साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानिला मानिसमा घुँडा र कम्मर समस्या !

पाका मान्छेले सबै कुरामा होस पुर्‍याएर आफूलाई सुरक्षित राख्नु सुखपूर्वक जीउने कला बनाऔँ है अब । दुख आउँछन् जान्छन्, राम्रो व्यवस्थापन गर्न पो निपूर्ण हुनुपर्छ, त्यसैले पाका हरेक कुरामा ‘मतापले’ भन्छन् नि ।

Nepal Telecom ad

सबै प्राणीमा निश्चित समय उमेरअनुसार जन्म, बाल्यकाल, किशोर किशोरी अवस्था, वयस्क र पाको कालखण्ड आउँछ र एक पटक मृत्यु हुन्छ नै । जीवितहरूमा समानता भनेकै उनीहरूमा गति हुन्छ, आवश्यक्ता र उपलब्धता हेरेर खानपान, विभिन्न जैविक प्रक्रियासहित उमेर ढल्कँदै गएर पाको अवस्था हुन्छ । शरीरले नसक्दा अथवा विभिन्न रोगव्याधले गलाएर मृत्यु हुन्छ । पृथ्वीमा सबै प्राणीको आआफ्नै जीवनचक्र हुन्छ र सबैले त्यसै प्रक्रियालाई आफ्नो प्रजाति र वंशअनुसार पच्छ्याइरहेको नै भेटिन्छ । समुहमा रहने प्राणीहरूमा गाह्रोसाह्रोमा एकअर्काको हेरबिचार र भरथेग गर्ने स्वभाव विकसित भएको हुन्छ । समुहमा नबसे पनि अप्ठ्यारोमा केही न केही सहयोगी प्रतिक्रिया देखाउने बानीव्यहोरा पाइन्छन् ।

मानिसको लगायत स्तनधारी धेरै प्राणीमा हुर्काइबढाई र कामको बोझसँगै शरीरको उचित स्याहारको अभावमा र वंशानुगत गुणको कारण विशेषगरी हाड र जोर्नीका समस्या पाको उमेरमा देखापर्दछ । जतिजति उमेर बढ्दै जान्छ शरीरलाई चलाउने, ठिक आकारमा राख्ने र जोर्नीको बलियोपनामा कमजोरी आउन थाल्दछ । हाडजोर्नी र माँसपेशीका कमजोरी साथै मस्तिष्कबाट शरीरभरी आदेश पुर्‍याउने र अनुभूत गराउने स्नायुप्रणालीमा पनि असर हुनगई ती भागहरूले पहिलेजस्तो काम गरिरहेका हुँदैनन् । त्यसैले पहिले जतिनै काम गरे पनि, जति हिँडे पनि थकाई मारेपछि फूर्तिला हुने मान्छे, पाको उमेर भएपछि अनेक खालका दुखाईका कुरा गर्छन् । उनीहरू अरु उमेरसमुहले बुझ्नै नसक्ने र अनुभव नगरिसकेका समस्याहरूबाट पीडित भएको सबै किसिमका मानव समाजमा पाइन्छ ।

सामान्यतया धेरैले गुनासो गर्नेमा मुण्टो ठड्याउन गाह्रो भएको, कुम झोल्लिएर कुप्रिनु परेको, ढाड दुखेको र कम्मर कटकटाएको भन्छन् । घुँडाको पाङ्ग्रा दुखेर, झम्झमाएर फुत्केलाजस्तो भई पोलेको र नलिखुट्टा भाँच्चिएला जस्तो भएको भनि सुस्केरा हाल्छन् । सुन्दा पनि अपत्यारिलो, ‘सियोले घोचेको जस्तो, काँडोनै पसेको जस्तो च्वास्सच्वास्स गर्छ लौन’ भनी धेरै पाका मान्छेको दुखेसो सुनिन्छ । उमेरदार र वयस्कहरूले ‘आ, बूढाबूढीका गनगन, यस्तो हुन्छ र ?’ भनी आफूले पनि भोग्नैपर्ने अवस्यंभावी अवस्थालाई कदापि गिल्ला गर्नुहुन्न । केटाकेटीले किन हुन्छ बुझ्दैनन् र छक्क पर्छन, पाका मान्छेको सन्दर्भ आउँदा गरिएका आनीबानी, चालढालको नक्कल गरी पार लगाएर देखाउँछन, हसाउँछन् । तर बेलैमा त्यसो किन हुन्छ ? कसरी बच्न सकिएला ? उमेर छँदै त्यस्तो उमेरमा हुने दुख, बेलैमा के गरे कम भई सुबिस्ता होला भन्न र सल्लाह दिन पाका मान्छनै आफ्ना अनुभवसहित अघि बढ्नुपर्छ ।

पक्षघात भएको र नशाको रोगहरू लागेमा शरीरका बिभिन्न भागमा असन्तुलन आउँछ जस्ले मान्छेको गतिबिधि बिग्रन्छ । प्राकृतिकरुपले मान्छेको माथिल्लो भाग घनत्वको हिसाबले र तौल पनि बढि हुन्छ । पुरा शरीरलाई आकार दिन ठड्याउने ढाड र कम्मरमा कमजोरी भए घुँडातिर पनि दबाब पर्छ । घुँडादेखि गर्दनसम्ममा दुखाई वा असजिलो भए ठडिएर हिँडडुलमा समस्या पर्छ त्यसैले मानिस लरबरिन्छ । त्यस्तो भएमा दुई खुट्टामा मात्र भर नपर्दा शरीरलाई टेको लगाउन हात चाहिँ बलियो नै हुँदा लौरो लिने गरिन्छ । तेस्रो खुट्टारुपी हातको लौरोले शरीरलाई अड्याउने त्रिभूजाकारको एक खुट्टाको काम गर्छ । शरीरलाई सन्तुलन गर्न र घुँडा कम्मरलाई भरथेग गर्न हाते लौरोले धेरै सहयोग गरेको हुन्छ । केटाकेटीले बामेसरेपछि त्रिखुट्टे वा गुड्नेमा भरगरी हिँड्न सिकेको देख्नुभएको होला ? शरीर सन्तुलित पार्न त्यस्तो भरथेग कामलाग्छ । बयस्क भारी बोक्नेले यही कारण त गह्रौँ भारी बोकी उठ्न र बिसाउन लौरोको मद्दत लिन्छन् नि ! अब, लौरो टेक्न पाका मान्छेलाई बाध्य गराउने अवस्था र रोगव्याध बारे केही चर्चा गरौँ ।

घुँडा र कम्मर दुखाईः
घुँडा र कम्मरका दुखाई बाथ जस्तै धेरै प्रकारका पाइएका छन्, त्यसमध्ये २३ प्रकारकालाई सामान्यतया विज्ञानले पनि ठम्याएको छ । यी समस्याहरू समयमै उपचार भएमा एउटै ओच्छ्यानमा कुँजिनु पर्दैन, निको हुन्छन् वा अरु बिग्रन रोकिन्छ र दुखाई घटेर दैनिक जीवन सुचारु बन्दछ । हार्वाडको स्वास्थ्यसम्बन्धी विज्ञहरूले अङ्ग्रेजीमा ‘राईसे’ भन्ने सूत्र निकालेका छन् र तुरुन्तै आरामी पाउन ठिक ढङ्गले पीडितले गरिहाल्न भनेका छन् । आर भनेको आराम (रेष्ट), आई भनेको चिसो वा तातो सेकाई (फापेअनुसार आईस वा तातोले सेक्नु), थिचाई वा कडापन (कम्प्रेसन) र ई भनेको दुखेको घटाउनु (एलिभिएसन) यति चार चिज गरेमा दुखाईबाट मुक्ति मिल्छ ।

उपचारका तरिका
आरामः शरीरमा केही कारणले दुख्ने सुन्निने भएमा त्यस भागलाई धेरै नचलाई आराम गर्नु पनि निको पार्ने सामान्य तरिका हो । धेरै हिँडेर गलेका, सुन्निएका र दुखेका गोडा आराम गरेर मनतातो पानीले धोएर मात्र पनि निको हुन्छन् । उत्तानो सुतेर कम्मर मुनिबाट खुट्टा ठाडा बनाई सोझै पालैपालो उठाउँदा पनि गोडा हलुका हुँदै जान्छन् । यसले तिघ्रासम्मको कसरत भएर पुरा गोडा र कम्मरको पनि आरामी हुनजान्छ । हात र कुमले गह्रौँ सामान धेरैबेर बोकेर र झुण्ड्याएर हिँडेपछि पातापाखुरामा कैँडालाग्ने र हात उठाउन नसक्नेगरी दुख्ने सुन्निने हुनसक्छ । यसो गरेर काम गरेपछि गर्धन तलको पातोमा दखल परेर पातो दुख्ने, हात टाउकोतिर लैजान गाह्रोरो हुने हुनसक्छ । कसैलाई धेरै दुख्दा टाउकोतिर हात नै उचाल्न नसक्ने हुन सक्छ । एकोहोरो लेख्ने वा टाइप गर्नेका पनि यस्तै समस्या दिनदिनै आउन सक्छ । त्यस्तो भए दिनमा एकदुई फेर कुम उचाल्लिने गरी उल्टोसुल्टो घुमाई असर गरेको भागमा सामान्य तेल मालिस गरी आराम गरे पनि निको हुन्छ । धेरै हिँडाई वा काम पछि उत्तानो भएर जीउ छाडेर सुत्ने र बस्दा ढाड ठाडो पारेर लामोलामो स्वासप्रस्वास गर्दा पनि आरामी चाँडै हुनसक्छ ।

