सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उमेरिदो उमेरमा मासु नझोल्लिने उपाय !

झोल्लिएर कुरुप र अशक्त भएका मांसपेसीलाई अवस्थाअनुसार दैनिक तालिकामा व्यायाम गर्नुपर्ने हुनसक्छ, सधैं गरौँ, कुन ठूलो कुरा भयो त ? आखिर हामीले राम्रो देखिएर सुख खोजेको हो, त्यसैगरी हुन्छ भने किन नगर्नु ?

Nepal Telecom ad

उमेरिदा मानिसका जोर्नी दुख्ने, हातपाखुरा, फिला र पिँडुलाका मासु सुक्ने, चाउरिने र झोल्लिने सामान्य कुरा हुन् । स्वास्थ्य राम्रो नहुँदा र शारीरिक श्रमको कमीले कम्मरमाथि उस्तैरहे पनि पेट फ्यात्त भई कम्मर तल सुकेर ‘धनीको कुरुपता’ भनिने मोटोपन भएको हुनसक्छ । उमेरमा जैविक प्रक्रिया बलियो भएकाको बल, तुजुकसँगसँगै माँसपेसी बढ्ने र हेर्दा छालाको चमक देखिनु, बराँठ, दनदनाउँदो भएर राम्रोराम्री देखिनु स्वभाविक हो । बढि भएको उर्जाले काम पाएको पनि हुन्छ साथै थुप्रिने समय पनि पाउँछ । स्वास्थ्यकै कारण वा अवकास प्राप्त जीवन ‘बसीबसी खाने’ भन्ने मनगरी शारीरिक श्रमको अभावमा रुचि घट्नु, जैविक आन्तरिक प्रक्रिया सुस्त बन्दै जानु र जम्मा भइसकेको केहि बोसो मात्र थुप्रिएको हुनाले पनि समस्या आइरहेको हुनसक्छ ।

कतिपय घरमा पाका मान्छेको बयस्क हुँदाको योगदानलाई ‘अति मानेर कदर गर्दै’ श्रम गर्न नदिने र अर्तिउपदेश दिन मात्र बसिरहने कारणले शरीरको व्यायाम पुगेको हुँदैन । प्राज्ञिक क्षेत्रको भए त अब बसिबसी लेख्ने र प्रवचनको कामचाहिँ गर्ने तर श्रम हुने शारीरिक चलखेल कम गर्ने र आयअनुसार ‘मिठा र मनपरेका’ खानामात्र खानेख्वाइने कारणले यो उमेरमा बिगारनै गर्छ । फलस्वरुप कमजोरी बढ्ने, दुख्ने, सुन्निने, शरीरका विभिन्न भाग र जोर्नी कमजोर हुनेमात्र होइन हुनुपर्ने गतिबिधि गर्न नसक्ने भई कडा र अचल बन्छन् । तर उमेरिदा पनि सचेत प्रयाश गरियो भने वयस्कमा जत्तिकै नभए पनि पाको उमेरमा पनि मानिला मान्छेले सुखपूर्वक जीवन अघि बढाउन सक्छन् । हार्वाड सम्बन्धन प्राप्त ब्रिघाम र महिला अस्पतालका शारीरिक चिकित्सक डा.जोडी क्लेन लगायतका सल्लाहहरू उनीहरूको मात्र आवश्यक्ता होइन हाम्रा देशका पाका मान्छेका लागि पनि फाइदाजनक छन् ।

