्धती निकै प्रभावकारी देखिन्छ । विज्ञको फेला परेमा, समस्या खुट्याई उपचार गरिएको हो भने कुप्रो परेर उपचार गर्न गएको मानिस फर्कँदा ठडिएर फर्केको पनि देखिन्छ । बिरालो कुटेर हात र मुण्टो हल्लाउने भनिएका मानिस नसाको यसै उपचारबाट प्राकृतिक गतिशिलतामा फर्किएको पाइन्छ । खासखास दुख्ने सुन्निने ठाउँमा सहनेजति थिच्ने अकुप्रेसर तरिकाले पनि सुबिधा पुग्न सक्छ ।

व्यायामः विज्ञको सल्लाहमा अलगअलग अङ्गका दुखाई र सुन्निने प्रक्रियामा त्यस ठाउँ लक्षित अलगअलग नियमित कसरतले बिरामी भनिएको अवस्थाबाट पारलागी आरामी मिल्ने, कम हुँदैजाने र कतिमा त निको समेत भएको भुक्तभोगीका अनुभव छन् । त्यसैले नियमितरुपले भनिएका कसरत गर्न नछाडौँ, मानसिकरुपले पनि स्वस्थ्य हुन प्रयास गरौँ । सबै कसरतका उद्धेश्य भनेको सम्बन्धित ठाउँको मांशपेसी र हाडका भागलाई प्राकृतिकरुपले नै बलियो, चलायमान र स्वस्थ्य बनाउनु हो । रोगलाग्नु वा कुनै अङ्गमा कुप्रभाव देखिनु भनेको उक्त अङ्गको प्राकृतिक अवस्था बिग्रिएर दुख पाउनु हो, त्यसलाई प्राकृतिक अवस्थामा नै फर्र्काएर लैजानु भनेको स्वस्थ पार्नु हो । उचित कसरतले सहज र सरल जीवन बनाउन सक्छ ।

हिँडाईः सामान्यतया शरीरको उचित आकारमा समदुरीका पाईला चाल्दै हिँडाई गर्नु अब्बल कसरत नै मानिन्छ । हिँड्दा कुप्रने र अनियमित चाल गर्नु पाका मान्छेले खतरा मोल्नु हुनसक्छ । अपर्झटको हिँडाई र जथाभावी पाइला चलाईले शारीरिकरुपले उर्जा खपत बढाउँछ भने मनोविज्ञानमा सतर्कता घटाउँछ । यसले पाका मान्छे धर्मराउने, लर्बराउने र भनेको ठाउँमा पाइला राख्न नसक्ने साथै पुरै शरीर असन्तुलित भई लड्ने समेत सम्भावना हुन्छ । ढाड, कम्मर र गोडाको समस्याले त्यस्तो भएको छ भने घरको आँगनमा बराबर कदमले हिँड्ने, भर्‍याङमा बार समाती हिँड्ने कामगरी बानी बसाल्नु पर्छ । हिँडाई सुध्रिएपछि, सन्तुलन मिलाउन थिच्दा थिच्चिने तर छोड्दा उफार्न खोज्ने रबडको डसना (डनलप, फोम) घरको भूइँमा ओच्छ्याई छिटोछिटो हिँडने सिक्लाई गर्नुपर्छ । त्यस्तोमा लडिए पनि चोटपटक लाग्ने सम्भावना कम रहन्छ । यस्तो हिँडाईमा राम्रो अभ्यास भएपछि अब तिनै ठाउँमा त्यसैगरी उल्टो हिँड्ने अभ्यास पनि गरी आफूलाई नलर्बराउनेमा अभ्यस्त बनाउनुपर्छ । त्यसपछि मात्र बाहिरफेर र सार्वजनिक बाटोमा पहिला साथी लिएर पछि एक्लै हिँड्नसक्ने आँट बढाउँदा राम्रो हुन्छ ।

औषधिः शरीरका दुखाई र सुन्निने प्रकृया घटाएर सन्तुलित हिँडडुल गर्न विभिन्न किसिमका उपायहरू गरिरहँदा छिटो निको पार्न चिकित्सकले साथमा दुखाई कम गराउने सामान्य पारासिटामोल केहि दिन नियमित पनि गर्न सकिन्छ । त्यस्तै बिसञ्चो अवस्था हेरेर अझै कडा खालको दुखाई निरोधक औषधि दिन सक्छन् । शरीरलाई फाप्ने कुरा रगत, दिसा, पिसाबको जाँच पछि अझ राम्ररी हुन सक्छ र दुखाई निरोधक औषधिसँग पेट नबिगार्ने सहयोगी औषधि पनि सेवन गर्नुपर्ने हुनसक्छ ।