तातो सेकाईः हामीले परम्परागत रुपमानै शरीरमा कहिँ चोटपटक लागेर दुखिरह्यो अथवा सुन्नियो भने त्यसलाई कम गर्न तातो इँटले सेक्ने गरेका थियौँ, कसैले त तातोपानी हालेर ठूला आकारका सिसी पनि प्रयोग गरेको देखिन्छ । हिजोआज बजारमा तातोपानी हालेर सेक्ने रबडका झोला पनि भेटिन्छन् भने बिजुलीले तातो बनाउने भित्र बिभिन्न रसायन भएको ससाना सेकुवा झोला र बाँध्न हुने पेटी पनि आएका छन् । आफूलाई अनुकुल भएको बस्तु मार्फत दुखेर सुन्निएका जोर्नी र अङ्गलाई कम गराउन सकिन्छ । यस्तो सेवनको तरिकाले जोर्नीमा भएको कडापन, दुखाईका साथै वरपरका मांसपेशी अरट्ठो भएको, फर्केको र डल्लो परेको खुल्न गएर आराम मिलेको धेरैको अनुभव छ । कतिपय अवस्थाको बिसञ्चोमा असर परेको भागको दुखाई र सुन्निने प्रकृया शरीरमा नफैलियोस् भनेर सादा बरफको ढिक्को बेरेर चिस्याउने प्रक्रिया पनि गरिन्छ । प्राय पैतालाको दुखाईमा यस्तो प्रक्रिया गरेको देखिन्छ भने अरु भागका समस्यामा चिकित्सकको सल्लाह अनुसार गर्न सकिन्छ ।

अल्ट्रासाउण्डः त्यस्तै आजकाल तातो मात्र होइन दुखेका सुन्निएका भागमा रासायनिक लेप दलेर बिस्तारै सानो उपकरणबाट निक्लेका तातोका शूक्ष्म किरण भित्र पठाई अल्ट्रासाउण्ड बिधिबाट पनि उपचार गरिन्छ । तातोका साथै सार्‍है शक्तिशाली तर मसिना ध्वनि उर्जा संक्रमण भागमा पुर्‍याई फिजियोथेरापी गरिएको पनि पाइन्छ । त्यसबाहेक विज्ञको सल्लाहमा शरीरको असर देखिएको भागलाई त्यस भागको प्राकृतिक चलखेल गराउने कसरत सिकाइन्छ । नियमित कसरत र उपचारले असाध्य ठानिएको दुखाई निकोगरी वा कमगरी पाका मान्छेले सन्तोषको जीवन जीउन सकिन्छ ।

अकुपञ्चरः चिन देशमा परम्परागत रुपमानै विकशित भएको सियो घोचाई (अकुपञ्चर) पद्धती अचेल नसा र शरीरका बिभिन्न भागको दुखाई कम गर्ने वा निको गर्ने वैकल्पिक उपचार पद्धती भएको छ । यसमा रोग अनुसारका निर्मलीकरण भएका सफा सियोमात्र सम्बन्धित अङ्गमा प्रयोग हुन्छ, थप कुनै औषधि हुन्न । शरीर विज्ञान र स्नायु प्रणालीको खासखास बिन्दुमा खासखास समस्यामा केही वा धेरै सियोले घोचेर आवश्यक्तानुसार केही समय राखिन्छ । विशेषगरी पातापाखुरा, ढाड, कम्मर र औँलाका जोर्नीहरू दुख्ने, उठबस गर्न नै गाह्रो हुने, हात चलाउन नसकिने, दुखेर कुप्रो हुने, गर्दनको नसा च्याप्पिएर मुण्टो ठड्याउन र हल्लाउँदा दुख्ने हल्लने समस्यामा यो पद्धती निकै प्रभावकारी देखिन्छ । विज्ञको फेला परेमा, समस्या खुट्याई उपचार गरिएको हो भने कुप्रो परेर उपचार गर्न गएको मानिस फर्कँदा ठडिएर फर्केको पनि देखिन्छ । बिरालो कुटेर हात र मुण्टो हल्लाउने भनिएका मानिस नसाको यसै उपचारबाट प्राकृतिक गतिशिलतामा फर्किएको पाइन्छ । खासखास दुख्ने सुन्निने ठाउँमा सहनेजति थिच्ने अकुप्रेसर तरिकाले पनि सुबिधा पुग्न सक्छ ।