कमजोरीका लक्षणः
मांसपेसीलाई नै असर गर्ने स्वप्रतिरक्षा प्रणाली बिग्रेर हुने मांसपेसीकै पोलिमायोसाइटिस भन्ने रोगबाट उमेर पुग्दैगर्दा रोग लाग्न सक्छ । यो रोगले अबुर्द रोग, कुपोषण र अरु स्वास्थ्य बिगार्ने रोगहरूले जस्तै शरीर क्षिण गराएर शरीरको उर्जानै नास गरिदिन्छ । यो रोगको व्यापकता हेर्दा प्राय मांसपेसीको कमजोरी शारीरिक गतिविधिकै ह्राससँगै जोडिएर आएको पाइन्छ । मानिस जबजब श्रम कम गर्न थाल्छ, बसिबसी गरिने प्राज्ञिक र बौद्धिक काम मात्र गर्दछ र शारीरिक व्यायाम सुन्यमा झर्छ तब यो रोगले आक्रमण गरेको देखिन्छ । लामो समयसम्म मांसपेसीको व्यायाम नहुँदा भित्री जैविक प्रक्रियामासमेत कमी भएर तिनीहरू निस्कृय हुन्छन् र सुक्न थाल्दछन् । त्यस्तै दुर्घटना पछिको अङ्गभङ्ग र सल्यक्रियाको कारणले बिभिन्न अङ्ग धेरै समय नचलाउँदा, हाडेबाथले दुख दिएर हिँडडुल कम गर्दा वा अन्य रोगले थलिएर लामो समय ओच्छ्यान पर्दा माँसपेसी निश्चलरहेर जमोट हुने अथवा सुक्दै गएर काम नलाग्ने बन्दछन् । अनि बिस्तारै क्रियाकलापको अभावमा खुम्चिन थाल्दछन् र हिजोअस्ति लगाइराखेका लुगाफाटो अब लगाएर हिँड्दा किलामा झुण्ड्याएका जस्तो देखिन थाल्छन् ।

मांसपेसीका समस्या शरीरले अनुभूत गरेको छ भने हातपाखुरामा प्रारम्भमै प्रष्टरुपले देखा पर्दछ । हात राम्ररी हल्लाउन मात्र होइन काँधमाथि उठाउन, अग्लो ठाउँका सामान झिक्न, भाँडाबाट बिर्को खोल्न र बलियोगरी लगाउन अप्ठ्यारो पर्छ । लेखपढ गर्नेले कलम समाउन, सोझो लेख्न, टङ्कण जानेकाले कम्प्युटरमा टङ्कण गर्न र असाध्य भएमा किताबका पाना एक एक गरेर समात्न र पल्टाउन पनि मुस्किल पर्छ । त्यस्तै, आफ्नै लुगाफाटोमा टाँक लगाउन, खोल्न, जुत्तामा तुना हाल्न र सुर्केनु पार्न साथै ठिङ्ग उभिएर सुरुवाल वा पाइन्ट लगाउँदा मांसपेसी फर्किएर नसकी धरमराउने र लडने हुनसक्छ ।

मांसपेसीको कमजोरी र समस्या शारीरिक नोक्सानी भएमात्र हुने होइन । बाल्यकाल देखिको स्वास्थ्य अवस्था, गिर्दो स्वास्थ्य, उमेरिदै जाँदा गरेका गतिविधि, शरीरको हृष्टपुष्टता र भएको मांसपेसीको मात्रा हेरेर पनि हुन्छ । स्वास्थ्य विज्ञको भनाईमा हेर्दा दुब्लो पातलो भए पनि शारीरिकरुपले सकृय महिला र पुरुषमा मांसपेसी स्वस्थ्य रहेका हुन्छन् र अल्पकालिन आराम वा निस्कृयताले भएका नोक्सानी चाँडै पूर्ताल गर्न सक्छन् । शरीरले मांसपेसी गुमाउन र समस्या पार्न धेरैबेर लाग्दैन भने स्वस्थ्य प्रयास भएमा स्वास्थ्य सामान्य बनाउन पनि नियमित सकृयताले सकिन्छ भन्ने स्वास्थ्यविज्ञको भनाई छ ।

मांसपेसीको समस्या र शरीरमा नोक्सानीको मात्रा आङ्कलन गर्ने एक अध्ययनले देखाएको छ कि स्वास्थ्य पुनस्र्थापन केन्द्रमा पाका मान्छेले गरेको आठहप्ते उपचारपछि धेरैजसो मांसपेसी तन्दुरुस्त भएर घर पठाइयो । ती पाका मान्छेले अब त किन दुख गर्नु ? निको भइयो भनि सिकाइएको व्यायाम नगरी भनिएको खाने तर बसीबसी दिन बिताए । करिब दुई हप्तापछि चिकित्सकको तारिखमा उपस्थित हुँदा उनले आर्जन गरेको मांसपेसीको क्षमता र बृद्धि २५ प्रतिशत नष्ट भएको पत्तो लाग्यो ।