सहयोगी लौरोः कतिपय अवस्थामा ढाड, जोर्नी र खुट्टाका समस्याले पाखुरामा कापो अड्काउन मिल्ने हलुका खालका लौरा लिई हिँड्न चिकित्सकले भन्छन् । शरीर र हिँडाईको अवस्था हेरी फेदमा धेरै खुट्टे लौरो वा दुबै काखीमा अड्काउने जोडा लौरा पनि अशक्तको अवस्था हेरी सिफारिस गर्न सक्छन् । घरगाउँमा सामान्यतया उठबस, हिँड्डुल गर्न साथै केही चिजबिज गन्तव्यबाट पञ्छाउन सजिलो हुन्छ, नीजि सुरक्षाको सरल हतियार भनेर पनि पाका मान्छेले नलीबाँस र घँगारुको बलियो लौरो लिई हिँड्छन् । अशक्त हुँदा त हातबाट लौरो छुट्ने कुरै भएन भने शरीरकै सन्तुलनका लागि भारी बोक्नेले एउटा लौरो बोकेकै हुन्छन् । त्यसैले त, लौरोको बखानमा आहान नै चलेको छ, ‘यो मेरो टेक्ने यो मेरो छेक्ने, परिआएमा पुर्पुरो सेक्ने’ भन्ने लोकप्रिय नै छ ।

घरेलु बिधिः त्यस्तो केहि उपाय नहुँदा विज्ञानले प्रमाणित नभएका घरायसी बस्तु- सुद्ध तोरीको तेलमा कपुर, ज्वानो, ल्वाङ्ग, लसुन आदि फुराई पालैपालो मिसाई तताएर दुखिरहेको र सुन्निएको भागमा आगो वा घामको तापमा बसी लगाउनाले फाइदै भएको पाइन्छ । बरु केहि दिन दैनिक एक पटक लगाउने गर्नु चाँडै निको पार्ने उपाय पाका मान्छेले जान्दछन् । खयर पकाएर लेपन बनाई दुखेको सुन्निएको भागमा लगाएर नेपाली कागजले छोप्ने पनि चलन तराई र भित्रीमधेसतिर पाइन्छ । हिमाली बनलसुन साल्धुप, देवदारको चोप मिसाई पहाडतिर त्यस्तो समस्या पर्दा सेवन गरेको पनि देखिन्छ । आराम र तातो मालिसका कारणले पनि हेरबिचार पुगी घरेलु उपचारले कतिपय सामान्य रोगव्याध निको हुन्छन् ।

अन्त्यमा,
धेरै कारणबाट उमेर बढ्दै जाँदा होस नपुर्‍याई काम गर्ने बानी रहेका मान्छेमा शरीरको सन्तुलन धरमराउन थाल्छ । ढाड र गोडाका समस्यामा सामान्य उपचारका साथै आवस्यक पर्दा लौराले ठाडो भएर हिँड्न निकै मद्दत गर्दछ । आडभरोस नभई हिँड्दा शरीर पछारिन पुग्यो भने घनत्वको हिसाबले बढि भएको टाउकोतिरको भाग नै ठोक्किने, फुट्ने र लछारीने भई भित्री भागमा नै असर पर्न सक्छ । कतिपयलाई लडदा मस्तिष्कघात हुने खतरा रहन्छ, र पाका मान्छे शौचालय प्रयोग गर्दा ढोका बन्द नगर्ने गर्नु सम्भावित दुर्घटनामा अरुले बचाउन सजिलो हुन्छ । त्यसैले हिँडाईको असन्तुलन भएमा दुई खुट्टाको मात्र भरले जीउ थाम्ने र हिँड्ने नगरी तेस्रो टेको लौरोको लिनु बुद्धिमानी हुन आउँछ । त्यस्तै, सकेसम्म उबडखाबड, ढुङ्गा, कङ्कड भएको बाटोमा हिँड्न नखोजौँ, सकेसम्म समतल र सजिलो बाटो रोजौँ । चट्टी, चप्पल र सजिलै फुत्किने जुत्ता सकेसम्म नलगाउने त्यसको ठाउँमा मच्याक्क पाइताला टेकिने र नरम खालको कानेजुत्ता लगाउनु ठिक हुन्छ । कहिलेकाहीँ तने जुत्ताले आफ्नै तनामा अल्झिएर लड्ने डर हुन्छ भने खुट्टा लतारिँदा तना फुस्किएर बारम्बार लगाउने दुख हुनसक्छ । त्यसैले पाका मान्छेले सबै कुरामा होस पुर्‍याएर आफूलाई सुरक्षित राख्नु सुखपूर्वक जीउने कला बनाऔँ है अब । दुख आउँछन् जान्छन्, राम्रो व्यवस्थापन गर्न पो निपूर्ण हुनुपर्छ, त्यसैले पाका हरेक कुरामा ‘मतापले’ भन्छन् नि ।

०००
ल.पु. चालिसेडाँडा
पुस २७, २०७९

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं