हरिकला उप्रेतीअल्पविद्या भयङ्करी
धेरै भाथ्यो ढङ्गले कलम चलाउने जङ्ग नचलेको । जङ्ग नचल्दानचल्दै अलिअलि भएको ढङ्ग पनि भङ्ग भैसक्यो । जर्बजस्ती ढङ्ग भएको ढोंग गरौं भने बीस वर्षे तन्नेरीलाई बहत्तर वर्षे तरुनीजस्तो होला ।
हो भन्या ! लेख्न त सबै कुरा पूरा भएर शरीरमा सञ्चो भए पो सजिलो । नत्र त कमिलालाई सानुका सुले सुइँक्याए जस्तै सकस पर्दो रहेछ । विषयका बारेमा विचार गर्नै प¥यो । डाँडाकाँडाको वर्णन गरौं भने विदेशीले वियरका बोतलसँग साटिसके । खोलानालाहरू ढला–नालामा परिणत भएर आफ्नो र अरूको अस्तित्व नै अलपत्र पारिसके । एक कोष परैबाट नाकपोसले नाक ट्याप्प टाल्नुपर्छ । विषयहरू बग्रेल्ती भेटिए पनि कसैले नबिटुल्याएको विषय बिल्कुलै भेटिंदैन । फेरि आज मलाई अचम्मको झ्वाँक चलेको छ चोखो विषयको बखान गर्ने । चोखो विषयको खोजीमा दिमागले चारैचौरास चाहारेपछि, विगतमा बितेका घटनाको च्वाट्ट सम्झना आयो ।
पहिले पहिले पढालेखा हु“ भन्नेहरू कसैले केही बोल्यो कि व्यङ्ग्य ठोक्थे । अल्पविद्या भयङ्करी भनेर उल्ली बिल्ली पार्थे । कुराको चुरो पहिल्याउन दिनभरी मथिङ्गलमा मन्थन गर्दा पनि पार लाग्दैनथ्यो । मानसिक थकानले थकित भएर घर फर्कियो भोक हटाउने चारो चार गेडा हुँदैनथ्यो । मकै भुटेर मुठी चारेक चारो हालौं न त चाउरी परेका भुँडीमा भन्दा आमा आइपुग्थिन् कराई समाउन । ‘अल्पविद्या भयङ्करी’ भन्दै आफै भुट्थिन् । बिचरी बूढी बाइसवटा बाख्रा, हलगोरु, जोर भैंसी, जोर गाई, आमैलाई भ्याइनभ्याई । त्यसैले मेरी पैंतीस वर्षकी आमा पैंसठ्ठी वर्षकी आमै भएकी थिइन् ।
अरू जे होस् मलाई यो अल्पविद्या भयङ्करीले भयङ्कर पिरोल्यो । त्यस्तै उन्चालीस चालीस सालतिर विद्यार्थी आन्दोलन भड्क्याथ्यो । त्यो बेलामा त्यस्तै नौ दश वर्षको हुँदो हुँ । माथ्लाघरे मोती माल्दाइ त्यस्तै नौ, दश किलासमा पढ्दा हुन् । एकदिन हामीसँग आन्दोलनमा जाऊँ भनेर उनले मलाई उल्क्याए । मेरा मोरिएका मस्तिष्कमा आन्दोलन भन्ने शब्दको अणु पनि गडेन । त्यसपछि मेरो अल्मलिएको दिमागले अन्दाज गर्यो । अल्पविद्या भयङ्करी भनेको यही रहेछ । आ ! जेसुकै होस्, हिंड्न त पाइन्छ, फेरि कतै पूर्ण विद्या पो पलाउला कि, भनेर म लागें दाइको पछाडि, दाइका भाइ लागे मेरा पछाडि ।
एउटा दुईटा गर्दै दश, पन्द्रजना उस्तै उमेरका उरन्ठेउला केटाहरू जम्मा भए चौतारामा । परिपरिका कागजमा थरिथरीका रङ्गले रङ्गीचङ्गी पारेर टाँस्न थाले । रूखमा, भित्तामा, चौतारामा, ढुङ्गामा जताततै झिलिमिली पारे । आहा ! कति राम्रो, यी सबै कागजहरू हाम्रो घरमा मात्रै टाँस्या भा कति राम्रो हुन्थ्यो । चिसो रातमा ठिङ्ग उभिएर यही सोच्दै थिएँ । जामुनेकी जन्तरी फुपूका छोरा जितेले मलाई माडको चिण्डो बोकायो । धरोधर्म, नढाँटी भन्दा आन्दोलनमा अग्रसर भएको भन्या त्यति नै हो । पछि छ्यालीस् सालमा बहुदल आएपछि त्यही कुरालाई पूरा छिर्केमिर्के पारेर छिरोल्यो । अनि त एउटा ठूलो प्रजातान्त्रिक पार्टीले क्षेत्रीय युवानेता बनाइदियो । फेरि आइलाग्यो आफैंलाई अल्पविद्या भयङ्री ।