पाको उमेरमा गरिरहेका सकृयता रोक्नु भनेको सवारीसाधन दौडिरहेकोमा ब्रेक लाउनु जस्तै हो, त्यसो गर्दा शरीरमा पनि एकप्रकारको झट्का लाग्छ । मांसपेसीको सामान्य निस्कृयताले पनि शरीरको उर्जा नष्ट गर्ने, जोर्नी दुख्ने र हिँडडुलमा बाधा पुर्‍याउने र ठूलो समस्या निम्त्याउन सहायक बन्नसक्छ । त्यस्ता निस्कर्षले पनि औँल्याउँछन् कि नियमित हेरबिचार र अभ्यासले मात्र पाका मान्छेमा देखापरेका स्वास्थ्य समस्या हल हुन्छन् । ‘आ, कति गर्नु ? अजम्बरी को छ र ? एकदिन मरी हालिन्छ’ भनि निच मार्नाले अरु उमेर समुहलाई भन्दा पाका मान्छेलाई रोग निको नपार्ने कारण बन्छ ।

मांसपेसीलाई खेर नफालौँ
उमेर बढ्दै जाँदा र बयस्कता पछिको अवस्थामा मांसपेसीहरू नष्ट हुँदै जान सक्छन्, बुढ्यौलीमा हुने त्यस्तो प्राकृतिक शारीरिक प्रक्रियालाई अङ्ग्रेजी चिकित्सा विज्ञानमा सार्कोपेनीया भनिन्छ । दुर्घटनामा अङ्गभङ्ग हुँदा, बिरामी परिरहँदा, लामो समयसम्म शारीरिकरुपले निस्कृय र कम चलायमान हुने जो कोहिलाई छिटोछिटो मांसपेसी नष्ट हुने गर्छ । त्यसो भएरनै घटना भोग्ने व्यक्ति कमजोर र निर्बलिया हुन्छन् । चाँडै बिरामी तङ्ग्रीन सकेनन् भने उठबस गर्नै नसक्ने, हिँड्दा सन्तुलित नहुने र बसेको तथा सुतेको ठाउँमा रुगरुगाउँदो देखिन्छन् । सुतिरहेकै अवस्थामा पनि पिँडुला, पाखुरा र हुँदाहुँदा ढाड, कोखा र छातीका मासु बाउँडिनु, फर्किनु र सड्किनु सामान्य बन्छ ।

पाका मान्छेमा ६५ वर्ष माथिकालाई मांसपेसी जमोट भएझैँ हुने, कमजोर हुने, केही गर्दा दुख्ने र सुन्निने भई अति कमजोर, काम गर्नै नसक्ने भएपछि खेर गए सरहको हुन्छ । डा. क्लेनको भनाईमा, अत्यासलाग्ने मांसपेसीको कमीलाई पुनप्र्राप्ति गर्न शरीरले धेरै समय लगाउन सक्छ । उपयुक्त दैनिक योजना र क्रियाकलापकासाथ जीवन अघि बढाएमा जतिसुकै उमेरका भए पनि पाका र अतिपाका मान्छेले माँसपेसी तरोताजा बनाउन सकेको देखिन्छ । विज्ञले दिएका सल्लाह र अनुभवी साथीभाइको भनाईलाई ध्यानमा राखी दैनिक हलुकादेखि परिश्रम पर्ने अभ्यास गर्न अघि बढ्नु पर्छ र निस्कृय मांसपेसीलाई काम लगाउँदै स्वस्थ्य बनाउने प्रयाश गर्नुपर्छ, यही जुनिमा सकिन्छ । सकृय शारीरिक परिश्रमसहितको गतिविधि, व्यायाम र हेरबिचारले निस्कृय भएर भएको मांसपेसीको ह्रास, गिरावट र सुकाईलाई पुनर्जीवित गरी कामलाग्ने र बलिष्ट बनाउन प्रयत्न गरौँ, थलापरेकाले पनि सकिन्छ ।