व्यायामः विज्ञको सल्लाहमा अलगअलग अङ्गका दुखाई र सुन्निने प्रक्रियामा त्यस ठाउँ लक्षित अलगअलग नियमित कसरतले बिरामी भनिएको अवस्थाबाट पारलागी आरामी मिल्ने, कम हुँदैजाने र कतिमा त निको समेत भएको भुक्तभोगीका अनुभव छन् । त्यसैले नियमितरुपले भनिएका कसरत गर्न नछाडौँ, मानसिकरुपले पनि स्वस्थ्य हुन प्रयास गरौँ । सबै कसरतका उद्धेश्य भनेको सम्बन्धित ठाउँको मांशपेसी र हाडका भागलाई प्राकृतिकरुपले नै बलियो, चलायमान र स्वस्थ्य बनाउनु हो । रोगलाग्नु वा कुनै अङ्गमा कुप्रभाव देखिनु भनेको उक्त अङ्गको प्राकृतिक अवस्था बिग्रिएर दुख पाउनु हो, त्यसलाई प्राकृतिक अवस्थामा नै फर्र्काएर लैजानु भनेको स्वस्थ पार्नु हो । उचित कसरतले सहज र सरल जीवन बनाउन सक्छ ।

हिँडाईः सामान्यतया शरीरको उचित आकारमा समदुरीका पाईला चाल्दै हिँडाई गर्नु अब्बल कसरत नै मानिन्छ । हिँड्दा कुप्रने र अनियमित चाल गर्नु पाका मान्छेले खतरा मोल्नु हुनसक्छ । अपर्झटको हिँडाई र जथाभावी पाइला चलाईले शारीरिकरुपले उर्जा खपत बढाउँछ भने मनोविज्ञानमा सतर्कता घटाउँछ । यसले पाका मान्छे धर्मराउने, लर्बराउने र भनेको ठाउँमा पाइला राख्न नसक्ने साथै पुरै शरीर असन्तुलित भई लड्ने समेत सम्भावना हुन्छ । ढाड, कम्मर र गोडाको समस्याले त्यस्तो भएको छ भने घरको आँगनमा बराबर कदमले हिँड्ने, भर्‍याङमा बार समाती हिँड्ने कामगरी बानी बसाल्नु पर्छ । हिँडाई सुध्रिएपछि, सन्तुलन मिलाउन थिच्दा थिच्चिने तर छोड्दा उफार्न खोज्ने रबडको डसना (डनलप, फोम) घरको भूइँमा ओच्छ्याई छिटोछिटो हिँडने सिक्लाई गर्नुपर्छ । त्यस्तोमा लडिए पनि चोटपटक लाग्ने सम्भावना कम रहन्छ । यस्तो हिँडाईमा राम्रो अभ्यास भएपछि अब तिनै ठाउँमा त्यसैगरी उल्टो हिँड्ने अभ्यास पनि गरी आफूलाई नलर्बराउनेमा अभ्यस्त बनाउनुपर्छ । त्यसपछि मात्र बाहिरफेर र सार्वजनिक बाटोमा पहिला साथी लिएर पछि एक्लै हिँड्नसक्ने आँट बढाउँदा राम्रो हुन्छ ।

औषधिः शरीरका दुखाई र सुन्निने प्रकृया घटाएर सन्तुलित हिँडडुल गर्न विभिन्न किसिमका उपायहरू गरिरहँदा छिटो निको पार्न चिकित्सकले साथमा दुखाई कम गराउने सामान्य पारासिटामोल केहि दिन नियमित पनि गर्न सकिन्छ । त्यस्तै बिसञ्चो अवस्था हेरेर अझै कडा खालको दुखाई निरोधक औषधि दिन सक्छन् । शरीरलाई फाप्ने कुरा रगत, दिसा, पिसाबको जाँच पछि अझ राम्ररी हुन सक्छ र दुखाई निरोधक औषधिसँग पेट नबिगार्ने सहयोगी औषधि पनि सेवन गर्नुपर्ने हुनसक्छ ।