त्यसपछि हुनथाले जुलुस, सभा, सम्मेलन, छलफल, इत्यादि । म पनि जुर्मुराएर जुलुसमा गएँ । एउटा क्याम्पसको विद्यार्थी नेताले नारा पढेर सुनायो । सबै ताते नारा भन्न । मलाई पनि जोस जागेर आयो । नेताले भने, नेपाली काङ्ग्रेस जिन्दावाद ! हामीले भन्यौं जिन्दावाद ! जिन्दावाद ! त्यसैगरी, लेखका भाले जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद ! …. । एक घण्टापछि, एकजना लामो लबेदा लाउने लक्ष्मीलालले सुनेछन् । आएर लेखका भाले हैन नेकपा माले भन्नुपर्छ भनेर सिकाए । हे फसाद ! अल्पविद्या भयङ्करी ।
कुरो अठ्चालीस सालको हो । मेरा एक टाढाका काका पर्ने काङ्ग्रेसका ठूलै नेता थिए । ज्ञानमा ज्ञानी नै हुन्, उनलाई कसैले मूर्ख भनेको सुनिएन । उनले एकदिन मलाई उल्क्याए, टन्न मासु भात खान पाइन्छ, हिंड् केटा जिल्ला जाऊँ । उमेद्वारको छनोट गर्नु छ । हुलदङ्गा गरेर भएपनि आफ्नै मान्छेलाई टिकट दिलाउनुपर्छ ।
काकालाई काट्न मन लागे पनि काकाका कुरा काट्ने त कुरै आएन । दुई दिनका दिन दिउँसै पुगियो जिल्ला । जिल्लाको रमझमले म गाउँले ठिटो जिल्ल परें । एउटा ठूलो हलमा जम्मा भए जम्मै मान्छेहरू । त्यहाँ त छलफल, तर्कवितर्क र समझदारी भन्दा होहल्ला र हुलदङ्गा बढी भयो । काका कड्केर कराउन थाले । विचरा काकाका उमेद्वारले टिकटै पाएनछ, रातोरातो अनुहार पारेर, पसिनाका धारा टोपीले पुछ्दै, काका आँखा चिम्लेर उफ्रन थाले । त्यतिकैमा एकजना युवानेता काकाको नजिकै आए । ऊ पनि उनकै पार्टीका रान क्यार । काकालाई सम्झाउन थाले । हेर्नोस् दाइ ! हामी यहाँ यसरी उफ्रेर केही हुँदैन । उमेद्वारको चयन त केन्द्रले गर्छ । यो निर्णय फेर्न त फेरि डेलिगेसन जानुपर्छ केन्द्रमा । कुरो भुइँमा पर्न नपाउँदै काका फेरि कड्किए । काकाका कन्चटमा पसिनाका पर्रा छुटिरहेका थिए । “के हो त्यो, डेलिकेसन सेलीकेशन भन्या ? के त्यो केन्द्रमा बसेर हाम्रो नेता छान्ने ? त्यो त्यहाँ बसेर मनपरी गर्ने ? काँ हामी त्यहाँ जाने ? त्यसलाई मुन्ट्याएर यहीँ ल्याउनुपर्छ । पख न …बाउलाई भनेर त्यसलाई “मुला उखेलेर फालेझैं नफाली त कहाँ छोड्छु र … ।” काका दाह्रा किट्दै थिए । मैले सम्झें अल्पविद्या भयङ्करी ।
तेह्रथुम, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