दुखाई र सुन्निनेबाट बचौँः
विज्ञानले प्रयोगसिद्ध प्रमाणित गरेको छ कि शरीरकोको कुनै भाग नियमित दुख्ने र सुन्निने गरेको छ भने त्यो पछि गएर अघोषित मृत्युको कारण बन्न सक्छ । त्यस्ता खालका समस्या घरीघरी हुनेभएमा मुटु, फोक्सो, कलेजो, मिर्गौलाको साथै अरु आन्तरिक रोग निम्त्याउन सक्छ । त्यस्ता कारणको अतिरिक्त दोश्रो तहको मधुमेह, अबुर्द रोग र सधैँ शरीर रोगी हुने खालका समस्याहरू एकाएक अचम्भसँग थपिन जान्छन् । त्यसैले शरीरको कुनै भाग दुख्नु र सुन्निनुलाई हेलचेक्र्याइँ गर्नुहुन्न र पाका मान्छेले उमेरकै कारणले पनि थप समस्या नआओस् भनि तुरुन्त उपचारमा अग्रसर हुनुपर्छ । ‘यस्तो उमेरमा दुख्नु वा गाँठागुँठी आउनु सामान्य हो नि’ भनि हुनसक्ने असाध्य रोगव्याध निम्त्याउन आफैँ दोषी नहोऔँ, बेलैमा सचेत रहौँ । स्वस्थ्य मानिस जुनसुकै उमेरसमुहको भए पनि आन्तरिक र बाह्य दुखाई तथा ठाउँठाउँ सुन्निनुले अस्वस्थ्यताकै लक्षण देखाइरहेको हुन्छ, खेलाँची सम्झेर ठूलो आपद पर्नु अघि बच्नु र उपाय खोज्नु बुद्धिमानी हो ।

तङ्ग्रिन आफैँ जोड गरौँः
कोहीकोही ‘शल्यक्रिया गर्नु छ ! फलानो बेला अति काम छ’ भनेर त्यस अघि लामो समय निस्कृय बस्न खोज्छन् । त्यसो गर्नु चलिरहेको सवारी साधनलाई अपर्झट रोक्नु जस्तै हो, त्यसोगर्दा आन्तरिक जैविक प्रक्रिया, उर्जा उत्पादन र उपयोगमा बाधा पर्छ । स्वास्थ्यविज्ञको भनाईमा, तपाइँ आइपर्ने वा अठोटेको काम सम्झिएर अहिलेदेखि निस्कृय नबन्नु होस्, बरु जेजसरी सकृय हुनुहुन्थ्यो नियमित त्यस्ता कामहरू गरिरहनु होस् । अझ, ठूलै सल्यक्रिया वा अति शारीरिक श्रम पर्ने काम गर्ने योजनामा हुनुहुन्छ भने त, व्यायाम नगर्नेले पनि मांसपेसी बलियो पार्ने व्यायामका केही अभ्यास गर्न थाल्नुहोस् । त्यसो भएमा मांसपेसीले नियमितता पाई शल्यक्रिया र कडा शारीरिक श्रमपछि मांसपेसी कम नष्ट भएर चाँडै निको हुन र छिटो स्वस्थ्य हुन सकिन्छ । हो, रोगव्याधले थलिँदा हरेकलाई उठबस गर्न समेत सहयोगी चाहिन्छ तर निको हुँदै आएपछि आफ्नो आन्तरिक बल झिकेर आफैँ सकृय हुनुपर्छ । सधैं अर्काको मुख हेरेर र भर गरेर बाँकी जीवन चलाउन कठिन हुन्छ, स्वाबलम्बी हुनु उच्च सन्तोष सँगाल्ने बाटो हो । रोगव्याध र अस्वस्थ्यता आर्थिक, सामाजिक र समुदायका स्तरअनुरुप भए पनि सामान्यतया पाका मान्छेमा सबैजसो ठाउँमा बढि हुनेगर्छ । त्यसैले पनि पाका मान्छेले रोगव्याध थप ढिम्कन नदिन र सम्भावित समस्याहरूसँग जुझ्न सजिलो बनाउनका लागि आफैँ जोड गर्नुपर्छ ।