सहयोगी लौरोः कतिपय अवस्थामा ढाड, जोर्नी र खुट्टाका समस्याले पाखुरामा कापो अड्काउन मिल्ने हलुका खालका लौरा लिई हिँड्न चिकित्सकले भन्छन् । शरीर र हिँडाईको अवस्था हेरी फेदमा धेरै खुट्टे लौरो वा दुबै काखीमा अड्काउने जोडा लौरा पनि अशक्तको अवस्था हेरी सिफारिस गर्न सक्छन् । घरगाउँमा सामान्यतया उठबस, हिँड्डुल गर्न साथै केही चिजबिज गन्तव्यबाट पञ्छाउन सजिलो हुन्छ, नीजि सुरक्षाको सरल हतियार भनेर पनि पाका मान्छेले नलीबाँस र घँगारुको बलियो लौरो लिई हिँड्छन् । अशक्त हुँदा त हातबाट लौरो छुट्ने कुरै भएन भने शरीरकै सन्तुलनका लागि भारी बोक्नेले एउटा लौरो बोकेकै हुन्छन् । त्यसैले त, लौरोको बखानमा आहान नै चलेको छ, ‘यो मेरो टेक्ने यो मेरो छेक्ने, परिआएमा पुर्पुरो सेक्ने’ भन्ने लोकप्रिय नै छ ।

घरेलु बिधिः त्यस्तो केहि उपाय नहुँदा विज्ञानले प्रमाणित नभएका घरायसी बस्तु- सुद्ध तोरीको तेलमा कपुर, ज्वानो, ल्वाङ्ग, लसुन आदि फुराई पालैपालो मिसाई तताएर दुखिरहेको र सुन्निएको भागमा आगो वा घामको तापमा बसी लगाउनाले फाइदै भएको पाइन्छ । बरु केहि दिन दैनिक एक पटक लगाउने गर्नु चाँडै निको पार्ने उपाय पाका मान्छेले जान्दछन् । खयर पकाएर लेपन बनाई दुखेको सुन्निएको भागमा लगाएर नेपाली कागजले छोप्ने पनि चलन तराई र भित्रीमधेसतिर पाइन्छ । हिमाली बनलसुन साल्धुप, देवदारको चोप मिसाई पहाडतिर त्यस्तो समस्या पर्दा सेवन गरेको पनि देखिन्छ । आराम र तातो मालिसका कारणले पनि हेरबिचार पुगी घरेलु उपचारले कतिपय सामान्य रोगव्याध निको हुन्छन् ।

अन्त्यमा,
धेरै कारणबाट उमेर बढ्दै जाँदा होस नपुर्‍याई काम गर्ने बानी रहेका मान्छेमा शरीरको सन्तुलन धरमराउन थाल्छ । ढाड र गोडाका समस्यामा सामान्य उपचारका साथै आवस्यक पर्दा लौराले ठाडो भएर हिँड्न निकै मद्दत गर्दछ । आडभरोस नभई हिँड्दा शरीर पछारिन पुग्यो भने घनत्वको हिसाबले बढि भएको टाउकोतिरको भाग नै ठोक्किने, फुट्ने र लछारीने भई भित्री भागमा नै असर पर्न सक्छ । कतिपयलाई लडदा मस्तिष्कघात हुने खतरा रहन्छ, र पाका मान्छे शौचालय प्रयोग गर्दा ढोका बन्द नगर्ने गर्नु सम्भावित दुर्घटनामा अरुले बचाउन सजिलो हुन्छ । त्यसैले हिँडाईको असन्तुलन भएमा दुई खुट्टाको मात्र भरले जीउ थाम्ने र हिँड्ने नगरी तेस्रो टेको लौरोको लिनु बुद्धिमानी हुन आउँछ । त्यस्तै, सकेसम्म उबडखाबड, ढुङ्गा, कङ्कड भएको बाटोमा हिँड्न नखोजौँ, सकेसम्म समतल र सजिलो बाटो रोजौँ । चट्टी, चप्पल र सजिलै फुत्किने जुत्ता सकेसम्म नलगाउने त्यसको ठाउँमा मच्याक्क पाइताला टेकिने र नरम खालको कानेजुत्ता लगाउनु ठिक हुन्छ । कहिलेकाहीँ तने जुत्ताले आफ्नै तनामा अल्झिएर लड्ने डर हुन्छ भने खुट्टा लतारिँदा तना फुस्किएर बारम्बार लगाउने दुख हुनसक्छ । त्यसैले पाका मान्छेले सबै कुरामा होस पुर्‍याएर आफूलाई सुरक्षित राख्नु सुखपूर्वक जीउने कला बनाऔँ है अब । दुख आउँछन् जान्छन्, राम्रो व्यवस्थापन गर्न पो निपूर्ण हुनुपर्छ, त्यसैले पाका हरेक कुरामा ‘मतापले’ भन्छन् नि ।

०००
ल.पु. चालिसेडाँडा
पुस २७, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x