अग्रसर होऔँः
शारीरिक निस्कृयताले मांसपेसी चाँडै नास हुन थाल्दछन् तर सचेत प्रयाशले पुनप्र्राप्ति हुनसक्छ । छाला द्रुतगतिमा चाउरिन थाले, माँसपेसी पातलिने र झोल्लीने हुनथाले तथा काम गर्दा दुख्ने, बाउँडिने, सड्किने हुन थाले भने तपाइँमा शारीरिक प्रणलीमानै असर भएकोले समस्या आएको हो । बिज्ञ स्वास्थ्य प्राविधिकको सल्लाह लिएर सके हटाउन नभए कम्तीमा घटाउने प्रयाश गरौँ । फिजीओथेरापी भनिने मालिस, तेल घसाई, ताप सेकाई, र जीउ तन्काई अचेल विभिन्न नामका बजारमा आएका छन् । हामीले वर्षमा एकफेर भए पनि जाडो महिनामा तेल घसाई गर्ने परम्परा छाडे पनि आधुनिक फिजीओथेरापी त भनेपछि लागु गर्छौँ । साथै त्यो सँगसँगै जोर्नी चलायमान गराउने, तन्काउने र खुम्च्याउने अभ्यास त्यस्ता केन्द्रहरूमा गराइन्छ । शरीर र मांसपेसीलाई सकृय पार्न बाह्य कसरत, उर्जा थप्ने र शरीर निर्माणमा सहायक प्रोटिनयुक्त पोषण खानाको कुरा अघि आइहाल्छ । त्यसो गर्दा आन्तरिक जैविक प्रणाली सतर्क भई काम गर्ने र भित्र्याँसका अङ्गहरूमा स्फूर्ति आएको हुन्छ । यसरी सम्बन्धित विभिन्न मांसपेसीमा सकृयता बढ्न गई स्वस्थ्य रहने, बलियोगठिलो रहने, काम गर्न सक्ने र नदुख्ने हुन्छ । अनि छाला चाउरिन र मांसपेसी झोल्लिन कम हुने साथै पोषण पाएर पुरा निको हुन पनि सक्छ ।

शरीरको माथ्लो र तल्लो भाग अर्थात हातपाखुरा र कम्मर तलका भागमा उचित कसरत नियमित भएमा कमजोर हुने, दुख्ने र सुन्निने समस्या पनि हराउँछ । यस्ले गर्दा हुनुपर्ने ठाउँमा मासुका लुँदा बलियो, पोटिलो र कस्सिएकोनै कायम रहन्छन्, गलेका चाउरिएका र झोल्लिएका हुँदैनन् । आफूलाई सुरक्षित, गर्नसक्ने र फाइदा पुग्ने हातखुट्टाका अभ्यासको प्रयाश साना, मसिना र थोरै बस्तुको सहयोगमा सुरु गरौँ र बढाउँदै लगौँ, चाँडै स्वस्थ्य हुन सकिन्छ । सुरुमा सहयोग गर्ने विज्ञकै सल्लाह लिए पनि पछि अभ्यास भएपछि र आफैँले गर्नसक्ने भएपछि आफू बसेको ठाउँमा समय छुट्ट्याएर नियमित गरे भइहाल्छ । सकृय शारीरिक मानसिक श्रम गरिरहनु त्यसै डल्लिरहनुभन्दा आफ्नै स्वास्थ्य रक्षाको लागि हज्जार गुना बलियो अभ्यास हो, यसलाई उत्साहित गरौँ ।

कमजोरीले हिँडडुलका असन्तुलन पनि नियमित हिँडाई गर्दै ‘सिक्दै सचेत हुँदै’ गएपछि सन्तुलनमा आउँछ, अनि त लौरो लिनेले लौरो मिल्काएर ठमठम हिँड्न थाल्छन् । हो, पहिला बिस्तारै र थोरै हिँडाई नै सुरु गर्ने हो र क्रमशः सक्नेजति बढाउँदै लैजानुपर्छ । मांसपेसी र हाडजोर्नी बलियो बनाउन सामान्य चलाउनेदेखि वजन उठाउने व्यायाम धेरैले गर्न भनेका छन् । सानो र थोरै तौलबाट सुरु गरेर सकेको बढि गर्ने बानीले मांसपेसी अरट्ठो भएको र हाडजोर्नी दुखाई घट्दै बलियो हुनथाल्छ, सन्तुलित आन्तरिक जैविकरस सञ्चालन भएर सुन्निन पनि छोडछ । यसरी गरिएका अभ्यासले सामान्यदेखि हाडेबाथ भएकालाई समेत फाइदा पुगेको पाइन्छ ।

नियमित काम गर्न दुखाईले सुन्निएर शरीरले प्रतिक्रिया दिइरहेको अवस्थामा मांसपेसीले गर्नुपर्ने काम गर्न लगाउँदा आन्तरिक प्रतिरोधले सँक्रमित अङ्गमा चाप पर्न गई राम्रो हुने दिशातिर जान्छ । व्यायाममा काम फत्ते गर्न मांसपेसी सजगमात्र होइन बल जम्मा गर्न उद्यत हुन्छन्, त्यसले गर्दा मांसपेसी एकीकृत हुन थाल्छन र बलिया बन्छन् । विभिन्न सानाठूला तौल उठाउने अभ्यासले सोझो र ठिङ्ग राख्ने गुरुत्वाकर्षण बिरुद्धमा शरीरलाई सतर्क मात्रै गराउँदैन बरु तौलअनुसार सन्तुलनमा अड्न पनि अभ्यास गराउँछ । हिँडाईले आफ्नो तौलको सन्तुलन मिलाउन जसरी सतर्कता कायम राख्न सघाउँछ त्यस्तैगरी तौल सहितकोले थपभार दिएर पुरा शरीर सन्तुलित भई हिँड्ने अभ्यास बढाउँछ । तपाइँहामीले गरुङ्गो भारी बोक्दा कुप्रिएको, बाल्टिन भरी पानी उचालेर हिँड्दा जीउ लच्काएको, किसानहरूले खर्पनमा एकातिर साना केटाकेटी र अर्को पट्टी खन्ने कुटोकोदालो र खानेकुरा राखेको किन होला ? हवाईजहाजमा अघिपछि सामान राखेको, गाडामा त्यसैगरी भारी मिलाएको सन्तुलित सामान बोकाई गर्न होइन र ? सन्तुलित भई हिँडाईको गति बढाउनु, पाइला लम्काउनु, तुरुन्तै दायाँबायाँ फर्कने अभ्यास र सकेसम्म उफ्राई गर्नु पनि शरीरको सतर्कता, सन्तुलन बढाउने तथा दुखाई र अपर्झट लडाई घटाउने उन्नत उपाय हुन् । यसै क्रममा हरेक तहका मांसपेसी बलियो हुने र पुष्ट हुने अवस्था सिर्जना हुन्छ र स्वस्थ्यतातिर लागिन्छ ।

अन्त्यमा,
ढाडलाई मजबुत राख्नुहोस् जसलेगर्दा पातापाखुरा चलाउने, कम्मरको समस्या नहोस्, उठबस गर्न, हिँड्न सकियोस् र मांसपेसी मजबुत रहुन् । हरेक दिन गरिने दैनिक काम अलिअली गर्दै सबै काम गर्न थालियोस, ओर्कनफर्कन अभ्यास गरेर बर्लङ्ग लड्नबाट जोगिने काम होस् । उमेरिदा कुप्रिने वा बढि निहुरिने काम नगरी बसाई प्राकृतिक मेरुदण्डको संरचना अनुसार गरिए लुगा लगाएको सुहाउने र टमक्क मात्र होइन स्वस्थ्य हुन पनि सघाउ पुग्छ । सकेमा थोरै समयलाई भए पनि खेलकुदमा भागलिनु मनोरञ्जनकासाथ धेरै रोग निर्मूल गर्ने सहज उपाय हुन् ।

उमेर र शरीरको उचाई अनुसार शारीरिक तौल कायम राख्नुहोस्, हाडजोर्नीमा दखल नपारी मजबुती कायम राख्नुहोस् । रगतमा चिनि ठिक्क पार्ने खानपान गरी कोलेस्टेरोल कम हुने बनाउनु होस् भने व्यायामले मांसपेसी बलियो बनाउनु होस् । हामीले प्रयाश गर्न छोडनु हुन्न र एकैचोटीमा धेरै गर्नु पनि हुन्न । नियमित अभ्यासले स्वस्थ्य रहन र बाँचुन्जेल सुख पाउन कसैको भद्रो हेरिरहने होइन विज्ञको सल्लाहमा आफैँ सक्रिय हुने हो । झोल्लिएर कुरुप र अशक्त भएका मांसपेसीलाई अवस्थाअनुसार दैनिक तालिकामा व्यायाम गर्नुपर्ने हुनसक्छ, सधैं गरौँ, कुन ठूलो कुरा भयो त ? आखिर हामीले राम्रो देखिएर सुख खोजेको हो, त्यसैगरी हुन्छ भने किन नगर्नु ?

०००
माघ २१, २०७९
ल.पु. चालिसेडाँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे किन पिरलो गर्छन् ?

पाका मान्छे किन पिरलो...

डा. मुकेशकुमार चालिसे
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीमा हिँडाइडुलाई

बुढ्यौलीमा हिँडाइडुलाई

वासुदेव गुरागाईं
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छे उमेरिदा के गर्ने ?

पाका मान्छे उमेरिदा के...

डा. मुकेशकुमार चालिसे